भर्खरै :

कीर्तिपुरमा सहिद स्मृति कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

कीर्तिपुर, २८ चैत । युवा खेलकुद समूह कीर्तिपुरको आयोजनामा पाँगा कीर्तिपुरमा सञ्चालित १२ औँ सहिद स्मृति कप खुला पुरुष ब्याडमिन्टन प्रतियोगिताको शनिबार भएको समूह ‘ए’ अन्तर्गतको फाइनल खेलमा दिप्रिशमुनी बज्राचार्य÷अमित महर्जन काठमाडौँ क्षेत्र नं. १० स्तरीय क्षेत्रीय च्याम्पियन बन्न सफल भए भने समूह ‘बी’ अन्तर्गतको फाइनल खेलमा मधुकर श्रेष्ठ÷सागर डंगोल कीर्तिपुर नगरस्तरीय च्याम्पियन बन्न सफल भए ।
शनिबार भएको समूह ‘ए’ अन्तर्गतको फाइनल खेलमा दिप्रिशमुनी बज्राचार्य÷अमित महर्जन (केबीसी) ले रुपेन महर्जन÷विष्णु महर्जन (जनसेवा) लाई २१–९ र २१–१२ को सोझो सेटले पराजित गरी च्याम्पियन बन्न सफल भएका हुन् भने समूह ‘बी’ अन्तर्गतको फाइनल खेलमा मधुकर श्रेष्ठ÷सागर डंगोल (दिउखेल) ले मुकेश महर्जन÷परमेश्वर डंगोल (दिउखेल) लाई २१–१३ र २८–२६ को प्रतिपर्धात्मक सेटले हराई उपाधि आफ्नो हातमा पार्न सफल भए ।
त्यसैगरी समूह ‘ए’ मा रुपेन÷विष्णु महर्जन द्वितीय, सुमन÷प्रमोद महर्जन र हरि खत्री÷पूर्ण श्रेष्ठ तृतीय भए भने समूह ‘बी’ बाट मुकेश महर्जन÷परमेश्वर डंगोल द्वितीय, रोहन÷निश्चल महर्जन र सचित कुँवर÷प्रमोद पाण्डे तृतीय भए ।
प्रतियोगितामा उदीयमान खेलाडीको रूपमा कृष महर्जन र रोज महर्जन र वर्ष खेलाडी २०७७ को रूपमा दयाराम डंगोललाई घोषणा गरिएको थियो ।
विजयी खेलाडीहरूलाई नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवाल, सहिद स्मृति व्यवस्थापन समितिका अध्यक्ष विकास महर्जन, जनसेवा मावि सञ्चालक समितिका अध्यक्ष माधवलाल महर्जन, कीर्तिपुर व्याडमिन्टन क्लवका दयाराम डंगोलले ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
त्यसक्रममा अतिथि सांसद सुवालले खेलाडीहरूको अनुशासन राजनीतिक पार्टीहरूले सिक्नुपर्ने बताउँदै राजनीतिक पार्टीहरूले आफ्नो स्वार्थमा दल अदल–बदल गरी जनमतलाई अपहेलना गरिरहेको बताउनुभयो ।
उहाँले युवा खेलकुद समूहले हरेक वर्ष सहिद दिवसको अवसरमा कीर्तिपुरका चार सहिदहरूको स्मृतिमा खेलकुद प्रतियोगिता गर्दै आइरहेको काम प्रशंसनीय भएको बताउँदै स्वस्थ, मित्रता र अनुशासनको लागि खेलकुदको विकास निरन्तर गर्दै जान आग्रह गर्नुभयो । कोभिड–१९ को सङ्क्रमण र वायु प्रदूषणबाट बच्न हामी सजग र सचेत हुनुपर्ने बताउँदै छिमेकी देश भारतमा कोभिड–१९ को सङ्क्रमण बढेपछि खुला सिमानाको कारण नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने हुँदा सरकारले समयमै रोकथामको उपाय अपनाउनुपर्ने उहाँले बताउनुभयो ।
जनसेवा मावि सञ्चालन समितिका अध्यक्ष माधवलाल महर्जनले ब्याडमिन्टन खेलको विकास गर्न जनसेवा स्कूलभित्रै ब्याडमिन्टन कोर्ट निर्माण गरेर खेलाडीहरूले लाभ लिएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले युवा खेलकुद समूहले निरन्तर ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्नु र खेलको विकासको लागि अक्षय कोष स्थापनामा व्यक्तिगत सहयोग गर्ने बताउनुभयो ।
सहिद स्मृति व्यवस्थापन समितिका अध्यक्ष विकास महर्जनले सहिद दिवसको अवसरमा युवा खेलकुद समूहले सहिदको भावनालाई समेटी खेलकुद प्रतियोगिता गर्नु सराहनीय काम भएको बताउँदै नयाँ युवा पिढीलाई सहिदको योगदानबारे बुझाउन आवश्यक रहेको बताउनुभयो ।
युवा खेलकुद समूहका अध्यक्ष नारायण महर्जनले ऐतिहासिक जन आन्दोलन २०४६ सालमा शहादतप्राप्त वीर सहिदहरू लनबहादुर महर्जन, हिराकाजी महर्जन, राजमान माली र राजेन्द्र महर्जनको स्मृतिमा हरेक वर्ष ब्याडमिन्टन प्रतियोगिता गर्दै आइरहेको बताउँदै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै खेलप्रेमी साथी र सङ्घसंस्थाहरूलाई धन्यवाद दिनुभयो ।
प्रतियोगिताका संयोजक हरिकुमार महर्जनको सभापतित्वमा कार्यक्रम भएको थियो ।
विजयी क्षेत्रीय स्तरका खेलाडीहरूलाई नगद पुरस्कारस्वरुप प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५÷५ हजार र कीर्तिपुर नगरस्तरका खेलाडीहरूलाई नगद पुरस्कारमा प्रथम हुनेलाई ८ हजार, द्वितीय हुनेलाई ५ हजार र तृतीय हुनेलाई २÷२ हजार प्रदान गरिएको थियो । प्रतियोगितामा सहयोगी सङ्घसंस्थाहरूलाई कदर पत्र र मायाको चिनो प्रदान गरिएको थियो भने विजयी खेलाडी परमेश्वर महर्जनले आफूले पाएको नगद पुरस्कार रु.२,५००।– अक्षय कोषको लागि हस्तान्तरण गर्नुभएको थियो ।
१२ औँ सहिद स्मृति कप ब्याडमिन्टन प्रतियोगिता चैत १७ गतेबाट जनसेवा माविको ब्याडमिन्टन कोर्टमा भएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *