“देशमा राजनीतिक परिवर्तन ल्याउन निर्वासन, भूमिगत र जेल जीवन झेल्नुप¥यो”
- श्रावण २, २०८३
इन्डिया गेटअघि
चौबीसै घण्टा गुञ्जिरहेको हुन्छ–साइरन !
खोपीमा सजाएको राष्ट्रपतिदेखि
शक्तिशाली प्रधानमन्त्रीसम्म,
भारतको प्राचीनता परख गर्न आएका विदेशी पाहुनादेखि
मुख्यमन्त्री, मुखमन्त्री, सभामुख, बाङ्गोमुख सबै हुइकिँदा
सवारीको टाउकोमा झिलिक्क झिलिक्क बलेको हुन्छ–बत्ती
अनि लगातार तीखो स्वरमा गुञ्जिरहेको हुन्छ–साइरन ¤
इन्डिया गेटले युगौंदेखि साइरन सुन्दै आएको छ अथक ।
गोराहरूका साइरन
कालाहरूका साइरन
पहेँलाहरूका साइरन
काङ्ग्रेसका साइरन
जनता दलका साइरन
आरएसएसका साइरन
भाजपाका साइरन ।
इतिहासको यो लामो अवधिमा
सुनिएका साइरनका अनेक गुञ्जन
इन्डिया गेटले लगातार सुन्दै आएको छ ।
तर, उसलाई कहिल्यै साइरन त्यत्ति कर्कश लागेको थिएन
जति हिजोआज आफ्नो आँगनमा बज्ने साइरन कर्कश लागिरहेको छ ।
चौबीसै घण्टा दौडिरहेका एम्बुलेन्सका साइरनले
हिजोआज इन्डिया गेट निदाउन सकेको छैन
आँसुले भिजेका शव बहानका साइरनले
इन्डिया गेटको आँगन ओबानो हुन पाएको छैन ।
निस्सासिएको छोरोलाई अस्पताल दौडाइरहेका बुढो बा चढेको टेम्पो,
क्लान्त बन्दै गएकी आमा लिएर छोराले चलाइरहेको मोटरसाइकल,
खसमको क्षीण आँखा निभ्ने पिर मान्दै पत्नी चढेको ट्याक्सी,
आशाको त्यान्द्रो समातेर बहिनी बोकेर दाजुले चढेको साइकल
सबै सबै इन्डिया गेटकै आँगन भएर जान्छन्
छोराका बा
आमाको छोरा
पत्नीका खसम
बहिनीका दाजु
सबैका सँुक्कसँुक्क पनि
इन्डिया गेटलाई साइरनजस्तै सुनिन्छ ।
इन्डिया गेटले विभाजनको साइरन सुनेको छ
सीमा युद्धका साइरन सुनेको छ
आतङ्कवादी हमलाको साइरन सुनेको छ
भ्रष्टाचारको साइरन
निर्मम बलात्कारको साइरन
तेजाब हमलाको साइरन
सबै थरी साइरन सुनेको छ
तर, उसले कहिल्यै सुनेको थिएन
निस्सासिएर छटपटाइरहेको साइरन
एउटा अस्पतालबाट अर्कोमा निरुपाय भौतारिरहेको साइरन
एकजना बिरामी मर्दा अर्कोले शय्या पाउँदा
बाहिर विषाद् देखाए पनि
भित्रभित्र खुसीको लड्डु फुट्दाको साइरन ।
उफ् ¤ अजर अमर हुनुको पीडा यही हो
सिसिफस अमर नहुँदो हो त
उसले बाँच्नु पर्दैनथ्यो
निरर्थकताको जीवन ।
बर्बरिक अजर नहुँदो हो त
उसले देख्नुपर्ने थिएन
महाभारत युद्धपछिको विषाद् ।
स्वतन्त्रता सङ्ग्रामीले अजर अमर बनाएको
इन्डिया गेट
नहुँदो हो त अजर अमर
उसले सुन्नुपर्ने थिएन यो वियोगको साइरन ।
मध्यरातमा
अस्पतालका आकस्मिक कक्षबाट
कोभिड वार्डका शय्याबाट
मसान जलाउने घाटबाट
खाल्डो खनिँदै गरेको कब्रस्तानबाट
आएका विरहका ‘साइरन’ सँगै
इन्डिया गेटको कानमा ठोकिरहेको छ–
हरिद्वारको कुम्भमेला
कोलकोत्ताका चुनावी सभा
गुजरातको क्रिकेट म्याच ।
Leave a Reply