भर्खरै :

जाँ मेल्ये – २, जाँ मेल्येका आदर्श समाज

रु एक जिज्ञासु मानिसहरू मालसामान, सम्पत्ति र जीवनका सुखसुविधाहरूका समान मालिक बने । उनीहरूले तिनको साझा उपभोग गरे भने, उनीहरूमध्ये सबैजना कुनै न कुनै निष्कपट र उपयोगी काममा अथवा निष्कपट र उपयोगी शारीरिक र मानसिक श्रममा दत्तचित्त भए भने, उनीहरूले जमिनको पैदावार एवम् श्रम र उद्यमका फलहरू बुद्धिमत्तापूर्वक व्यवस्थापन गरे भने, उनीहरूलाई सुख र सन्तुष्टिसाथ बाँच्न पर्याप्त हुनेछ । किनभने, धर्तीले सदा प्रचुर उत्पादन गर्छ र त्यो उनीहरूको लालनपालन र अस्तित्वका निम्ति छेलोखेलो हुन्छ । उनीहरूले सदा यी स्रोतसाधनको राम्रो प्रयोग गरे भने जीवनलाई आवश्यक सामग्रीहरू उत्पादन गर्नबाट धर्ती बिरलै बिमुख हुनेछ । त्यसपछि शान्तिपूर्वक जीवन चलाउन सबैलाई पुगिसरि हुनेछ । आवश्यक सामग्रीबाट कोही वञ्चित हुनेछैन । आफू र आफ्ना सन्तानलाई कसरी पाल्ने, के लगाइदिने, कहाँ राख्ने वा कहाँ सुताउने होला भनी कोही पिल्सिनुपर्ने छैन । किनभने, सबैले निश्चय नै यी सबथोक पाउनेछन् । गतिलो नीति नियममा चल्ने त्यस समाजमा सबैले छेलोखेलो, सजिलो र आरामदायी जीवन बाँच्नेछन् । छिमेकीलाई चकित पार्ने मनसायले कसैले पनि ठगी, कुटिलता र झूटा कुराको सहारा लिन चासो दिनेछैन । आफ्ना मालसामानको सुरक्षा गर्न कसैले कानुनी मुद्दामा चासो दिनेछैन । कसैले पनि छिमेकीको इष्र्या गर्नेछैन । एकअर्काप्रति बैरभाव हुनेछैन । किनभने, सबैजना झन्डै समान स्थितिमा हुनेछन् । अरूका सरसामानहरू चोर्नमा कसैको ध्यान जानेछैन । अरूको खल्ती रित्याउन वा कसैको धनमाल चोर्नमा कसैले चासो दिनेछैन । किनभने, यसले एक व्यक्तिको रूपमा उसलाई लाभ हुनेछैन । कसैले पनि आजभोलि असङ्ख्य गरिबगुरुवाहरू घोटिएजस्तो काम र थकानले आफ्नो हाडछाला घोट्नेछैन । आज गरिबहरू झन्डै आफूलाई मार्न विवश छन् भन्दा हुन्छ । जीवन धान्नकै लागि, उनीहरूसँग तारन्तार मागिने खर्च पानी र कर तिर्नकै लागि काम र थकानले उनीहरू आफूलाई मार्न बाध्य छन् । म भन्छु, कसैले पनि काम र थकानले आफूलाई मार्नमा रूचि लिनेछैन । किनभने, श्रमका दुःखहरूमा सबैले हातेमालो गर्नेछन् र अरूले उपयोगी श्रम गरिरहेको बेला कसैले पनि अनुपयोगी भई झिङ्गा धपाउनेछैन ।
तपाईँहरू छक्क पर्नुभयो हैन, प्यारा साथीहरू ¤ गरिबगुरुवाहरू, तपाईँहरूको जीवनमा यति धेरै दुष्टता र यति धेरै दुःखकष्टहरू छन्, तपाईँहरू पनि छक्क पर्नुभयो हैन ? दिनको पूरै भार र तापजति सबै तपाईँहरू नै खप्नुहुन्छ, तपाईँका भजनहरूमा वर्णन हुने दुःखी गरिबहरूको कथाजस्तै । तपाईँ र तपाईँजस्तै मानिसहरूलाई राज्यको समस्त बोझ बोकाइन्छ । तपाईँलाई आफ्ना राजामहाराजा र राजकुमारहरूको बोझ बोकाइन्छ जो तपाईँमाथि अत्याचार गर्ने अत्याचारी हुन् । तपाईँलाई सारा खानदानीहरूको बोझ बोकाइन्छ, सम्पूर्ण कानुनी व्यवस्थाको भारी बोकाइन्छ । तपाईँलाई धेरैजनाको कारिन्दा र गोठालो बनाइन्छ, अरूको नोकर र नोकर्नी बनाइन्छ । तपाईँलाई मालपोत र कर उठाउने र उधारो नदिनेहरूले आफ्ना सिपाही बनाउँछन् । नुनतेल र सुर्ति दिएर पाले बनाउँछन् । तपाईँलाई केही काम नगर्नेहरूले, संसारका अनुपयोगी बोझहरूले आफ्नो भारी बोकाउँछन् । किनभने, तपाईँको सारोगाह्रो श्रमको फल खाएर नै यी समस्त मानिसहरू बाँच्छन् । तपाईँले आफ्नो श्रमले यो सबका लागि आवश्यक स्थिति पैदा गर्नुहुन्छ । उनीहरूको मनोरञ्जन र सुखसयलका लागि चाहिने चीजबीज पनि पैदा गर्नुहुन्छ । उदाहरणको लागि, पृथ्वीका महान् राजकुमार र भारदारहरूलाई जनताले टेको दिएनन् भने के हुन्थ्यो ? जनतालाई उनीहरूले बिरलै दयाका आँखाले हेर्छन् । तिनै जनताबाट उनीहरूले आफ्नो सारा फाईफूर्ति, सबै धनसम्पत्ति र सम्पूर्ण शक्ति सोसेका हुन्छन् । एक शब्दमा भन्नुपर्दा तपाईँहरूको सहयोग भएन भने उनीहरूको सारा झिलिमिली हराउँछ र उनीहरू तपाईँजस्तै सानो र कमजोर बन्न पुग्छन् । तपाईँहरूले दिनुभएन भने उनीहरूसँग तपाईँहरूसँग भन्दा बढी धनदौलत हुँदैन । तपाईँहरूले तिनीहरूका कानुन र हप्कीदप्कीसामु शिर झुकाउनुभएन भने अन्तमा उनीहरूसँग सत्ता वा अधिकारसमेत हुँदैन । मैले भनेका यी सबै मानिसहरूले तपाईँहरूसँगै श्रमको सारोगाह्रो बाँडचुँड गरे भने र उनीहरूले आफूले लिएजति उत्पादित सामान अथवा तपाईँले कमाएको, तपाईँको प्रशस्त पसिना बगेर उब्जेको भाग तपाईँलाई नै छोडे भने तपाईँको बोझ घट्नेछ र तपाईँको थकान कम हुनेछ । तर हैन, सबै दुःखपिर तपाईँ र तपाईँजस्ताको भागमा परेको छ र सबै मालसामानजति अरूको भइरहेको छ । खासमा उनीहरूले अलिकतिमात्र पाउनुपर्ने हो । यसकारण, गरिबहरूको जीवनमा यति धेरै दुष्टता र दुःखकष्ट छ ।
दि ला ब्रुएरले ‘चरित्रहरू’ नामक पुस्तकमा लेखेका छन्, “हामीले गाउँघरमा केही हिंस्रक जनावरहरू देख्छौँ, भाले र पोथी, काला र गहुँगोरा, घामले डढेका, जमिनमा बाँधिएका, उनीहरू अजेय कठोरतासाथ जमिन खन्छन् र पाट्छन्, उनीहरूको बोली सीधासादा हुन्छ, उभिँदा उनीहरू मान्छेको अनुहारकै हुन्छन् र वास्तवमै उनीहरू मान्छे हुन् । रातमा उनीहरू आफ्ना झुपडीहरूमा जान्छन् । त्यहाँ उनीहरू मैलो रोटी, पानी र कन्दमुलको भरमा बाँच्छन् ।” लेखक भन्छन्, “जसले गर्दा उनीहरू आफूले रोपेको गहुँको रोटी खानबाट वञ्चित नहोऊन् र उनीहरूले यति धेरै दुःखकष्ट जन्माउँछन् ।” हो, उनीहरू त्यसबाट वञ्चित नहोऊन् र बरु उनीहरूले त्यो सुरुमै खान पाउनुपर्छ र राम्रो भाग खान पाउनुपर्छ । साथै, उनीहरूले वाइनको असल भाग पनि पाउनुपर्छ किनभने उनीहरूले धेरै दुःख र थकान खेपेका हुन्छन् । तर, हे अमानव, घिनलाग्दो क्रुरता, पृथ्वीका धनीमानी र हुनेखानेहरूले उनीहरूको कठोर परिश्रमको फलबाट राम्रो भागजति चोर्छन् र उनीहरूका लागि अन्नको कनिकामात्र छोड्छन् । तिनीहरूले त्यति कष्ट र श्रम गरेर तयार गरेको असल वाइनको थेग्रोमात्र उनीहरूलाई छोड्छन् । मैले उल्लेख गरेका लेखकले त्यसो लेखेका छैनन् तर यति बुझ्नसक्ने गरी झल्काएका छन् । मैले भनेझैँ सबै सरसामानलाई बुद्धिमत्तापूर्वक व्यवस्थापन गरियो र बाँडियो भने कसैले पनि आफ्नो लागि आत्तिनुपर्दैन र भोकमरी र दरिद्रसँग तर्सिनुपर्दैन । किनभने, सबै सरसामान र धनसम्पत्ति सबैको लागि हुन्छ । पक्कै पनि त्यो नै मानिसले पाउन सक्ने सबैभन्दा राम्रो र महान् सुख हुनेछ ।
त्यसरी नै, मान्छेले आफ्ना घरपरिवारबीच निरर्थक र हानिकारक भेदभाव गर्न छोडे भने र उनीहरूले आफ्नो धर्ममा भनिएझैँ साँचो अर्थमा सबैलाई आफ्ना दाजुभाइ वा दिदीबहिनीको रूपमा हेरे भने, कसैले आफूलाई जन्मजात आफ्नो साथीभन्दा राम्रो र घरानियाँ भनी शेखी गर्दैन भने उनीहरूले एकअर्कालाई घृणा गर्नुपर्ने वा आफ्नो जन्म वा घरपरिवारलाई लिएर अरूलाई हेप्नुपर्ने कुनै कारण छैन । बरु प्रत्येकले आफूलाई जन्मजात पाएको काल्पनिक गुणबाट भन्दा पनि आफ्ना निजी गुणहरूबाट सम्मानित भएको पाउनेछ । यो मानिसको लागि एकदम हितकारी पनि हुन्छ ।
यसरी नै मान्छेले र खासगरी हाम्रा यशुका अनुयायीहरूले अहिले गरेजस्तो विवाहलाई स्थायी बनाएनन् भने, बरु एकअर्कालाई दबाबमा नराखी उनीहरूले जोडी र मितेरीलाई आपसमा खुला छोडे अर्थात् लोग्ने र स्वास्नी मान्छेलाई आफ्नो झुकावको विपरीत जीवनभर बन्धनमा बस्न बाध्य गरेनन् भने हामीले बिहेवारी भत्किने यति धेरै घटना वा उनीहरूबीच देखिने यति धेरै खराब जोडीहरू देख्नुपर्नेछैन । त्यसपछि लोग्ने र स्वास्नीबीच हुने यति धेरै मनमुटाव र भनाबैरी हुनेछैन । अहिले उनीहरूबीच आपसमा प्रायः दिनदिनै भइरहने गालीगलौज, हेलाहोचो वा दुव्र्यवहारमा उनीहरूको ध्यान जानेछैन । एकअर्काप्रति प्रायः रिसाउने कुुरामा उनीहरूले चासो दिइरहनुपर्ने छैनन् । एकअर्कालाई दुष्ट कुरा भन्नुमा रस हुनेछैन । एकअर्कालाई पिट्ने वा रिसको झोकमा लुछालुछ गर्नुमा उनीहरूको रूचि हुनेछैन । यस्तो लोग्ने स्वास्नीबीच प्रायः हुने गर्छ । झगडामा रूचि किन हुँदैन भने, उनीहरूले एकअर्कालाई प्रेम गर्न छोडे वा साथमा खुसी रहन छोडे भने उनीहरू चुपचाप आफ्नो बाटो लाग्न सक्छन् र आफ्नो खुसी अन्तै खोज्न सक्छन् । अर्को शब्दमा, कोही पनि दुःखी लोग्ने वा दुःखी स्वास्नी हुनेछैन । अहिले धेरै मानिसहरू स्थायी विवाहको घातक जुवामुनि जीवनभर व्यथित रहन्छन् । यसको विपरीत, (भविष्यमा) उनीहरू दुवैले मेलमिलाप र शान्तिपूर्वक आफ्ना आनन्द र सन्तुष्टि आफूलाई सुहाउँदो व्यक्तिमा सधैँ पाउनेछन् । किनभने, त्यसपछि असल मित्रता नै उनीहरूको दाम्पत्य मिलनको सिद्धान्त र मूल कारण बन्नेछ । त्यो दुवैजनाका लागि हितकारी हुनेछ । यो उनीहरूका छोराछोरीका लागि पनि राम्रो हुनेछ । किनभने, ती छोराछोरीहरू आमा, बुबा वा दुवै बितेका गरिब टुहुराटुहुरीजस्तो बेसहारा हुनुपर्नेछैन । क्रूर सौतेलो बाबु वा दुष्ट सौतेनी आमाको भरमा बाँच्नुपर्ने दरिद्र कानुनले गर्दा भोकै बस्ने वा पिटपाटको दुव्र्यवहार झेल्ने बालबालिकाजस्तो हुनुपर्नेछैन । अथवा, बालबालिकाका सामान खाने र खेर फाल्ने शिक्षक वा सुसारेको खटनमा बस्नुपर्दैन र बेवास्तामा पर्नुपर्दैन । उनीहरू आमाबुबाको अह्रनखटनमा दुःखी रहने धेरै बबुराबबुरीजस्तो हुनुपर्नेछैनन् । उनीहरूले आफ्नो कलिलो बाल्यकालका वर्षहरू गरिबीको पीडामा, हिउँदको चिसोमा, गृष्मको गर्मीमा, भोक र तिर्खामा, लुगाको अभावमा बाँच्नुपर्दैन । अहिले उनीहरू प्रायः फोहर र दुर्गन्धबीच बस्छन् । शिक्षा र स्याहारसुसार हुँदैन । उनीहरू राम्ररी हुर्किन र फस्टाउन पनि सक्दैनन् किनभने उनीहरूसँग जीवनका अत्यावश्यक सरसुविधाको अभाव हुन्छ ।
तर, ती छोराछोरीहरूलाई राम्ररी हुर्काइनेछ । उनीहरू सबैलाई राम्ररी पालनपोषण गर्नेछन् । उनीहरूलाई चाहिएको सबैथोक दिइनेछ किनभने उनीहरूलाई सामाजिक र साझा सम्पत्तिबाट सामूहिकरूपमा हुर्काइनेछ, खुवाइनेछ र पालिनेछ । उनीहरू सबैलाई समान ढङ्गले असल नैतिकता र इमानदारीको शिक्षा दिइनेछ । उनीहरूलाई प्रत्येकको झुकावअनुसारको आवश्यक विज्ञान र कलाको ज्ञान दिइनेछ । समाजलाई खाँचो पर्दा उनीहरूको सेवा उपयोगी होस् भनी ध्यान दिइनेछ । कसरी ? सबैलाई नैतिकताका समान सिद्धान्तहरूमा र असल व्यवहार र इमानका उस्तै नियमहरूमा शिक्षित गरिन्छ । यसरी सबैलाई बुद्धिमान र इमानदार बनाउन सजिलो हुनेछ । उनीहरू सबैलाई साझा भलाइको निम्ति सँगसँगै काम गराउन र स्वदेशको उपयोगी सेवामा सक्षम बनाउन सकिनेछ । यो निश्चय नै जनताको भलाइ र मानव समाजको निम्ति लाभदायी हुनेछ । मानिसहरूलाई बेग्लाबेग्लै नैतिक सिद्धान्तहरूमा शिक्षित गर्दा र अलगअलग हुर्काउँदा यस्तो हुँदैन । त्यस्तो स्थितिमा उनीहरूले अलग नियम र अलग जीवनशैली सिक्छन् । त्यसपछि शिक्षा, तालिम र जीवनशैलीको विविधताले बेमेल र सुखको भिन्नता पैदा गर्छ । यसले विचार र भावनाहरूमा बेमेल ल्याउँछ । यसले गर्दा उनीहरू मिलेर शान्तिपूर्वक बस्न सक्दैनन् भन्ने तय हुन्छ । फलस्वरूप, उनीहरूले मिलेर सबैको हितमा काम गर्न सक्दैनन् । जसले गर्दा उनीहरूबीच झमेला र फुट भइरहन्छ । तर, उनीहरूलाई युवाकालदेखि नै सँगै हुर्काइन्छ र एकै नैतिक आचरणमा शिक्षित गरिन्छ भने, उनीहरूले जीवन र व्यवहारबारे उस्तै नियमहरू पालन गर्न सिक्छन् भने, उपरान्त सबैको एउटै मन हुनेछ । उस्तै विचार भएपछि उनीहरू सबैले साझा हितको निम्ति झन् सजिलै काम गर्नेछन् । यो सबैका लागि हितकारी हुन्छ ।
यसकारण, मानिसहरूलाई सधैँ विवाह र दाम्पत्य मिलनको स्वतन्त्रता दिनु जाति हुन्छ । उनीहरूका सन्तानहरूलाई समान ढङ्गले हुर्काउनु, खुवाउनु, पाल्नु र असल आचरणका साथै विज्ञान र कलामा शिक्षित गर्नु जाती हुन्छ । उनीहरूले एकअर्कालाई दाजुभाइ र दिदीबहिनीको रूपमा हेर्नु र माया गर्नु जाती हुन्छ । उनीहरूले आपसमा कुलघरानको भेदभाव नगर्नु र अरूभन्दा आफू जन्मले अब्बल परिवारको नठान्नु जाती हुन्छ । उनीहरू सबैले आफूलाई कुनै न कुनै असल श्रम वा असल इमान र उपयोगी काममा दत्तचित्त राख्नु जाती हुन्छ । अन्यायपूर्वक एउटा जमातलाई सबै दुःखपिर र पूरै बोझ बोकाउने र अरूले केही नगरी तिनको सुखसयल र सन्तुष्टि खोस्ने परिपाटी छोडेर कुनै न कुनै श्रमको सारोगाह्रो र जीवनका असुविधाहरूमध्ये आफ्नो भागको कष्ट भोग्नु जाती हुन्छ । अन्तमा, उनीहरूले सबैथोकको साझा स्वामित्व लिए एवम् मालसामान र जीवनका सुखसुविधाहरूको शान्तिपूर्वक भोग गरे जाती हुन्छ । यी सबै बुद्धिमानहरूको मार्गदर्शन र नेतृत्वमा भयो भने निश्चय नै उनीहरूले अहिलेभन्दा असीम सुख र सन्तोष पाउनेछन् । किनभने, त्यस्तो स्थितिमा हामीले पृथ्वीमा कोही दीनहीन, अभागी वा कुनै गरिब देख्नुपर्नेछैन जस्तो यस्ता अनगिन्ती मानिसहरू हामीले दिनदिनै देख्ने गर्छौँ ।
आफ्ना ‘संस्मरणहरू’ मा (प्रसिद्ध वैज्ञानिक) पास्कलले यही मर्मलाई प्रस्टसित सावित गरेका छन् । उनी भन्छन्, समस्त भूमि र त्यसबाट उत्पन्न हुने सम्पूर्ण दुष्टताहरूलाई कुन तथ्यले मात्र निमिट्यान्न पार्न सकिन्छ, जुन कुरा तिनीहरूले हडप्न चाहन्छन् त्यसलाई साझा छोड्नुपर्छ । ‘यो कुकुर मेरो हो, ती गरिब केटाकेटीले भने र सूर्यको त्यो स्थान मेरो हो ।’ लेखक भन्छन्, “यो नै सुरुआत हो, भएभरको भूमि हडप्ने झलक हो ।” महान् प्लेटोले सबैजना राजीखुसी बाँच्नसक्ने नागरिकहरूको गणतन्त्र निर्माण गर्न चाहे र उनले उचित तवरले त्यसबाट तेरो र मेरो भन्ने शब्द हटाए । राम्ररी बुझौँ, जबसम्म बाँड्नुपर्ने चीजबीजहरू रहनेछन् तबसम्म मनमुटाव भइरहनेछ । त्यसबाटै सारा समस्या, भेदभाव, युद्ध र मुद्दामामिलाहरू जन्मिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *