भर्खरै :

‘सांस्कृतिक प्रभुत्व’, बिस्काजात्रा र कोभिड –१९

संस्कृतिमाथि आक्रमण
“मैले भारतवर्षमा सर्वत्र चहार्दा एउटै माग्ने पनि देखिनँ, एउटै चोर पनि फेला परेन । त्यहाँका मान्छेको कस्तो उच्च नैतिकता ! कस्तो महान् चरित्र ! त्यहाँको कस्तो समृद्धि ! अहँ ! मलाई त के लाग्यो भने, त्यहाँको आध्यात्मिक र सांस्कृतिक सम्पदा अनि प्राचीन शिक्षा प्रणालीलाई हटाएर त्यसको ठाउँमा हाम्रो शिक्षापद्धति बसाएनौँ भने, मरी गए पनि हामी त्यस देशलाई जित्न र त्यहाँ दिगो शासन गर्न सक्तैनौँ । त्यति गरेपछि (अर्थात् संस्कृत माध्यमको शिक्षाको ठाउँमा हाम्रो अङ्ग्रेजी माध्यमको शिक्षा लाद्यौँ भने) मात्रै, बल्ल, भारतीयहरूलाई जे–जे बेलायती र विदेशी हो, त्यो नै आफ्नोभन्दा उन्नत हो भन्ने भान पर्छ । त्यति भएपछि तिनीहरूले आत्मसम्मान र जातीय संस्कृति गुमाउँछन् अनि मात्र हामी पराजित राज्यका नागरिकलाई झैँ तिनीहरूलाई हामीले जे भन्यो त्यही मान्ने बनाउन सक्छौँ।”
बेलायती प्रतिनिधिको रूपमा भारत पुगेका लर्ड थोमस मेकालेले बेलायती संसद्मा (२ फेब्रुअरी १८३५) माथि उद्धृत प्रस्ताव राखेका थिए । उद्देश्य एउटै थियो भारतमा बेलायतको अखण्ड शासन । १२ अक्टोबर १८३९ मा मेकालेले आफ्ने बुबालाई “भारतमा हाम्रा अङ्ग्रेजी स्कुलहरू उदेक लाग्नेगरी सप्रिरहेका छन्” भनी खुशी व्यक्त गर्दै चिठी लेखे । अङ्ग्रेजी भाषाको माध्यमबाट भारतमा अङ्ग्रेज संस्कृति लादेर थप एकसय वर्ष शासन गरे बेलायती उपनिवेशवादले ।
“जब गोराहरू हाम्रो देशमा आएका थिए, त्यसबेला उनीहरूको हातमा बाइबल थियो र हाम्रो हातमा जमिन थियो । त्यसपछि हामीले आँखा चिम्लिएर बाइबल समात्यौँ । आँखा खोल्दा हाम्रो हातमा बाइबल थियो, उनीहरूको हातमा शासन सत्ता र जमिन ।” अफ्रिकी स्वतन्त्रता आन्दोलनका नेता डेस्मोड टुटु प्रस्तुत भनाइले दक्षिण अफ्रिका कसरी युरोपेलीहरूको दास बन्न पुग्यो भन्ने प्रस्ट पार्छ । साम्राज्यवादीहरूले धर्मलाई पनि कसरी हतियार बनाए भन्ने बुझ्न अफ्रिकी इतिहास पढ्नुपर्छ । दक्षिण अफ्रिकाका मूल जातिका मानिसमाथि गोरा छालाका युरोपेलीहरूले साम्राज्यवादी हैकम चलाए शताब्दीऔँसम्म । आफ्नै देशमा काला जाति अनागरिक भए† शिक्षा, स्वास्थ्य, रोजगार आदि क्षेत्रमा असमानता लादियो । काला जातिले सहरबजारमा बस्ने अनुमतिसमेत पाएनन्, राजनीतिक एवम् प्रशासनिक क्षेत्रमा उनीहरूको केही भूमिका थिएन, दक्षिण अफ्रिकीहरू प्राविधिक शिक्षाबाट वञ्चित थिए, गोरा जातिको अभद्र व्यवहार दैनिकीजस्तै बनेको थियो, आराम कुन चरोको नाम हो काला जनतालाई थाहा थिएन । श्वेत सरकारको शासनकालमा दक्षिण अफ्रिकी मूल जातिको अवस्था वर्णनातीत छ ।
जनोत्तेजनाको कारण
के नेपालीजन भारतीय वा दक्षिण अफ्रिकीको नियति भोग्दै छन् ? विसं २०७७ मा प्रसिद्ध बिस्का जात्रा गर्न अनुमति नपाउने भएपछि एकखालका मानिसको प्रतिक्रिया यस्तै थियो । राजा महेन्द्रले ‘एउटा भाषा एउटै भेष’ को नारा लगाई खस भाषालाई सरकारी कामकाजको भाषाको रूपमा कडाइसाथ लागु गर्नुका साथै, धर्मसापेक्ष राष्ट्र घोषणा गरेका थिए । परिणामस्वरूप एक सत्र्न्दा बढी भाषा तथा जाति भएको नेपालमा अन्य भाषा तथा संस्कृतिका नागरिकले अपमानित भएको अनुभव गरे । पृथ्वीनारायण शाहले ‘नेपालमण्डल’ विजय गरेसँगै काठमाडौँको कला र संस्कृतिमाथि प्रहार सुरु भयो, राणा शासनसम्म आइपुग्दा पश्चिमा संस्कृतिको प्रभाव तीव्र भयो । काठमाडौँमा पश्चिमा शैलीका भवनहरू बन्न थाले, पश्चिमा लवाइखवाइ चल्न थाल्यो । यहाँको सीप तथा प्रविधि अलप हुन थाल्यो । यहाँसम्म कि कलाको इतिहासमा स्वर्णयुग मानिएको मल्लकालपछि शाहकालमा काष्ठकला मृतप्रायः भएको थियो । तर, खासगरी २०४६ पछि सांस्कृतिक सम्पदा तथा स्मारकहरूको जिर्णोद्धार तथा पुनःनिर्माणको लहर जनस्तरबाटै सुरु भएपछि काष्ठकलाको ‘पुनःजागरण’ भएको छ ।
राणा शासनको बेलायती भक्तिको कारणले तामा र फलाम खानीको उत्खनन बन्द हुँदा तामा तथा फलामका सामान उत्पादन पनि बन्द हुन पुगे, हजारौँ मानिसको रोजगारी गुम्यो, खानलाउनको निम्ति विदेशिन बाध्य भए नेपाली । बाँच्नको निम्ति नचाहँदा नचाहँदै पनि नेपालीले विदेशी सामान स्वीकार्नु प¥यो । आफ्नो सीपको परिमार्जन तथा विकासका कुरा कुनामा थन्किए । आज अन्न, तरकारी, फलफुलसमेतको निम्ति परनिर्भर बनेको छ नेपाल । अनि, नेपालीको मौलिक संस्कृति कसरी बचोस् !
मौलिक संस्कृतिमाथि निरन्तरको प्रहार भएर होला – कोभिड–१९ को महामारी फैलिएको बेलामा पनि बिस्का जात्रा पुरानै शैलीमा मनाउन पाउनुपर्ने भन्दै नाराबाजी चल्यो । यसलाई ‘अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सेको’ भन्न पनि सकिएला । सत्ताधारीहरूले सरोकारवालाबीच पर्याप्त छलफल गरी निकास खोजिएको भए यस्तो प्रतिक्रिया आउँदैनथ्यो पनि । भक्तपुर नगरपालिकाले जनभावनाको सम्बोधन त ग¥यो तर कोभिड–१९ को सङ्क्रमणको त्रास कायम नै छ । जात्रा भिडको अर्को नाम हो । भैरवनाथको रथ यात्रामा धेरैले मास्क लगाएको देखिन्नथ्यो, भौतिक दुरी झन् असम्भव ।
समाजमा सचेत नागरिक रहँदासम्म असल संस्कृति बाँचिरहन्छ । शासक वर्गको षड्यन्त्रको चिरफार गर्ने हैसियत जनतामा अक्षुण्ण हुनुपर्छ । संस्कृति समयअनुसार बदलिँदै जान्छ, इच्छित होस् या अनिच्छित !
नेपालमा ‘सांस्कृतिक प्रभुत्व’ (Cultural Hegemony)
२० औँ शताब्दीका माक्र्सवादी चिन्तक एन्टोनियो ग्राम्सीद्वारा ८ वर्षको काराबास कालमा लेखिएको ‘काराबास नोटबुक’ मा उल्लिखित ‘सांस्कृतिक प्रभुत्व’ को विचार आज पनि सान्दर्भिक लाग्छ । विकसित पुँजीवादी देशहरूमा किन क्रान्ति हुँदैन भन्ने प्रश्नोत्तर स्वरूप पुँजीवादी सांस्कृतिक प्रभुत्वले नै मजदुर वर्गलाई क्रान्तिचेतबाट विमुख बनाउँछ भन्ने उनले तर्क गरेका थिए । पुँजीवादले हिंसा तथा आर्थिक शोषणमात्र गर्दैन बरु त्यसले सामाजिक आदर्श एवम् सांस्कृतिक प्रतीकहरू स्थापित गरी कामदार वर्गको ‘ब्रेन वास’ गर्दछ (यस मामिलामा सामन्तवाद पनि घटी छैन) । पुँजीवादमा बुद्धिजीवी, अखबार, विद्यालय तथा कलेज, ट्रेड युनियन, धार्मिक संस्थाहरू मिलेर छुट्टै संस्कृतिको निर्माण गर्छन् । उनीहरू ‘ईश्वर’ वा ‘भगवान’ को भ्रम छर्छन्, धनी र गरिब भन्ने प्राकृतिक कुरा हो भन्छन्, धनी वा पुँजीपतिले गरिबलाई रोजगारी दिई सहयोग गरेको भ्रम पार्छन् । पूर्वजन्मको पापको कारण दलित वा अछुत जातमा जन्मन परेकोजस्ता मिथ्या कथाहरूको प्रचार गर्छन् । धर्मको पालना गरे अर्को जुनीमा सुख पाइन्छ भन्छन् । ईश्वरको प्रार्थना गरेर मुक्ति प्राप्त हुने सपना देखाउँछन् । विरोध गर्नु, विद्रोह गर्नु वा समाजका मूल्य र मान्यतामाथि प्रश्न उठाउनु गलत भएको ठान्छन् । मजदुर वर्गको श्रम शोषणबाट जम्मा गरिएको आफ्नो सम्पत्ति बचाउन ‘सम्पत्ति मेहनतले मात्र कमाइन्छ’ भनेर मजदुर वर्गको मेहनतको खिल्ली उडाउँछन् । असल मान्छे लडभिड गर्दैनन्, विरोध गर्दैनन् भन्ने भाष्य निर्माण गर्छन् वा चुपचाप अन्याय सहने मान्छेलाई ज्ञानीको पगरी गुथाइदिन्छन् । ‘संसार जहाँसुकै जाओस्, तिमीलाई के मतलब’ भनेर आमाबुबा पनि केटाकेटीलाई गाली गर्छन् ।

एन्टोनियो ग्राम्सी


टेलिभीजन, अनलाइन वा पत्रिकामा विज्ञापित सामान किन्न उत्साहित गरिन्छ । यस्तो परिवेशमा आफ्नो दुःख वा पीडालाई मजदुर वर्गले आफ्नो नियति सम्झन्छ र ‘ईश्वर’ को नाम जपेर आत्मतुष्टि लिन खोज्छ । धर्मसत्तालाई यसले बलियो बनाउँछ । यस्तो झूटो चेतना (फल्स कन्ससनेस) को कारण मजदुर वर्गले राज्यको आज्ञापालन गरिरहेको हुन्छ । जसरी जुकाले चालै नपाई मानिसको रगत चुसिरहेको हुन्छ, कामदार वर्गले पनि आफूमाथिको शोषणको चाल पाउन्नन् । मजदुर वर्गमा क्रान्तिकारी बल नै हराउँछ । यो प्रक्रियालाई ग्राम्सीले सांस्कृतिक प्रभुत्वको प्रभाव भनेका छन् ।
पुँजीपति वर्ग शान्तिको नारा दिन्छ । सुन्नमा शान्ति राम्रो कुरा हो तर मुर्दा शान्तिको के अर्थ ? वास्तवमा मजदुर वर्गमा आन्दोलन वा सङ्घर्षको संस्कृति निस्तेज पार्न शान्तिको भ्रम छरिएको हुन्छ । पुँजीवादले प्रजातन्त्रको कुरा गर्छ, आवधिक निर्वाचन, स्वतन्त्र मतदान, प्रेस स्वतन्त्रता, वाक् स्वतन्त्रताको बहस गर्छ । तर, व्यवहारमा प्रजातान्त्रिक हकको उपभोग शक्तिशाली वर्गले मात्र गरिरहेको हुन्छ । वास्तवमा पुँजीवादी स्वतन्त्रता, भ्रातृत्व तथा समानताको नारा भ्रममात्र हो । यसैलाई ग्राम्सीले झूटो चेतना भनेका हुन् । पुँजीपति वर्गको रणनीति हो – ‘दिमाग नै घुमाउन सकिन्छ भने टाउको किन फोड्ने ?’
आर्थिक तथा राजनीतिक क्रान्ति सम्पन्न भएपछि पनि सांस्कृतिक चेतना पुरानै हुने मनोग्रन्थीले काम गरिरहन सक्ने भएकोले माओ त्सेतुङले चीनमा सांस्कृतिक क्रान्तिको आह्वान गर्नुभयो । अन्धविश्वास, कुरीति, कुसंस्कार तथा पुँजीवादी दृष्टिकोण धोइपखाली नगरी चिनियाँ क्रान्तिले पूर्णता नपाउने माओको ठहर थियो ।
पुँजीवादी तथा सामन्तवादी सांस्कृतिक प्रभुत्वमा पिल्सिएको नेपाली कामदार वर्गको मुक्तिको निम्ति ग्राम्सीले भनेझैँ क्रान्तिकारी ‘अग्र्यानिक बुद्धिजीवी’ को अवश्यकता छ । सांस्कृतिक प्रभुत्वविरुद्ध लड्न मजदुर वर्गीय संस्कृतिको विकास गर्नु अत्यावश्यक छ ।
चाडपर्वमा ‘सांस्कृतिक प्रभुत्व’ !
सामान्यतः संस्कृति प्रकृतिसापेक्ष हुन्छ । संस्कृति पनि जीवनपद्धतिसापेक्ष हुन्छ । नेपालीको जीवन मूलतः कृषिमा आधारित भएकोले चाडपर्व कृषि उत्पादनकर्मसँग एकाकार भएको देखिन्छ । भूगोलअनुसार संस्कृति निर्माण हुनु पनि उत्तिकै स्वाभाविक छ । तर, हाम्रा चाडपर्व एक निश्चित धर्मसँग जोडिएका छन्† धर्म निराकार, निरञ्जन ‘भगवान’ सँग जोडिएको छ । घुमीफिरी चाडपर्व अध्यात्मवादी सिद्धान्तको जामा लगाएर सांस्कृतिक प्रभुत्वसँग जोडिन आइपुग्छन् ।
बिस्का जात्राको सुरुआत हुनुभन्दा एक दिनअघि राजदरबार (तलेजु) बाट खड्गजात्रा निस्किँदो रहेछ । यसपालि यो लेखकले पनि हेर्ने मौका पायो । खड्ग शासनसत्ताको प्रतीक हो । खड्ग रथमा राखिसकेपछि मात्र भैरवनाथको रथ तान्न सुरु हुन्छ । योसिंख्यमा लिङ्गो उभ्याउनु अगाडि नै त्यो खड्ग ल्याइएको हुन्छ । उसबखत भैरवनाथको रथमै मल्लराजाहरू बसेका हुन्थे । जात्रामा गाइने भजनमा ‘भगवान’ वा राजाहरूको स्तुति नै छ । यसमानेमा राज्यमा आफ्नो प्रभुत्व कायम राख्नसमेत बिस्का जात्राको उपयोग गरिएको भन्न सकिन्छ ।
नेवारी समाजमा एउटा चर्चित आहान छ – ‘नेपः जुजु त्वं त्वं, गोर्खा जुजु ध्वं ध्वंं ।’ कान्तिपुरका राजा इन्द्रजात्रामा मस्त रहेको बेला गोर्खाका राजाले जितेको सन्दर्भमा उक्त भनाइ आउने गर्छ । राजनीतिक चेतको अभावमा राज्य नै गुमाउनुपर्ने उदाहरणको रूपमा लिइन्छ त्यो घटनालाई । राजनीतिक आन्दोलन, सङ्घर्ष र नेतृत्वमा पछाडि परेको अर्थमा पनि यो भनाइ प्रचलित छ ।
‘सा कुबिया लाय्कुया च्युता छाय् ?’ अर्थात् ‘एउटा कामदारले राजनीतिमा किन चासो राख्नु ?’ भन्ने शासक वर्गको प्रचारबाजीले पनि सर्वसाधारणलाई राज्य सञ्चालनबाटै विमुख बनाएको हुनुपर्छ । राजकीय शक्तिमा कामदार वर्ग नपुगेसम्म कामदार वर्गका सांस्कृतिक पर्वहरूमा शासक वर्गले कुठाराघात गरिरहन्छ ।
‘भैरवनाथ’ ले सङ्क्रमण रोक्न सक्दैनन्
वसन्तको पालुवा पलाउने समय, जताततै चराचुरुङ्गीको चिरविर सुनिने बेला, किसानको फुर्सदिलो अवसरमा भक्तपुरमा बिस्का जात्रा मनाइन्छ । मानिसको जीवनमा गीतसङ्गीतको महत्व अस्वीकार गर्न सकिँदैन । मेला, पर्व, भोजभत्तेर पनि उत्तिकै आवश्यक छ । सामाजिक भावनाको खाँचो झन् धेरै छ । रसरङ्गविनाको मानव जीवनको सार नै हुन्न । कलाविनाको जीवनको अर्थ पनि हुन्न । सीप तथा प्रविधिको प्रदर्शनीले प्रगतिको बाटो खन्न सक्छ । यी सबैको मिश्रण हो बिस्का जात्रा ।
तर, यतिमात्र होइन जीवन । चाडपर्वको वैचारिकीले सामाजिक स्थितिको वर्णन गरिरहेको हुन्छ । चाडपर्वहरूले ग्राम्सीकै ‘सांस्कृतिक प्रभुत्व’ को फेरो समातिरहेका हुन्छन् ।
चाडपर्व चाडपर्वकै निम्ति होइन । चाडपर्व मानिसको जीवन अझ सुन्दर बनाउनको निम्ति हो । कुनै ‘भगवान’ लाई खुशी पार्नको निम्ति मात्र पर्व मनाउने धारणाबाट हामी मुक्त हुनुपर्छ । जात्रा चलाउँदैमा कसैको भाग्य खुल्छ वा कोही निरोगी भइहाल्छ वा ‘भगवानको वरदान’ प्राप्त हुन्छ भन्ने मान्यता पूर्णतः त्याग्नु आवश्यक छ । मानव इतिहासमा प्रकृतिको नियम नबुझ्दा मानिसले नै ‘भगवान’ को सृष्टि गरेको थियो, अहिले विज्ञानले संसार हाँकिरहेको छ ।
कोभिड–१९ को महामारीको दोस्रो लहर फैलिनसक्ने चेतावनीबीच हजारौँको भिड जम्मा भई रथयात्रा गरियो । यो पत्रिका निस्किने दिन मङ्गलबार चैत ३१ गते अपरान्ह लिङ्गो पनि उभ्याइएला । तर, स्वास्थ्य मापदण्डको सबैले खिल्ली उडाउने हो भने यहाँ कसैलाई भैरवनाथले कोभिड–१९ सङ्क्रमित हुनबाट बचाउन सक्ने छैनन् । यही नै धु्रवसत्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *