भर्खरै :

मैत्रीपूर्ण कबड्डी प्रतियोगिता गरेर शुभकामना

भक्तपुर, २८ चैत । भक्तपुर नपा २ नं. वडा खेलकुद समितिको आयोजनामा शनिबार २ नं. वडाव्यापी मैत्रीपूर्ण कबड्डी प्रतियोगिता एवम् बधाई ज्ञापन तथा नव वर्ष २०७८ सालको शुभकामना आदानप्रदान कार्यक्रम सहिद स्मृति खेल मैदानमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वडास्तरीय खेलकुद प्रतियोगिताले नगरस्तरीय, जिल्लास्तरीय हुँदै राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादनमा टेवा पु¥याउने बताउँदै खेलकुद सभ्य र अनुशासित ढङ्गले खेलिनुपर्ने बताउनुभयो ।
उहाँले समाज परिवर्तनको निम्ति अनुशासित खेलाडीहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आफूसँग भएको दक्षता र सीपलाई सही ठाउँमा उपयोग गर्नुपर्ने बताउनुभयो । भक्तपुरको ऐतिहासिक बिस्का जात्रा भव्यरूपमा सम्पन्न गर्न नगरवासी जनताको साथ र सहयोगको अपेक्षा गर्दै उहाँले कोभिडबाट सुरक्षित रही जात्रा मनाउन आग्रह गर्नुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नपाले खेलकुदलाई प्राथमिकतामा राख्दै बर्सेनि विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउँदै खेलाडी सम्मानलाई जोड दिइरहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले खेल सामग्री हस्तान्तरण गर्दै खेलाडीहरूलाई शुभकामना दिनुभयो ।
कार्यक्रममा पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजा, अखिल नेपाल कबड्डी सङ्घका महासचिव विनोद प्रजापति, भनपा वडा नं. २ खेलकुद समितिका गणेशप्रसाद सुवालले पनि बोल्नुभएको थियो ।
आज सम्पन्न मैत्रीपूर्ण कबड्डी प्रतियोगितामा मिलेनियम फेन्सी प्रथम, युनिक युनिटी दोस्रो र भक्तपुर युथ सर्कल टीमले तेस्रो स्थान हासिल गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले कबड्डी प्रतियोगिता विजयी खेलाडी र निर्णायकहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो भने राष्ट्रव्यापी टेबलटेनिस प्रतियोगिताका टीम इभेन्टमा दोस्रो स्थान हासिल गरेका खेलाडीहरूलाई सोही अवसरमा पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *