भर्खरै :

कामदार वर्गका विद्यार्थीलाई सङ्गठित गर्नुपर्ने

काठमाडौँ, १५ चैत्र । शनिबार सम्पन्न राष्ट्रिय भेलाबाट गठित नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिले समसामयिक राजनीतिक तथा विद्यार्थीको जिम्मेवारीबारे प्रशिक्षण कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुछेँ (रोहित) ले नेक्राविसङ्घको नयाँ कार्यसमिति सङ्गठनको उद्देश्य पूरा गर्न क्रियाशील हुने आशा व्यक्त गर्नुभयो । समाजको आमूल परिवर्तनको निम्ति कामदार वर्गका विद्यार्थीलाई सङ्गठित गर्नुपर्ने धारणा राख्नुभयो ।
एमालेमा गञ्जागोल आउनुको कारण विचार र उद्देश्य नै गलत भएको भन्दै उहाँले झूट बोलेर सङ्गठन गर्नु राजनीतिक बेइमानी हो भन्नुभयो ।
पार्टी कार्यकर्ताको पहिलो प्राथमिकता पार्टी, जनता र देश हो, पद र पैसाका निम्ति स्वार्थ राख्नेहरू कम्युनिस्ट तथा समाजवादी कदापि हुन नसक्ने उहाँको भनाइ थियो ।
आत्मप्रशंसा र तारिफबाट जोगिनुपर्ने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले आलोचना र आत्मालोचना सङ्गठनको क्रियाशीलताको लागि आवश्यक छ भन्नुभयो । गुप्तचर तथा विरोधीले जागीरको प्रलोभन देखाएर विद्यार्थी कार्यकर्तालाई राजनीतिक गतिविधिबाट निष्क्रिय गर्न खोज्नसक्ने भन्दै क्रान्तिकारी साहित्यको अध्ययनबाट विद्यार्थीलाई उद्देश्यबाट विचलित हुन नदिने उहाँको कथन थियो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “नेमकिपाका पार्टी कार्यकर्तालाई तारिफ गरेर विरोधीले बिगार्ने प्रयास गर्नेमा कार्यकर्ताहरू हर्दम सजग हुनुपर्छ ।” गाउँगाउँमा जालीफटाहा र शोषकहरू सक्रिय रहेको भन्दै प्रतिक्रियावादीभन्दा पनि प्रतिक्रियावादी संस्थामा गएर देशको र जनताको सेवा गर्नुपर्ने बताउनुभयो ।
नेपाली अधिकारीहरू अयोग्य भएकोले हिन्दुस्तानसँगका सन्धिसम्झौतामा नेपाल हारेको भन्दै उहाँले विद्यार्थी सङ्गठनमा लागेका विद्यार्थीले विशेषज्ञता हासिल गर्नुपर्ने बताउनुभयो ।
प्रशिक्षणमा नेक्राविसङ्घ पूर्वअध्यक्ष सविन ख्याजूले अध्ययन र लेखन शैलीमा विकास गरी सङ्गठनलाई चलायमान बनाउनुपर्छ भन्नुभयो ।
सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरुङको सभापतित्वमा भएको कार्यक्रम सचिव रमेश प्रजापतिले सञ्चालन गर्नुभएको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *