भर्खरै :

नेपालमा माक्र्सवादी पार्टीहरू छन्

एमालेका बुद्धिजीवी भन्ने लेखक एवम् नेता प्रदीप नेपालले ‘नेपालमा कुनै पार्टी माक्र्सवादी रहेनन्’ भनी उद्घोष गरे । एमाले र माओवादी केन्द्र माक्र्सवादी नभएको मूल्याङ्कन गर्दै लेखक नेपालले नेपालका अन्य कम्युनिस्ट पार्टीहरूलाई पनि त्यही दृष्टिले हेरे र फुके । आफूलाई कम्युनिस्ट, बुद्धिजीवी, पढेलेखेको ठान्ने लेखक र नेताहरूको एकतर्फी सङ्कीर्ण नजर या गहिरिएर अध्ययन नगर्दा आफूलाई झैँ अरूलाई पनि त्यही नजरले हेरेर गलत मूल्याङ्कन गरे । कुनै एउटा कम्युनिस्ट पार्टीको गल्ती, कमजोरी, गलत बाटोलाई अरू कम्युनिस्ट पार्टीको गल्ती र कमजोरी ठानेर नजरअन्दाज गर्नु ठीक होइन । लेखक नेपालले कहिले नेपालमा कम्युनिस्ट पार्टी नै नभएको फुक्छन् त कहिले वर्गसङ्घर्षको नीति स्वीकार्ने पार्टी नै कम्युनिस्ट होइन भन्ठान्छन् । एमालेले वर्गसङ्घर्षको बाटो छोडेपछि अरूले पनि छोड्नु पर्ने, एमालेले देशघाती सन्धि गरेपछि अरूले पनि गर्नुपर्ने र त्यसो गरेमात्र कम्युनिस्ट ठान्ने लेखक नेपालको विचार खोटपूर्ण छ, उनको विचारमा सच्चाइ छैन ।
प्रदीप नेपालको बुझाइमा एमाले माक्र्सवादी पार्टी होइन । माक्र्सवादी पार्टी होइन भने लेखक नेपालले एमालेको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद हटाउन पार्टी नेताहरूलाई आग्रह गर्नुपर्छ । एमालेले माक्र्सवाद छोड्नुपर्छ । एमाले माक्र्सवादी पार्टी नभएको आधारमा अन्य कम्युनिस्ट पार्टीलाई माक्र्सवादी होइन भन्न पाइँदैन । सरकारमा जाने या सरकारमा गएरै आमूल परिवर्तन गर्नसक्ने कुरा गरेर, सङ्घर्षको बाटो छोडेर, शत्रु र मित्र वर्ग नचिनी वर्ग समन्वयको बाटो अँगाल्ने, सबैसँग मिलेर जाने दल के कम्युनिस्ट पार्टी हो ? के एमालेको सरकारले १२ कक्षासम्म निःशुल्क र अनिवार्य शिक्षा गरेपछि त्यो दल कम्युनिस्ट हुन्छ ? के पुँजीवादी संसदीय व्यवस्थामा रहेर आमूल परिवर्तन गर्न सकिन्छ ? के राजतन्त्र अन्त्य गर्नुमात्रै कम्युनिस्ट पार्टीको दायित्व हो ? के अहिलेको प्रजातान्त्रिक सङ्घीय गणतन्त्र नै कम्युनिस्ट पार्टीको अन्तिम उद्देश्य हो ?
अहिलेको यो व्यवस्थाले क्रान्तिकारी भूमिसुधार लागू गर्न सक्दैन, लागू गर्न दिँदैन । यो व्यवस्थाले आर्थिक समानताको बाटो हेर्दैन । यो व्यवस्थाले बहुमत जनता या श्रमजीवी वर्गको हितमा काम गर्दैन । सङ्घर्षविना यी उद्देश्य प्राप्त गर्न सकिँदैन । यी उद्देश्यहरू कसैलाई भनेर, फुकेर, दबाब दिएर प्राप्त हुँदैन । यसको लागि सङ्घर्ष गर्नुपर्छ । सङ्घर्ष कहिले कानुनी हुन्छ त कहिले गैरकानुनी हुन्छ । समाजवाद जनताले ल्याउने हो, जनताको सङ्घर्षले पाउने हो, समाजवाद बन्दुकले ल्याउने होइन । वर्गसङ्घर्षमा आवश्यकताअनुसार बन्दुक पनि उठाउनुपर्ने हुन्छ । तर, कसैले बन्दुक बोक्दैमा, बन्दुक उठाउँदैमा त्यो दल कम्युनिस्ट हुन्छ भन्ने होइन । मुख्यतः जनता नै हुन्, जनता नै सङ्गठित र सचेत हुनुपर्छ । क्रान्तिको निम्ति परिस्थिति तयार नहुँदै युद्धको घोषणा गर्दा, हतियार उठाउँदा असफल हुन्छ, माओवादी केन्द्रले गरेको ‘जनयुद्ध’ असफल भएको युद्ध हो ।
चैत १२ गते ‘गोरखापत्र’ दैनिकमा प्रकाशित ‘नेपालमा कुनै पार्टी माक्र्सवादी रहेनन्’ भन्ने लेखमा लेखक नेपालले लेनिनवादलाई माक्र्सवादको शत्रु देखे । ‘जनताको जनवाद’ र ‘एक्काइसौँ शताब्दीको समाजवाद’ माक्र्सले नचिनेको पनि उनले उल्लेख गरे । नेपालका कम्युनिस्टहरू पनि माक्र्सवादी नरहेको भन्न उनी पछि परेनन् । उनका यी अभिव्यक्तिहरूले लेखक स्वयम् कम्युनिस्ट नभएको या माक्र्सवादी नभएको स्पष्ट हुन्छ । उनले आफूलाई माक्र्सवादी पनि भनेनन्, माओ विचारधारा पनि भनेनन् । लेनिनवादी भएर आफूले आफूलाई सर्वहारावादी रहेको दाबी गरे ।
अन्तर्राष्ट्रवादी कम्युनिस्ट नेताहरू कुनै पनि देशको दर्शन, सिद्धान्त र विचारलाई अन्धानुकरण गर्दैनन् । अरू देशको सिद्धान्त र विचारलाई जस्ताको तस्तै लागू गर्दैनन् । माक्र्सको आफ्नो छुट्टै दर्शन र सिद्धान्त छ भने लेनिन र माओ त्सेतुङ्गको पनि सिद्धान्त र विचार छ । आ–आफ्नो देशको वस्तुस्थितिअनुसार ती सिद्धान्त र विचार लागू गर्छन् । आफ्नो देश, काल र परिस्थितिअनुसार लागू भएको सिद्धान्त र विचारलाई अरू देशले नक्कल गर्ने होइन, बरु सिक्ने हो, आफ्नो देश, काल र परिस्थितिअनुसार लागू गर्ने हो । माओको विचार रुसमा लागू गर्नैपर्छ भन्ने छैन, कार्यान्वयन नहुँदैमा माओ त्सेतुङ्ग लेनिनविरोधी हुँदैन ।
जर्मनीमा लागू भएको माक्र्सको सिद्धान्त र विचार रुसमा जस्ताको तस्तै लागू हुनुपर्छ भन्ने होइन । लागू गरिएन भनेर न माक्र्स लेनिनविरोधी हुन्छ न त लेनिन माक्र्सविरोधी हुन्छ । कम्युनिस्टहरू वर्गसङ्घर्षलाई विश्वास गर्छन् । वर्गसङ्घर्षलाई विश्वास नगर्ने कुनै पनि दल र दलका नेताहरू कम्युनिस्ट हुँदैनन् । पढेलेखेको (पीएचडीसम्म पढेको) डा. बाबुराम भट्टराईले कम्युनिस्टको सिद्धान्त र विचार छोडेको आधारमा माक्र्सवाद–लेनिनवाद नबुझेको, माक्र्सवाद र लेनिनवाद छोडेको या छाड्नुपर्छ भन्ने विचार कसरी सही हुन्छ ? शिक्षा र स्वास्थ्य निःशुल्क भएपछि कम्युनिस्टको इच्छा पूरा भएको ठान्छन् लेखक नेपाल । त्यति भएपछि देशमा किन वर्गसङ्घर्ष गर्नुप¥यो र भन्ने प्रश्न गर्छन् उनी ।
कम्युनिस्टको उद्देश्य नै भुलेर, कम्युनिस्टको आचरण र मान्यतालाई ढाकछोप गरेर पुँजीवादी व्यवस्थामा रहेर सरकारको नेतृत्व गरिरहेको कामलाई नै कम्युनिस्टको काम ठान्ने लेखक नेपालको विचारभित्र कुन सिद्धान्त र विचार रहेको छ भन्ने थाहा हुन्छ । सत्तारुढ दलका नेताहरू एकातिर एकले अर्कालाई कम्युनिस्ट नै होइन, कम्युनिस्ट भड्काउने आरोप लगाइरहेका छन् भने अर्काेतिर एमालेकै नेताहरू कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार नै तोडमोड गरी अर्कै बाटो या कम्युनिस्टविरोधी विचार पोख्दै छन् । यसप्रति देशका सबै सच्चा कम्युनिस्टहरू सचेत हुनुपर्छ, भ्रमात्मक विचार र गलत कार्यको खबरदारी गर्नुपर्छ । त्यसो गरिएन भने देशमा कम्युनिस्टहरूको गलत सन्देश जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *