भर्खरै :

विशेषज्ञ सेवा सङ्ख्या बढाइयोस्

  • चैत्र २२, २०७७
  • –कृष्णप्रसाद सुवाल, भक्तपुर
  • पाठक विचार

बालबालिका भनेका भोलिका कर्णधार हुन् । आजका बालबालिकाहरू नै देशको भविष्यको रूपमा लिने गरिन्छ । उनीहरूको बाल्यकाल एउटा समस्या र जोखिमपूर्ण अवस्था पनि हो । समय – समयमा अझ भनौँ महिना दिन नबित्दै तुरुन्तै बिरामी पर्ने उमेर समूहमा उनीहरू नै पहिलो नम्बरमा पर्दछन् । यसर्थ यस उमेर समूहमा राम्रो हेरचाह र उनीहरूमा लाग्ने विभिन्न रोगहरूको समयमै निदान गर्न नसकेको खण्डमा बाल्यवस्थामै मर्नु नेपालजस्तो अविकसित राष्ट्रको लागि ठूलो क्षति हो । नेपालमा बालबालिकासम्बन्धी विभिन्न सङ्घसंस्थाहरू रहे पनि विदेशी दातृ संस्थाको इसारा र मागी खाने भाँडोको रूपमा मात्र छन् । बालबालिकाहरूको सर्वाङ्गीण विकासका लागि नेपाल सरकार आफैले यथोचितरूपमा र स्वस्फूर्तरूपमा योजना बनाउन सकेको छैन । साथै योजना बने तापनि कार्यान्वयन पक्षमा अरू देशहरूको तुलनामा न्यून नै देखिन्छ । सङ्घीय शासन प्रणाली लागू भए पनि ७७ जिल्लाका स्थानीय निकायहरूमा प्रादेशिक संरचनाअनुरूप जनताका छोराछोरीहरूको शैक्षिक, स्वास्थ्य र सामाजिक विकासको रूपमा अझ भनौँ पोषण तत्व व्यवस्थापनमा व्यवहारिक रूपमा समस्याहरू ज्युँका त्युँ रहने गरेका छन् ।
देशका सत्तहत्तरै जिल्लाहरूमध्येका स्थानीय कार्यपालिकाहरूमा भक्तपुर नगरपालिका आफ्नै प्रयासमा जनस्वास्थ्य केन्द्र, सहरी जनस्वास्थ्य केन्द्र ब्यासी र भगवती स्थानमा बालबालिकाहरूको बालरोगहरूसम्बन्धी स्वास्थ्यउपचारलाई २० जनामा मात्र सीमित राख्नु न्यायोचित देखिँदैन । थप बालरोग विशेषज्ञहरूको व्यवस्था गरी सो उपचार सङ्ख्या बढाउँदै लानुपर्ने देखिन्छ । किनभने २० जनामात्र बालबालिकाको उपचार गर्ने भएपछि समत्र्न्दा अगाडि नै टिकट लिने कुरामा हानथाप भइदिने र उपचार गराउनुपर्ने रोगी बालबालिकाहरू समयमै उपचार नपाउँदा झन् विकराल बनिरहेका छन् । कतिपय बालबालिकाका आमाबुबाहरू निजी अस्पतालहरूमा धाउनपर्दा आर्थिक बोझ परिरहेको कुरामा नगरपालिकाले कहिले सोच्ने हो ?
शिक्षालाई प्राथमिकतामा राखेर जनताको जनचेतना स्तर वृद्धिमा जोड दिँदै स्वास्थ्य नै धन हो भनेर आवाज बुलन्द गरिरहेको यस निकायले ख्वप अस्पताल निर्माणमा अहोरात्र खटिरहेकोमा गर्व गर्ने ठाउँ पाएको भक्तपुर नगरपालिकाले बाल स्वास्थ्य र बाल रोगसम्बन्धी सघन उपचारमा सीमित सङ्ख्या तोकिनु न्यायोचित नदेखिएला । आज भक्तपुरमा स्थानीय निकायमै सही र उचित कदमको रूपमा बालबालिकाहरूका लागि सम्पूर्ण उपचारको व्यवस्था गर्नु र पहल गर्नुपर्ने तड्कारो आवश्यकता देखिरहेको अवस्थामा यो सङ्ख्या तोकिनु मनासिब देखिँदैन । शैक्षिक, स्वास्थ्य क्षेत्र र जनताको अभिभावकत्वमा वकालत गर्ने र बाल शिशुस्याहारसमेत सञ्चालन गरिरहेको नगरपलिकाले बाल स्वास्थ्य र उपचार केन्द्रहरू थप गरिनुका साथै सहज औषधि उपचार तथा सहुलियतरूपमा औषधि उपलब्धतामा ध्यान दिनुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *