भर्खरै :

भारतबाट फर्केका नेपालीसँगै गाउँ–गाउँमा सङ्क्रमण

देशमा कोरोना भाइरसको दोस्रो लहर व्यापकरूपमा फैलिरहेको अवस्थामा आफ्नो घर खर्च चलाउन भारत गएका जुम्लाका स्थानीयवासी पनि घर फर्किँदै छन् । यतिखेर यहाँ भारतबाट घर फर्किनेको घुइँचो नै लागेको छ । भारतमै यो महामारीको भयावह अवस्था छ तर त्यहाँबाट फर्किनेहरूलाई नेपाल छिरेपछि निगरानी एवं स्वास्थ्य जाँचको व्यवस्था हुन सकेको छैन ।
जुम्लाबाट कति नागरिक रोजगारीका लागि भारत जान्छन् भन्ने यकिन तथ्याङ्क त छैन तर यहाँका करिब ६० प्रतिशत नागरिक भारत जाने गरेको अनौपचारिक तथ्याङ्क रहेको स्थानीय जानकारहरूको भनाइ छ । तीमध्ये पनि यतिखेर अधिकांश स्वदेश फर्किने गरेका छन् । भारतमा अहिले कोरोना भाइरसको महामारी निकै बढेकाले जुम्लीहरू पनि घर फर्किन थालेका हुन् ।
उनीहरू त्यहाँबाट सीधै घर आउने गरेका छन्, बाटोमा कुनै स्वास्थ्य जाँच या रोकावट छैन । ती स्थानीयवासीलाई राख्न यहाँका स्थानीय तहले क्वारेन्टिनको व्यवस्था र कोरोना जाँचमा कुनै पहल गरेका छैनन् । जुम्लाका आठवटै स्थानीय तहमा क्वारेन्टिन या आइसोलेसन केही छैनन् । यसका कारण स्थानीयवासीमा त्रास फैलिएको छ । भारतबाट आउने आफ्नै दाजुभाइबाटै महामारी सर्नसक्ने भन्दै स्थानीय नागरिक डराएका छन् । यहाँको स्थानीय प्रशासनले पनि यसमा कुनै पहल गरेको छैन ।
पोहोर साल निर्माण गरिएका क्वारेन्टिन र आइसोलेसन कक्षहरूको जतन नहुँदा भताभुङ्ग अवस्थामा छन् । यहाँको स्थानीय प्रशासन र स्थानीय तहले महामारी सुरु भएको अघिल्लो वर्ष क्वारेन्टिन निर्माण गरेका थिए । कोरोनाको सङ्क्रमणलाई नियन्त्रण र रोकथामका लागि निर्माण गरिएको पुरानो संरचना सबै लथालिङ्ग हुँदा पनि हेर्ने कोही नभएको जुम्लावासीको गुनासो छ । उनीहरू कि पुरानो संरचनालाई जोगाएर राख्नुपथ्र्याे नत्र अहिले बनाउनुपर्छ भनेर आवाज उठाएका छन् ।
अहिले कोरोना भाइरसको दोस्रो लहर आएकोले देशका धेरै क्षेत्रमा महामारी फैलिएको छ । कतिपय जिल्लाहरूमा निषेधाज्ञा लागू भएका समाचारहरू पनि आएका छन् । तर पनि जुम्ला जिल्लामा आजको मितिसम्म यसबारेमा केही सोचिएको छैन । स्थानीय तहका प्रमुखसँग यस विषयमा जिज्ञासा राख्दा बजेट अभाव भएको बताउने गरेका छन् । पहिले जिल्लाका आठवटै स्थानीय तहले पाँच शय्याका अस्थायी कोभिड अस्पताल बनाएका थिए । अहिले ती अस्पतालमा नै आइसोलेसन सञ्चालन गरेका छन् । तर, सो अस्थायी कोभिड अस्पतालमा अक्सिजनको अभाव रहेको बताइएको छ । कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याए पनि कार्यालय सहयोगी र स्टाफ नर्सको भरमा रहेका छन् ।
यी अस्पतालहरूमा पनि आवश्यक मेडिकल अधिकृत वा चिकित्सकको अभाव छ । यहाँका स्थानीय तहले पटक पटक चिकित्सकको विज्ञापन आह्वान गरे पनि कसैको आवेदन नपरेको यहाँका स्थानीय तहको स्वास्थ्य शाखाले जनाएको छ ।
जुम्लामा कोरोनाको जोखिम दिन प्रतिदिन बढ्दै छ । भारतबाट घर फर्किएकाहरू सीधै समुदायका व्यक्तिसँग घुलमिल हुने गरेका छन् । जिल्लामा १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । उपचारको लागि आउने धेरै व्यक्तिले मास्कसमेत नलगाएको स्थानीयवासी बताउँछन् ।
सहर बजार, ग्रामीण बस्तीका विद्यालय, सरकारी तथा गैरसरकारी सङ्घसंस्था वा अन्य सार्वजनिक कुनै पनि ठाउँमा जाँदा सेवाग्राहीहरू तथा अन्य कर्मचारीहरूसमेतले मास्कको प्रयोग नगरेको पाइन्छ । पहिला भारतबाट आएकाहरूलाई विभिन्न विद्यालयका क्वारेन्टिन र आइसोलेसन कक्षहरू बनाएर राख्ने गरेका स्थानीय तहहरूले यसपालि भने चासो दिएका छैनन् ।
सीमानाकामा हुने आवतजावतले कोरोना सङ्क्रमणको जोखिम बढ्दै
सीमावर्ती सिराहा जिल्लामा पनि छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढेसँगै सङ्क्रमणको जोखिम पनि उच्च छ ।
भारतीय सीमा क्षेत्रबाट निर्वाधरूपमा आवतजावत भइरहेका कारण सिरहामा पनि कोरोना सङ्क्रमण फैलिन सक्ने जोखिम बढेको स्थानीयवासीहरू बताउँछन् । लहान नगरपालिका–७ का वडाध्यक्ष राकेश रोशन गुप्ताले भन्नुभयो, भारतीय बजार जाने आउने क्रम चल्दै छ, सीमा क्षेत्रमा हुने आवागमन नरोकिँदा कोरोना सङ्क्रमणको जोखिम अत्यधिक बढेको छ ।” जोखिम बढ्दै गए पनि सो अनुसारको सुरक्षा सावधानी अपनाइएको देखिँदैन, उहाँले भन्नुभयो ।
लहानका स्थानीयवासी सत्यनारायण चौधरीले भन्नुभयो, “भारतको बिहारमा कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिरहेको छ, छिमेकी जिल्लामा कोरोना फैलिरहे पनि सिरहामा स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको देखिँदैन, फलस्वरूप कुनै पनि बेला कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिन सक्ने भएकोले नेपाल–भारत सीमा क्षेत्रमा हुने आवागमनलाई तत्काल रोक्नुपर्छ ।” एकातिर सीमासँग जोडिएका भारतको बिहार राज्यका विभिन्न स्थानमा कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिरहेकोले तत्काल भारतीय सीमा नाकाहरू बन्द गर्नुपर्ने आवाज उठे पनि कार्यान्वयन नहुँदा अझै सर्वसाधारण वारिपारि गरिरहेका छन् । भारतको विभिन्न सहरमा काम गरी नेपाल फर्किने क्रम अझै रोकिएको छैन । खुला सिमानाका कारण मुख्य नाकासँगै अन्य विभिन्न चोर बाटो भएर सर्वसाधारण नेपाल भित्रिने गरेका छन् । तीमध्ये अधिकांशले सीधै परिवार तथा आफन्तजनको सम्पर्कमा पुग्ने गरेका कारण कोरोना भाइरस सङ्क्रमण उच्च दरमा फैलिने सम्भावना प्रवल रहेको छ ।
सिरहा बरियारपट्टीका स्थानीयवासी मुकेश यादवले भन्नुभयो, “सरकारले एकातिर सीमानाका बन्द गर्ने बताइरहेको छ भने अर्काेतिर भारतीय बजार जाने र आउने क्रम बढेकाले जोखिम बढेको छ ।” खुला सीमानाका कारण हुलका हुल मानिसहरू सीमावर्ती भारतीय बजार लदनियाँमा जाने आउने गरिरहेकाले सङ्क्रमणको जोखिम बढेको तर स्थानीय तहबाट त्यसलाई रोक्ने प्रयास नभएको स्थानीयवासीहरूको गुनासो छ । यसका साथै दैनिक लाग्ने हाटबजारमा पनि सर्वसाधारणको चहल पहल ह्वात्तै बढेको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कर्णेलले भन्नुभयो, “सीमानाकामा हुने आवतजावतमा कडाइ गरेका छौँ, हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गरेरमात्र जान दिएका छौँ, अब लुकीछिपी चोर बाटो भएर आइरहेको छ भन्ने त्यसलाई पनि रोक्ने प्रयास गर्छौ ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *