भर्खरै :

खेल महोत्सवको शिक्षा देशको सार्वभौैमिकताको रक्षा

भक्तपुर नगरपालिकाले हालै खेलकुद महोत्सव आयोजना गरेको छ । सहिद दिवसको अवसरमा आयोजित उक्त खेलकुद प्रतियोगितामा ५५ विद्यालयका कुल १८६९ जना खेलाडीहरूको उल्लेखनीय सहभागिताले नगरवासीहरूमा एक प्रकारको उत्साह छाएको अनुभव गर्न सकिन्छ । अन्तरनगर बुद्धिचाल तथा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता भव्य एवम् सभ्य सुसंस्कृत तवरले सम्पन्न हुनु आफैमा ऐतिहासिक अनि गौरवाम्भित विषय बनेको छ । शिक्षा, स्वास्थ्य, सरसफाइ तथा संस्कृतिको क्षेत्रमा देशलाई नै पथप्रदर्शन गरिरहेको भनपाले अबका दिनमा खेलकुद क्षेत्रमा पनि अगुवाइ गर्ने दृढ विश्वास गरिएको छ । कोभिड – १९ को विश्वव्यापी लकडाउनपछि भौतिक उपस्थितिमै विद्यालय खुल्न थालेको महिना दिन नबित्दै आरम्भ भएको खेल महोत्सवले भक्तपुर नगर उल्लासमय भएको प्रत्यक्षदर्शीहरूले बताए । बुद्धिचाल, एथलेटिक्स, कब्बडी, खो–खो, तेक्वान्डो, उसु, कराते, भलिबल, फुटसल, टेबलटेनिस, ब्याडमिन्टनलगायतका दर्जनौँ खेलहरू समावेश गरिएको उक्त खेल महोत्सवमा सयौँ खेल प्रशिक्षक, रेफ्री तथा युवा स्वयम्सेवकहरू परिचालित भए । यसको कारण ऐतिहासिक नगरी भक्तपुर महोत्सवमय बन्न पुगेको छ । सचेत, सक्षम, सभ्य एवम् सुसंस्कृत नागरिक तयार पार्ने उद्देश्यले आयोजित उक्त खेलकुद प्रतियोगिताबाट नगरवासीहरूले धेरै कुरा सिक्ने अवसर पाएका छन् ।
विदेशीको भरमा सम्पदा निर्माण गर्ने होइन बरु आफ्नै खुट्टामा उभिएर गर्नुपर्छ भन्ने विचारलाई व्यवहारमा लागू गर्दै अगाडि बढिरहेको भनपाले स्वाभिमानलार्ई बन्धक राख्ने काम गरेको छैन । हिजोका दिनहरूमा कोरोना महामारीबाट नगरबासीहरूलाई जोगाउन ठाउँ ठाउँमा क्वारेन्टिन सेन्टर बनाई स्वाव परीक्षण, सङ्कलन गरी सेवा प्रदान गर्दै आएको भनपाले अहिले कोरोना खोेप सेवालाई निरन्तरता दिइरहेबाट भनपा नागरिकहरूको सर्वाङ्गीण विकासको निम्ति कति समर्पित रहँदै आएको छ भन्ने स्पष्ट हुन्छ । देशी विदेशी प्रतिक्रियावादीहरूले देशलाई कमजोर पार्ने खेल खेलिरहँदा देशकै नमुना बन्न सफल भक्तपुर नगरपालिकाले खेलकुद प्रतियोगितामार्फत युवा पुस्तालाई जुझारु देशभक्त बनाउने अभियानलाई निरन्तरता दिनु उत्तिकै सान्दर्भिक छ । यस प्रकारको खेल गतिविधिले लुकेर रहेको प्रतिभा प्रस्फुटनमा ठूलो योगदान मिल्ने छ । यसका अतिरिक्त पुरानो पुस्ता र नयाँ पुस्ताबीचको समझदारी कायम भई आपसमा सिक्ने सिकाउने वातावरण सिर्जना भएको छ । यसले सामुदायिक विद्यालय पनि संस्थागत विद्यालयसरह अगाडि बढ्न सक्दोरहेछ भन्ने आत्मविश्वास जगाएकोे छ । यो अर्को महत्वपूर्ण उपलब्धि हो । यसले खेल खेलको निम्ति नभई देशको सार्वभौमिकता रक्षार्थ खेलाइनुपर्ने शिक्षा प्रदान गरेको छ । चुनावी घोषणापत्रमा लेखिएबमोजिमका बुँदाहरू व्यवहारिक धरातलमा लागू गरिरहेको सन्देश दिन सकेको आभाष मिल्छ । शिक्षालाई खेलसँगसँगै लैजान राज्यले पहल गर्नुपर्ने र खेलकुद विश्वविद्यालय स्थापनार्थ घच्घच्याउने काम भइरहेको यहाँ चर्चा गर्नु अन्यथा नहोला । एकातिर नयाँ पुस्तालाई अनुशासित, कर्तव्यनिष्ठ, देश र समाजप्रति उत्तरदायी बनाउन भनपाले खेलकुद प्रतियोगितालाई बर्सेनि आयोजना गर्दै आउनु सकारात्मकरूपमा लिँदै छ भने अर्कोतर्फ पुराना खेलकोे अस्तित्व जोगाउने, नयाँ खेललाई निरन्तरता दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्ने अभिभारा एवम् दायित्व पूरा गर्ने काममा भक्तपुर नगरपालिका अगाडि बढेको छ ।
भनपाले जस्तै देशैभरका नगरपालिकाहरूले काम गरेका भए देशको सर्वाङ्गीण विकासमा ठूलो टेवा पुग्ने कुरामा दुईमत नहोला । निश्चय पनि हजारौँ खेलाडीलाई व्यवस्थापन गर्नु कम चुनौतीपूर्ण छैन । तर, कुशल नेतृत्व, सफल व्यवस्थापन, सक्रिय जनशक्ति तथा जनताको सद्भावमा जस्तोसुकै चुनौतीको सामना गर्न सकिने रहेछ भन्ने उदाहरण यस खालको खेल महोत्सवले प्रस्तुत गरेको छ । पुँजीवादी विकृति विसङ्गतिविरुद्ध लड्नु भनेको नदीको विपरीत धारतर्फ हिँड्नु हो । तर, नेपालको कम्युनिस्ट आन्दोलनलाई दिशा देखाउँदै आइरहेको नेमकिपाको नेतृत्वमा सञ्चालित भनपा नदीको विपरीत धारमा हिँड्न सफल देखिन्छ । विद्यालय र विश्वविद्यालयहरूमा प्रदान गरिने सैद्धान्तिक शिक्षालाई व्यवहारमा उतार्न सम्बन्धित क्षेत्रले यस खालको प्रयास थाल्नु जरुरी छ । खेलकुद प्रतियोगितामा सहभागी बन्न आएका उपत्यकाभित्र र बााहिरका गरी सयौँ खेलाडी तथा प्रशिक्षकलाई खानपिन, आवासको व्यवस्था गर्नु र शान्त र अनुशासित राख्न सक्नु भनपाको उपलब्धि मान्नुपर्दछ । शिक्षालाई उत्पादन श्रमसित जोड्नुपर्ने मागलाई जोड्दाररूपमा उठाइदै आइरहेको वर्तमानमा खेलकुदलाई राजनीतिसित जोड्नुपर्ने आवाज बुलन्द हुन थालेको छ । यसका साथै भनपाको खेल गतिविधिले पुर्खादेखि खेती किसानी गर्दै जीविकोपार्जन गर्दै आइरहेका किसानहरूकोे उर्वर जग्गा जमिन कब्जा गरी रङ्गशाला निर्माण गर्नुपर्छ भन्नेहरूलाई भरपर्दो जवाफ फर्काउन सफल देखिन्छ ।
राजनीतिक भागबन्डा, आफ्नो मान्छे नियुक्ति, अस्वस्थ प्रतिस्पर्धा, आर्थिक अनियमितताजस्ता कारणले गर्दा राष्ट्रिय खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समितिको प्रभावकारितामा प्रश्न उठिरहेको तीतो यथार्थ कसैबाट लुकेको छैन । खेलहरूको दिगो विकासका लागि खेलकुद क्षेत्र स्थानीय तहलाई जिम्मा दिनुपर्ने चर्चा चल्न थालेको देखिन्छ । अतः नगरवासीहरूलाई खेलकुद गतिविधिमार्फत स्वस्थ निरोगी तुल्याउने र स्थानीय खेलाडीहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको पहिचान दिलाउने काममा भनपाको प्रयास सार्थक रहने विश्वास गरौँ । प्रतियोगितामा विजयी सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई एवम् शुभकामना ! खेल महोत्सव सफलतापूर्वक आयोजना गर्ने भक्तपुर नगरपालिकालाई हार्दिक बधाई एवम् धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *