भर्खरै :

बनेपा र पनौतीमा नवदुर्गा जात्रा हुने

नवदुर्गा भवानीको जात्रालाई निरन्तरता दिन तथा व्यवस्थापन गर्न देवगण र बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह बाडेबीच शुक्रबार छलफल भयो ।
बैठकले जात्रालाई व्यवस्थित एवं सुरक्षित गर्नुका साथै जात्रा सञ्चालन गर्ने निर्णय गरेको छ ।
छलफलमा बनेपा नगरपालिकाका प्रमुख बाडेले जात्रालाई व्यवस्थित गर्न समय तालिका मिलाउनुपर्ने धारणा राख्दै जात्राको लागि नगरपालिकाले सहयोग गर्दै आइरहेको बताउनुभयो ।
छलफलमा नवदुर्गा गणका सल्लाहकार नारायणमान बनमालाले विगत वर्षमा भएको झगडाबारे दुःख प्रकट गर्दै जात्राको सुरक्षा र व्यवस्थापनको जिम्मेवारी स्थानीय निकायले लिनुपर्ने धारणा राख्नुभयोे ।
“देवगणको सुरक्षा र बस्ने व्यवस्था मिलाउने जिम्मेवारी स्थानीय निकायले लिनुपर्छ”, उहाँले भन्नुभयो ।
नवदुर्गा गण समितिका अध्यक्ष ब्रिजेश बनमालाले देवगणले संस्कृति र परम्परालाई जोगाउँदै आएकोले संस्कृति र जात्रा परम्परा जोगाउन स्थानीय निकायले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बनेपाको चण्डेश्वरी जात्रा शुभारम्भ गर्न नवदुर्गाको कुमारीले नौ वटा सुपारी दिने र त्यसको भोलिपल्ट त्यही सुपारीबाट चण्डेश्वरीको जात्रा सुरू हुने प्रचलन छ ।
बताइएअनुसार वैशाख १७, १८, १९ र २० गते बनेपामा र २१, २२ र २३ गते पनौतीमा नवदुर्गाको जात्रा हुने भएको छ ।
छलफलमा हरिगोविन्द वनमाला, नारायणप्रसाद बनमाला, जुजुभाइ सुद्धकार, निरूपेश उपाध्याय, मङ्गललाल बनमाला, लक्ष्मीकुमार बनमालालगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *