भर्खरै :

चाँगुनारायण मन्दिर भासिने जोखिम !

काठमाडौँ २३, चैत । “चाँगुनारायण नगरपालिकाले चाँगुनारायण मन्दिरको दक्षिणतर्फ रहेको ९३ रोपनी सार्वजनिक पर्ती जग्गाको डाँडोमा क्रिकेट मैदान बनाउन जग्गा सम्याउने निहुँमा ठेकेदारको एक्साभेटर लगाई २५–३० फुट गहिराइसम्मको पानीमुनिको बालुवा उत्खनन् गराई बेच्न लगाएको हुँदा नजिकैको बुढाथोकी गाउँ, खानेपानीको मुहान र चाँगुनारायण मन्दिरसमेत पहिरोको जोखिममा परेका छन् । विश्व सम्पदा सूचीभित्रको चाँगुनारायण मन्दिर, मानव बस्ती र पानीको मुहान जोखिममा परेकोतर्फ सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।” उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले सोमबार प्रतिनिधिसभाको विशेष समयमा व्यक्त गर्नुभएको हो ।
२०७२ सालको भूकम्पपछि युनेस्कोले गरेको रियाक्टिभ मोनिटरिङमा चाँगुनारायण मन्दिर रहेको जमिन भासिएको देखाएको, जङ्गल फडानी तथा अनियमित माटो एवम् बालुवा उत्खनन्को कारण गएको भूकम्पमा चाँगुनारायण मन्दिर भत्किएको र जमिन भासिएको ‘युनेस्को वल्र्ड हेरिटेज सेक्सन’ को रिपोर्टमा रहेको उल्लेख गर्दै सांसद सुवालले स्थानीय जनताले माघ १९ गते नै चाँगुनारायण मन्दिर रहेको सिङ्गो डाँडोलाई संरक्षण गर्न माटो र बालुवा उत्खनन् कार्य बन्द गराउन जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन दिनुभएको पनि स्मरण गराउनुभयो ।
सांसद सुवालले भक्तपुर बागेश्वरीको भँगेरी डाँडामा स्थानीय जनताको खानेपानीको रहेको ठाउँमा चाँगुनारायण नगरपालिकाले रग्वी रङ्गशाला बनाउने निहुँमा एक्साभेटर चलाउन लगाई वनजङ्गल मास्ने र पानीको मुहान बन्द गर्ने काम गरिरहेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले नेपालको निजी मेडिकल कलेजमा एमबीबीएस, एमडी र नर्सिङ विषयमा मास्टरमा भर्ना हुने विद्यार्थीहरूलाई तोकिएको शुल्कभन्दा बढी शुल्क लगाएको र केही मेडिकल कलेजमा चिकित्सा र नर्सिङ विषयको भर्नामा बढी शुल्क लगाएकोले विद्यार्थी र कलेजबीच विवाद भइरहेकोबारे पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *