सरकारको नीति तथा कार्यक्रम : उपेक्षामा स्वास्थ्य क्षेत्र
- जेष्ठ ४, २०८३
सोभियत सङ्घमा गोर्भाचोभको शासनकाल
सोभियत नेता कन्स्टान्टिन छेर्नेन्कोको मृत्यु भएलगत्तै मिखाइल गोर्भाचोभ सन् १९८५ को मार्च ११ मा सोभियत कम्युनिस्ट पार्टीको महासचिवमा नियुक्त भए । त्यतिबेला गोर्भाचोभ ५४ वर्षका थिए । उनी सोभियत कम्युनिस्ट पार्टीको पोलिटब्युरोको सबभन्दा कान्छा सदस्य थिए ।
सोभियत सत्तामा आउनेबित्तिकै उनको मुख्य उद्देश्य सोभियत सङ्घको आर्थिक स्थितिमा सुधार ल्याउनु थियो । ब्रेझनेभको पालामा सुस्त र मन्दगतिमा बढिरहेको आर्थिक उन्नतिमा सुधार ल्याउने र देशमा उदारवादी नीति लागु गर्ने उद्देश्यले उनले ‘ग्लास्नोस्ट’ र ‘पेरेस्ट्रोइका’ जस्ता दुइटा नयाँ अवधारणा प्रस्तुत गरे । रूसी भाषामा ‘ग्लास्नोस्ट’ को अर्थ पारदर्शिता र खुलापन हो भने पेरेस्ट्रोइकाको अर्थ पुनःनिर्माण अथवा नवनिर्माण हो ।
सोभियत सङ्घ सामरिक हातहतियार तथा औद्योगिक उत्पादनमा धेरै पश्चिमा मुलुकहरूको भन्दा अगाडि रहे पनि सैनिक शक्तिमा अमेरिकाको हाराहारीमा थियो । तर, पश्चिमा जगतको तुलनामा अर्थनीति र कम्प्युटर विज्ञानमा सोभियत सङ्घ धेरै पछि थियो । गुणस्तरीय उपभोग्य सामग्रीको पनि अभाव थियो । बजारमा पाइने लुगाफाटो गुणस्तरीय थिएन । सोभियत बजारमा खाद्यान्नको आपूर्ति येनकेन प्रकारेण पु¥याइएको थियो । विश्वका अन्य मुलुकबाट धेरै सङ्ख्यामा विदेशी नागरिक सोभियत सङ्घमा आउन थालेपछि सोभियत जनतामा एकप्रकारको निरासापन उत्पन्न भयो र केही मात्रामा हिनताबोध पनि भयो । विश्वको शक्तिशाली राष्ट्र भएर पनि सोभियतको जनजीवन अन्य युरोपेली देशहरूभन्दा पिछडिएको देखिएकोले मिखाइल गोर्भाचोभले सोभियत अर्थनीति, सामाजिक परिस्थिति र राजनीतिमा ठूलो परिवर्तन ल्याउने गरी ग्लास्नोस्ट र पेरेस्ट्रोइको अवधारणालाई अगाडि बढाउन विदेश नीतिमा धेरै खुकुलो बनाए । सोभियत कम्युनिस्ट पार्टीको एक पार्टी सिद्धान्त छोडेर बहुदलीय व्यवस्था ल्याउन खोज्दा सोभियत कम्युनिस्टहरूले विरोध गरे । सन् १९९१ सम्म सोभियत सङ्घमा एक पार्टी पद्धति कायम रहे तापनि पूर्वी युरोपेली देशहरूमा कम्युनिस्ट पार्टीविरुद्ध भएका सङ्घर्षहरूमा गोर्भाचोभले हस्तक्षेप गर्न मानेनन् जसरी पहिले हङ्गेरी र सन् १९६८ मा चेकोस्लाभाकियामा दमन गरिएको थियो । वार्सा सन्धिअन्तर्गत रहेका पूर्वी युरोपेली देशहरूमा जनताले शान्तिपूर्णरूपमा कम्युनिस्ट पार्टीका शासकहरूको विरोधमा प्रदर्शनहरू गरे पनि गोर्भाचोभले चासो लिएनन् । पोल्यान्डमा लेख वालेसाले कम्युनिस्ट पार्टीको सत्ता विस्थापित गरी आफू सत्तामा आउँदा सोभियत सङ्घले कुनै प्रतिरोध गरेन । यसरी एक–दुई गर्दै पूर्वी युरोपका समाजवादी देशहरू सोभियत सङ्घबाट टाढा हुँदै गए । स्वयम् सोभियत प्रिबाल्टिक सोभियत गणतन्त्रहरू सोभियत नीतिअन्तर्गत रहन चाहेनन् र स्वतन्त्ररूपमा आफूहरू रहन चाहेको भावना प्रकट गरे । हुन त सोभियत सङ्घमा लाटभिया, लिथुआनिया, एस्टोनियाजस्ता देशहरू त्यतिबेलाले पनि सोभियत सङ्घमा रहे पनि उनीहरूको वर्चस्व स्वीकार्न कहिल्यै तयार रहेनन् । वास्तवमा सोभियत सङ्घका अन्य गणतन्त्रहरूभन्दा प्रिबाल्टिक गणतन्त्रहरू विज्ञान, प्रविधि र अर्थतन्त्रमा धेरै अगाडि थिए, झन्डैझन्डै पश्चिमा युरोपेली देशहरूको हाराहारीमा ।
गोर्वाचोभको उदार अर्थनीति र विदेश नीतिको कारण विशेष गरेर पूर्वी युरोपका समाजवादी देश र पश्चिम युरोपेली देशहरू खुसी भए ।
सन् १९८९ को नोभेम्बर ९ मा झन्डै ५ लाख पूर्वी जर्मनीका जनताले बर्लिन पर्खालको विरोधमा ठूलो विरोध प्रदर्शन गरेपछि ‘बर्लिन वाल’ भत्काइयो र लाखौँ–लाख जर्मनहरू गोर्भाचोभको समर्थनमा प्लेकार्ड बोकेर निस्कन थाले । पूर्वी जर्मन नागरिकहरूलाई पश्चिममा प्रवेश गर्न सीमा धेरै खुकुलो बनाइयो ।
सन् १९४५ मा दोस्रो विश्वयुद्धको समाप्तिपछि युरोप दुई खेमामा विभाजित भएको थियो । पूर्वी र पश्चिम युरोप भनेर विभाजित भएका युरोपेली देशहरू पूर्वमा सोभियत सङ्घ र पश्चिममा संयुक्त राज्य अमेरिकाले आ–आफ्ना प्रभाव जमाउन थाले ।
द्वितीय विश्वयुद्धमा पराजित जर्मनी पनि दुई टुक्रा भयो । जर्मनीको राजधानी बर्लिन सहर पनि पूर्वी बर्लिन र पश्चिम बर्लिन भनी दुई टुक्रा भए । पूर्वी बर्लिन सोभियत खेमामा गयो भने पश्चिम बर्लिन तीन भागमा विभाजित भए, अमेरिकी, बेलायती र फ्रेन्च भागमा । चारैतिर सोभियत कम्युनिस्टअन्तर्गत निर्माण गरिएको पूर्वी जर्मनीको घेराभित्रको पश्चिम बर्लिन पूरापूर जर्मनीको भित्र एक द्वीपजस्तो रहन गयो ।
पछि सन् १९६१ मा पूर्वी बर्लिन र पश्चिम बर्लिनको बीचमा एक ठूलो पर्खाल बनाइयो जसलाई ‘बर्लिन वाल’ भनियो ।
पूर्वी बर्लिनबाट अत्यधिक मात्रामा जर्मनहरू पश्चिममा ओइरिन थालेपछि बर्लिन वाल खडा गरिएको थियो । ।
पूर्वी जर्मनी सरकारले सन् १९६१ अगस्ट १३ मा बर्लिन पर्खाल ठड्याएको थियो । पूर्वी युरोपका समाजवादी देशहरू र सोभियत समर्थनमा बनाइएको बर्लिन वालको मूल उद्देश्य समाजवादी देशहरूमा पश्चिमा फासीवादको प्रभाव नपरोस् भन्ने थियो र पूर्वी जर्मनीका शासकहरूले बर्लिन वाललाई ‘फासीवादको विरोधमा प्रतिरक्षा’ भनेर नाम दिएका थिए । तर, पश्चिमा जगतले यस पर्खाललाई एक अमानवीय संरचनाको रूपमा लिए र सन् १९६१ देखि १९८९ सम्म यसले पूर्व र पश्चिममा युरोपेली देशहरूलाई अलग्ग राख्न सफल भए ।
बर्लिन वाल एक अभेद्य पर्खालको रूपमा रहे पनि झन्डै एक लाख मानिस पूर्वी जर्मनीबाट पश्चिममा भाग्न प्रयास गरे जसमा २०० (दुईसय) जना जर्मन नागरिकले आÇनो ज्यान गुमाए ।
सन् १९८९ मा गोर्वाचोभ सोभियत सत्तामा हुँदा पूर्वी युरोपेली देशहरूमा विशेष गरेर पोल्यान्ड र हङ्गेरीमा समाजवादी सत्ताको विरोधका श्रृङ्खलाबद्ध आन्दोलनहरू गराइयो र यी आन्दोलनहरूको प्रभाव पूर्वी जर्मनीमा पनि पर्न थाल्यो । पूर्वी जर्मनीमा पनि सत्ताविरोधी गतिविधिहरू बढ्न थाल्यो । पूर्वी जर्मनी सरकारले १९८९ को नोभेम्बर ९ मा पूर्वी जर्मनीका जनताले र पश्चिम जर्मनी र पश्चिम बर्लिन स्वतन्त्रपूर्वक जानसक्ने घोषणा गरे । यसको लगत्तै हजारौँ पूर्वी जर्मनहरू पर्खाल चढेर पश्चिममा भाग्न थाले । केही हप्तामा पूर्व र पश्चिम बर्लिनका मानिसहरू मिलेर बर्लिन पर्खालको एक एक इँटा निकाल्दै पूरा बर्लिन पर्खाल ध्वस्त पारे ।
बर्लिन पर्खालबाट केही मिटरमात्र नजिक रहेको पश्चिम बर्लिन पस्ने ढोका ‘ब्रान्डेनबुर्ग गेट’ सन् १९८९ को डिसेम्बर २२ मा खोलियो र सन् १९९० को जून १३ मा ‘बर्लिन वाल’ आधिकारिकरूपमा भत्काइएको घोषणा गरियो । बर्लिन वालको घटनाले दुइटा जर्मनीको एकीकरणको बाटो खुला गरिदियो र सन् १९९० को अक्टोबर ३ मा दुई जर्मनीको एकीकरणको घोषणा भयो ।
Leave a Reply