भर्खरै :

मेलम्चीको पानी र अझै फैलिरहेको काठमाडौं

बढ्दो जनसङ्ख्या र सहरीकरणको कारण पानीको अभाव भएको काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आएपछि उपत्यकावासीले केही राहतको अनुभव गर्ने अनुमान गरिएको छ । मेलम्चीको पानी काठमाडौँमा झार्न सफल भएकोमा वर्तमान सरकारदेखि पुराना सरकारका सञ्चालकहरू सबै जस लिने प्रतिस्पर्धामा होमिएका छन् । सबै आफ्नै पहल र कारणले मेलम्ची काठमाडौं आएको दाबी प्रस्तुत गर्दै छन् । तर, मेलम्चीको पानीले दिन दुई गुणा रात चौगुणाको दरले बढिरहेको काठमाडौँ उपत्यकाको जनसङ्ख्याको प्यास कति समयसम्म मेटाउन सक्ने हो ? अध्ययनकै विषय हो ।
मेलम्चीको पानीको प्रवाह हेर्दै गर्दा काठमाडौँवासीले हिजो काठमाडौँका विभिन्न भाग भएर बहने नदी र खोलामा पानी किन बग्न छोड्यो ? भन्ने प्रश्नमाथि पनि घोत्लिन जरूरी छ । हिजो काठमाडौँवासीको प्यास मेटाइरहेका पानीका मुहान आज किन अस्तित्वमा छैनन् ? किन ती मुहानमा पानी बग्न छोड्यो ? प्रस्टतः काठमाडौँ उपत्यकामा क्षमताभन्दा बढी जनसङ्ख्या हुनु नै पानीको अभाव र मुहान सुक्दै जानुको मूल कारण हो । इनार र कुवाका मुहानमा घर र बस्ती बन्न थालेपछि पानी सुक्दै गयो । जनसङ्ख्या वृद्धिसँगै खोला र नदीमा पानी कम, फोहोर र ढल बढी बग्न थाल्यो । सरकारी खानेपानी संस्थानले प्रभावकारी ढङ्गले काम गर्न नसक्दा जनताको घर–घरमा धारा सुक्न थाल्यो । पानीको अभाव टार्न मानिसहरूले जथाभावी इनार खन्न थाले । भूमिगत पानी बेचेर निजी क्षेत्रले धनआर्जन गरे । तर, जनताको प्यास मेट्न सरकार असफल रह्यो ।
मेलम्चीको पानी काठमाडौँ आएपछि पक्कै पनि त्यो अभाव केही हलुङ्गो बन्ने भयो । तर, कतिबेलासम्म ? काठमाडौँ उपत्यकामा अझै तीव्रगतिमा जनसङ्ख्या बढिरहेको छ । अनियन्त्रित र अव्यवस्थितरूपमा घर र भौतिक निर्माणका काम भइरहेको छ । खेतीयोग्य जमिन र वन क्षेत्र घटिरहेको छ । प्रदूषण बढिरहेको छ । सरकार अझै उपत्यका वरपर थप सहर विकासको गुरूयोजना बनाइरहेको छ । त्यसको सरल अर्थ हो, मेलम्चीको पानीले केही वर्ष पनि यहाँको खास माग पूर्ति गर्नसक्ने छैन ।
मेलम्चीको पानी उपत्यकाको प्यास मेटाउने आंशिक उपाय हुनसक्छ । तर, यो दिगो समाधान पक्कै होइन । सरकारले काठमाडौँ उपत्यकामा जनसङ्ख्या केन्द्रीकरण र सहर विकास रोक्नु नै चर्को अभाव रोक्ने एउटै उपाय हो । देशभर स–साना सहरहरूको विकास गर्नु, विकेन्द्रीकरण गर्नु, व्यवस्थित सहरीकरण गर्नु नै काकाकुल काठमाडौँको लागि दिगो औषधि हुनसक्छ । पानीका पुराना स्रोतको खोजी र संरक्षण गर्न राज्यले विशेष जोड दिनुपर्छ ।
काठमाडौँ उपत्यकाको लागि आवश्यक पानी पूर्ति गर्न मद्दत गरिरहेका वरपरका पहाडका वन क्षेत्र हिजोआज सहर विकास, प्लानिङको नाममा ध्वस्त बनाइँदै छ । यही गतिमा अघि बढ्ने हो भने काठमाडौँ उपत्यका धेरै चाँडै मानिस बस्न नसकिने ठाउँ बन्दै छ । मेलम्चीको पानी देखाएर शासक दल र सरकारले सस्तो लोकप्रियताको प्याससम्म मेटाउलान् । चुनावमा मेलम्चीलाई देखाएर अहिलेसम्म धेरै शासक दलका उम्मेदवारले गलामा माला लगाए । तर, मेलम्चीको पानीले काठमाडौँ उपत्यकाको खास समस्या भने समाधान गर्न सक्दैन । मेलम्चीको पानी काठमाडौँमा झरेसँगै जनसङ्ख्या असन्तुलन र केन्द्रीकरणको समस्या समाधान गर्नतिर नलाग्ने हो भने समस्या जहाँको तहीँ रहने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *