भर्खरै :

अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिए पनि नेपालको व्यापारघाटा उस्तै

काठमाडौँ, ३१ चैत । चालू आर्थिक वर्षको पहिलो आठ महिनामा अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिए पनि वर्षौँ पुरानो समस्या व्यापार घाटा फेरि बल्झिएको छ । व्यापार घाटा न्यूनीकरणका लागि सबैभन्दा बढी लगाइने उपाय हो, भन्सार शुल्क बढाउने । तर, सरकारले आफूखुसी चाहेर कुनै पनि वस्तुमा भन्सार महसुल बढाउन पाउँदैन ।
सन् २००४ मा विश्व व्यापार सङ्कठन (डब्लुटीओ) मा आबद्ध भएपछि नेपालले खुला बजारमा आधारित अर्थतन्त्रलाई अवलम्बन गर्दै आएको छ । त्यसैले डब्लुटीओको सदस्य मुलुकले आफूखुसी भन्सार महसुल लगाउन पाउँदैन । नेपालले डब्लुटीओसँग वस्तुअनुसार कतिसम्म भन्सार शुल्क लगाउनेबारे प्रतिबद्धताअनुसार ‘बाउन्ड ट्यारिफ’ (प्रतिबद्धता जनाइएको महशुल) निर्धारण गरेको छ । बाउन्ड ट्यारिफ रेट –डब्लूटीओका कुनै पनि सदस्य मुलुकले कुनै पनि वस्तुमा नबढाउने गरी प्रतिबद्धता जनाएको अधिकतम भन्सार दर हो ।
सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी गरिरहेको छ । खासगरी राजस्व परामर्श विकास समितिले करसम्बन्धी व्यवस्थाको पुनरावलोकनका लागि अध्ययन र छलफल गरिरहेको छ । बाउन्ड ट्यारिफको आधारमा इकागज अनलाइनले चालू आर्थिक वर्षमा अत्यधिक आयात भएका १७ प्रमुख वस्तुहरूको सूची तयार पारेको छ । जसमा सरकारले लगाउँदै आएको भन्सार शुल्क र ‘बाउन्ड ट्यारिफ रेट’ बीचको स्पेस ठम्याउने प्रयास गरिएको छ । यो सूचीमा अत्यधिक आयात भएका डिजेल, पेट्रोल र सुनलाई समेटिएको छैन ।
समाचार स्रोतअनुसार सबैभन्दा बढी आयात भएको फलाम तथा फलामजन्य वस्तुमा सरकारले ५ प्रतिशत भन्सार महसुल दर तोकेको छ । चालू आर्थिक वर्षको आठ महिनामा ७८ करोड क्वीन्टल फलाम आयात भएको छ । यसको आयात मूल्य ४४ अर्ब २९ करोड रुपैयाँ बराबरको छ । डब्लुटीओसँगको प्रतिबद्धताअनुसार सरकारले यसमा २० प्रतिशतसम्म भन्सार महसुल बढाउन सक्छ । त्यसबाहेक फलामे पातामा समेत २० प्रतिशत लगाउन सक्ने व्यवस्था छ । फलामे पातामात्रै १५ अर्ब रुपैयाँ बराबर आयात भएको छ । त्यस्तै फलामे रड वा क्वाइलमा भन्सार महसुल ५ प्रतिशत लाग्दै आएको छ । यसको आयात ९ अर्ब ९५ करोड रुपैयाँ बराबर छ । प्रतिबद्धताअनुसार यसमा ३० प्रतिशतसम्म महसुल लगाउन मिल्ने व्यवस्था छ ।
तर, मोबाइलमा डब्लुटीओसँगको प्रतिबद्धताअनुसार सरकारले कुनै पनि भन्सार महसुल दर निर्धारण गरेको छैन । त्यस्तै आठ महिनाको तथ्याङ्ग हेर्दा अहिले ५० सीसीदेखि २५० सीसी क्षमताको इन्जिन भएका मोटरसाइकल बढी मात्रामा आयात भइरहेको छ । यसबीच ११ अर्ब १४ करोड रुपैयाँ बराबरको मोटरसाइकल आयात भइरहेको तथ्याङ्गले देखाएको छ ।
गत आर्थिक वर्षबाट खानेतेल निर्यात बढिरहेको छ । मुलुकमा व्यावसायिक खेती नहुने भटमास र सूर्यमुखीको तेल निर्यात निरन्तर बढिरहनु अस्वाभाविक छ । अचम्म के भने, सरकारले निर्यात गर्ने खानेतेलभन्दा बढी त्यसका लागि आवश्यक कच्चा तेलको आयात बढी छ । खाद्यान्नमा भन्सार लगाउन नेपाल–भारत वाणिज्य सन्धि बाधक रहेको छ । (सीआरआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *