भर्खरै :

शान्तिपूर्वक र सुरक्षा मापदण्डसहित बिस्का जात्रा मनाइने

भक्तपुर, २५ चैत । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालको आतिथ्यमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिका नगरस्तरीय नगर प्रकोप व्यवस्थापन समिति (सीएमसी) र भक्तपुरको प्रसिद्ध बिस्केट जात्रासँग सम्बन्धित सरकोकावालाहरूको बैठक बुधबार बस्यो ।
बैठकमा सांसद सुवालले नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्राबारे जनताको मनोभावना समेटिने ढङ्गले जात्रा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै छिमेकी देश भारतमा कोभिड १९ को नयाँ प्रजातिले महामारीको रूप लिएको र केही स्थानहरूमा कफ्र्युसमेत लगाइसकेको अवस्थामा नेपाल—भारतबीचको खुला सीमाका कारण नेपालमा पनि सङ्क्रमण दर बढ्न सक्नेतर्फ सबैजना सचेत रहनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले विगतका दिनदेखि नै भक्तपुर नपाले बिस्केट जात्रासँग सम्बन्धित दाफा, भजन, गुठीलगायत सरोकारवालाहरूसँग नियमित छलफल गरी निर्णय गर्दै आएको बताउँदै यस वर्ष पनि जनताको भावनालाई सम्मान गर्दै अगाडि बढ्ने बताउनुभयो ।
बैठकमा भक्तपुर जिल्लाका प्रजिअ प्रेमप्रसाद भट्टराईले जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी यस वर्षको ‘भैरवनाथको रथ तान्ने जात्रा र लिङ्गो उठाउने र ढाल्ने जात्रालाई प्रशासनले केही कडाइ गरेको स्वीकार्दै जनभावनाअनुरूप नगरपालिकाले गर्ने निर्णयमा आफू सकारात्मक रहेको बताउनुभयो ।
बैठकमा गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्य र जात्रासँग सम्बन्धित सरोकारवालाहरूले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
जात्रासँग सम्बन्धित सरोकारवालाहरूसँगको उक्त बैठकले बिस्का जात्रा सञ्चालन गर्ने विषयमा केही महत्वपूर्ण निर्णयहरू गरेको छ ।
बैठकले नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्राअन्तर्गतको भैरवनाथको रथ तान्ने, लिङ्गो उभ्याउने र ढाल्ने जात्रा कोभिड – १९ रोग सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय ग¥यो ।
बैठकले जात्रा सञ्चालनको प्रत्यक्ष प्रसारण टेलिभिजन, रेडियो, एफ.एम र सामाजिक सञ्जालमार्फत गर्ने र अनुशासित र मर्यादितरूपमा स्वास्थ्य मापदण्ड पालना गरी सभ्यरूपमा जात्रा सम्पन्न गर्न माइकिङ्ग गरी सबैसँग आग्रह गर्ने निर्णय ग¥यो । साथै बिस्का जात्रा सञ्चालनको लागि आवश्यक तयारी गर्न सरोकारवाला सबै पक्षसँग आग्रह गर्ने र जात्राको अवधिमा शान्ति सुरक्षाको सबै बन्दोबस्त जिल्लास्थित सुरक्षा निकायमार्फत हुने निर्णय उक्त बैठकले ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *