भर्खरै :

नक्कली पीसीआर गम्भीर अपराध

प्रहरीले बुधबार नक्कली पीसीआर रिपोर्ट बनाउने एउटा गिरोहलाई पक्राउ ग¥यो । नक्कली पीसीआर रिपोर्ट बनाइदिने राजधानीको सुरिया हेल्थकेयर प्रालि र मेरिट मल्टिकेयर मेडिकल सेन्टरसँग आबद्ध आठ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । रोजगारीको लागि विदेश जाने नेपालीहरूको लागि निगेटिभ पीसीआर रिपोर्ट अनिवार्य हुने व्यवस्थापछि ठगीको यस्तो धन्दा सुरु भएको हो । ठगहरूले स्वाब परीक्षण नै नगरी, एक जनाको स्वाब परीक्षणको नतिजा अर्काको लागि पनि प्रयोग गरी फर्जी नतिजा दिइरहेको प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो । कोभिड–१९ को महामारी दिनानुदिन फैलिरहेको अवस्थामा यसरी पीसीआर रिपोर्ट नक्कली बनाउने धन्दा जघन्य अपराध नै हो । यसको नकारात्मक प्रभाव नेपाल त पर्छ नै । नेपाली युवाहरू रोजगारीको लागि जाने गरेका देशहरूमा पनि पर्ने देखिन्छ । अर्थात् कोभिड–१९ भाइरसको महामारी रोकथाम गर्ने विश्वव्यापी प्रयासको निम्ति यस्तो अपराध खतरनाक बाधक हो ।
यसअघि बङ्गलादेशमा त्यस्ता ठगहरू समातिएका थिए । रोजगारीका लागि विभिन्न देशमा जाने बङ्गलादेशका नागरिकहरूले नक्कली पीसीआर रिपोर्ट बनाएर पेश गर्ने गरेको खुलासा भएपछि युरोपका विभिन्न देशले बङ्गलादेशका मजदुरहरूलाई कारबाही गरेका थिए । बङ्गलादेशका नागरिक नक्कली पीसीआर रिपोर्ट बनाएर आफ्नो देशमा पसेर फेरि सङ्क्रमण फैलाइरहेको भनेर युरोपेली देशहरूले आपत्ति जनाएका थिए ।
झन्डै उस्तै दृश्य नेपालमा पनि देखिएको छ । खाडी देशमा कोरोनाको सङ्क्रमण केही होलो भएपछि त्यहाँ काम गरिरहेका नेपाली युवाहरू काममा फर्किन थालेका छन् । उनीहरूले आफ्ना रोजगार गन्तव्यमा पुग्न निगेटिभ पीसीआर रिपोर्ट देखाउनुपर्ने भएपछि ठगहरूले नक्कली ठगी धन्दा सुरु गरेका छन् । उनीहरूले मजदुरहरूका स्वाब सङ्कलन गरी त्यसको परीक्षण नै नगरी निगेटिभ रिपोर्ट दिने गरेका छन् । विदेश जान लागेको मजदुरलाई पनि निगेटिभ रिपोर्ट नै चाहिने भएकोले महँगो मूल्यमा भए पनि नक्कली रिपोर्ट किन्ने गरेको देखिन्छ ।
त्यस्तो त नेपालमा यस्ता अनैतिक धन्दा धेरै क्षेत्रमा चलेकै देखिन्छ । त्रिविका विभिन्न केन्द्रीय विभागमा बुझाउन थेसिस किन्न पाइने समाचार नयाँ होइन । यहीबीच प्रहरीले एसएलसीको प्रमाणपत्रसमेत नक्कली रहेका केही चिकित्सकहरूलाई पनि पक्राउ ग¥यो । यस्ता नक्कली धन्दा खुलासा हुन बाँकी रहेका क्षेत्र अरू पनि धेरै पक्कै छन् । शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा समेत यस्तो अवस्थाले नेपाली समाजको मूल्यमा आइरहेको स्खलनलाई सङ्केत गरेको छ । यो पुँजीवादी व्यवस्थाको उपज हो । नाफाको लागि इज्जत, मूल्य मान्यता र नैतिकता सजिलै बेच्नु नै पुँजीवादी चरित्र हो ।
नक्कली पीसीआर रिपोर्ट बनाउने धन्दामा लागेका ठगहरूले आफ्नो कामबाट आफ्नै खुट्टामा चोट लाग्ने कुरा थाहा पाउनुपर्छ । कोरोनाको सङ्क्रमण कुनै एउटा देश वा समुदायबाट पूर्णतः निर्मूल भए पनि बाँकी विश्व सुरक्षित हुनसक्दैन । संसारको कुनै पनि कुनामा मात्र कोभिड–१९ बाँकी रहे पनि संसारमा महामारीको सम्भावना रही नै रहनेछ । त्यसकारण महामारी समुल गर्न सबैको पहलकदमी आवश्यक छ ।
कोभिड–१९ सङ्क्रमितको पनि पीसीआर निगेटिभको नक्कली रिपोर्ट बनाए त्यसले अरूलाई पनि सङ्क्रमण भई हुने क्षतिबारे सबैले विचार गर्न जरुरी छ । महामारीजस्तो सर्वहानिकारक समयमा नाफाको लागि आधारभूत मूल्य मान्यता पनि त्याग्नु सर्वथा अनुचित हो । त्यस्ता ठगी धन्दाबारे थप अनुसन्धान गरी दोषीमाथि कडा कारबाही हुन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *