भर्खरै :

धर्म शासक वर्गको हतियार बन्यो

ईस्वी संवत् सुरू हुनुअगाडि प्यालेस्ताइनमा ‘ईश्वर’ नामका एक व्यक्ति छन् र उनको नाम ‘इसा मसीह’ हो भन्ने हल्ला फैलाइयो । रोमका शासकहरूले दास, विदेशी र पराजित व्यक्तिहरूलाई सा¥है सताउँथे, कठोर काम गर्न लगाउँथे । जनतामाथिको अत्याचार, र पीडाबाट उद्धार गर्न ‘ईश्वर’ आउनेछन् भन्ने विश्वास फैलाइयो ।
मानिसलाई विश्वास भयो– रोमका शासकहरूले इसा मसीहलाई सूलीमा चढाएर मारेका थिए । उनी सा¥है सहनशील भएर मरे । मृत्युपछि उनको नयाँ जन्म हुने र स्वर्गबाट छिट्टै आउने विश्वास फैलाइयो । उनी फर्केपछि अत्याचारीहरूलाई सजाय दिनेछन् र असल मानिसलाई इनाम दिने आशा फैलाइयो ।
असल मानिस मरेपछि स्वर्ग जान्छन् र फेरि फर्कन्छन् भन्ने हल्ला विश्वासमा फेरियो र धैर्यपूर्वक दुःख–कष्ट सहनुपर्ने बताइयो । पछि देवता र स्वर्गका कथाहरू लेख्न थालियो । पहिलो शताब्दीको अन्त र दोस्रो शताब्दीको सुरुमा ‘सुर समाचार’ अथवा ‘बाइबल’ नाम दिएर इसा मसीहका आपसमा बाझिएका तथा कपोलकल्पित जीवन कथाहरू लेखिए ।
मानिसले इसा मसीहले दुःखीलाई उद्धार गर्ने र सहयोग गर्ने विश्वास गर्न थाले र त्यो विश्वासले नै धर्मको रूप लियो । ‘इसाई धर्म’ गाउँगाउँ र सहरसहरमा प्रचार गरियो । पछि स्वर्ग जाने र सुखी हुने आशाले पहिले गरिब र दासहरू ‘इसाई’ धर्मका समर्थक बने । यहुदी (इजराइलीहरू), ग्रिसका रोमवासीहरू, मिश्र बासिन्दाहरू, गाल जाति र अन्य पीडित जातिका मानिसहरू सुखको आशा गर्दै त्यस धर्मको पछि लागे ।
सुरुमा तिनीहरूले ‘इसा मसीह’ लाई मात्र ‘ईश्वर’ वा ‘भगवान’ हो भन्ने प्रचार गरे । तिनीहरूले राजा–महाराजा र सरकारको अगाडि नझुक्ने व्यवहार देखाउँथे । त्यसकारण, सरकारहरूले तिनीहरूलाई अत्याचार गर्न थाले । त्यो अत्याचारबाट बच्न इसाईहरू भूमिगत वा गुप्तरूपले धर्मको प्रचार गर्न लागे । तिनीहरूले आफ्नो धर्म मान्नेहरूको गुप्त समूहहरू बनाउन थाले । तिनीहरू एक आपसमा सहयोग गर्थे, सामूहिक वनभोजको आयोजना गर्थे, सँगै प्रार्थना गर्थे । पक्राउबाट बच्न तिनीहरू जङ्गल, गुफा र अरूले नदेख्ने दुर्गम ठाउँमा बैठकहरू गर्थे, भजन गर्थे ।
विस्तारै धनी मानिसहरू पनि मरेपछि स्वर्ग जाने लोभले त्यस धर्ममा लागे । दास तथा गरिबहरूलाई मालिक र अत्याचारीहरूसँग सङ्घर्ष नगर्न र अत्याचार सहेमा सहस्र गुण हुने बताउँथे । इसाई धर्मकै कारण विद्रोह र सङ्घर्षको भावना मत्थर हुुन थाल्यो । त्यसरी, धर्म र स्वर्गको लोभमा जनतामा आत्मबल घट्दै गयो । त्यसले समाजमा अल्छी, डरछेरूवाहरू देखिए र अन्धविश्वास जनतामाझ फैलिँदै गयो । पीडित मानिसमा सङ्घर्ष गर्ने र प्रतिकार गर्ने भावना सेलाउन थाले  ।
अन्ततः, त्यस धर्मको प्रचारले धनी, व्यापारी र अत्याचारी शासकहरूकै हित गर्न थाल्यो । त्यसकारण, धनी, व्यापारी तथा शासकहरूले पनि ‘इसाई चर्च’ अर्थात् ‘इसाई मन्दिर, मस्जिद, विहार, मठ र गुठीको विकास गर्न दिए । ती चर्चका धर्मगुरूमा ‘पादरी’ र धर्माधिकारी वा नेता ‘विशप’ को बन्दोबस्त गरियो । ल्हासाको ‘धर्मराजा’ भनेजस्तै ‘धर्म राजाहरू’ बनाइए । तिनीहरूको आदेश सबैले मान्नुपर्ने र ईश्वरसँग प्रार्थना गरे, सबैको कल्याण हुने प्रचार गर्न थालियो । यसरी दोस्रो शताब्दीसम्ममा चर्चहरूको कारण जनतामा अन्धविश्वास फैलियो । जनताको असन्तोष र विद्रोह मत्थर पार्न शासकहरूले चर्चहरूलाई मद्दत गर्न थाले । पछिपछि चर्चहरू त राजाहरूलाई समेत सल्लाह दिने, नियन्त्रण गर्ने र साँच्चै ‘धर्म र शासनको राजा’ बने ।
यसरी ‘इसाई धर्म’ काम गरी खाने गरिब जनतालाई दबाउने शोषक वर्गको एक हतियार बन्यो । एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशमा युरोपेली उपनिवेशवादीहरूले आ–आफ्नो हैकम कायम गर्न धर्मलाई प्रयोग गरे । साथै, धर्म प्रचारकहरू बन्दुक बोकेर देशभक्तहरूको विरोधमा आक्रमणमा उत्रेका थिए । यसरी धर्म शासक वर्गको वैचारिक हतियार बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *