इजरायली सेनाको गोलीबारीमा ७ महिनाका बालकको मृत्यु, आमाबुबा घाइते
- जेष्ठ २४, २०८३
चीन – संरा अमेरिका सम्बन्धबारे एक चिनियाँ प्राध्यापकको दृष्टिकोण– २
(सन् १९६२ मा चीनको उहान सहरमा जन्मनुभएका प्राध्यापक चिन छानरोङ्ग पेइचिङस्थित चिनियाँ रेनमीन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका सहनिर्देशक हुनुहुन्छ । अमेरिकी राजनैतिक व्यवस्था र राजनैतिक संस्कृति, अमेरिकाको अन्तर्राष्ट्रिय सम्बन्ध, चीनको अन्तर्राष्ट्रिय सम्बन्ध, चीन अमेरिका सम्बन्ध, ठूला देशहरूबीचको सम्बन्ध लगायतका विषयहरूमा दख्खल राख्नुहुने प्राध्यापक चिन छानरोङ्ग चीनका विभिन्न मन्त्रालय र केन्द्रीय नियोगहरूमा अन्तर्राष्ट्रिय सम्बन्ध सल्लाहकार पनि हुनुहुन्छ ।
विश्व राजनीतिका जटिल विषयहरूलाई सरल भाषामा रोचक तरिकाले व्याख्या गर्नसक्ने खुबीका कारण उहाँ नयाँ पुस्ताका चिनियाँ विद्यार्थी र बुद्धिजीवीहरूमाझ लोकप्रिय हुनुहुन्छ । चिनियाँ भच्र्युयल सञ्चारमाध्यममा उहाँलाई अनौपचारिकरूपमा ‘चीनको राजनैतिक कमिसार’ उपनामले पनि सम्बोधन गरिन्छ । सन् २०२० को अन्त्यतिर चिनियाँ कम्युनिस्ट युवा लीगको केन्द्रीय समितिले सञ्चालन गरेको एउटा राजनैतिक प्रशिक्षण कक्षामा चीन–संरा अमेरिका सम्बन्धबारे उहाँले व्यक्त गर्नुभएको विचार पाठकहरूको जानकारीको लागि यहाँ प्रस्तुत गरिएको छ । – सम्पादक)
चीन – संरा अमेरिका सम्बन्धमा परिवर्तन आउनुका पाँच कारण
अहिले चीन र अमेरिकाको सम्बन्ध गम्भीर अवस्थामा पुगेको छ । किन त ? मेरो व्यक्तिगत विचारमा अहिले चीन – अमेरिका सम्बन्धमा परिवर्तन आउनुमा पाँच वटा मुख्य कारण छन् । यी सबै नयाँ हुन् र यिनै कारण चीन – अमेरिका सम्बन्ध पहिलेको अवस्थामा फर्किन सम्भव छैन ।
पहिलो कारण
चीन र अमेरिका अहिले पहिलो र दोस्रो शक्तिशाली देशहरूको अन्तरविरोधको चरणमा प्रवेश गरेका छन् । यो एउटा यथार्थ हो । यो अन्तर्राष्ट्रिय सम्बन्धको सबभन्दा जटिल अन्तरविरोध हो । अध्यापनको क्षेत्रमा यसलाई थ्युसिडिडिज्को जाल (Thucydides Trap) भनिन्छ । अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययनमा पहिलो र दोस्रो शक्तिशाली देशहरूबीचको अन्तरविरोध स्वाभाविक र प्राकृतिकरूपमा प्रकट हुने र समाधान नभएको अन्तरविरोधको रूपमा लिइन्छ । पहिलो शक्तिशाली देश आफ्नो प्रतिस्पर्धामा उदय भएको दोस्रो शक्तिशाली देशसँग जहिले पनि ससङ्कित रहन्छ । जुनसुकै व्यवस्था, जाति वा संस्कृतिको देश भएपनि दोस्रो शक्तिशाली देश पहिलो शक्तिशाली देशको निम्ति खतरा रहन्छ, त्यसप्रति निरन्तर सतर्क रहन्छ ।
पश्चिमा जगतमा यो प्रवृत्तिको पहिलो व्याख्या युनानी इतिहासकार थ्युसिडिडिज् ले गरेका थिए । २४ सय वर्ष अगाडि स्पार्टा युनानी क्षेत्रमा तुलनात्मकरूपमा शक्तिशाली सहर थियो । स्पार्टा युद्धकौशलमा एकदम अगाडि थियो । ‘सैन्यवाद’ शब्द यही ठाउँबाट विकसित भएको शब्द हो । स्पार्टा युनानी क्षेत्रको प्रभुत्वशाली देश थियो । केही समयपछि एथेन्स शक्तिशाली सहरको रूपमा विकास भयो । एथेन्स सहर एउटा बन्दरगाह सहर हो । व्यापारमा अगाडि बढेको र शक्तिशाली जलसेना भएको हुनाले एथेन्सको शक्ति बढ्दै गयो । दुई नगरले एकले अर्कोको प्रभुत्व स्वीकार गरेन र थ्युसिडिडिज्् जालमा फस्यो । अन्ततः दुई नगरबीच घमासान युद्ध भयो । यो प्रभुत्ववादी युद्ध नै युनानी सभ्यताको अन्त्यको कारण बन्यो । त्यसपछि यो क्षेत्रमा उत्तरका मेसोडेनियाली जाति शक्तिशाली बन्यो । मेसोडेनियाली जाति वास्तवमा एसियाबाट बसाइ सर्दै युरोप पुगेको घुमन्ते जाति थियो । उक्त जाति एसियाली क्षेत्रमा भएको काबिला लडाइँमा हारेपछि युरोपतिर बसाइ सरेको थियो । युनानी क्षेत्रको गृहयुद्धको मौका छोपेर मेसोडेनियाली जाति शक्तिशाली जातिको रूपमा उदायो ।
एक युनानी इतिहासकारको रूपमा थ्युसिडिडिज्लाई यो घटना मन कुँडिएको एक घटना थियो । उनी यस्तो परिणाम देख्न चाहँदैनथे । उमेर ढल्केपछि उनले एउटा पुस्तक लेखे जसको नाम हो– पिलोपेनिसियाली युद्धको इतिहास । यो पुस्तकमा उनले किन स्पार्टा र एथेन्सको बीचमा युद्ध भयो भन्ने विषयमा विश्लेषण गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्धमा पहिलो र दोस्रो शक्तिशाली देशबीचको अन्तरविरोध सुल्झाउन नसकिने अन्तरविरोध भएको उनको निष्कर्ष थियो । उनीहरूको बीचमा अनिवार्यरूपमा युद्ध हुन्छ भन्ने उनको तर्क थियो । पश्चिमको इतिहासमा यो ऐतिहासिक दुखान्त दोहरिरह्यो । त्यसपछि पश्चिमको बौद्धिक क्षेत्रमा यसलाई ‘थ्युसिडिडिज्को जाल’ भनिन थालियो ।
अहिले चीन र अमेरिका एक अर्थमा एउटा दुविधामा फसेका छन् । चीनको नेतृत्व र अधिकांश बौद्धिक जगत चीन – अमेरिका सम्बन्ध यो जालमा फसेको स्वीकार गर्दैनन् । कमसेकम चीनसँग अमेरिकालाई चुनौति दिने, अमेरिकाको स्थान लिने मनस्थिति र आकाङ्क्षा छैन । तर, चीनले स्वीकारोस् या नस्वीकारोस् अमेरिकी बौद्धिक जगत चीन – अमेरिका सम्बन्ध ‘थ्युसिडिडिज्को जाल’ मा भित्रिसकेको धारणा राख्छन् । अमेरिका अहिलेको सबभन्दा शक्तिशाली देश हो । यदि अमेरिकाले चीनलाई प्रतिद्वन्द्वीको रूपमा लिन्छ भने चीनले नचाहेर पनि भाग्ने अवस्था छैन ।
किताबी ज्ञानमा मात्र रुमल्लिने केही चिनियाँ बुद्धिजीवीहरू ३० वर्ष अगाडिको तङ सियाओ फिङको सिद्धान्तअनुसार अमेरिकासँग बाहिरीरूपमा नरमरूपमा प्रस्तुत भएर भित्रीरूपमा चीनको शक्ति विकास गर्ने र त्यसलाई बाहिर नदेखाउने नीति चीनले लिनुपर्ने तर्क गर्छन् । तर, अहिले त्यो सम्भव छैन । अमेरिकीले कहिल्यै पनि एउटा देशको दृष्टिकोण हेरेर त्यो देशप्रति आफ्नो नीति बनाउँदैन, अमेरिकाले जहिले पनि अर्को देशको शक्ति हेर्छ । अमेरिका यथार्थवादी देश हो । कुनै देशको शक्ति बढ्नासाथै त्यो देश उसको निम्ति खतराको देश बन्छ ।
जापान र युरोपेली युनियन अमेरिकाको गठबन्धन मित्र हुन् तर पनि आफूजस्तै शक्तिशाली बन्न खोजेपछि अमेरिकाले बन्न दिएन । तर, विचारमा नमिले पनि साउदी अरेबियाजस्तो देशलाई जे पनि गर्न दिएको छ । एउटा पत्रकारको जिउँदै राजदूतावासमा हत्या गरेपनि अमेरिका चुपचाप बस्यो । किनभने, साउदी अरेबिया कमजोर छ । अमेरिकाको निम्ति कुनै देशको व्यवस्था कस्तो छ त्यो महत्वपूर्ण होइन, कति शक्तिशाली छ त्यो महत्वपूर्ण कुरा हो ।
बहुसङ्ख्यक चिनियाँ बुद्धिजीवीहरू अमेरिकाप्रति सकारात्मक दृष्टिकोण नै राख्छन् । चिनियाँ सरकारले पनि अमेरिकालाई शिष्ट व्यवहार गर्दै आएको छ । तर, तपाईँहरूले याद गर्नुभएकै होला कोरोना महामारीपछि २०२० को अघिल्लो आधा वर्ष अमेरिकी राष्ट्रपति, उपराष्ट्रपति, विदेशमन्त्री सबै दिनदिनै चीनलाई सत्तोसराप गरिरहेका थिए । तर, चिनियाँ सरकारले कहिल्यै पनि जवाफी गाली दिएन । बढिमा विदेश मन्त्रालयको विभागीय निर्देशक तहको प्रवक्ताले कहिलेकाहीँ जवाफ दिने गर्थे ।
विदेश मन्त्रालयका प्रवक्ता र केही चिनियाँ बुद्धिजीवीहरूले कहिलेकाहीँ व्यक्त गर्ने उग्र धारणाले चीन–अमेरिका सम्बन्धमा समस्या आयो भनी सोच्नु केटाकेटीपन हो । अमेरिकाको दृष्टिकोण हाम्रो व्यवहारले बन्ने होइन शक्तिको मूल्याङ्कनले बन्ने हो । अहिलेको यथार्थ भनेको चीन नै अमेरिकाको प्रमुख चुनौति हो भन्ने अमेरिकीहरूको निष्कर्ष हो । सिधा भन्ने हो भने अहिलेको अवस्थामा चीन जति नरम र शान्त भयो अमेरिका त्यत्ति नै चीनप्रति सशङ्कित हुन्छ ।
एक अर्थमा चीनको विकाससँगै यो दृष्टिकोण अझ बलियो भएर जानेछ । यदि चीन पछि पर्यो वा अर्थतन्त्र ध्वस्त भयो वा भारत जस्तै अन्योल वा अराजकताको अवस्थामा रह्यो भनेमात्र अमेरिकाले चीनबाट कुनै खतरा अनुभव गर्ने छैन र व्यवहार पनि शिष्ट हुनेछ । चीन – अमेरिकाबीचको यो अन्तरविरोध पनि हराएर जानेछ । तर, चिनियाँ जनता विकास गर्ने आफ्नो अधिकारलाई त्याग्ने पक्षमा छैनन् ।
चीन अमेरिका सम्बन्ध परिवर्तन आउनुको यो पहिलो कारण हो । रणनीतिकरूपमा वा संरचनागतरूपमा चीन अमेरिका सम्बन्ध पहिलो र दोस्रो शक्तिशाली देशको अन्तरविरोधको चरण –‘थ्युसिडिडिज्को जाल’ मा प्रवेश गरेको छ ।
दोस्रो कारण
अमेरिकीहरूको दृष्टिकोणमा चीन र अमेरिका अहिले राजनैतिकरूपमा दुई विपरीत दिशातिर लम्किरहेका छन् । हामी सबैलाई थाहा छ, अमेरिका अहिले लोकप्रियतावाद (Populism) र जातिवादको प्रभावमा दक्षिणपन्थी दिशातिर अघि बढ्दै छ । अमेरिकीहरूको विचारमा चीनले जोड दिइरहेको ‘चारवटा आत्मविश्वास’ (चिनियाँ विशेषता सहितको समाजवादको बाटोमा आत्मविश्वास, चिनियाँ राजनैतिक व्यवस्थामा आत्मविश्वास र सांस्कृतिक आत्मविश्वास – अनु) नाममा वामपन्थी दिशातिर गइरहेको छ ।
मेरो विचारमा ५ हजार वर्षको पुरानो सभ्यता भएको १ खर्ब ४० करोड जनताको देश चीनप्रति अमेरिकाले आफूसँग नै सिक्नुपर्छ भन्ने अपेक्षा राख्नु नै अमेरिकीहरूको एउटा ठूलो मूर्खता हो । तर, उसको अपेक्षा यही छ । तिम्रो विकास मेरो अपेक्षासँग मिलेन, यो नै हामीबीचको अन्तरविरोध हो भन्नु नै शीत युद्धको स्रोत हो, शीत युद्धको कारण हो ।
यसरी चीन र अमेरिका राजनैतिक र वैचारिकरूपमा झन्झन् टाढा हुँदै छन् । यसले विदेश नीतिको निम्ति अवरोध खडा गर्छ किनभने विदेश नीति आन्तरिक नीतिको निरन्तरता हो, विशेषतः ठूला देशहरूको विदेश नीति । चीन र अमेरिकाको राजनैतिक यात्रा विपरीत दिशामा गइरहेको छ भन्ने ठम्याइ राखेपछि विदेश सम्बन्ध अप्ठ्यारो अवस्थामा पुग्छ ।
तेस्रो कारण
अमेरिका अहिले गम्भीर आन्तरिक समस्यामा फसेको छ । आन्तरिक समस्याका कारण अन्य देशहरूसँगको व्यवहारमा अमेरिकाले व्याकुलता देखाइरहेको छ । अन्य देशलाई अमेरिकासँग व्यवहार गर्न अहिले पहिलाजस्तो सजिलो छैन ।
मेरो विचारमा अमेरिकामा अहिले पाँचवटा ठूला आन्तरिक अन्तरविरोध छन् । तल–माथि, दायाँबायाँ, श्वेत–अश्वेत, भच्र्यूयल तथा वास्तविक अर्थव्यवस्थाको अन्तरविरोध तथा ट्रम्पको उदय ।
तल–माथिको अन्तर्विरोध भनेको हामीले भन्दै आएको वर्गीय अन्तर्विरोध हो । अमेरिकी शासक वर्ग आमजनताको आवश्यकता र अवस्थाप्रति रत्तिभर पनि संवेदनशील छैनन् । उनीहरू जनतालाई हेप्छन् । आमजनता पनि शासक वर्गको व्यवहारबाट दिक्क छन्, शासक वर्गलाई घृणा गर्छन् । अमेरिकामा तल्लो वर्ग र माथिल्लो वर्गको अन्तर्विरोध गहिरिँदै छ । अमेरिकीहरू यसलाई राजनैतिक संस्थापन पक्ष र लोकप्रियतावादी पक्षबीचको अन्तरविरोधको रूपमा व्याख्या गर्न रुचाउँछन् । संस्थापन भन्नाले माथिल्लो वर्ग, लोकप्रियवादीहरू भन्नाले तल्लो वर्ग । खासमा यो हामीले भन्दै आएको वर्गीय अन्तर्विरोध नै हो ।
दोस्रो अन्तर्विरोध दायाँ र बायाँको अन्तर्विरोध हो । अमेरिकाका दुई मुख्य पार्टीमध्ये रिपब्लिकन पार्टी दक्षिणपन्थतिर ढल्केको पार्टी हो भने डेमोक्रेटिक पार्टी वामपन्थतिर केही ढल्केको पार्टी हो । पहिला यी दुवै पार्टीमा नरमपन्थीहरूको प्रभाव थियो । नरमपन्थीहरूको प्रभाव रहँदा वैचारिक बेमेल भएपनि दुई पार्टीबीच वार्ता र सम्झौताहरू सजिलै हुन्थ्यो । तर, अहिले अवस्था फरक छ । दुवै पार्टीमा गरमपन्थीहरूको प्रभाव बढिरहेको छ । डेमोक्रेटिक पार्टीमा बर्नी स्यान्डर्स जस्ता वामपन्थी झुकाव राख्ने नेताहरूको प्रभाव बढ्दै छ भने रिपब्लिकन पार्टीमा ट्रम्प जस्ता दक्षिणपन्थीहरूको प्रभाव बढ्दै छ । यी दुई पक्षहरूलाई पार्टीभित्रका अतिवादी वा गरमपन्थी मानिन्छ त्यसकारण यी दुई पक्षहरूबीच वार्ता सम्झौता हुन गाह्रो छ । अमेरिकीहरूले गर्वका साथ भन्ने गरेको ‘बेलायती–अमेरिकी शैली’ को सम्झौता अहिले हराएको छ । अहिले दुवै पक्ष एकअर्काप्रति शत्रुतापूर्ण व्यवहार गर्छन् ।
तेश्रो अन्तर्विरोध श्वेत र अश्वेत जातिबीचको अन्तरविरोध हो । यसलाई जातीय अन्तर्विरोध पनि भन्न सकिन्छ । अहिले यो समस्या झन्झन् गम्भीर हुँदै आएको छ ।
चौथो अन्तर्विरोध भच्र्युयल अर्थतन्त्र र वास्तविक अर्थतन्त्रबीचको अन्तर्विरोध हो । अमेरिका पुँजीपतिहरूले शासन गरेको देश हो । अमेरिकामा नीति बनाउने वास्तविक अधिकार वालस्ट्रीटमा छ भन्ने कुरा हामी सबैले बुझेका छौँ । वासिङ्टनमा उनीहरूले आफ्नो स्वार्थको निम्ति चुनेर पठाएका प्रतिनिधिहरूमात्र बस्छन् । अहिले अमेरिकाको पुँजीपतिवर्गमा फाटो आएको छ ।
अहिले भच्र्युयल अर्थतन्त्र र वास्तविक अर्थतन्त्रबीच फाटो छ । तीस वर्ष अगाडि वास्तविक अर्थतन्त्र मात्रै थियो, भच्र्युयल अर्थतन्त्र तुलनात्मकरूपमा सानो थियो । तर, अहिले भच्र्युयल अर्थतन्त्र एकदम बलियो छ । यसका दुईवटा कारण छन् ।
एउटा प्रविधिको विकास हो, विशेषतः इन्टरनेटको विकास । इन्टरनेटको विकाससँगै धेरै भच्र्युयल अर्थतन्त्रका समूह विकास भए । धेरै इन्टरनेटमा आधारित कम्पनीहरूको वास्तविक नाफा धेरै कम छ तर बजारले उनीहरूको सेयरको मूल्याङ्कन धेरै नै बढाइदिएको छ ।
दोस्रो अमेरिकी अर्थतन्त्रको वित्तीयकरण हो । विश्व अर्थतन्त्र अध्ययन गर्ने साथीहरूलाई थाहा छ कि सन् १९७२ मा अमेरिकामा ‘निक्सनको झड्का’ (Nixon Shock) नामक एउटा आर्थिक सुधार लागु गरियो । दोस्रो विश्वयुद्धपछि स्थापित बर्टनउड्स व्यवस्थाले सबै देशको मुद्रालाई अमेरिकी डलरसँग जोड्यो भने अमेरिकी डलरलाई सुनसँग जोड्ने अमेरिकाले वाचा गरेको थियो । त्यो व्यवस्थाअनुसार एक आउन्स (२८.३ ग्राम – अनु.) सुनको स्थिर मूल्य ३५ अमेरिकी डलर हुन्थ्यो । यसले अमेरिकी डलरप्रतिको विश्वास बढाएको थियो । यति अमेरिकी डलर कमाएपछि यति सुन साट्न पाइन्छ भन्ने निश्चित थियो । दोस्रो विश्वयुद्धपछि युरोप, जापान र एसियाका चार साना बाघहरू (दक्षिण कोरिया, थाइवान, सिङ्गापुर र मलेसिया – अनु.) उदाए । उनीहरूले हातमा आएको अमेरिकी डलरबाट सुन साट्न थाले । केही समयपछि नै अमेरिकाले यसलाई थेग्न सकेन र गैरजिम्मेवारीपन देखाउन थाल्यो । सन् १९७२ मा निक्सनले अमेरिकी डलर सुनसँग नजोडिने घोषणा गरे । केही समयमै अमेरिकी डलरको मूल्य घट्न थाल्यो । जापान र जर्मनीजस्ता देशहरूको अमेरिकामा रहेको विदेशी मुद्रा सञ्चितिको मूल्य एकचोटी २०–३० प्रतिशतले घट्यो । त्यो समयदेखि अमेरिकी डलरको सुनसँगको सम्बन्ध टुट्यो । त्यसपछि अमेरिकाले बेपर्वाहरूपमा अमेरिकी डलर छाप्न थाल्यो । यो प्रक्रियामा अमेरिकाले अकुत नाफा कमायो । त्यसपछि अमेरिका वित्तीय माध्यमबाट नाफा कमाउने तरिकामा भर पर्न थाल्यो । वास्तविक अर्थतन्त्र विदेशिन थाल्यो । अहिले करिब आधा उद्योगले सधँैको लागि अमेरिका छाडिसकेका छन् । बाँकी आधा धेरै नाफा कमाउने उच्च प्रविधिका उद्योगमात्र अमेरिकामा रहेका छन् । यो अमेरिकी अर्थतन्त्रको एउटा समस्या हो । यसलाई म अर्थतन्त्रको वित्तीयकरण भन्छु ।
इन्टरनेट र वित्तीयकरणको प्रभावले अमेरिकी अर्थतन्त्रमा अहिले एकदम शक्तिशाली भच्र्युयल अर्थतन्त्र विकास भएको छ । तर, वास्तविक अर्थतन्त्र अहिले पनि छ । गाडी उद्योग, स्टिल र फलाम उद्योग, कोइला, पेट्रोलियम, हवाई सेवा, यातायात सेवा आदि सबै अहिले पनि बलिया छन् । यसरी अमेरिकी पुँजीपतिवर्ग अहिले दुई भागमा विभाजित छन् । ट्रम्प वास्तविक उद्योगका पक्षपाति हुन् । तर, वालस्ट्रिट भच्र्युयल अर्थतन्त्रलाई जोड दिन्छ ।
अमेरिकी समाजमा रहेको पाचौँ अन्तर्विरोध अन्तर्राष्ट्रवाद र राष्ट्रवादबीचको अन्तर्विरोध हो । अथवा, यसलाई विश्वव्यापीकरणका पक्षधर र स्थानीयवादका पक्षधरहरूबीच रहेको अन्तर्विरोध भन्न सकिन्छ । विश्वव्यापीकरणको क्रममा अमेरिकी पुँजीपतिहरूको एक पक्षले बहुराष्ट्रिय कम्पनीहरूमार्फत विभिन्न देशहरूमा लगानी गरेर अकूत नाफा कमाएको छ ।
तर, केही उद्योगहरूलाई भने विश्वव्यापीकरणले घाटा पुर्याएको छ, उनीहरू राष्ट्रवाद र स्थानीयतावादको पक्षमा छन् ।
अघिल्लो शताब्दीको ३० को दशकमा पनि अमेरिकी समाजमा गम्भीर अन्तरविरोधहरू थिए तर ती वर्गीय र वैचारिक अन्तरविरोध थिए । त्यतिबेला जातीय अन्तरविरोध थिएन किनभने अश्वेतहरूमा त्यतिबेला विद्रोहको चेतना आइसकेको थिएन । स्वतन्त्र भएर पनि उनीहरू दास मानसिकतामा थिए । ६० को दशकमा मानवअधिकारको आन्दोलनसँगै जातीय अन्तर्विरोध मुखरित हुन थाल्यो । पछिल्ला दुई अन्तरविरोधहरू नयाँ तर सहज समाधान नभएका अन्तरविरोध हुन् ।
यसरी अमेरिकी समाज अहिले गम्भीर अन्तरविरोधहरूबाट गुज्रिरहेको छ । यसैको कारण अमेरिका विदेश सम्बन्धमा पनि व्याकुल र स्वार्थी बनेको छ, अमेरिकाको आत्मविश्वास घट्दै गइरहेको छ, दिनदिनै ‘अमेरिका पहिलो’ भनेर कराइरहेको छ । परिणामतः विभिन्न देशहरूले अमेरिकासँग व्यवहार गर्न कठिन अनुभव गरिरहेका छन् । यो अनुभव चीनको मात्र होइन, अमेरिकी जर्मनी, जापाजस्ता गठबन्धन राष्ट्रहरू र भौगोलिकरूपमा अमेरिकाको नजिकमै रहेका ल्याटिन अमेरिकी देशहरूको पनि हो ।
चौथो कारण
चीन–अमेरिका सम्बन्धमा परिवर्तन आउनुको चौथो कारण चीनमा आएको परिवर्तन हो । हाम्रो चालीस वर्षको सुधार र खुलापनले अत्याधिक सफलता हासिल गरेको छ । राज्यको शक्तिमा धेरै परिवर्तन आएको छ । आमजनताको जीवनस्तर धैरै माथि उठेको छ । तर, यो सफलता सँगसँगै चिनियाँ समाज पनि विभिन्न स्वार्थ समूह र स्वार्थ प्रतिनिधिहरूमा विभाजित भएको छ । यो विभाजनले विचारमा पनि विभिन्नता ल्याएको छ । इन्टरनेटको विकासका कारण आमजनता र बुद्धिजीवीहरूका फरकफरक विचारहरू पनि मुखरित भइरहेका छन् । यसले चीनमा कुनै सार्वजनिक महत्वको विषयमा एकमत बनाउन पहिलाभन्दा गाह्रो भएको छ । चाहे आन्तरिक विषयमा होस् या बाहिरी विषयमा, चीन – अमेरिका सम्बन्धलगायत सबै विषयमा एकमत बनाउन अहिले पहिले जस्तो सजिलो छैन ।
पाँचौँ कारण
सन् २०१६ मा अमेरिकाले एक व्यापारीलाई राष्ट्रपति चुन्यो । अमेरिकी इतिहासमा पहिलेका सबै राष्ट्रपतिभन्दा उनी फरक छन् । उनी आफै एकदम अचम्म खालका राष्ट्रपति हुन् भने उनको समूहमा उनीभन्दा अचम्म खालका मान्छे धेरै छन् । राष्ट्रपतिको रूपमा ट्रम्पका विचारहरूमा स्थिरता छैन । केहिले के कहिले के भनिरहन्छन् ।
यिनै चीन–अमेरिका सम्बन्धको पृष्ठभूमिमा देखिएको परिवर्तनका पाँच ठूला कारण हुन् । पहिलो र दोस्रो शक्तिको अन्तर्विरोध, अमेरिकाको आन्तरिक अन्तर्विरोध, चीन र अमेरिकाको फरक राजनैतिक दिशा, चीनियाँ समाजमा आएको विभाजनले नीति निर्धारणमा निम्त्याएको समस्या र ट्रम्प प्रवृत्ति ।
चीन अमेरिका सम्बन्धको पृष्ठभूमि परिवर्तन भएपछि चीन अमेरिका सम्बन्धको चरित्र पनि बदलिएको छ ।
क्रमशः
अनु. – समीर
Leave a Reply