भर्खरै :

नेपाली ‘आमा’ को वेदना

साहित्यलाई समाजको ऐना भनिन्छ । साहित्यका विविध विधाहरूमा चलचित्र पनि एक हो । नेपाली सिनेमा निर्माणलाई बलिउडको फोटोकपी पनि मानिन्छ । नेपाली चलचित्रमा राखिने मसलेदार गीत, आइटम नृत्य, कथाको शैली र क्लाइमेक्स सबै हिन्दी सिनेमाको फर्मुलामा आधारित मानिन्छ । तर, विगतका केही वर्षयता निर्माण गरिएका केही सिनेमाको विषयवस्तु, प्रस्तुति शैली र सानो बजेटमा बनेका सिनेमालाई हेर्दा उनीहरू हिन्दी सिनेमाका फर्मुलामा आधारित भएको भन्न गाह्रो देखिन्छ । खगेन्द्र लामिछानेको ‘पशुपति प्रसाद’ यसको ज्वलन्त उदाहरण हो । यही मेसोमा गत वर्ष निर्माण भएका नेपाली सिनेमाहरूमा दीपेन्द« कुमार खनालद्वारा निर्देशित र शर्मिला पाण्डेद्वारा निर्मित ‘आमा’ अत्यन्तै समसामयिक चलचित्र हो । यस सिनेमाले नेपालको वर्तमान परिस्थितिलाई प्रतिबिम्बित गरेको छ ।
अहिलेको समाजमा आम नेपालीले भोगिरहेका विभिन्न आधारभूत दैनिकीसँग गासिएका समस्याहरूमध्ये स्वास्थ्यउपचार एक हो । स्वास्थ्य क्षेत्र मेडिकल माफियाको चङ्गुलमा परेको कारण मध्यमवर्गीय जनाताले भोग्नुपरेको पीडा र अमानवीयताको पराकाष्ठ नाघ्ने ठगीलाई चलचित्रको मुख्य विषयवस्तु बनाइएको छ । वैदेशिक रोजगारी र यसले नेपाली समाजमा परेको दुष्प्रभावका केही पाटोलाई पनि सिनेमाले केलाउन खोजेको छ । मृत्युशय्यामा पल्टी छोरोको अनुहार हेर्ने अन्तिम अभिलाषा बोकेका बुबा, आफ्नो भावी जीवन सुखमय बनाउन घरको सम्पत्ति बन्धकी राखेर विदेशमा रोजगारी गर्ने छोरोको कहालिलाग्दो कथा, बबाको औषधि खर्चको लागि ठुलो आशमा बसेकी बहिनी र आमाको समानान्तर कथाका श्रृङ्खलाहरू सिनेमाको सशक्त पक्ष मान्न सकिन्छ । नेपाली जनताका गरिबी र विवशताको नाजायज फाइदा उठाई धर्म परिर्वतन गराउन उद्यत विदेशी दलालहरू नेपाली समाजको कुनाकाप्चामा कसरी च्याखे थापिरहेका हुन्छन् भन्ने पक्षलाई दर्शकले चालै नपाउने गरी उदाङ्गो पारेको छ ।
चलचित्रमा अभिनय गर्ने पात्रहरू तथा कलाकारहरू अत्यन्तै खारिएका र यथार्थपरक छन् । यस चलचित्र आफ्नो विषयको केन्द«विन्दु मेडिकल माफियालाई बनाएको छ । जसबाट निम्न मध्यमवर्गीय परिवारले भोग्नुपर्ने सामाजिक, आर्थिक र राजनैतिक कठीनाइहरू यस चलचित्रले अत्यन्तै मार्मिक तथा यथार्थपरकरूपमा प्रदर्शन गरेको छ । चलचित्रले निजी अस्पतालमा हुने चलखेल, व्यक्तिगत स्वार्थ तथा आमनागरिकले भोग्नु परेका उत्पीडन, आर्थिक, मानसिक र शारीरिक शोषण आदिलाई समेत बहुआयामिकरूपमा प्रस्तुत गरिएकोे छ । यस चलचित्रका प्रमुख पात्र मिथिला शर्मा छिन् । उनले चलचित्रको नाम ‘आमा’ को भूमिका निर्वाह गरेकी छिन् । आमामा हुनुपर्ने सम्पूर्ण गुणलाई पात्रद्वारा न्याय प्रदान गरेकी छिन् । उनले आफ्नो श्रीमान्को मृत्यु भोग्नु परेको मानसिक तनाव, आर्थिक समस्या, शारीरिक पीडा आदि यस चलचित्रले उजागर गरेको छ । उनले आफ्नो श्रीमान्लाई सदैव साथ दिइ मृत्युमा समेत सँगै चित्तामा जलिन् ।
अर्की प्रमुख महिला पात्र सुरक्षा पन्तले छोरीको भूमिका निर्वाह गरेकी छिन् । उनी एक महिला भए पनि आमा बन्ने सपना अधुरो नै रहन्छ कि भनी बाबुको स्वास्थ्यको गम्भीर अवस्था भए पनि अर्को पीडा बोक्दै यताउता भौतारिरहेकी हुन्छे । चलचित्रको नाम ‘आमा’ भए तापनि सुरक्षा पन्त भने आमा बन्न सकेकी छैनन् । विभिन्न आधुनिक प्रविधि अपनाएर पनि उनले मातृ सुख प्राप्त गर्न सकेको पाइँदैन । आर्थिक अभावको कारणले आफ्नो मातृ सुखलाई तिलाञ्जली दिएर आफ्नो बाबुको उपचारमा ध्यान दिइन । त्यसकारण आफ्नो रोजगारी गुमाउनु प¥यो र घरायसी बुहार्तन सहनुप¥यो । एक नेपाली महिलाले छोरी अनि बुहारी दुबैको भूमिका एक्लैले खेल्नुपर्दा के के भोग्नुपर्ने रहेछ भन्ने पक्षलाई यर्थाथरूपमा प्रस्तुत गरिएको देखिन्छ ।
यस चलचित्रले मानवलाई मानव नठान्ने र मानवको मनमा मानवता हराएको यथार्थलाई चित्रण गरेको छ । यस चलचित्र खलनायकको रूपमा टीका पहाडीलाई जो अस्पतालको प्रमुख सञ्चालक एवम् वरिष्ठ चिकित्सकको रूपमा उभ्याइएको छ । डाक्टरलाई भगवानको रूपमा लिइने र पुजिने आमजनमानसमा त्यही डाक्टरले मानवलाई वस्तुको रूपमा व्यवहार गरिएको छ । त्यतिमात्र होइन शवमाथिको व्यापार र राजनीति यस फिल्मले प्रस्तुत गरेको छ । अति विशिष्ट श्रेणीको लाश आउँदा गरीबको लाशलाई फ्रिजबाट झिकेर भुइँमा राखिदिने, पैसा चुक्ता नगरी शव हस्तान्तरण नगर्ने यी सबै मेडिकल माफियाको ज्वलन्त उदाहरण हुन् । अर्का पात्र मनिष निरौला जो सुरक्षा पन्तको श्रीमान्को रूपमा प्रस्तुत भएका छन्, उनले आफ्नो ससुराको लागि आर्थिक र नैतिक सहयोग गरेका छन् । तर एउटा छोरोले आफ्नो घर वा ससुरालीमध्ये कसलाई प्राथमिकतामा राख्ने भन्ने दोसाँधमा उभिनुपर्ने नेपाली समाजको वास्तविकतालाई यस पात्रमार्फत चित्रण गरिएको छ । त्यसैगरी सुरक्षाको दाजु अमेरिका बसे पनि बाध्यताले गर्दा आमाबुबाको अन्तिम अनुहार हेर्न आउन नपाउनु आम वैदेशिक रोजगारीमा जानेको बाध्यता हो । त्यसैगरी यस फिल्मले हिन्दू समाजमा चलिआएको काजक्रियाको परम्परालाई चुनौैती दिँदै छोराले मात्र होइन छोरीले पनि काजक्रिया गर्नुहुन्छ भन्ने सन्देश दिन खोजेकोे छ ।
चलचित्रका मुख्य महिला पात्रहरू मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरी जसको अनेकौँ मानसिक, आर्थिक, शारीरिक र सामाजिक कठिनाइसँग जुध्नुप¥यो । सरिता गिरी जसले अन्तरजातीय (मुसलमान) विवाह गरेर आफू आमा त बन्छिन् तर आफ्नो ममतालाई अनुभव गर्न पाउँदिनन् । त्यसैगरी सुरक्षा पन्त र मिथिला शर्माले पनि विभिन्न आ–आफ्नै पीडाहरू भोगेका छन् । पात्रहरू फरक फरक भए पनि, पीडाहरू भिन्दाभिन्दै भए पनि दुखाइ त एउटै हुँदो रहेछ । पीडामा आँसु र चोटमा रोदन तथा क्रन्दन सबैको आउँछ । यी सम्पूर्ण पात्रहरूले आम नेपालीको सम्पूर्ण पक्षलाई एकमुष्ठरूपमा प्रस्तुत गरेका छन् ।
कुनै अस्वभाविक मरमसला नराखिनु, अत्यासलाग्दो र अस्वाभाविक फिल्मी संवाद नहुनु, अनावश्यक सङ्गीत, नृत्य तथा खलनायक र उनका आउरेबाउरेहरूको तामझाम नराखिए तापनि चलचित्र दर्शकको ध्यान तान्न सकेको छ । समग्रमा नेपाली समाजको वास्तविकता उजागर गर्न सिनेमा सफल देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *