भर्खरै :

पीसीआर पोजिटिभ आए के गर्ने ?

यसपटकको नयाँ प्रजातिको महामारी गत सालको जस्तो सामान्य छैन । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने र आँखा रातो हुनेमध्ये केही लक्षण मिलेमा तुरुन्त पीसीआर टेस्ट गर्नुहोला । परिवारमा एकजना सङ्क्रमित भएमा सबै सङ्क्रमित हुने अवस्था छ । तसर्थ, कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला । सङ्क्रमणको शङ्का लागेमा तुरुन्त पीसीआर टेस्ट गर्नुहोला । सहेर वा हेरौँ भनेर अलमल नगर्नुहोला । जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ ।
– पीसीआर पोजिटिभ आएमा गत सालजस्तो सप्लिमेन्ट ( भिटामिन वा इम्युन बुस्टर ) खाएर ढुक्क नहुनुहोला । निमोनिया हुने भएकोले तुरुन्तै नजिकको कोभिड अस्पतालको फिभर क्लिनिकमा जानुहोला । त्यहाँ चिकित्सकले तपाईँलाई परीक्षण गरेर आवश्यकताअनुसार छातीको एक्स रे, रगतको जाँच तथा सिटि स्क्यान गर्ने सल्लाह दिनुहुन्छ । यदि तपाईँको अवस्था खराब छ भने उहाँहरूले औषधि वा भर्नाको लागि सल्लाह दिनुहुनेछ । उहाँहरूको सल्लाह अक्षरसः पालना गर्नुहोला ।
– लामो समय ज्वरो आयो, खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिजनको स्तर ९४ भन्दा तल भइरह्यो भने घरमा नबस्नुहोला । यो अवस्थामा तपाईँलाई छातीमा सङ्क्रमण भएको बुझ्न सकिन्छ । जति छिटो अस्पताल पुग्यो त्यति छिटो भर्ना हुन नपर्ने एवम् सजिलोसँग निको हुने अवस्था हुन्छ ।
– गत साल सङ्क्रमण भएका वा यो साल खोप लगाएका व्यक्तिलाई पनि सङ्क्रमण हुनसक्छ । प्रजाति फरक भएकोले गाह्रो हुनसक्छ । मैले खोप लगाएको छु वा पोहोरको एन्टिबडीले काम गर्छ भनेर लापरबाही नगर्नुहोला । अप्ठ्यारो भए तुरुन्त अस्पताल जानुहोला ।
– बालबालिका तथा युवालाई केही हुँदैन भनेर घरमा नबस्नुहोला । बालबालिका र युवाको सङ्क्रमण दर, गम्भीर हुने दर तथा मृत्यु दर गत सालको भन्दा धेरै छ ।
– अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्नुभयो भने अक्सिजनको स्तर केही बढ्छ । तसर्थ, पेटको बलमा घोप्टो परेर सुत्नुहोला ।
– अस्पताल प्याक छन् भनेर नआत्तिनुहोला । अस्पताल जाँदैमा सबै भर्ना हुनु पर्दैन । प्याक भएका अस्पतालले अस्पताल बाहिर पनि अक्सिजन दिएर उपचार गरिरहेका छन् ।
– चिकित्सकको सल्लाहबिना आफै अक्सिजन लगाएर घरमा नबस्नुहोला । अक्सिजन उपचार हैन । निमोनिया वा अन्य छातीको सङ्क्रमणको औषधि चलाउँदै अक्सिजन लगाउनुपर्छ । अक्सिजनको मात्रा चिकित्सकको सल्लाहअनुसार मात्र थपघट गर्नुपर्छ ।
– औषधि उपचार प्रत्येक व्यक्तिको फरक हुनसक्छ । एकजनालाई निको भएको औषधिले अर्को व्यक्तिलाई निको नहुन सक्छ । तसर्थ, स्वास्थ्यकर्मीबाहेकका व्यक्तिले सिफारिस गरेको औषधि सेवन नगर्नुहोला । कुनै पनि औषधिले कोरोना चट्ट निको हुने वा लाग्न नदिने कुरा गर्छ भने त्यो गलत हो ।
– प्रतिरोध क्षमता बढाउनको लागि जथाभावी आयुर्वेद औषधि नखानुहोला । सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारसअनुसार आयुर्वेद औषधि सेवन गर्नुहोला । आयुर्वेद औषधिले कोभिड निको हुँदैन । यसले तपाईँको स्टामिना बढाउँछ । यस्तो बेला सबै चिकित्सा पद्धतिको एकीकृत उपचार प्रभावकारी हुन्छ ।
– यसपटकको सङ्क्रमण छिटो फोक्सोमा असर गर्ने किसिमको छ । ४–६ घण्टामा निकै बढी असर गर्न सक्छ । तसर्थ, भोलि अस्पताल जाउँला भनेर नबस्नुहोला । निको भएका सङ्क्रमितको कुरा सुन्नुहोला ।
– कुनै पनि चिकित्सकले औषधि चलाएको बेला पनि भित्रभित्रै असर हुनसक्छ । यो भाइरल सङ्क्रमण भएको हुँदा एन्टिबायोटिकको भरपर्नु हुँदैन । यस्तो अवस्थामा एकपटक छातीको एक्स रे वा सिटि स्क्यान गर्नु सुरक्षित हुन्छ ।
– अस्पतालमा गम्भीर बिरामीप्रति चिकित्सकको ध्यान बढी हुन्छ । तसर्थ नआत्तिनुहोला ।
– उपचारपश्चात् पीसीआर नेगेटिभ आए पनि कोभिडले तपाईँका विभिन्न अङ्गमा असर गरेको हुनसक्छ । चिकित्सकको सल्लाहअनुसार यसको पनि उपचार गरेर स्वास्थ्यलाभ गर्नुपर्ने हुन्छ ।
(सरकारले जारी गरेको सूचना, सतर्कता तथा जनस्वास्थ्यका मापदण्ड पालनाबाट हामी सङ्क्रमणबाट बच्नेछौँ । कृपया पटक्कै लापरबाही नगर्नुहोला । हामीले आफू, परिवार तथा समाजलाई सङ्क्रमण हुन नदिनको लागि सतर्क बनौँ । सतर्क भएमा हामी अस्पताल जानु पर्दैन ।)
(डा. पाण्डेको फेसबुकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *