भर्खरै :

के वायु प्रदूषणको दीर्घकालीन समाधान गर्न सरकार तयार छ ?

यो हप्ता काठमाडौँ र झन्डै देशैभरि वायु प्रदूषणका कारण प्राकृतिक विपत्तिकै रूप लियो । धुवाँ र धूलोले गर्दा भिजिविलिटी कम भएर काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशका धेरै विमानस्थलमा विमान उडान र अवतरण असम्भव हुन पुग्यो । प्रदूषण मापन केन्द्र राखिएका अधिकांश ठाउँमा हावाको स्थिति निकै गम्भीर रहेको देखायो । काठमाडौँ उपत्यकामा त हावाको अवस्था कतै खतरनाक र कतै निकै अस्वस्थ तहसम्म पाइएको थियो । जनस्वास्थ्य विज्ञहरूले तुँवालो र उच्च तहको वायु प्रदूषणले जनस्वास्थ्यमा धेरै समस्या देखा परेको जानकारी दिए ।
प्रदूषणका कारण दीर्घरोगीमा झन् जटिल समस्या हुन थालेको, गर्भवतीमा बच्चा जन्मँदा समस्या देखिन सक्ने र स्वस्थ मानिसमा समेत कालान्तरमा फोक्सो, मुटु, छालादेखि स्नायु प्रणालीसम्म प्रभावित हुन सक्नेगरी लक्षणहरू देखिन थालेको चिकित्सकहरूले बताए । विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने आकलन गर्दै सरकारले शुक्रबारसम्म देशभरि विद्यालय बन्द गर्ने निर्णय ग¥यो । सरकारपक्षीय सञ्चारमाध्यमहरूले यसलाई जनस्वास्थ्यप्रति सरकारको संवेदनशीलताको जोडतोडले प्रचारप्रसार पनि गरे । तर प्रश्न उठेको छ, के वायु प्रदूषणको दीर्घकालीन समाधान गर्न सरकार तयार छ ?
यदि तयार छ भने सरकारले अविलम्ब यी कार्य गर्न जरूरी छ ः पहिलो कार्य काठमाडौँ उपत्यकामा गुडिरहेका सवारीको सङ्ख्या यकिन गरी ती सबैलाई धुवाँ पास अनिवार्य गर्ने । दोस्रो, विद्युतीय सवारी साधनमा बढाइएको भन्सार र अन्तशुल्कहरू अविलम्ब घटाउने, तेस्रो, काठमाडौँ उपत्यकाको लागि अब अत्यन्त जरूरी अवस्थाको लागि बाहेक डिजेल र पेट्रोलले चल्ने सवारी थप्न नदिने । चौथो, काठमाडौँ उपत्यकाका सहरबस्ती थप्नुभन्दा विभिन्न प्रदेश र जिल्लाहरूमा व्यवस्थित सहर विकास गर्ने । पाँचाँै, बढीभन्दा बढी सडकहरू आवश्यक चौडाइसहित कालोपत्रे गर्नेमा जोड दिने, कच्ची सडकबाट पिच सडकमा आउने सवारीहरूलाई चक्का पखालेर मात्र आउने बन्दोबस्त गर्ने । छैटौँ, कम्तीमा हप्ताको एक पटक सहरी क्षेत्रका सबै सडकमा ब्रुमरले सफा गर्ने बन्दोबस्त मिलाउने । सडक किनारा, नदी किनाराहरू तथा खाली जग्गामा वृक्षरोपणमा जोड दिने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *