भर्खरै :

फ्रान्सेली पुँजीवादी क्रान्ति – ७

फ्रान्समा देशभक्तिको भावना
क्रान्तिको जाकोविन हुकुमले किसानहरूको सामन्ती ऋणहरूलाई पूर्णतया उन्मूलन गरिदियो र धेरै जग्गा भएका खान्दानीहरूको अधिकारलाई समाप्त ग¥यो । धेरै किसानहरूले आ–आफूले जोतेका जग्गा पाए तथा सामन्तहरूको परम्परागत विशेषाधिकार निर्मूल भयो । फ्रान्सेली सेना कति अद्वितीय जोसले लडेका थिए र विजय पाए भनी ती सुधारहरूले देखाउँथे । ‘विजय वा मृत्यु’ नै क्रान्तिकारी लडाइँको ध्येय थियो । फ्रान्सको सबैजसो ठाउँमा गणतन्त्रवादी सेनाका सिपाहीहरू, किसान, कालिगढ र मजदुरले नै सामन्तका सिक्रीलाई चुँडालेर फालेका थिए । तिनीहरूले नै दृढता र वीरता देखाएका थिए । देशभक्तिको भावना धेरै माथि पुगेको थियो । आफूभन्दा माथिकाहरूको उदाहरण लिएर भर्खर भर्खरका युवाहरूसमेत आफ्नो देशको निम्ति निडर भएर लड्दै मर्थे । बेरा (Bera) भन्ने १४ वर्षका एक केटा थिए । १७९३ मा उनी पनि घोडचढी दलसँग लड्न गएका थिए । उनी भेन्डियालीहरूबाट पक्रिए र शत्रुहरूले उनलाई ‘राजा अमर होस्’ भनेर ठुलो स्वरले भन्न आदेश दिए । तर, उनले भने, ‘गणतन्त्र जिन्दावाद ।’ उनी शत्रुका अगाडि झुकेनन् । उनी शत्रुहरूद्वारा मारिए र सहिद भए अथवा उनले वीरगति प्राप्त गरे । अर्को १३ वर्षको भैला (Viala) नामक एक केटा थिए । १७९३ मा उनले भेन्डियाली क्रान्तिविरोधीहरूलाई रोक्न झोलुङ्गे पुलको डोरी काटिदिए । अन्ततः उनी पनि शत्रुहरूबाट मारिए र सहिद भए । विजय जनताले पाए । त्यो विजय राष्ट्रियसभाका प्रतिनिधि र जर्नेलहरूले गरेको मेहनतको फल थियो । त्यसमध्ये धेरै विजयहरू तल्लो जनताबाट प्राप्त भएका थिए । होची(Hochi) भन्ने एक जर्नेल थिए । जर्नेलहरूमध्ये उनी सबभन्दा राम्रोसँग लडेका थिए र उनले बहादुरी देखाएका थिए । उनका बाबु एक भूतपूर्व सैनिक थिए । होची पहिले तबेला सफा गर्ने एक नोकर थिए । वास्टिलमाथि हमला गर्दा उनले सा¥है सक्रिय भूमिका खेलेका थिए । पछि उनलाई २५ वर्षको उमेरमा डिभिजन जनरलको रूपमा बढुवा गरियो ।
अष्ट्रिया र बेलायतको पहिलो दर्जाको सेनाको अगाडि क्रान्तिकारी सेना एकपछि अर्को हार खाँदै थियो । १७९३ तिर बेलायतीहरूलाई तोलन (Toulon) बाट भगाइयो । भेन्डीको विद्रोह पूर्णतया दबाइयो । आलसास र राइनमा अष्ट्रियालीहरूमाथि जाकोविनहरूले विजय पाए । १७९४ को जून महिनामा विदेशी आक्रामक सेनालाई फ्रान्सबाट पूर्णतया धपाइदियो । अब लडाइँ शत्रुको देशहरूमा हुन थाल्यो ।
देशको रक्षामा सम्पूर्ण जनता क्रियाशील थिए । २५० फलाम पगाल्ने ज्यासल र भट्टीहरू पेरिसको सडकमा काम गरिरहेका थिए । थुप्रै हातहतियारका कारखाना र ज्यासलहरू खोलिएका थिए । ठुल–ठुला फ्रान्सेली वैज्ञानिकहरूले हातहतियार र गोली गठ्ठा उत्पादन गर्नमा मद्दत गर्दै थिए । बेर्थोलेट (Berthollet) भन्ने रसायनशास्त्र बारुद बनाउने कारखाना स्थापना गरिदिए । मोन्गे (Monge) भन्ने गणितज्ञले लडाइँको बारुद बनाउने काममा मद्दत गरे ।
फ्रान्सेली पुँजीवादी क्रान्तिको पतन
सामन्ती, पुँजीवादी क्रान्तिविरोधी र विदेशी शत्रुका दलालहरूको विरोधको सङ्घर्षमा जनताले जाकोविन नेतृत्वलाई समर्थन गरेका थिए । जनता सेनामा भर्ना हुन्थे । जनताको समर्थनबाट गरेको क्रान्तिले विजय पाएको थियो । विदेशी विरोधी लडाइँमा फ्रान्सले विजय पायो । घरका विद्रोहहरू दबाइए । भित्री र बाहिरी शत्रु दबाएपछि अब फ्रान्सेली क्रान्तिकारी पुँजीपति वर्गको बीचमै मतभेद चर्किन थाल्यो । त्यसको प्रभाव जाकोविन सङ्घभित्र पर्नु स्वाभाविक थियो । तर, मतभेद फुटमा फेरियो । वर्ग शत्रुहरू त्यसको खोजीमै थिए ।
क्रान्तिको बेलामा पुँजीपति वर्ग लाखौँ लाख मजदुरहरूसँग एक भएका थिए । तर, पुँजीपति वर्गले सामन्तवादी सिक्रीको ठाउँमा पुँजीवादी सिक्रीले जनतालाई बाँध्न थाल्यो । जाकोविनहरूको पतनको कारण त्यही थियो । नव स्वाधीन देश र प्रजातान्त्रिक आन्दोलनको सफलता पनि पुँजीवादी क्रान्ति थियो । पार्टीहरूमा फुटका कारणहरूमा अनुभवको कमी र शत्रुहरूको जालझेल हुने गर्छ ।
सहर र गाउँका तल्लो वर्गका जनता आफ्नो अवस्थालाई पूरा फेर्न चाहन्थे । तिनीहरू साँचो स्वतन्त्रता, समानता र भ्रातृत्व चाहन्थे । जाकोविनहरूले सामन्ती जमिनदारी वर्गको दमनलाई पुँजीवादी दमनमा फेरे । मतलब पुँजीपति वर्गले नयाँ ढङ्गले दमन गर्न लागेको थियो ।
चाउ मेठ (Chau Metha)
चाउ मेठ (Chau Metha) पेरिस कम्युनका सबभन्दा ठुला नेताहरूमध्ये एक थिए । एकचोटि उनले भनेका थिए, “नयाँ मालिकहरूले सामन्ती व्यवस्थाको भग्नावशेषमा आफूलाई स्थापित गरेका छन् । नयाँ मालिकहरू कुनै रूपमा कम लुटेरा र कम भ्रष्टाचारी छैनन् । तिनीहरूले आफ्नो समयका मालिकहरूको सम्पत्ति पनि हत्याएका छन्, अरू अपराधहरूको योजना पनि बनाउँदै छन् ।”
तर पनि जनताको निम्ति फ्रान्सेली क्रान्तिले धेरै लडाइँ लड्नु प¥यो । राजाको शक्ति र राजाका अधिकारहरूको मनपरी शासन एक बितेको कुरा भयो, पुराना तह र भेदभावको जगलाई भत्काइदियो । सामन्ती तिरो–तिरान खारेज गरियो । चर्चका सबै जग्गा र खान्दानीहरूको जमिनदारी जफत गरियो र सरकारी सम्पत्ति बन्यो वा बेचियो । तर, सम्पत्तिको असमानता भने बाँकी नै रह्यो । पुँजीपति वर्गले मजदुर र किसानहरूलाई दबाइरहेको थियो । जनताले किसान, मजदुर र सहरी गरिब जनताको अवस्थामा पूर्ण परिवर्तनको माग गरे । चाउ मेठ र हिबर्ट (Hibert) जाकोविनका वामपन्थी थिए । तिनीहरू अझसम्म पनि ‘हुल्याहा’ र ‘उताउला’ भनिएका तल्लो वर्गका जनताको नीतिलाई समर्थन गरिरहेका थिए । तिनीहरू जनतासँग मिलेर क्रान्तिविरोधीहरूलाई दबाउन कडा पाइलाहरू चाल्नुपर्छ भन्ने पक्षमा थिए । तिनीहरू क्रान्तिविरोधीहरूको सम्पत्ति गरिब जनतामा बाँड्नु पर्छ भनेर माग गर्थे । धनीहरूको अन्न कब्जा गर्नुपर्छ र सहर पठाउनुपर्छ, नाफाखोर र प्रतिक्रान्तिकारीहरूमाथि आतङ्कलाई चर्काउनुपर्छ भन्ने खालका मागहरू तिनीहरूले गरे ।
अर्कोतिर डाँटेले दक्षिणपन्थी जाकोविनहरूको नेतृत्व गर्दै थिए । उनले पुँजीपति वर्गको माग अगाडि राखे । तिनीहरू वस्तुमा मूल्य निर्धारणको प्रथालाई उन्मूलन गर्न चाहन्थे । तिनीहरूले नाफा खञ्चुवा प्रतिक्रान्तिकारीहरूको विरोधमा गरिएको क्रान्तिकारी आतङ्कलाई अन्त गर्नुपर्छ भन्ने माग गर्न थाले ।
रोवेस्पियरलाई समर्थन गर्ने जाकोविनहरूले हिबर्टद्वारा नेतृत्व गरिएको उग्रवादी नेताहरूलाई गिरफ्तार गर्थे र मार्थे । डाँटेद्वारा नेतृत्व गरिएको जाकोविनका दक्षिणपन्थी नेताहरू पनि गिरफ्तार हुन्थे र मार्थे । यसको साथसाथै शक्तिमा बसेका जाकोविनहरू झन्झन् दक्षिणपन्थी जाकोविनहरूतिर ढल्दै गए । हिर्बटवादीहरूको दमनले गर्दा रोवेस्पियर र उनका समर्थकहरूले प्राप्त गरेको प्रभाव पनि ¥हास हुँदै गयो । १७९१ को हड्ताललाई निषेध गर्ने कानुनलाई फेरि लागू ग¥यो र जाकोविनहरूले पुँजीवादी कारखानेदारहरूको स्थितिलाई बलियो बनाउँदै गए । तिनीहरूले गाउँका गरिबहरूलाई धनीहरूको निम्ति काम गर्नुपर्ने ऐन पारित गरे । यसबाट जाकोविनहरूले सहर र गाउँ दुवै ठाउँका गरिबहरूको समर्थन गुमाउँदै गए ।
जनताको समर्थन कम हुँदै गयो । पछि रोवेस्पियर र अरू जाकोविनहरू बीचमा परे । अब तिनीहरूलाई एकातिर मूल्य निर्धारणको विरोधमा लड्ने जाकोविनहरूसँग र अर्कोतिर जाकोविनलाई घृणा गर्ने क्रान्तिविरोधी विद्रोहको खतरासँग जुझ्नु थियो ।
त्यसैबेला धेरै नयाँ नयाँ कलकारखानाहरू पनि स्थापित हुँदै गए । पुँजीपति वर्गले अनेक सहुलियत पाउँदै गइरहेको थियो । ठुला ठुला व्यापारीहरू सामान थुपार्थे र नाफा खाइरहेका थिए । राजनैतिक अस्थिरताको फाइदा पुँजीपति वर्ग अर्थात् उद्योगपति, व्यापारी, बैङ्कका मालिकहरूले लिँदै गए ।
नवौँ थर्मिडोरको प्रतिक्रान्ति
रोवेस्पियरले १७९२ मा नयाँ पात्रो सुरु गरेका थिए । त्यसलाई गणतन्त्रवादीहरूको नयाँ साल भनिन्थ्यो । त्यस पात्रोअनुसार जुलाई महिनालाई ‘थर्मिडोर’ भनिन्थ्यो । १७९४ को २७ जुलाईका दिन त्यस नयाँ पात्रोअनुसार ११ औँ महिनाको ९ गते पर्दथ्यो । यसकारण २७ जुलाई १७९४ लाई ‘नवौँ थर्मिडोर’ भन्ने गरिन्थ्यो ।
क्रान्ति र युद्धको बेलामा कालोबजार गरेर नाफा खाने भ्रष्टाचारी र घुस्याहा पुँजीपति वर्ग रोवेस्पियरवादीहरूको विरोधमा भए । तिनीहरू पुँजीपति वर्गका प्रतिक्रियावादी तत्वहरू थिए । तिनीहरू रोवेस्पियरको त्यस गणतान्त्रिक शासनलाई उल्टाउन षड्यन्त्र गर्दै थिए । २७ जुलाई १७९४ मा ती प्रतिक्रियावादीहरूले प्रतिक्रान्तिकारी षड्यन्त्र रचे । नयाँ पात्रोअनुसार यो दिन ९ (नवौँ) थर्मिडोर महिना थियो । यसकारण त्यस प्रतिक्रान्तिलाई नवौँ थर्मिडोर प्रतिक्रान्तिकारी विद्रोह भन्ने चलन छ । ती प्रतिक्रान्तिकारीहरूलाई ‘थर्मिडोरवादीहरू’ भनिन थाले ।
१७९४ को थर्मिडोर (जुलाई) महिनामा पुँजीवादी ‘न्हसी’ र केही जाकोविनहरू मिलेर रोवेस्पियर र उसका साथीहरूको विरोधमा षड्यन्त्र गरे । गणतन्त्रको दोस्रो ९ थर्मिडोर (जुलाई) को दिन क्रान्तिको बेलामा चलाएको नयाँ पात्रोअनुसार रोवेस्पियर गिरफ्तार गरिए । त्यसको भोलिपल्ट रोवेस्पियर सेन्टजस्ट र उनका अरू मुख्य मुख्य समर्थकहरू अपदस्थ गरिए तथा ज्यान मार्ने मेसिनबाट काटिए । ज्यान मार्ने मेसिनलाई त्यहाँ ‘गिलोटिन’ भनिन्थ्यो ।
षड्यन्त्रले थर्मिडोरहरू शक्तिमा आए । ती क्रान्तिविरोधी पुँजीपति वर्गले जनताको विरोधमा आतङ्कको एक सिलसिला सुरु ग¥यो । किसानहरू जाकोविनहरूलाई बचाउन आउन सकेनन् । तिनीहरूको निम्ति सामन्ती ऋण उन्मूलन गरियो र तिनीहरूमध्ये केहीले जग्गा पनि पाए । क्रान्तिविरोधी पुँजीपति वर्ग सत्तामा आउँदा किसान जनताले विरोध गरेनन् । यसकारण थर्मिडोरहरूले आफ्नो शक्ति सहरी मजदुर र किसानहरूलाई दमन गर्नमा लगाए । क्रान्तिका सबभन्दा सबल नेता माराट जिरोडिन्स महिलाबाट हत्या गरिए, सबभन्दा बहादुर प्रभावशाली नेता र वक्ता डाँटे पनि मारिए तथा अन्तमा सबभन्दा इमानदार, स्वच्छ र देशभक्त जाकोविन नेता रोवेस्पियर पनि बोल्न र सफाइ नपाउँदै मारिए । यसरी नै वास्टिल हमला गर्ने क्यामिले (camillee) र अन्य धेरै नेताहरू पनि प्रतिक्रियावादीहरूबाट मारिए । रोवेस्पियरसम्मको हत्यामा झन्डै ४००० मानिसहरू फाँसीमा लट्काइएका थिए । प्रतिक्रियावादीहरूले क्रान्तिकारीहरूमाझमा फुटेको बीउ छर्दै क्रान्तिलाई नै प्रतिक्रान्तिमा फेरे ।
फ्रान्सेली पुँजीवादी क्रान्तिको महत्व
फ्रान्सेली क्रान्तिले देशको जीवनको हरेक क्षेत्रमा ठुलठुला परिवर्तनहरू ल्याएको थियो । क्रान्तिभन्दा पहिले सामन्ती सिक्रीले उद्योग, कृषि र व्यापारको विकासलाई पछाडि तानिरहेको थियो । खान्दानी र पादरीहरूले एकतन्त्री राज्यतन्त्रको प्रशासनबाट आफ्नो प्रभुत्व जमाइराखेका थिए । खान्दानी र पादरीहरूले विशेषाधिकार प्राप्त गरेका थिए भने अरू जनता सबै नागरिक हक र अधिकारबाट वञ्चित थिए ।
किसानहरूले खान्दानी र जमिनदार पादरीहरूलाई दमनकारी तिरो तिर्नुपर्दथ्यो । तिनीहरूले त्यसबाहेक अरू कर पनि तिर्नुपर्दथ्यो । देशको उत्पादन शक्तिमा सामन्ती चरित्र र निरङ्कुश रजाइँले गर्दा उत्पादन सम्बन्ध असङ्गठित थियो । पुँजीवादी क्रान्तिले यस्ता बाधाहरू हटाइदियो ।
क्रान्तिले फ्रान्समा सामन्ती व्यवस्था ध्वस्त पा¥यो । जाकोविनहरूले जनताको मागलाई सबभन्दा बढी नाटकीय ढङ्गले अगाडि बढाएका थिए । सबभन्दा महत्वपूर्ण कुरा के हो भने जाकोविनहरू शक्तिमा छँदा किसानहरू सामन्ती तिरोतिरान, रकम र बेठ–बेगारीबाट मुक्त भए । धेरै किसानहरूले जग्गा पाएका थिए । जाकोविनहरूले एक क्रान्तिकारी हुकुमलाई कायम गरेका थिए । क्रान्तिविरोधीहरूलाई कठोरतापूर्वक दबाएका थिए । विदेशी शत्रुहरूबाट देशलाई बचाए । १८ औँ शताब्दीका पुँजीवादी क्रान्तिहरू जाकोविनहरूको महान क्रान्ति थियो । त्यसबेलाका कार्यहरूबाट के कुरा देखाउँथ्यो भने तिनीहरू जनतासँगसँगै सामन्ती व्यवस्थाको विरोधमा थिए । १८ औँ शताब्दीको क्रान्तिमा जनताले सा¥है सक्रियतापूर्वक भाग लिएका थिए । यसकारण त्यो जनताको क्रान्ति थियो । जे जति विजय पाए ती सब विशाल जनसमूहलाई सामन्ती व्यवस्थाको विरोधमा सङ्गठित गरेरमात्रै प्राप्त गरेका थिए ।
जाकोविनहरूको ऐतिहासिक महत्व यसैमा छ । तिनीहरूले सामन्ती सम्बन्धको व्यवस्थालाई ध्वस्त पारिदिए । उद्योग र कृषिको छिटो विकास गर्ने बाटो खोलिदिए र देशमा पुँजीवादी प्रभुत्वको ढोका खोलिदिए । एक लामो अवधिसम्म सामन्ती व्यवस्थालाई एक एक गरेर टुक्र्याउँदै जाने एक चरित्रलाई देखाइदिए । युरोपेली देशहरूमा पुँजीवादको स्थापनासँग परिचय गराइदिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *