भर्खरै :

खोप लिन जाँदा आपसी दुरी कायम गर्नुपर्दैन ?

सोमबार बिहान भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्य कार्यालयमा कोभिड–१९ को खोप लिन गएको थिएँ । म पुग्दा खोप लिन आउनेका लाइन निकै लामो भइसकेको थियो । महिला र पुरुषको अलग अलग लाइन थियो । लाइन दुवै उत्तिकै लामो थियो । चर्को घाममा मानिसहरू छाता ओढेर पनि धैर्यपूर्वक लाइन बसेका थिए । अठार वर्षभन्दा माथिका ५९ वर्षसम्मका नागरिकलाई खोप दिने भएकोले लाइनमा धेरै युवाहरू पनि थिए । अधिकांशले मुखमा मास्क लगाएका थिए । तर, लाइनमा बसेका कसैले पनि आपसी दुरीको नियम भने पालना गरेका थिएनन् । असार छेउछाउ रसायनिक मल लिन बसेको लाइनजस्तै थियो–त्यहाँको अवस्था । खोप लिनको लागि नाम दर्ता गराउन बारिएको पाल नजिक त मानिसहरू अझ नजिक नजिक बसेका थिए ।
आपसी दुरी कायम गराउने स्वयम्सेवकहरू पनि थिएनन् । न त लाइन बसेका मानिसहरूले नै दुरी कायम गर्ने विषयमा चासो देखाएका थिए । जनस्वास्थ्यको मूलद्वार छेउ निसङ्क्रमण झोल (स्यानिटाइजर) त राखिएको थियो । तर, कसैले पनि त्यसको प्रयोग गरिरहेका थिएनन् । त्यहाँको अवस्था देखेर आफैलाई असजिलो लाग्यो । रोगसँग लड्न प्रतिरोध खोप लिन लाइन बसेका मानिसहरू त्यहींबाट सङ्क्रमित हुने सम्भावना थियो । खोप लिएर आधा घण्टा आराम गर्ने ठाउँमा पनि मानिसहरूले आपसमा दुरी कायम गरिरहेका थिएनन् । आपसी दुरी कायम गर्नुपर्ने कुरा नबुझेका मान्छे त कोही थियो जस्तो लागेन ।
केही दिनअघि सिद्धि स्मृति अस्पतालमा पनि खोप दिंदा अवस्था त्यस्तै थियो । न कसैले आपसी दुरी कायम राख्न आग्रह गरिरहेका थिए न सेवाग्राहीहरू आफै सजग भएर दुरी कायम गरेका थिए । यसबारे सम्बन्धित अस्पताल र स्वास्थ्य केन्द्रले ध्यान दिनुपर्ने हो । खोप लिने ठाउँबाटै रोग सङ्क्रमण भए कति नरमाइलो हुन्छ । जे होस्, आगामी दिनमा यस्ता खोप कार्यक्रम गर्दा स्वास्थ्य केन्द्रहरूमा आपसी दुरीको पालनालाई कडाईका साथ लागु गर्न जरुरी छ । अस्पताल र स्वास्थ्य केन्द्रमै स्वास्थ्य मापदण्ड पालना नभए अरू ठाउँमा के अपेक्षा गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *