भर्खरै :

१३२ औँ मे दिवसको अवसरमा गोष्ठी

१३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को अवसरमा शुक्रबार नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिको आयोजनामा अनलाइन विचार गोष्ठी भयो ।
गोष्ठीमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सिद्धान्तमा कहिल्यै सम्झौता गर्न नहुने मे दिवसको इतिहासबाट सिक्नुपर्ने बताउनुभयो । संसारका मजदुर आन्दोलनको इतिहास र वर्तमानबारे अध्ययन गर्न आग्रह गर्दै उहाँले शत्रुले क्रान्तिकारी कार्यकर्तालाई कुनै पनि बेला फसाउन सक्ने हुँदा सजग हुनुपर्ने बताउनुभयो ।
सचिव सुवालले कोभिड–१९ सङ्क्रमणको अवस्था नेपालमा फैलिन नदिन तत्काल भारतसँगको सबै सीमा बन्द गर्नुपर्ने र त्यसको निम्ति नेपाली सेना, सशस्त्र र प्रहरी परिचालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भारतबाट नेपाल आउन चाहने नेपाली जनताको लागि सीमा क्षेत्रमै क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने र अन्य कोही पनि व्यक्तिलाई आवतजावत पूर्णतः बन्द गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले महामारी र निषेधाज्ञाको समयमा विगतमा जस्तै कालाबजारी बढ्न सक्नेप्रति सरकारी निकाय सजग हुनुपर्नेमा जोड दिनुभयो ।
जनवरी महिनामा नै भारतमा नयाँ प्रजाति देखिएकोमा मोदी सरकार महामारीको विषयमा गम्भीर नहुँदा आज भयावह अवस्था सामना गर्नुपर्ने भन्दै सचिव सुवालले भारतको गरिबी र अव्यवस्थाले महामारीलाई अझ खराब अवस्थामा पु¥याएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “चीनसँग सीमा विवादको कारण भारत सरकारलाई चीन सरकारसँग सहायता लिन नैतिक समस्या झेलिरहेको छ । तर, महामारीको बेला राजनीतिक विषयलाई एकातिर राखेर मानिसको जीवन जोगाउन ध्यान दिनुपर्छ ।”
उहाँले नेपाल सरकारले जनस्वास्थ्य सुरक्षा र महामारी प्रतिरोधका उपायबारे अझ प्रस्टसँग नेपाली जनतालाई नभनिरहेको बताउनुभयो ।
गोष्ठीमा नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले देशमा कोभिड–१९ सङ्क्रमणले भयावह रूप लिइरहेको बेला सरकार जनताको स्वास्थ्य सुरक्षा गर्ने जिम्मेवारीबाट पन्छिन खोजिरहेको बताउनुभयो ।
कोभिड महामारीले श्रमिक वर्ग पिल्सिरहेका चर्चा गर्दै उहाँले भारतीय शासकहरूको फासीवादी चरित्रबाट यो महामारीको अवस्थामा पनि जनतालाई पीडा भइरहेको बताउनुभयो । ।
पुँजीवादी व्यवस्थाले कामदार वर्गलाई स्वास्थ्य सेवा र बाँच्ने अधिकारबाट वञ्चित गरिरहेको धारणा राख्दै उहाँले श्रमिक वर्ग समाजवादी व्यवस्थामा मात्र बाँच्न सक्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको ऐतिहासिक पृष्ठभूमिबारे प्रकाश पार्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूको सभापतित्वमा भएको कार्यक्रममा पाण्डव सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *