भर्खरै :

खोप र सङ्क्रमण पीडित

नेपालमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको यथार्थ हो । कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्नुका अनेक कारणमध्ये सङ्क्रमणबाट पीडित प्रताडीत भारतबाट नेपालीहरू नेपालमा फर्कनु पनि हो । यसको अर्को कारण नेपाल फर्केका नेपालीहरूको नाका–नाकामा स्वास्थ्य परीक्षण नगर्नु हो । कोरोना सङ्क्रमितहरूको समयमै स्वास्थ्योपचार नहुनु पनि यसको अर्को कारण हो । स्वास्थ्य सामग्री पर्याप्त सबै ठाउँमा सर्वसुलभ नहुनु, आइसोलेसन केन्द्र व्यवस्थित र पर्याप्त नहुनाले पनि सङ्क्रमित र मृतकको सङ्ख्या बढिरहेको छ । कोरोना सङ्क्रमित निदानको एउटा राम्रो, भरपर्दो उपाय खोप नै हो । तर, त्यो खोप पनि सबै नेपालीले पाएका छैनन् । खोप पर्याप्त नभएरै सरकारले जारी गरेको सूचना पनि फिर्ता लिनुप¥यो ।
चीन र भारतको सहयोगले पाएको खोप नेपालीले लिए । हालसम्म सेना, सशस्त्र प्रहरी, चिकित्सक, नर्स, शिक्षक, सञ्चारकर्मी तथा ४० वर्षदेखि ५९ वर्षका र ६५ वर्षदेखि माथिका नेपालीलाई सरकारले चरण चरणमा खोप दियो । खोप क–कसले लिए भन्ने कुराको तथ्याङ्क सरकारसँग छ । खोप लिएका नेपालीहरूलाई कोरोनाले छोएको छ कि छैन या खोपको प्रभाव कतिको छ ? त्यो अध्ययन र अनुसन्धानको विषय छ । खोप लिइसकेका नेपालीहरूलाई कोरोना लागेको छ कि छैन ? लागेको छ भने कतिलाई लागेको छ ? यसतर्फ सरकार या विज्ञहरूको ध्यान पुग्नुपर्छ ।
खोप लिइसकेका कुनै पनि नेपालीलाई कोरोनाले छोएको छैन भने त्यो सकारात्मक पक्ष हो । अतः कोरोनाबाट बच्न बेसार–पानी सेवनको प्रचारभन्दा खोप दिनु नै बुद्धिमानी हुनेछ । खोप दिन र दिलाउन आवश्यक खोप प्राप्तिको लागि सरकारले उचित पाइला चाल्नुपर्छ । कुनै देशले खोपको सेवा निःशुल्क देला र अनि खोप दिउँला भनेर सरकार बसिरहनु ठीक होइन । एक प्रमण्डलको आग्रहमा रामको मन्दिर बनाउन खर्च जुटाउन आश्वासन दिने प्रम ओलीले कोरोना भाइरसको खोप किन्न बजेट किन छुट्याउँदैन ?
अरु विकास बजेटको पैसा कटाएर भए पनि सरकारले खोपको व्यवस्था गर्नुपर्छ । भारतमा झैँ नेपालमा कोरोना फैलिए यहाँ ठुलो नोक्सान हुनेछ । नेपालीहरू कीरा फट्याङ्ग्रा मरेझैँ मर्न बेर लाग्दैन । अरु देशको तुलनामा थोरै जनसङ्ख्या भएको देशमा सबै नेपालीले खोप लिन सक्नेछन् । सतर्कता अपनाएर या लकडाउन नै भए पनि कोरोना रोग अन्त्य हुनेछैन । सरकारले छिटोभन्दा छिटो खोप खरिद गरेर आम नेपालीहरूलाई खोप सेवा दिनुपर्ने अहिलेको आवश्यकता हो । सरकारले सङ्कटकै बेलामा सहयोग गर्ने हो, सहयोग गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *