भर्खरै :

“बौद्धिक तथा शैक्षिक सङ्घर्ष पनि वर्गसङ्घर्ष नै हो”

 
काठमाडौँ, १३ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको राष्ट्रिय भेला शुक्रबार सुरू भएको छ । त्रिभुवन विश्वविद्यालयको सेडा हलमा आयोजित एक समारोहबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भेलाको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेँले सरकारको मात्र गाली गर्दा अमूर्त कलाजस्तो हुने भन्दै जनतालाई दुःख दिने कालाबजारिया, तस्कर, भ्रष्टाचारी, ठेकेदारहरूको विरोध आवश्यक भएको बताउनुभयो ।

माओवादी र एमाले पार्टीभित्रको झगडा निरर्थक भएको भन्दै शासक पार्टीहरूभित्रको अन्तरकलहबाट देशले केही नपाएको बताउनुभयो । उहाँले निर्वाचनमा गएको भए शासक पार्टीहरूले लुकाएका तथ्यहरू जनताबीच सार्वजनिक हुन्थे भन्दै निर्वाचन जनताको चेतनास्तर उकास्ने एक माध्यम हो भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले संसद्मा देशका महत्वपूर्ण विषयहरूमा छलफल नै नभएको भन्दै सांसदहरूले विश्व व्यापार सङ्गठनमा सदस्य भएपछि के हुन्छ भन्ने थाहा नै नपाई संसद्बाट कानुन पास गरेको बताउनुभयो ।
विश्व व्यापार सङ्गठनमा सदस्य भएपछि विदेशी विश्वविद्यालयका कलेजहरू नेपालमा धमाधम आइरहेको उल्लेख गर्दै उहाँले नेमकिपाले नेपालजस्तो देशले डब्लूटीओको सदस्य बन्न नहुनेबारे समयमै खबरदारी गरेको बताउनुभयो । अध्यक्ष बिजुक्छेँले सांसदहरूले राजनीतिशास्त्र तथा अर्थशास्त्रको अध्ययन नगर्दा यस्ता कानुन पारित भएको भनाइ राख्नुभयो ।
उहाँले समाजवाद नआएसम्म समानता नआउने भन्दै बौद्धिक तथा शैक्षिक सङ्घर्ष पनि वर्गसङ्घर्ष नै हो भन्नुभयो । उहाँले भन्नुभयो, “आफ्नै घरआँगनमै विश्वविद्यालय भएर पनि गरिब वर्गले पढ्न पाएनन् ।”
शासक वर्गका विद्यार्थी सङ्गठनहरूले शैक्षिक संस्थाहरूमा हड्ताल गर्दा गरिबका छोराछोरीले पढ्न नपाएको भन्दै उहाँले चिट चोर्न पाएनौँ भनी हड्ताल गर्नु गलत भएको विचार राख्नुभयो । उहाँले भन्नुभयो, “गरिबहरूलाई बौद्धिकरूपमा कमजोर पार्ने यो षड्यन्त्र हो ।”

बन्द हड्तालको कारण पढ्नको निम्ति युवाहरू भारतलगायत विभिन्न देशमा गइरहेको भन्दै अध्यक्ष बिजुक्छेँले विदेशिएका विद्यार्थीबाट गलत विचार भित्रिने सम्भावना भएको बताउनुभयो ।
उहाँले भारतबाट नक्कली प्रमाणपत्र ल्याई नेपाल सरकारको उच्च पदमा पुगेका कर्मचारीहरूको कारण भारतसँगका वार्ताहरूमा नेपालको प्रस्तुति कमजोर भई देशलाई घाटा हुन गएको तर्क राख्नुुभयो । उहाँले विद्यार्थीलाई विभिन्न विषयको गम्भीर अध्ययन गरी देश र जनताको निःस्वार्थ सेवा गर्ने उद्देश्य राख्नुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले नेक्राविसङ्घले २०३६ सालको विद्यार्थी आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै दोस्रो जनआन्दोलनमा पनि नेक्राविसङ्घ उत्तिकै सक्रिय थियो भन्नुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य तथा नेक्राविसङ्घका पूर्व केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले दोस्रो जनआन्दोलनमा नेक्राविसङ्घले समाजवादी गणतन्त्रको नारा दिएर नेपालको विद्यार्थी आन्दोलनलाई नयाँ दिशाउन्मुख गराएको भन्दै समाजवादबारेको बहसलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले नेक्राविसङ्घले भारतीय एकाधिकार पुँजीको विरोधमा सङ्घर्ष अगाडि बढाउनु सान्दर्भिक भएको भन्दै नेपाल र भारतबीचको व्यपारमा नेपालले चर्को व्यापार घाटा व्यहोरेको उल्लेख गर्नुभयो ।

नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य गोरख शाहीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव रमेश प्रजापतिले गर्नुभएको थियो ।
राष्ट्रिय भेलामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा प्रशिक्षण तथा छलफल हुने बताइएको छ । भेला शनिबार पनि जारी रहने आयोजकले बताएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *