भर्खरै :

जनताकै अदालतमा दलहरूलाई पु¥याउनु बढी प्रजातान्त्रिक उपाय

(नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग ‘श्रमिक’ साप्ताहिकका प्रतिनिधिले सोमबार लिनुभएको अन्तर्वार्ता प्रस्तुत छ – सम्पादक)
प्रधानमन्त्री केपी ओलीबाट विघटित संसद् सर्वोच्च अदालतको फैसलाबाट पुनः स्थापना भयो । सर्वोच्च अदालतकै फैसलाबाट सत्ताधारी नेकपा एकतापूर्वको अवस्थामा पुगी दुई दल भए । संसद्का बैठकहरू प्रभावकारी हुनसकेका छैनन् । विश्वास र अविश्सासका प्रस्तावबारे हल्ला चलिरहेका छन् । देशको राजनीतिक परिस्थितिलाई कसरी विश्लेषण गर्नु उपयुक्त हुन्छ ?
नेमकिपाले पहिलेदेखि भन्दै आएको विषय हो – तुल्सी रोपेपछि मात्रै तुल्सी उम्रन्छ, सिस्नो रोपेपछि सिस्नो नै उम्रन्छ । हामीले एमाले र एमाओवादीको सैद्धान्तिक आलोचना गर्दा तिनीहरूले हाम्रै पार्टी फुटाउने र भाँड्ने काम गरे तर हामीले पद र पैसाको लोभ देखाएर अरूको पार्टी फुटाउने सिद्धान्तहीन काम गरेनौँ ।
अहिले एमालेभित्रको झगडा पद र पैसाकै निम्ति भएको कुनै गुप्त विषय होइन । पदको दुरुपयोगबाट लोभी, पापी र अपराधीलाई किन्न सकिने हुँदा एमालेका नेताहरूमात्र होइन, माथिल्ला कार्यकर्ताहरूमा समेत त्यस्तो रोग लागिसकेको प्रस्ट छ ।
प्रदेश र पालिकाहरूमा समेत पञ्चायत र काङ्ग्रेसमा नदेखिएको र नसुनिएको हिलो छ्यापाछ्यापले ‘… हेर्नेलाई भन्दा सुन्नेलाई’ लाजमर्दाे स्थिति बनेको छ । शक्तिको राजनीतिलाई प्राथमिकता दिनेले राजनैतिक नैतिकता बिर्सेको अनुमान सबैले गरे ।
हालै एउटा बैठकमा तिनीहरूले आ–आफ्नो गल्ती – कमजोरी महसुस गरेको सुनेको छु । पार्टीभित्र पहिले नै छलफल गर्नुपर्ने विषयको समाधान गर्न ‘प्रचण्ड’ लाई दिँदा वा आफ्नो हात बलियो पार्ने मनसायले काम गर्दा उल्टो परिणाम देखियो ।
अदालतले संविधानको भावना र प्रचलित परम्परालाई बिर्सेर अक्षरलाई मात्र ध्यान दिएर संसद् पुनः स्थापना र नेकपालाई पुरानै स्थिति (एमाले र माओवादी केन्द्र) मा पु¥याउँदा भाँडभैलो देखियो । न्यायाधीशहरूलाई ‘घिसार्ने’ वा अन्य बल प्रयोगको भाषाको कारण ‘पुनः मुसा’ नै बनाइदिएको बाल कथालाई सबैले सम्झे । हेर्दै जानु उपयुक्त हुन्छ ।
एकथरि विश्लेषकहरू भारतकै सहमतिमा प्रम ओलीले संसद् विघटनको कदम चालेको बताउँछन् भने अर्कोथरिले प्रचण्ड तथा माधव नेपालजस्ता नेताहरू भारत गएर आएपछि देशमा नयाँ वितण्डा सुरु भएको भन्छन् । नेपालको आजको राजनीतिक अन्योल ल्याउनमा विदेशीको हस्तक्षेप कति देख्नुहुन्छ ?
नेपालको शासनको राजनैतिक कुस्तीमा दुवैतिर भारतीय एकाधिकारवादीको हात रहेकै हुन्छ, चाणक्यको कुटिल चाल नेपालले भोग्दै आएको विषय हो । संसारमा जुन देशले अमेरिकी साम्राज्यवादसँग मित्रता गाँस्यो, त्यस देशले दुःख पाउँछ र त्यही देशलाई आधार बनाएर साम्राज्यवादी अमेरिकाले त्यस क्षेत्रलाई नै धुलोपीठो पार्छ । चीन, कोरिया, हिन्द–चीन, फिलिपाइन्स, इन्डोनेसिया आदि देशले सबभन्दा ठूलो दुःख भोगे । इराक, सिरिया, यमन, लिबिया आदि अरब देशहरू र अफगानिस्तानसम्मले इतिहासमा सबभन्दा ठूलो जनधनको क्षति भोगे । अब भारतको दक्षिणपन्थी वा फासीवादी भाजपाको सरकारलाई आफ्नो भरिया बनाएर संरा अमेरिकाले दक्षिण–पूर्वी एसियामा एमसीसीको नाममा अर्काे विध्वंसको बिउ रोपेको छ । नेपाल लगायत दक्षिण एसियाका सबैजसो देशमा भएका संरा अमेरिकी हस्तक्षेपमा भारतलाई नै अगाडि सारिएको छ ।
आज भारत पश्चिमेली साम्राज्यवादी देशहरूको आधुनिक विध्वंसकारी हातहतियारको प्रयोगशाला र बिक्रीको लागि प्रदर्शन गर्ने दराज (सोकेस) हुँदै छ ।
गरिब मुलुकहरूलाई थप गरिबी र दुःख एवम् पीडाका दिनहरू तिनीहरूले उपहारको रूपमा ल्याउँदै छन् । अन्योलपछि मात्रै सबै प्रकारको विध्वंसको बाटो खुल्छ ।
नेपालको आन्तरिक राजनीतिमा संरा अमेरिका तथा युरोपेली सङ्घजस्ता पश्चिमा शक्तिहरूले खेल्दै आएको बताइन्छ । उनीहरूको स्वार्थ के हो ?
साम्राज्यवादीहरू पूर्वका होस् वा पश्चिमी, सबैले निर्बलिया देशहरूलाई उपनिवेश बनाएकै हुन् । पूर्वमा जापानी सैन्यवादले दक्षिण–पूर्वी एसियालाई धुजा – धुजा पारेकै हो । आज पनि संरा
अमेरिका र जापान एउटै लाममा छन् भने हिजो हिटलर–मुसोलिनी र टोजो एउटै लाममा थिए । तिनीहरू संसारमा पुनः उपनिवेशवाद फर्काउन चाहन्छन्, अहिले नै कतिपय देशहरू अर्ध उपनिवेश छन् र नवउपनिवेश बनाउने उद्देश्य राख्दै अगाडि बढ्दै छन् ।
संसद् पुनः स्थापना भइसकेपछि पनि नेमकिपाले चुनावमै जानुपर्नेमा जोड दिनुको कारण प्रस्ट पार्नुहुन्छ कि ?
भद्रगोलको अवस्थालाई लामो बनाउनुको सट्टा जनताकै अदालतमा दलहरूलाई पु¥याउनु तुलनात्मकरूपले बढी प्रजातान्त्रिक उपाय हो । जनतालाई तमासे बनाएर शासक दलहरूले देशलाई भताभुङ्ग बनाउन नपाऊन् भन्ने हाम्रो एउटा मात्रै उद्देश्य हो ।
कोरोना भाइरसको महामारी फेरि फैलिने सम्भावना छ । विगतमा दक्षिण भारतबाटै सङ्क्रमण फैलिएको थियो । सङ्क्रमण फैलिन नदिन के के गर्नुपर्छ भन्ने लाग्छ ?
कोभिड–१९ सँग नेपाली जनताको युद्धमा शासक दलहरूले दक्षिणी सीमामा स्वास्थ्य परीक्षण केन्द्र, उपचार कक्ष वा अस्पताल र क्वारेन्टिनको बन्दोवस्त गरी आफ्ना लाखौँ कार्यकर्तालाई स्वयम्सेवक बनाई सेवा गर्न पठाउनु अत्यन्त राम्रो उपाय हो ।
यसो गरेमात्र कोभिड – १९ सँगको युद्धमा नेपाली विजयी हुनेछन् र राजनैतिक कार्यकर्तामा थप उत्साह प्राप्त हुनेछ । सेवाको भावनाबाट जनताबीच काम गर्दा हिजोको शासनमा बस्दाका अनेक आरोप तथा हानथापबाट प्रायश्चित गर्नुजस्तै हुनेछ । साथै, शुद्धीकरणको आन्दोलनबाट चोखो हुने अवसर पनि पाउनेछन् ।
यस आन्दोलनलाई शासक दलहरूले गम्भीरतापूर्वक लिएमा अन्य राजनैतिक दलहरूले पनि मुकदर्शक भएर रहने अवस्थाबाट मुक्ति पाउनेछन् ।
थप केही कुरा ?
समयमै शासक दलहरू ठाउँमा आउनुपर्छ । फ्रान्सेली राज्य क्रान्तिमा राजावादी र दक्षिणपन्थी गिरोडिन्सहरूले अनेक कुटिल उपायहरूमार्फत त्यसबेलाका गणतन्त्रवादीहरूबीच घुसेर तिनीहरूलाई आपसमा भिडाए । क्रान्तिकारी ज्याकोविनवादी नेताहरू पालैपालो गिलोटिनमा मारिए । क्रान्तिकारी नेता माराट एउटी प्रतिगामी महिलाको छुरी प्रहारबाट आफ्नै कार्यालयमा मारिए । रोबेस्पीयर र दाँतेजस्ता लोकप्रिय नेता, प्रखर वक्ता एवम् विद्वानहरू नक्कली मुद्दामा फसाइए र तिनीहरूले ज्यान सजाय पाए ।
नेपालमा यस्ता घटना भएमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल तथा ठूलाबडा मन्त्रीहरू काठमाडौँको टुँडिखेलमा पु¥याइने सम्भावनालाई इन्कार गर्न सकिन्न । यसमा विदेशीको हात हुनेबारे शङ्का नगरे हुन्छ । इराक, इरान, लिबिया आदि देशका घटनाहरू सबैको सामुन्ने ताजै छ । व्यक्तिगत रिसइबीभन्दा देश र जनताको हितलाई नै सबैले प्राथमिकता दिनु उचित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *