भर्खरै :

क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनः परिवर्तन र निरन्तरता

‘एकताबद्ध भएर अपराजयी बन्न र हाम्रो आफ्नै विभाजनको कारण शत्रुलाई फेरि हामीमाथि विजय हुन नदिन ।’
गत अप्रिल १६ बाट क्युवाली कम्युनिस्ट पार्टी (पीसीसी) को आठौँ महाधिवेशन सुरु भएको छ । यो महाधिवेशनको भावना जोसे मार्टीका माथिका शब्दहरूसँग मेल खाएको छ । क्रान्तिको निरन्तरताको लागि युवा र कटिबद्ध कार्यकर्ता पुस्तालाई पार्टीको जिम्मेवारी सुम्पिँदै जानु प्राकृतिक प्रक्रिया हो । पीसीसीको यो महाधिवेशन जटिल आर्थिक परिस्थितिबीच भइरहेको छ । एकातिर कोभिड–१९ को महामारी अनि अर्कोतिर संरा अमेरिकी नाकाबन्दीको पुनरावृत्तिको कारण परिस्थिति अझ जटिल बनेको छ ।
पीसीसीको यो महाधिवेशन क्युवाली क्रान्तिको ऐतिहासिक निरन्तरताको महाधिवेशन हुने निश्चित छ । यो महाधिवेशनबाट हुने निर्णय क्युवाली कम्युनिस्ट पार्टी र क्युवाको लागि महत्वपूर्ण हुनेछ । महाधिवेशनले क्युवाको आर्थिक, राजनीतिक र सामाजिक जीवनलाई प्रभावित गर्ने निर्णय मात्र गर्नेछैन, बरु पार्टी नेतृत्वले भन्ने गरेजस्तै क्युवाली क्रान्तिको ‘निरन्तरता र पछाडि नफर्किने’ चरित्रलाई अझ बलियो बनाउनेछ ।
यो महाधिवेशनको सबभन्दा महत्वपूर्ण पक्ष भनेको ‘ऐतिहासिक पुस्ता’ का केही सदस्यहरूले नेतृत्वबाट बिदा लिँदै हुनुहुन्छ । पीसीसीका प्रथम सचिव राउल क्यास्ट्रो पनि नेतृत्वबाट बिदा लिँदै हुनुहुन्छ । पार्टीभित्र भइरहेको परिवर्तनको सबै प्रक्रियामा उहाँ सहभागी हुनुहुन्छ । समयले आश्चर्यमा नपारे पीसीसीको नयाँ प्रथम सचिवमा राष्ट्रपति मिगुएल डाएज कानल बन्ने पक्का छ । छोटोमा भन्दा यो महाधिवेशनले पार्टीको नेतृत्वमा परिवर्तन गर्नेछ ।
परिवर्तनको यो प्रक्रियाको मिहिन तयारी गरिएको छ । सन् २०१६ मा सम्पन्न पीसीसीको सातौँ महाधिवेशनमा राउल क्यास्ट्रोले सरकार र पार्टीको उच्च पदमा अधिकतम दुई कार्यकालमात्र बस्ने प्रस्ताव गर्नुभएको थियो । क्युवाली कम्युनिस्टहरूको नयाँ पुस्तालाई पार्टीको जिम्मेवारी सुम्पिन त्यो प्रस्तावले बाटो खोलेको थियो । त्यो कदम अपरिहार्य थियो किनभने क्रान्तिको निरन्तरता देश र पार्टीको नेतृत्वको क्रमिक हस्तान्तरण गर्ने क्षमतामा निर्भर हुन्छ । ऐतिहासिक पुस्ताको हातबाट नयाँ पुस्ताका कार्यकर्ता र नेताहरूमा जिम्मेवारी हस्तान्तरणमा क्रान्तिको निरन्तरता वा भविष्य निर्भर रहनेछ ।
सन् १९९७ मा कमान्डर फिडेल क्यास्ट्रोले पीसीसीको पाँचौँ महाधिवेशनमा भन्नुभएको थियो, “कुनै दिन नेतृत्व विफल भए त्यसको मूल्य पार्टीले व्यहोर्न सक्ने छैन किनभने त्यसको मूल्य निकै चर्को हुनेछ ।”
‘अझ समृद्ध र दिगो समाजवाद निर्माणको लागि’ भन्ने मूल नाराका साथ भएको आठौँ महाधिवेशनअघि लामो समय गहन तयारी गरिएको थियो ।

क्युवाली क्रान्तिले समाजवादको बाटो लिने घोषणा भएको ६० वर्ष पुगेको अवसरमा पीसीसीको आठौँ महाधिवेशन हुँदै छ । महाधिवेशनको समापन प्लाया गिरोन (बे अफ पिग्स) मा क्युवाले विजय हासिल गरेको दिन हुनेछ । महाधिवेशन आयोजना भएको ऐतिहासिक दिवसले पनि क्युवाली समाजले आज सामना गरिरहेको जल्दोबल्दो समस्याको समाधानको निम्ति कस्तो समाधान खोज्नेछ भन्ने कुराको सङ्केत गरेको छ ।

महाधिवेशनअघि सन् २०२० को अन्त्यतिर बसेका बैठकमा प्रस्तावित उम्मेदवारहरूको नामावलीबाट गत मार्च महिनाको सुरुमा महाधिवेशन प्रतिनिधिहरू निर्वाचित गरिएको थियो । त्यसपछि हरेक प्रान्तमा महाधिवेशन प्रतिनिधिहरूबीच महाधिवेशनमा प्रस्तुत गरिएका दस्तावेजहरूको अध्ययन गोष्ठीहरू भएका थिए । ती गोष्ठीहरूमा भएका बहस र मूल्याङ्कनको निचोड महाधिवेशनको आयोजक समितिलाई बुझाइएको थियो ।
सन् २०२० मा पार्टीका प्रान्तीय समिति, मजदुर, किसान, युवा र महिला सङ्गठनमा भएका छलफल र मूल्याङ्कनको आधारमा पार्टी महाधिवेशनमा प्रस्तुत दस्तावेजहरू लेखिएका हुन् । ती दस्तावेजहरूले सातौँ महाधिवेशनबाट पारित कार्यक्रम र योजना कति कार्यान्वयन भयो भन्ने विषयमा बिस्तारमा समीक्षा गरिएको छ । साथै क्युवाले आज सामना गरिरहेका कठिनाइ र चुनौतीका साथै विद्यमान आर्थिक र सामाजिक अवस्थाबारे समीक्षा गरिएको छ ।
चालू महाधिवेशन क्युवाको वर्तमान र आगामी दिनका मूल विषय, समाजवादी विकासको क्युवाली आर्थिक र सामाजिक ढाँचा, कार्यक्रमको कार्यान्वयनमा समयानुकूलतादेखि अघिल्लो महाधिवेशनयता हासिल भएका आर्थिक र सामाजिक उपलब्धिमा केन्द्रित छ । पार्टी सञ्चालन, जनतासँग पार्टीको सम्बन्ध र वैचारिक गतिविधिबारे पनि महाधिवेशनमा छलफल हुनेछ ।
अर्थतन्त्रमा अप्रभावकारी संरचनागत समस्याको कसरी समाधान गर्ने ? नगरपालिकाहरूको स्वायत्ततामा आधारित स्थानीय उत्पादनशील प्रणालीलाई कसरी बलियो बनाउने ? यी विषयहरूमा पनि महाधिवेशनमा चर्चा गरिनेछ ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित सदस्यहरूमध्ये क्युवाली सेनाका जनरल तथा पीसीसीका प्रथम सचिव राउल क्यास्ट्रो रुज, राष्ट्रपति मिगुएल डाएज कानल बर्मुडेज, पार्टीका द्वितीय सचिव जोसे रामोन माचाडो भन्टुरा, उपराष्ट्रपति साल्भाडोर भाल्डेज मेसा र प्रधानमन्त्री मानुएल मारेरो क्रुज पनि हुनुहुन्छ ।
पार्टी र समाजवादको निरन्तरताको लागि युवा
परिवर्तनको प्रक्रियाका धेरै प्रक्रियागत चरण हुन्छन् । क्युवाली क्रान्तिले आफ्नो ‘ऐतिहासिक नेतृत्व’ लाई निरन्तरता दिन मनग्य परिपक्वता देखाउने समय आएको छ । साथै ‘समाजवादको अपराजयिता’ सुनिश्चित गर्न आधार तयार गर्ने समय पनि आएको छ । त्यसको निम्ति क्रान्तिकारी प्रक्रियाप्रति प्रतिबद्ध, वास्तविकताबाट निखारिएका र भविष्यको पदचाप बुझेका नयाँ कार्यकर्ताको छनौट अपरिहार्य कुरा हो ।
हवानामा महाधिवेशन प्रतिनिधिहरूसँगको कुराकानीमा राष्ट्रपति मिगुएल डाएज कानलले कार्यकर्ता व्यवस्थापनमा औपचारिक कोरा सिद्धान्त त्याग्नुपर्ने बताउनुभयो । उहाँले सबै कार्यकर्तालाई आफ्नो क्षमता र कामअनुसारको जिम्मेवारी दिइनुपर्ने र कसैलाई पनि बिना परिणाम पदमा मात्र राख्न नसकिने बताउनुभएको थियो ।
पीसीसीको बनोट ‘क्युवाली समाजको चरित्र झल्किने गरी’ छालाको रङ्ग, लिङ्ग र उमेरको आधारमा गठन गर्ने विषयमा छलफल धेरै अघिदेखि नै चालु छ । फलतः आज क्युवाली कम्युनिस्ट पार्टीका कुल कार्यकर्तामध्ये ५४.२ प्रतिशत महिला छन् । त्यस्तै काला र मुलाटोज समुदायका ४७.७ प्रतिशत छन् । महिला, काला समुदाय, मुलाटोज र युवाहरूको क्षमता, परिणाम र व्यक्तिगत गुणको आधारमा अनुपातमा उल्लेखनीय वृद्धि गर्नु आवश्यक छ । यी क्षेत्रमा धेरै प्रगति भइसकेको छ । तर, पनि पीसीसीको नेतृत्वले अझै पनि ती क्षेत्रमा प्रगति अपुग भएको बताएका छन् । राज्य र सरकारका विभिन्न निकायमा अझै पनि त्यस्तो अनुपात हासिल हुन नसकेको नेतृत्वको ठम्याइ छ ।
पार्टीले अनेकन चुनौती सामना गरिरहेको आजको जटिल परिस्थितिमा नयाँ नेतृत्व पाउँदै छ । क्युवालाई संरा अमेरिकाको नाकाबन्दीको पुनरावृत्तिका साथै कोभिड–१९ महामारीले चर्को हमला गरेको छ । त्यसकारण क्युवाको केही क्षेत्रको सन्दर्भमा भविष्यलाई आशावादी भएरभन्दा सजगतापूर्वक हेर्नुपर्ने अवस्था छ ।
त्यसको साथै गत जनवरी १ देखि क्युवामा लागु गरिएको सुधारको कार्यक्रम आफैले ठुलो जटिलता सामना गरिरहेको छ । आगामी पाँच वर्षमा क्युवाको अवस्थामा सुधार गर्ने लक्ष्यका साथ सामाजिक र आर्थिक विकासको रणनीति बनाउन र आर्थिक योजनालाई समयानुकूल बनाउन त्यो कार्यक्रम ल्याएको थियो । त्यो कार्यक्रम निकै आकर्षक थियो । तर, कार्यान्वयनमा आएको तीन महिनापछि नै त्यसले धेरै अवरोध र चुनौती सामना गर्नुप¥यो ।
क्युवाली क्रान्तिले समाजवादको बाटो लिने घोषणा भएको ६० वर्ष पुगेको अवसरमा पीसीसीको आठौँ महाधिवेशन हुँदै छ । महाधिवेशनको समापन प्लाया गिरोन (बे अफ पिग्स) मा क्युवाले विजय हासिल गरेको दिन हुनेछ । महाधिवेशन आयोजना भएको ऐतिहासिक दिवसले पनि क्युवाली समाजले आज सामना गरिरहेको जल्दोबल्दो समस्याको समाधानको निम्ति कस्तो समाधान खोज्नेछ भन्ने कुराको सङ्केत गरेको छ ।
फिडेल क्यास्ट्रोले सन् १९९१ मा पीसीसीको चौथो महाधिवेशनमा भन्नुभएको थियो, “हामीले आफ्नो लागि आफै बाटो खोज्नेछौँ, आफै बाटो पत्ता लगाउनेछौँ र त्यसको लागि आवश्यक स्रोत आफै खोज्नेछौँ ।” त्यत्तिबेला क्युवाले उथलपुथलपूर्ण समुद्रबीच आफ्नो बाटोको खोजी थालिसकेको थियो ।
पीसीसी, एकता र सार्वभौमिकताको ऐतिहासिक विरासत
सन् १९२५ को अगस्ट १६ मा जोसे मार्टीका नजिकका सहयोद्धा कार्लोस बलिनोले अन्य विशिष्ट व्यक्तिहरू जुलिओ एन्टोनिओ मेल्ला र रुबिन मार्टिनेज भेलिनासँग मिलेर पहिलो क्युवाली कम्युनिस्ट पार्टी स्थापना गरेका थिए । बीसौँ शताब्दीको पहिलो पचास वर्षमा क्युवाको राष्ट्रिय परिचयको निम्ति त्यो घटना एउटा पारिभाषिक घटना थियो ।
पहिलो क्युवाली कम्युनिस्ट पार्टीको वैचारिक आधार भनेको क्युवाको स्वाधीनताको लागि उपनिवेशवादविरोधी र साम्राज्यवादविरोधी सङ्घर्ष थियो । सन् १८९२ मा मार्टीले स्थापना गरेको क्युवाली क्रान्तिकारी पार्टी (पीआरसी) का कार्यक्रमलाई नै क्युवाली कम्युनिस्ट पार्टीले थप प्रस्टता दिएको थियो । क्युवाको सशक्तीकरण र सार्वभौमिकता रक्षाको निम्ति जनतासँग एकताबद्ध हुनुपर्नेमा जोड दिंदै बसाएको त्यत्तिबेलाको आधारमै उभिएर आजको क्युवाली कम्युनिस्ट पार्टीको स्थापना भएको हो ।
बलिनोको विचारधाराभित्र मजदुर र किसानका माग र सङ्गठनका सम्पूर्ण कार्यक्रम थिए, महिला र युवाका सङ्घर्षका सिद्धान्त थिए । साथै क्युवाली जनताको काम गर्ने अवस्थामा सुधारको प्रतिबद्धता थियो । तत्कालीन परिस्थितिमा उनको विचार सफल भएन । तर, त्यत्तिबेला ती विचार मलिलो माटोमै बिजारोपण गरिएको थियो ।
फिडेल क्यास्ट्रोको नेतृत्वमा सन् १९५९ मा सिएरा माएस्ट्राबाट फर्केका गुरिल्लाहरूले विदेशी शक्तिको निर्ममता छिचोल्दै फाल्गुन्सिओ बाटिस्टाको तानाशाही शासनको विरोधको लागि आवश्यक फरक शक्तिको आवश्यकता पूरा ग¥यो । सन् १९६५ को अक्टोबर ३ मा नयाँ क्युवाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति गठन भयो ।
सन् २०१९ मा क्युवाको राष्ट्रिय सभाबाट पारित र बहुमत क्युवाली जनताबाट अनुमोदित क्युवाको नयाँ संविधानमा क्युवाली कम्युनिस्ट पार्टीलाई ‘समाज र राज्यको विशिष्ट नेतृत्वदायी राजनीतिक शक्ति’ को स्थानमा राखिएको छ । ‘समाजवाद निर्माण र कम्युनिस्ट समाजतिर अघि बढ्ने उच्च लक्ष्यतर्फको साझा प्रयासको’ कम्युनिस्ट पार्टी मुख्य अगुवा सङ्गठन भएको त्यसमा उल्लेख छ ।
राउल क्यास्ट्रोको शब्दमा “क्रान्तिकारी दस्ता बनाउन सक्ने र सबै समयमा क्युवाली जनतालाई एकताबद्ध बनाउन सक्ने कम्युनिस्ट पार्टीलाई मात्र जनताले आफ्नो नेताको रूपमा विश्वास गर्न सक्दछ ।”
क्रान्तिकारी विचारधाराले जग राखेको एक शताब्दीभन्दा लामो समयपछि र क्युवाको समाजवादी संविधान लागु भएको ५६ वर्षपछि आज क्युवाले नयाँ आर्थिक र सामाजिक चुनौती सामना गरिरहेको छ । विदेशी शक्तिले क्युवामा अस्थीरता फैलाउन लगातार प्रयास गरिरहेका छन् । यस्तो अवस्थामा पीसीसी आफ्नो एकताको रक्षा र बलियो बनाउन प्रतिबद्ध छ । आगामी दिनमा नेतृत्वमा नयाँ अनुहार ल्याएर क्रान्तिको वरपर जनतालाई सङ्गठित बनाउन पीसीसी प्रतिबद्ध छ ।
क्युवामा एउटामात्र पार्टी भएकोले त्यहाँ प्रजातन्त्र नभएको भनी आलोचना गर्नेलाई पीसीसीका द्वितीय सचिव जोसे रामोन मचाडो भान्टुराले भनेका छन्, “मार्टीले सिकाउनु भएजस्तै एउटामात्र राजनीतिक पार्टी ठीक हो । हाम्रो समाजलाई विभाजन गर्नु साम्राज्यवादीहरूको सपना हो । उनीहरू हाम्रो समाजलाई हजार टुक्रामा विभाजित गर्न चाहन्छन् । उनीहरूको सपना विफल बनाउने एउटैमात्र प्रतिरक्षा भनेको हाम्रो एकता हो । जनताको सङ्गठित दस्ता पार्टीले मात्र क्रान्तिको ऐतिहासिकताको निरन्तरता सुनिश्चित गर्नसक्छ ।”
स्रोतः पिपुल्स डिस्प्याच
नेपाली अनुवादः सुमनजनतासँग क्युवाली नेता राउल क्यास्ट्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *