भर्खरै :

महामारीको जोखिमप्रति सरकार अझै असंवेदनशील

काठमाडौँ, २४ चैत । कोभिड–१९ को बढ्दो सङ्क्रमण नियन्त्रण गर्न सरकार अझै सजग बनेको छैन । खुला सीमाको कारण भारतमा सङ्क्रमण बढेसँगै नेपाल प्रत्यक्ष मारमा परेको छ । तर, सरकारले भने सीमामा अझै पनि कडाइ गरेको छैन । सरकारले सीमा नाकामा अझै पनि नेपाल पस्ने मानिसको आवश्यक स्वास्थ्य परीक्षणको लागि पूर्वाधार र जनशक्ति पु¥याउन सकेको छैन । नेपालमा कोभिड–१९ महामारी फैलिन सुरु भएको वर्ष दिन बितिसक्दा पनि सरकारले सीमा क्षेत्रमा स्वास्थ्य परीक्षणको लागि आवश्यक पूर्वाधार र क्वारेन्टिन स्थलको बन्दोबस्त गरेको छैन । नयाँ खालको कोभिड भाइरसका सङ्क्रमित फेला पर्दा पनि अझै सरकारले आवश्यक पूर्वाधार र सजगता देखाउन नसक्नु दुःखद छ । त्यस अर्थमा सरकार नयाँ लहरको कोभिड–१९ सङ्क्रमणसामु भगवान भरोसा देखिएको छ । सस्तो लोकप्रियताको भोकमा सरकारले प्रत्येक स्थानीय पालिकामा अस्पताल स्थापनाको दङ्का पिट्यो । तर, शिलान्यासमात्र भएका ती अस्पतालले महामारीको बेलामा जनताको सेवा गर्नसक्ने अवस्था छैन । भएका सरकारी अस्पतालहरूको अवस्था सुधारमा पनि सरकारले खास ध्यान दिएको देखिएन ।
सरकारले तत्काललाई भारतसँगको सीमा बन्द गर्न जरुरी छ । भारतबाट नेपाल फर्किन चाहने नेपाली नागरिकलाई उचित स्वास्थ्य परीक्षण र क्वारेन्टिनमा राख्ने प्रबन्ध सीमा क्षेत्रमा सरकारले गर्नुपर्छ । समयमै रोकथामको प्रयास भए र सावधानीका सबै उपाय पालना गरे कोभिड–१९ को लहरबाट जोगिन सक्ने एसियाकै विभिन्न देशका उदाहरणले देखाएको छ । तर, सुरुमा बेवास्ता गरेर पछुताएका देशहरू पनि धेरै छन् । संरा अमेरिका, ब्राजिल र युरोपका विभिन्न देशहरूले सुरुमा महामारीले आफूलाई गलाउन नसक्ने सोचेका थिए । चीनजस्तो ‘असभ्य’ देशलाई मात्र भाइरसले गलाउन सक्ने उनीहरूले ठानेका थिए । तर, परिस्थितिले ठीक उल्टो परिणाम दियो । समयान्तरमा ती देशहरूमा फैलिएको कोभिड–१९ को सङ्क्रमण अनियन्त्रित बन्यो ।
कोभिड–१९ को विश्वव्यापी महामारीसँगै विज्ञहरूले हिजोका धेरै चालचलनमा फेरबदल गर्नुपर्ने विचार प्रस्तुत गरेका थिए । तर, जसै कोभिड–१९ को सङ्क्रमण दर केही घट्यो, मानिसहरू महामारीको दुःखलाई भुलेर फेरि पनि पुरानो चालचलनमा फर्के । सरकार र जनस्तरमा पनि कुनै तयारी गरेन । युरोप र ब्राजिलमा खाएको बाघले नेपालमा पनि खान सक्ने कल्पना हामीले गर्न सकेनौँ ।
नेपालमा कोभिड–१९ को नयाँ लहर भर्खर सुरु भएको छ । लहरले भयावह रूप लिनुअघि नै नियन्त्रण र रोकथामको प्रभावकारी तरिका अपनाउन सके यसबाट ठूलो नोक्सानीबाट हामी जोगिनेछौँ । निःसन्देह यसको निम्ति सरकारले जिम्मेवारीबोध गर्न जरुरी छ । जनतालाई तथ्य–तथ्याङ्कको जानकारी दिई सम्भावित खतराबाट जोगिने उपायबारे सरकारले जनचेतना जगाउने र सावधानीका उपाय पालनामा कडाइ गर्नुपर्छ । काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा अहिले नै कडाइ गर्नुपर्छ । अहिले नै सरकारी निकायले कडाइ गरे लकडाउनको अर्को मार देशको अर्थतन्त्रले सामना गर्नुपर्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *