यशपालको ‘दुःख’
भारतीय साहित्यकार यशपालको कथा ‘दुःख’ को सारबाट आलेख सुरुआत गरौँ ! कथामा यशपालले भारतीय समाजको दुःख कस्तो हुन्छ भन्ने चित्रण गरेका छन् ।
कथामा दिलीप र हेमा श्रीमान्श्रीमती हुन्छन् । दिलीपले हेमालाई पूर्ण स्वतन्त्रता दिएको हुन्छ । एकदिन दिलीप एउटा साथीसँग चलचित्र हेर्न गएको निहुँ थापेर रिसाएकी हेमा माइततिर हिँड्छिन् । साँझको समय, दिकदार बनेको दिलीप बजार घुम्न निस्किन्छ । चिसो मौसम, त्यसमा पनि सिमसिम पानी परिरहेको हुन्छ । तर, साँझ पर्दासम्म पनि भिडभाड नहुने एउटा गल्लीमा एउटा बालक पकौडा बेच्न बसेको देख्छ दिलीप । ऊ पकौडाको मूल्य सोध्छ । जम्माजम्मी ८ पैसा । जम्मै पकौडा किन्न दिलीप एक रुपियाँको नोट दिन्छ बालकलाई । फिर्ता गर्न बालकसँग चानचुन पैसा हुँदैन । बालकले घर नजिकै छ भनेकोले घरमै गएर पैसा फिर्ता लिने प्रस्ताव राख्छ दिलीप । दिलीपलाई बालकको घर हेर्ने जिज्ञासा उत्पन्न हुन्छ ।

यशपाल
हिँड्दाहिँड्दै, कुराकानीको क्रममा बालकले आफ्नो बुबाको मृत्यु भैसकेको बताउँछ । एउटा मालिकको घरको सरसफाइमा सघाउने काम पाएकी उसकी आमाले पनि हालैमात्र काम गुमाएको कुरा दिलीपलाई सुनाउँछ । बालककी आमाले मालिकबाट अढाइ रुपियाँ पाइरहेकी थिइन्, अर्की एक महिलाले दुई रुपियाँमा काम गरिदिन्छु भनेपछि ‘नोकरी’ गुमाएकी रहिछन् ।
कुरा गर्दागर्दै दुवै घर पुग्छन् । घर के भन्नु एउटा झुपडी हुन्छ । बालकको आमासँग पनि फिर्ता गर्ने पैसा हुन्न । बालककी आमाले पछि दिनुहोला भन्दै पैसा फिर्ता गर्न खोज्छिन् तर दिलीप मान्दैन बरु सबै पैसा राख्न कर गर्छ ।
यसैबीच भोकाएको त्यो बालकलाई आमाले साँझको खानामा पनि रोटी दिन्छिन् । बालक फेरि रुन्चे स्वरमा ‘निस्तो रोटी’ भन्छ । आमा भन्छिन् – रोटीमा नुन छ । बालक आफ्नी आमाले खाएनखाएको सोध्न भुल्दैन । आमा आफूलाई भोक नलागेको जवाफ दिन्छिन् ।
भारी मनका साथ दिलीप आफ्नो घर फर्किन्छ । उसलाई केही खाने मन हुन्न । घरमा श्रीमती हेमाको चिठी आएको हुन्छ । त्यसमा ‘म यो जीवनमा दुःखमात्रै हेर्नको निम्ति जन्मिएकी रहेछु’ भन्ने पहिलो वाक्य पढ्नेबित्तिकै दिलीपले चिठी च्यातेर फालिदिन्छ । उसको मुखबाट निस्किन्छ – “यदि तिमीले दुःख के हो भन्ने बुझेकी भए कति उत्तम हुन्थ्यो ¤” यसरी कथा सकिन्छ ।
भारतीय स्वतन्त्रता आन्दोलनका एक सक्रिय कार्यकर्ता साहित्यकार यशपालले प्रस्तुत कथा आफ्नो जेलजीवनको क्रममा सन् १९३० को दशकमा लेखेको भए पनि यस कथाले आजको विश्वको वर्गीय समस्याको प्रतिनिधित्व गर्दछ । पुँजीवादले ल्याएको आर्थिक तथा सामाजिक विभेदले गर्दा जनजीवन झन् जटिल बनेको छ । मानिसको दुःखका रूपहरू केही परिवर्तन भए होलान् तर सार उही छ ।
पुँजीवादका भ्रम
नेपाली भित्तेपात्रोअनुसार यो वैशाख महिनामा सर्वहारा वर्गका दुई महान् गुरुहरू कार्ल माक्र्स (मे ५) र लेनिन (अप्रिल २२) को जन्म दिवस मनाइँदै छ । पुँजीवादको ‘राक्षसी रूप’ दिनप्रतिदिन उदाङ्गो भइरहेको बेला माक्र्सवाद र लेनिनवादबारे विश्वभर जनचासो बढिरहेको छ ।
कार्ल माक्र्सले पुँजीवादको चिरफार गर्दै पुँजीवादका कमजोरी तथा असफलता नै त्यसको अन्त्यको कारण हुन्छ भन्नुभयो । पछि लेनिनले माक्र्सवादको व्यावहारिक प्रयोग गर्नुभयो । पुँजीवादले ल्याएका सम्पूर्ण सामाजिक तथा आर्थिक विभेदको अन्त्यको निम्ति समाजवादी सिद्धान्त प्रतिपादित भयो । माक्र्सले समाजवादी क्रान्ति छिटो गर्न क्रान्तिकारी सिद्धान्तनिर्देशित क्रान्तिकारी दस्तासहितको क्रान्तिकारी पार्टीको आवश्यकताबारे चर्चा गर्नुभएको छ । पुँजीवादबारेका भ्रम नचिरीकन पुँजीवादलाई परास्त गर्न सकिन्न ।

कार्ल माक्र्स
सांस्कृतिक तथा सैद्धान्तिकरूपमा मजदुर वर्गमाथि प्रभुत्व जमाइरहेको पुँजीवादविरुद्ध लड्न क्रान्तिकारी रणनीति चाहिन्छ । प्रथमतः मजदुर वर्गको राजनीतिक चेतनस्तर उठाउनु आवश्यक छ । फलाम काट्न फलाम नै चाहिन्छ भनेझैँ प्रतिक्रियावादी वर्गको ‘सांस्कृतिक प्रभुत्व’ अर्थात् ‘कल्चरल हेजमोनी’ (यस लेखकको २०७७ चैत ३१ को आलेख हेर्नुहोस्) विरुद्ध लड्न श्रमिक वर्गीय सांस्कृतिक प्रभुत्व आवश्यक हुन्छ ।
पुँजीवादको क्यान्सर फाल्न पनि पुँजीवादका सैद्धान्तिक आधारहरूको गहन अध्ययन गर्नु आवश्यक हुन्छ । पुँजीवादकै कारण यो संसारको अस्तित्वसमेत सङ्कटमा परेको यसबेला यसलाई फाल्न जोडदार धक्का दिनु जरुरी छ ।

पुँजीवादको विकाससँगै विज्ञान र प्रविधिको पनि विकास भएको, गरिबी घटेको तथा जीवनस्तर बढेको जस्ता तर्कहरू पनि नसुनिएको होइन । शिक्षा र स्वास्थ्यको विकासमा पुँजीवादकै हात भएको विचार राख्ने बुद्धिजीवीहरू पनि धेरै छन् । यथार्थ के हो ? पुँजीवादका भ्रम के के हुन् ? पुँजीवादका झूट के के हुन् ? पुँजीवादविरुद्ध लड्ने आधार के के छन् ? यसबारे केही चर्चा गर्ने यो आलेखको ध्येय हो ।
एक्लै छोड् (लिभ अलोन)
पुँजीवाद भनेको पुँजी लगानी गरी नाफा कमाउने व्यवस्था हो । बढी पुँजी लगानीको उद्देश्य बढी नाफा कमाउनु हुन्छ । नाफा पुँजीपतिको अधिकार मानिन्छ । उत्पादनका साधन तथा राज्यको विभिन्न सेवाहरूको निजीकरण, खुला बजार अर्थतन्त्र, उत्पादन सम्बन्धमा राज्यको तटस्थता नै पुँजीवादका मुख्य चरित्र हुन् ।
सन् १६०२ मा स्थापना भएको ‘डच इस्ट इन्डिया कम्पनी’ नै संसारको सबभन्दा पहिलो धितोपत्र कारोबार गर्ने कम्पनी थियो । यसमानेमा आधुनिक पुँजीवाद बेलायतमा १६ औँदेखि १७ औँ शताब्दीमा उदय भएको मानिन्छ । एडम स्मिथलाई पुँजीवादी अर्थशास्त्रको पिता मानिन्छ । सन् १७७६ मा उनले ‘दि वेल्थ अफ नेसन्स’ प्रकाशित गरे । उनको सिद्ध्रान्त थियो – लेसेफेअर । यसको शाब्दिक अर्थ हो – एक्लै छोड् (लिभ अलोन) । अर्थतन्त्रमा सरकारले हस्तक्षेप नगरी बजारलाई एक्लै छोड्ने अर्थमा त्यसो भनिएको हो । यसै सिद्धान्तअनुसार स्वतन्त्र बजार सहितको पुँजीवादको सुरुआत भयो । स्वतन्त्र बजार अर्थतन्त्रमा प्रतिस्पर्धा हुन्छ र प्रतिस्पर्धाले नै विकास हुन्छ भन्ने एडम स्मिथको अवधारणा थियो । स्मिथको भनाइमा प्रगतिको निम्ति एउटा अदृश्य शक्तिले काम गरिरहेको हुन्छ, त्यो प्रतिस्पर्धाले नै निर्माण हुन्छ । राम्रो सामान उत्पादन नगरी कुनै पनि लगानीकर्ता टिक्दैन, राम्रो गर्न कसैले कसैलाई जबरजस्ती गर्नै पर्दैन । नाफाको निम्ति राम्रो उत्पादन नबनाइहुन्न । सामान उत्पादनको काम आफू एक्लैले गर्न सकिँदैन, कामदारहरू भर्ना गर्नुपर्दा श्रम विभाजन हुन्छ र यसबाट उत्पादकत्व तथा उत्पादन क्षमतामा वृद्धि हुन्छ । यसैलाई पुँजीवादको सफलताको आधार मानिन्छ ।
रक्तपिशाच (भ्याम्पाइयर)
औद्योगिक क्रान्ति पनि भयो । ठूला उद्योग तथा कारखानाहरूको स्थापना भयो । त्यसपछि के भयो ? मजदुरहरूलाई अत्यन्तै दयनीय अवस्थामा घण्टौँ श्रम गराई शोषण गर्न थालियो । कार्ल माक्र्सले आफ्नो पुस्तक ‘पुँजी’ मा एडम स्मिथका कतिपय कुराको समर्थन गर्नुभयो तर मूलतः त्यसको खण्डन गर्नुभयो । स्मिथले मजदुरको उत्पादकत्व र उत्पादन क्षमता वृद्धिको कुरा गर्दा माक्र्सले सधैँ एउटै काम गर्ने मजदुर कामप्रति नै विरक्त हुँदै विमुख (एलिअनेटेड) हुन्छ भन्ने कुरा अघि सार्नुभयो ।
माक्र्सको भनाइ थियो – “मजदुरको विरक्ति यसरी अभिव्यक्त हुन्छ – मजदुरले जति धेरै उत्पादन गर्छ, त्यति नै कम उपभोग गर्न सक्छ । जति धेरै मूल्यवान् चिज बनाउँछ, ऊ त्यति नै गरिब हुन्छ । श्रमकै कारण धनीको निम्ति गजबका सामान उत्पादन हुन्छन् तर गरिबको निम्ति त्यही दुःख बन्छ । मेसिनले श्रमलाई विस्थापित गर्छ र रोजगारी घट्छ । यसैबीच अरू मजदुर मेसिनमा बदलिन्छन् ।”
मजदुर आफ्नो कामप्रति गर्व पनि गर्न सक्दैन । ऊ आफ्नो जीवनको उद्देश्यमाथि नै प्रश्न गर्न थाल्छ । ऊ आफूलाई विशाल यन्त्रको एउटा सानो चुकुलमात्र ठान्छ । एडम स्मिथको आलोचना गर्दै माक्र्स भन्नुहुन्छ – “श्रम विभाजको कारण हुने विशिष्टीकरणले कुनै मजदुरलाई सजिलै विस्थापित गर्न सकिने हुन्छ र यसबाट मजदुरमाथि शोषण गर्न पुँजीपतिलाई सहज हुनजान्छ ।”
यसलाई प्रस्ट पार्दै माक्र्स भन्नुहुन्छ – “पुँजी जति बढ्छ, श्रम विभाजन उत्तिकै बढ्छ, मेसिनको प्रयोग बढ्छ । यसबाट मजदुरबीच प्रतिस्पर्धा बढ्छ, ज्याला पनि त्यसरी नै घट्छ ।” कार्ल माक्र्सले पुँजीलाई मृत्त श्रम भन्नुभएको छ । उहाँले पुँजीलाई रक्तपिशाच (भ्याम्पाइयर) सँग तुलना गर्नुभएको छ । श्रमिकको रगत चुसेरै पुँजीको अस्तित्व रहन्छ र श्रमिकलाई जति धेरै चुस्छ त्यति नै त्यो धेरै बाँच्छ भन्ने तर्क गर्नुभएको छ ।
अरूलाई सिध्याउ वा आफै सकिऊ !
सन् १९०२ मा संरा अमेरिकामा एक उल्लेखनीय घटना भयो । त्यहाँका सबभन्दा ठूला तीनवटा स्टील कम्पनीहरू ‘कार्नेजी स्टील’, ‘फेडरल स्टील’ र ‘नेसनल स्टील’ एकअर्कामा विलय गराई ‘युएस स्टील’ कम्पनी स्थापना गरियो । एल्बर्ट ग्यारी कम्पनीको अध्यक्ष बने । यसले पहिलो वर्षमै संरा अमेरिकामा उत्पादित मध्ये दुईतिहाइ स्टील उत्पादन ग¥यो । स्टील उद्योगमा अझै पनि केही प्रतिस्पर्धा भइरह्यो । त्यसैले ग्यारीले बाँकी सबै कम्पनीलाई एउटा डिनरमा बोलाए र आपसमा नलडौँ, बरु प्रतिस्पर्धात्मक मूल्य खारेज गरौँ भन्ने प्रस्ताव पेश गरे । यही नै अर्ब डलरको सबभन्दा पहिलो एकाधिकार पुँजी बन्यो ।
पुँजीवादमा एउटा भनाइ प्रचलित छ – अक्वायर अर गेट अक्वायर्ड । अथवा, अरूलाई सिध्याऊ वा आफै सकिऊ ! एकाधिकार पुँजीको चरित्र हो यो । यसलाई मत्स्य न्याय पनि भन्न सक्छौँ । सानो माछालाई ठूलो माछाले खाने सिद्धान्त हो यो । जस्तै, भारतमा जिओ टेलिकमको एकाधिकार यसरी नै स्थापित भएको छ । भारतको ‘जेबोन्ग कम्पनी’ ‘मिन्ट्रा कम्पनी’ ले किन्यो । त्यसलाई पनि ‘फ्लिप कार्ट’ ले किन्यो । फ्लिप कार्टलाई पनि विशाल अमेरिकी कम्पनी ‘अमेजन’ ले किन्यो । यसअघि फ्लिप कार्टसँग दुइटा विकल्प थिए, अमेजन वा ‘वाल मार्ट’ सँग समाहित हुने ।

एडम स्मिथ
को प्रतिस्पर्धा कता हरायो ? फेसबुक सामाजिक सञ्जालमा एउटा एकाधिकार पुँजी बनेको छ । इन्स्टाग्राम र वाट्स एपजस्ता धेरै प्रयोग भएका सामाजिक सञ्जालका एप्लिकेसनहरू फेसबुकले किन्यो । गुगल इन्टरनेटको संसारमा एउटा एकाधिकार कम्पनी बनेको छ । युट््युब कम्पनीलाई गुगलले आफूमा विलिन गरायो । एन्ड्रोइड, गुगल नक्सा, गुगल बजार, गुगल भुक्तानी, गुगल निक्षेप सबै गुगलमै समाहित छन् । वास्तवमा गुगलले विश्वका २४१ कम्पनी सिध्याएर इन्टरनेटमा एकाधिकार जमाएको छ । साना कम्पनी कुनै नरहने भए, अनि एक्लोको राज चल्छ, जति लुटे पनि छुट हुन्छ । सिद्धान्तमा प्रतिस्पर्धा तर व्यवहारमा एकाधिकार भएको छ ।
नेपालको परिवेशको कुरा गर्दा भारतीय एकाधिकार पुँजीले नेपालको अर्थतन्त्र कब्जा गरेको छ । नेपालको खाना, नाना र छानामा भारतीय पुँजीको प्रभाव छ । नेपाली कम्पनी डुब्दो अवस्थामा छन् । किनभने, भारतीय ठूला कम्पनीसँग नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नै सक्दैनन् । विश्व व्यापार सङ्गठनको नाममा आएका ती कम्पनीले नै नेपालको अर्थतन्त्र कब्जा गरेका छन् । विदेशी एकाधिकार पुँजीले नेपाली अर्थतन्त्रलाई कहिल्यै सबल बन्न दिँदैन ।

पुँजीवादमा कोही पनि मानिस धनी हुन सक्ने सपना भने देखाइन्छ । कसैले पनि कुनै पनि व्यवसाय गर्न सक्छ भनेर व्यापार स्वतन्त्रताको कुरा गरिन्छ । सुन्दा ठीक । मेहनत गरे कोही पनि ‘बिल गेट्स’ बन्न सक्ने तर्क पनि बराबर सुनिन्छ । मानिस स्वेरकल्पनामा सुखी त होलान् तर यथार्थको धरातलमा उभिँदा पुँजीपति वर्गबीच खिचातानी, ‘कुकुर झगडा’ वा कार्ल माक्र्सको शब्दमा ‘कट थ्रोट कम्पटिसन वा घाँटी रेट्ने प्रतिस्पर्धा’ ले पुँजीवादलाई घिनलाग्दो बनाएको छ । मानिस मानिसबीच अविश्वास, घृणा, विद्वेष, शत्रुता, इबी बढाएको छ । पुँजीवादले नै मानिसलाई अति स्वार्थी, विलासी, लम्पट, व्यभिचारी, अनैतिक बनाएको छ ।
Leave a Reply