भर्खरै :

नेताहरू, जनतासँग छलकपट नगरौँ !

बेलायती क्रान्तिपछि संसारमा सा¥है चर्चित क्रान्ति हो फ्रान्सेली राज्य क्रान्ति । यसबारे धेरै साहित्य लेखिएको पाइन्छ । दक्षिणपन्थी कुलीन सामन्त र धर्मगुरुहरू (पादरीहरू), भ्रष्टाचारी एवम् विदेशी एजेन्टहरू एकातिर थिए भने जेकोबिनवादीहरू वामपन्थी थिए । जेकोबिनवादीहरू गणतन्त्र चाहन्थे । त्यसबेला फ्रान्सका बुद्धिजीवीहरूमा बेलायती क्रान्तिको प्रभाव थियो, नेपालको प्रजातान्त्रिक आन्दोलनमा भारतको प्रभाव भएजस्तै ।
मध्यम वर्ग, स–साना कुलीन सामन्तहरू, पूर्ण परिवर्तन नचाहने पुँजीपति र व्यापारीहरू एवम् बैङ्कपतिहरू बीचको धाराका थिए । तिनीहरू गणतन्त्र ल्याउने वा राजालाई ज्यान सजाय गर्ने पक्षमा थिएनन् । तिनीहरू कहिले दक्षिणपन्थी र कहिले वामपन्थी हुन्थे । तिनीहरूमा गिरोन्डिनहरूको प्रभाव थियो । गिरोन्डिनहरू संवैधानिक राजतन्त्रमा चित्त बुझाउन चाहन्थे ।
जेकोबिनहरू मजदुर, किसान, पसले, कालीगढ, परिवर्तनवादी वकिल र बुद्धिजीवीहरू थिए । त्यसबेला राजधानी पेरिसमै धेरै छलफल र भाषण दिने क्लबहरू थिए । जेकोबिनहरू सङ्ख्या र विचारमा अगाडि थिए, पेरिसवासीहरू जेकोबिनहरूको पक्षमा थिए ।
तर, सयौँ र हजारौँ सङ्ख्याका क्लबहरूमा राजावादी र दक्षिणपन्थीहरू गिरोन्डिनहरूमा घुसेका थिए । त्यस्तै, प्रभावशाली खान्दानी व्यक्तिहरू पनि जेकोबिनहरूमा घुसेका थिए ।
मिराबोँ भन्ने एक खान्दानी सामन्तको छोरो जेकोबिन क्लबमा घुसे । राजाले टेनिस कोर्टको सभाभवनमा बैठक गर्न खोज्दा रङ्गरोगन गर्ने निहुँमा बाहिर जान आदेश दिए । त्यसैबेला मिराबोँे कड्केर ठूल्ठूलो स्वरमा कराए – “कसले यो आदेश दिएको हो, त्यसकहाँ गएर भन हामी यहाँबाट जानेछैनौँ ! तरबारको चुच्चोले घोचेर मात्रै हामीलाई यहाँबाट निकाल्न सक्नेछ ।”
मिराबोँ सा¥है क्रान्तिकारी देखिए – त्यसबेला । पत्रपत्रिकाले उनको सा¥है प्रचार गरे तर मिराबोँ बेलायतबाट प्रभावित थिए । उनी भित्रभित्र संवैधानिक राजतन्त्रको पक्षमा थिए । उनी प्रधानमन्त्री भए, उनीमाथि राजदरबारको विश्वास थियो । तर, दरबारिया, धर्माधिकारी, बैङ्कपति, व्यापारी र सामन्तहरू क्रान्तिलाई दबाउन चाहन्थे ।
जेकोबिनहरू गणतन्त्र चाहन्थे र गिरोन्डिनहरू बीचको बाटो लिन चाहन्थे । दरबारियाहरू छिमेकी सरकारहरूसँग सहयोग लिई आफ्नै देशमाथि आक्रमण गराउन चाहन्थे । राजा म्याक्रोँ भागे, तर उनी पक्राउमा परे, राजाले पुनः जनताको सभालाई निन्दा गरेको पत्र जनताको हातमा पुग्यो । अब जनता गणतन्त्र स्थापना गर्ने र राजालाई ज्यान सजाय दिने पक्षमा गए । गिरोन्डिनहरू राजाको हत्या र गणतन्त्रको पक्षमा थिएनन् । जनताको सभामा जेकोबिनहरूको सङ्ख्या र राजनीतिक प्रभाव बढी थियो । परिस्थितिको चेपुवामा परेर मिराबोँ २ अप्रिल १७९१ को दिन ४२ वर्षको उमेरमा मरे ।
त्यसैबेला पेरिसमा ४८ हजार अवैतनिक स्वयम्सेवकहरूको सेना गठन भयो । तिनीहरू जेकोबिन समर्थक थिए । जेकोबिनभित्रका अर्का खान्दानी नेता थिए लाफायत । उनको सङ्गत कुलीन दरबारियाहरूसँग थियो र आफू संरा अमेरिकाको पहिलो राष्ट्रपति वासिङ्गटन बन्ने महत्वाकाङ्क्षा राख्थे । उनलाई लुई १६ औँले सेनापति बनाए । उनको ठूलो प्रचार गराइयो । कसै कसैले उनलाई व्यङ्ग्य गर्थे, “उनी दुई संसारका नायक हुन् !” उनले गुप्तरूपले राजपरिवारको पक्षमा एक प्रदर्शन गर्न लगाए । बिस्तारै उनी जनताको आँखाबाट लुक्न सकेनन् । सा¥है चर्चित र प्रशंशीत लाफायत १८ अगस्ट १७९२ मा हलैन्ड भागे ।
धेरै प्रचार गरिएका प्रधानमन्त्री र राष्ट्रपति बन्ने महत्वाकाङ्क्षीहरू नाङ्गिदै र भाग्दै गए । सिद्धान्तच्यूत र विश्वासघाती नेताहरू जनताबाट तिरष्कृत भए र मारिए । प्रतिक्रान्ति भयो – प्रतिक्रियावादीहरूले जेकोबिनहरूलाई आपसमा फुटाए । तिनीहरू षड्यन्त्र र कुटील राजनीतिबाट पक्राउ परे, पालैपालो गिलोटिनमा काटिए । आखिर पुनः राजतन्त्र स्थापना भयो, राजा फिलिप गद्दीमा पुगे – नेपोलियन सत्तामा पुगे – क्रान्तिको पतन भयो ।
अब नेपाल कता ? जवाफ कुन शासक दल र नेताले दिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *