ट्रम्पले अचानक किन खोजे सीको साथ ?
- जेष्ठ ३, २०८३
पानीको दुःख
हिजोआज यो लेखककी आमाको दिनचर्यामा घरको धारा सुसाएको हेर्ने काम थपिएको छ । दुई–तीन हप्ताको एकपटक घरमा पानी आउँछ तर पानी कहिले छोड्छन् थाहा हुँदैन । पानी आइहाले पनि दुई गाग्री पनि भरिन्न । पम्प लगाएर अरूले पानी तान्न थालेपछि हाम्रो घरमा पानी बन्द हुँदो रहेछ । कम क्षमताको पम्प लगाएर तान्न खोज्दा हावामात्र आउँछ । अनि सक्दो शक्तिशाली मेसिन जडान गर्ने होडबाजी चल्छ । खानेपानी कार्यालयले वितरण गर्ने ‘पानीमिटर’ मा भ्रष्टाचार भएको भनेर भक्तपुरमा नयाँ जोडिएको धाराको लागि मिटर वितरण गरिएको छैन । महिनामा ११ सय रुपियाँ तिर्नुपर्ने कुराले मेरी आमालाई थकथक भइरहनु स्वाभाविकै हो (पानीट्याङ्की बनाउन भएको खर्च, मेसिन किन्न र आगामी दिनमा हुने मर्मत खर्चको त हिसाब गरिएकै छैन, पैसा बिदेसिने विषय झन् टिठलाग्दो छ) । यो लेखककी आमा प्रतिनिधि पात्रमात्र हुन् ।
संयोग पनि कस्तो ¤ सोमबार बिहान नेपालीको खानेपानी समस्याबारे लेख्न सुरुआत गर्दै थिएँ, मेरी जहानले सुनाइन् – आज मार्च २२, पानी दिवस रहेछ ¤ यसपालिको विश्व पानी दिवसको नाराको अर्थ वा सार बुझ्दा ‘पानीको महत्वबोध गर्ने र पानीको वितरणमा भइरहेको विभेदको अन्त गर्ने’ रहेछ ।
सुख्खायाम सुरु भएपछि देशैभर खानेपानीको हाहाकार सुरु भएको छ । आमा तथा दिदीबहिनीको दैनन्दिनको पिरलो नै पानी हुन थालेको छ । खाना नखाएर त केही हप्ता बाँच्न सकिएला तर पानी नखाएर धेरै दिन बाँचिँदैन । पानी भर्ने ‘ठेक्का’ लिएका महिलालाई कसरी निद्रा लागोस् राती र कसरी मन स्थिर होस् दिनमा ¤ जता गए पनि घरमा कतै पानी आयो कि भन्ने उत्सुकता भइरहने सहरतिर । कति आशाका पल निराशामा बितिरहेका छन् घरघरका महिलाका । पानीकै पर्खाइमा कतिको काम बितेको होला ¤ एक गाग्री पानीको निम्ति छिमेकीको ढोकाढोका चहार्दाको हीनताबोधले कतिजना महिला थिचिएका होलान् ¤ अरूको दैलो चहार्दा दुर्वचन पनि सहिएला तर पनि पानी थाप्न नपाएर रित्तै गाग्री घर फर्किनु पर्दा त मरेतुल्य नै हुँदा रहेछन् नारी ¤ ग्लानि र निराशाले सीमा नाघ्दा हुन् ¤ गरिबको घरझगडाको विषय नै पानी बनिरहेको छ हिजोआज । सार्वजनिक धारोमा पालो मिचिएको भन्दै हुने झगडा सामाजिक विग्रहको कारण बनेको छ । गाउँपहाडतिर पानी बोक्न बिहानभरको समय बित्छ, त्यो दुःख छुट्टै छ । पानी लिन जाँदा यौन हिंसाको त्रास भइरहन्छ ।
दूषित पानी, जिम्मेवार को ?
जनतालाई पानी वितरण गर्न असफल र पिउन अनुपयुक्त पानी बाँड्ने संस्थाको नाम हो ‘नेपाल खानेपानी संस्थान ।’ केही वर्षअगाडि संस्थानले रजत वर्ष मनायो । ‘सर्वसाधारण जनताको स्वास्थ्य र सुविधा कायम राख्न नेपालका विभिन्न क्षेत्रमा नियमित रूपले स्वच्छ खानेपानी उपलब्ध गराउन र ढल निकास प्रणालीको समुचित व्यवस्था गर्न’ ‘नेपाल खानेपानी संस्थान ऐन, २०४६’ अनुसार नेपाल खानेपानी संस्थानको स्थापना भएको थियो । तर, ऐनमा उल्लेख भएअनुसारको बन्दोबस्त आजसम्म पनि ‘आकासको फल आँखा तरी मर्’ भनेझैँ भइरहेको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड अर्थात् काउखालि (केयुकेएल) ले वितरण गरेको पानी पिउन अयोग्यमात्र होइन जनस्वास्थ्यमा अत्यन्तै नकारात्मक असर पार्ने रसायन मिसिएको तथ्य सार्वजनिक भएको छ । केही वर्षअघि सर्वोच्च अदालतको आदेशमा केयुकेएलले उपत्यकाका विभिन्न केन्द्रमा वितरण गरेको पानी ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग’ ले परीक्षण गरेको थियो । नेपाल विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (नास्ट) ले सन् २०१४ मा एक अनुसन्धान गर्दा धाराको पानीको ८६ प्रतिशत र प्रशोधित पानीको ३६ प्रतिशत नमुनामा कोलिफर्म व्याक्टेरिया भेटिएको थियो । ‘स्प्रिङ्गर’ जर्नलमा सन् २०१९ मा प्रकाशित एक अनुसन्धानात्मक लेखमा पनि प्रशोधित १०० मिलिलिटर पानीमा ४६ वटासम्म व्याक्टेरिया भेटिएको तथ्य उल्लेख छ । केयुकेएलको पानी खानयोग्य नरहेको भन्दै विभागले २०६८ सालमा सर्वोच्च अदालतलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन दराजमा थन्किएर किराले खायो होला कि, खानेपानीको गुणस्तरमा सुधार भएन । ‘म पिटेझैँ गर्छु, तँ रोएझैँ गर’ भनेझैँ केही अनुगमन पनि गरियो । सरकारी अनुगमन टोलीको प्रतिवेदन झारा टार्ने काममात्र भयो । सुधार कसरी होस्, नानीदेखि लागेको बानी सुध्रिए पो ¤ खानेपानी संस्थानका वरिष्ठ वा कनिष्ठ कर्तव्यविमुख कर्मचारीबाट सुधारको आशा पनि गर्न सकिँदैन । सर्वोच्च अदालतले पानी वितरणमा शुद्धता अपनाउन केयुकेएललाई निर्देशन दिए पनि कार्यान्वयन नगरी अदालतको ठाडो अवहेलना गरिएको छ ।
केयुकेएलबाट कुनै मुहानमा सुँगुरको मलमूत्र भेटिएको र खुलमखुला नुहाइधुवाइ हुने गरेको, कतै लेउ र ढल मिसिएको पानी त कतै भूमिगत पानी निकाली जनताको धारामा बिनाप्रशोधन बाँडिएको समाचार बेलाबेला आएकै हो । केयुकेएलका केन्द्रीय प्रयोगशालाका कर्मचारीले समेत उपत्यकामा वितरण भएको पानीमा करिब ८० प्रतिशतभन्दा बढी हानिकारक रसायन र जिवाणु फेला परेको स्वीकारेका छन् । ती कर्मचारीले रत्नपार्क, भक्तपुर, ललितपुर, बागबजार, असन, इन्द्रचोक, कीर्तिपुर, बसुन्धारालगायतका क्षेत्रमा निकै दूषित पानी भेटिएको स्वीकार गरेका छन् । खानेपानी संस्थानले धारामार्फत कोलिफर्म, आर्सेनिक, एमोनिया, विभिन्न प्रकारका सूक्ष्म जिवाणु र आइरनसहितको पानी खुवाउँदै आएको अध्ययन प्रतिवेदन धेरै छन् । तर, ‘नकच्चरोलाई लाजै हुँदैन’ रहेछ ।
कोलिफर्म मानिसको दिसामा पाइने एक प्रकारको व्याक्टेरिया हो । पानीमा यस्तो व्याक्टेरिया भेटिनुको अर्थ पानीमा ढलको पानी वा अन्य कुनै कारणले मानिसको मलमूत्र मिसिएको प्रमाण हो । पानीमा एमोनिया नामको ग्यास हुनाको कारण पनि पानीमा मानिसलगायत जनावरको मलमूत्र मिसिनु हो । एमोनिया ग्यास मानिसको निम्ति विष हुन सक्छ भने कोलिफर्मले धेरै हानि नगरे तापनि त्यस्तो पानीमा मानिसको दिसामा पाइने अन्य हानिकारक कीटाणु हुन सक्ने कुराको सङ्केत भने हो ।
कतैकतै खानेपानीका पाइपहरू ढलमा डुबिरहेका देखिन्छन् । उचित व्यवस्थापनको अभाव, पुराना पाइपको बेपर्वाह गर्ने सडक विस्तार कार्यले खानेपानी प्रदूषित बनेको छ । १०० वर्षभन्दा पुराना पाइप बदलिएका छैनन् अनि खियाले प्वाल परेर ढलको फोहर मिसिने नै त भयो ।
दूषित पानी खुवाएर जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार खानेपानी संस्थान वा केयुकेएललाई कदापि छैन । दूषित पानीको कारण हुने झाडापखाला, टाइफाइड, हेपाटाइटिस, जण्डिस, आउँजस्ता रोगको जिम्मेवारी पानी प्रदायक संस्थानले नै लिनुपर्छ र जनस्वास्थ्यमा पुगेको क्षतिको क्षतिपूर्ति जिम्मेवार पदाधिकारी, सञ्चालक र खानेपानी संस्थान निजीकरण गर्ने पूर्वमन्त्रीहरूबाट भराउनुपर्दछ ।
पानीको हकमाथि हमला
नेपालको संविधान २०७२ को धारा ३५ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको पहुँचको हक हुनेछ भन्ने व्यवस्था गरिएको छ तर सरकार कर्तव्यविमुख छ । यसमानेमा सरकारले पनि संविधानको उल्लङ्घन गरिरहेको छ ।
काठमाडौँ उपत्यकाको पानीको चरम अभाव पूर्ति गर्ने भनेर तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री हिसिला यमीले सरकारी स्वामित्वको खानेपानी संस्थानलाई निजीकरण गरी नेपाल सरकार कम्पनी ऐन २०६३ अन्तर्गत केयुकेएल सार्वजनिक कम्पनीमा परिणत गरिन् । राज्य आफ्नो दायित्वबाट च्युत हुन खोजेको यो पनि एउटा जल्दोबल्दो दृष्टान्त हो ।
एकातिर केयुकेएल आफ्नो वेभसाइटमा जनताले तिर्नसक्ने पैसामा पुग्दो गुणस्तरीय र भरपर्दाे पानी वितरण गर्ने कुरा गर्दछ, धारामा पानी नआएपनि ८० देखि ८५ प्रतिशत उपभोक्ताले मासिकरूपमा महसुल तिरिरहेको विवरण दैनिक पत्रपत्रिकामा प्रकाशित छन् । उपत्यकामा बोतल तथा जारको पानी उत्पादन गर्ने करिब एक सय ८० वटा उद्योग छन् । यहाँ सामान्य अवस्थामा दैनिक दुई लाख जार पानी बिक्री हुने गरेको उद्योगीहरू बताउँछन् । यसरी, संविधानको हक लिन पनि दैनिक करोडौँ खर्च गरिरहनु परेको छ ।
‘पानीबिनाकै माछा’ भएका नागरिकहरू घरमा आउने थोरै पानी पनि पिउन योग्य नहुँदा ‘नखाऊँ भने दिनभरको शिकार, खाऊँ भने कान्छा बाउको अनुहार’ को नियति भोगिरहेका छन् । सहस्राब्दी विकास लक्ष्यअनुरूप हरेक देशले आफ्नो नागरिकलाई स्वच्छ र पिउनयोग्य पानी उपलब्ध गराउने दायित्व र ‘खानेपानीको प्रदूषण नियन्त्रण गर्ने’ जिम्मेवारी लिनुपर्ने हुँदाहुँदै पनि खानेपानी मन्त्रालय तथा खानेपानी संस्थान कुम्भकर्णको निद्राजस्तो सुतिरहेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार आधारभूत आवश्यकताहरू पूर्ति गरी स्वस्थ रहनका लागि प्रत्येक व्यक्तिलाई दैनिक ५० देखि १०० लिटर पानी आवश्यक पर्छ । काठमाडौँ उपत्यकामा करिब ५०–६० लाख जनसङ्ख्या छ । उपत्यकाको निम्ति दैनिक कम्तीमा ४३ करोड लिटर खानेपानीको आवश्यकता भएको विज्ञको भनाइ छ । तर, आपूर्ति भने बर्सातमा १५ करोड लिटर र हिउँदमा आठ करोड लिटरमात्र भइरहेको छ । वीरशम्शेरको पालादेखिको पाइप वितरण प्रणालीमा सुधार गर्न नसक्दा करिब तीन करोड लिटर खानेपानी चुहावट हुने गरेको खानेपानी संस्थानकै अधिकारी बताउँछन् । यसैबाट पनि आजका शासकहरूको असक्षमता झल्किन्छ ।
हालै सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौँमा पानी झारिएको छ । करिब २६ किलोमिटर सुरुङमार्ग हुँदै दैनिक १७ करोड लिटर पानी राजधानी उपत्यकामा छोडिने भनिएको छ । यसबाट केही राहत त मिल्ला तर अझै पनि उपत्यकाको निम्ति पानी पर्याप्त हुने छैन । अनियन्त्रित जनसङ्ख्या वृद्धि रोकिएको छैन एकातिर भने उपत्यकामै सरकार अरू दशौँ लाखका नयाँ बस्तीहरू बसाल्ने तरखर गरिरहेको छ ।
इतिहासबोध कहिले हुन्छ ?
सयौँ वर्षअघि काठमाडौँ उपत्यकामा मानिसकोे आबादी भएको हो । पुर्खाले इनार, ढुङ्गेधारा, कुवा, कुलो बनाएका थिए । ढुङ्गेधारा हिजोआजमात्रै विकास भएको प्रणाली होइन । दुई हजार वर्षअघि नै पोखरीको निम्ति टेराकोट्टा इँटा प्रयोग भएको साफल्य अमात्यको ‘वाटर एन्ड कल्चर’ पुस्तकमा उल्लेख गरिएको छ । इसाको छैटौँ शताब्दीमा पाटन दरबार क्षेत्रको उत्तरपट्टिको ‘मंगहिति’ काठमाडौँ उपत्यकाको सबभन्दा पुरानो ढुङ्गेधारा भएको अमात्यले लेखेका छन् । सन् १९८२ मा गरिएको एक अध्ययनअनुसार देशका ९५ प्रतिशत ढुङ्गेधारा उपत्यकामै थिए । तीमध्ये धेरैजसो १३ औँ देखि १८ औँ शताब्दीमा मल्लकालमा बनाइएका थिए । उपत्यकाका करिब ५ सयवटा ढुङ्गेधारामध्ये काठमाडौँमा ११८ वटा, भक्तपुरमा १०३ वटा, थिमिमा ४८ वटा र ललितपुरमा ४० वटा थिए । ती ढुङ्गेधारामा राजकुलो अथवा मुहान वा इनारबाट पानी खसालिन्थ्यो । भक्तपुर नगरपालिका वडा नं ३ मा मात्र कम्तीमा ८० वटा इनार छन् (साविक वडा नं १३ मा ३५ वटा इनार छन्) । टेराकोट्टाको इँटाबाट बनाइएका ती इनारको निर्माण विज्ञानको आधुनिक शिक्षा पाएका खानेपानी मन्त्रीले बुझेका होलान् ?
पाटनमा १० किलोमिटर परको टीकाथलीबाट ल्याइएको राजकुलोको पानी थुप्रै धाराहरूमा बग्थ्यो । आज पनि ‘मंगःहिति’ बाट चौबीसै घण्टा खस्ने पानी उत्तरपश्चिमको कुनामा रहेको निकासबाट बाहिरिन्छ र त्यो पानी बग्दै छानिँदै च्यासल टोलमा रहेको धारा ‘च्यासःहिति’ बाट खस्छ भन्ने कुरा लेखक वसन्त महर्जनले लेखेका छन् । पानीको पुनः प्रयोगको यो नमुना नै मानिन्छ । काठमाडौँ उपत्यकाको पुरानो खानेपानी व्यवस्थापन रैथाने प्रविधिको उदाहरण हो । भक्तपुर दत्तात्रयको ‘भिंद्योहिति’ मा पानी झर्नुअगाडि नै पानी छान्ने प्रणाली रहेको पुनःनिर्माणको क्रममा यो लेखक स्वयम्ले देखेको थियो । सायद, त्यही भएर ‘भिंद्योहिति’ को पानीले स्नान गरेमा केटाकेटी स्वस्थ हुन्छन् भन्ने लोकभनाइको रहस्य यही हो । भक्तपुरको दरबार क्षेत्र (लायकु) को लुँहितिमा नगरकोटको पानी पुग्थ्यो भन्दा आजको पुस्तालाई पत्याउना गा¥हो होला । भोलानाथ पौडेललिखित ‘भक्तपुरको राजकुलो’ मा यसबारे वर्णन गरिएको छ ।
तर, उपत्यकाका धेरैजसो ढुङ्गेधारा सुकिसके, इनार र पोखरीहरूको अस्तित्व सङ्कटापन्न छ । विकासको नाममा पानीको निकास बन्द गरियो । काठमाडौँमा कर्मचारी सञ्चयकोषको भवन बनाउनेक्रममा सुन्धारा सुक्यो । आज काठमाडौँ उपत्यकाको रैथाने ज्ञानको भण्डारको बेवास्ता गर्दा राजधानी काकाकुल बनेको छ ।
पानी जीवनको आधार हो नै, नागरिकको निम्ति अरूभन्दा पानीको सुविधा हुनैपर्छ । जनतालाई पिउनयोग्य पानी खुवाउने दायित्व नेपाल सरकारकै हो । सरकारलाई कर तिर्नुको उद्देश्य पनि जनताको आधारभूत आवश्यकता पूरा होस् भन्ने हो । जनताको पिरव्यथा नबुझ्ने सरकार के सरकार ? त्यसको औचित्य पनि हुँदैन ।
Leave a Reply