भर्खरै :

जमिन भूमाफियाको नाममा दर्ता, स्थानीय समस्यामा

नवलपरासी, ८ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन् । हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कूलटोल, बगनासे, कुसनरी, सातबिघा, बीचटोल, ढु·ेनीका बासिन्दा पुर्जाविहीन बन्दा समस्यामा परेका छन् । लामो समयदेखि बसोबास गरेको जमिन भूमाफियाले आफ्नो नाममा पुर्जा बनाउँदा यस क्षेत्रका बासिन्दा समस्यामा परेका हुन् ।
यहाँको ७० बिघा जग्गाको करिब २५ जनाले आफ्नो नाममा पुर्जा निकालेका छन् । पुर्जा निकाल्नेहरू काठमाडौँ, धादिङ, पोखरा, वीरगञ्जलगायतका व्यक्ति भएको जनाइएको छ । विसं २०३१ देखि बसोबास गर्दै आएको भए पनि आफू बसोबास गरेको जमिनको पुर्जा भने अरूकै नाममा रहेको स्थानीयवासीको भनाइ छ ।
विसं २०३१ देखि बसोबास गरेको बताउने मायाराम थारूको जग्गाको समेत भूमाफियाले आफ्नो नाममा पुर्जा निकालेका छन् । “यहाँ केही थिएन मलगायत केही व्यक्तिले झाडी फाँडेर बस्यौँ, त्यो बेला वनको क्षेत्र भनेर मलाई त समातेर भैरहवा जेलमा समेत थुनियो”, मायारामले भन्नुभयो ।
विसं २०३१ देखि बसोबास गरेको भए पनि २०५५ मा भने आफ्नो जग्गा भूमाफियाले पुर्जा बनाएर कब्जा गरेको थारूको भनाइ छ । उहाँजस्तै यहाँका धेरै घरपरिवारको बसोबास रहेकाले जग्गाको पुर्जा अर्कैको नाममा छ । विसं २०५४ मा फिल्डबुक कायम गरी विसं २०५५ मा मालपोत कार्यालयले पुर्जा वितरण गरेको थियो । पुर्जा गतलरूपमा निकालेको भनेर सो समयमा तत्कालीन गाविस कार्यालय, मालपोत घेर्ने काम गरेपछि मालपोत कार्यालयले पुर्जा बदरको काम अगाडि बढाएको थियो ।
करिब ३०० घरधुरीले जोतभोग गरेको जग्गाभन्दा फरक ठाउँको कित्ताकाट भएको छ । यसले अर्को समस्या निम्त्याएको छ ।
तत्कालीन समयमा केन्द्रको नापीले ६ महिना यहाँ आएर ‘बाउन्ड्री’ को काम गरेको थियो तर पछि फिल्डमा नआई कित्ताकाट गरेकाले यस्तो समस्या आएको वडाध्यक्ष उमाकान्त चापागाईँले बताउनुभयो । सोही समयमा फिल्डमा नआई केही भूमाफियाले यस क्षेत्रको जग्गाको पुर्जा आफ्नो नाममा निकालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *