भर्खरै :

बाबेफको सिद्धान्तको विश्लेषण

(१७९६ को अप्रिलमा फ्रान्सको राजधानी पेरिसवरपर ‘बाबेफको सिद्धान्तको विश्लेषण’ लेखिएका सयौँ प्रचार कागजहरू (पोस्टरहरू) भित्तामा टाँसेका थिए । ती टाँसेका कागज वा पोस्टरको भाषा फ्रान्सेली क्रान्तिकारी एवम् पत्रकार ग्राकस बाबेफले नै लेखेकोमा विवाद छ । तर, पोस्टरमा अभिव्यक्त विचारमा ‘समानहरूको षड्यन्त्र’ मा संलग्न अगुवाहरू एकमत थिए । त्यतिबेला पोस्टरवरपर लडाभाँती हुन्थ्यो । ‘समानहरू’ का कार्यकर्ताले पोस्टर झुन्ड्याएको केही समयमा विरोधीहरूले च्यातिदिन्थे । तर ‘समानहरू’ ले पुनः त्यहाँ अर्को पोस्टर टाँग्थे । – अनुवादक)
धारा १
प्रकृतिले प्रत्येक व्यक्तिलाई सम्पूर्ण वस्तुको आनन्द लिने समान अधिकार दिएको छ ।
छलफलबाट निकालिएको प्रमाण ः
मानिसहरू सगोलमा बस्नुभन्दा पहिले उनीहरू प्रकृतिले आफ्नो वरपर प्रचुर मात्रामा प्रदान गरेका वस्तुहरूका समान मालिक थिए ।
१. मानिसहरू बाँझो जमिनमा सँगै बस्न थालेपछि केले उनीहरूबीच असमानता ल्यायो ? के त्यो उनीहरूको प्राकृतिक भिन्नता हो ? उनीहरू सबैका एकैनासका अङ्ग र उस्तै आवश्यकताहरू हुन्छन् । के केही व्यक्ति अरूमाथि निर्भर हुनाले यस्तो हुन्छ ? तर, दुरुस्तै अर्को व्यक्तिलाई दास तुल्याउने गरी कोही पनि बलियो हुँदैन । झिनो असन्तुष्टिले पनि उसलाई अन्तै लाग्न हौस्याउँछ । परस्पर सहयोग र भलाइबाट हुने फाइदाले गर्दा उनीहरूलाई एकअर्काको अधिकारको सम्मान गर्नुपर्ने बनायो । प्रकृतिले नै उनीहरूमा यस्तो भावना भरेको उनीहरूले महसुस गरे । के त्यो उनीहरूको मनको हिंस्रकपना हो ? तर, अनुराग उनीहरूको सङ्गठनको परिणाम थियो र हिंस्रकपना त स्नेहको अभावमा जन्मिन्छ । के त्यो अपमान र दासत्वउन्मुख अन्तर्निहित प्रवृत्ति हो ? तर, यस्तो घटना एकदम बर्बर मानिसका निम्ति पनि पीडादायी अनुभूति, ईष्र्या र घृणाको स्रोत हुने गर्छ ।
२. परिवारहरू समाजका प्रथम खाका हुन् भने ती पनि हामीले वकालत गरिरहेका अधिकारहरूका सबैभन्दा ज्वलन्त प्रमाण हुन् । समानता बुबाहरूको कोमलता, सगोलता र छोराछोरीको खुसीको वचनबद्धता हो । यो भाँडियो भने के हुन्छ ? दुःखपिर र ईखले भाँडभैलो र हिंसा जन्मिन्छ । छोराछोरीलाई माया गर्दा हुने अभिभावकको पन्छ्याइँले छोराछोरीमा घृणा जन्मिन्छ । अभिभावकले परिवारमा खतरनाक राग उत्पन्न हुने जोखिम नमोली ममता देखाउन सक्दैनन् ।
३. कठोर समानता नै सम्पूर्ण मानिसहरूबीच पहिलो समझदारी हुनुपर्छ । जुनसुकै प्रकारको विभेदका वैरी हुने मानिसहरूलाई केले अभाव र हीनता टुलुटुलु हेर्न सक्ने तुल्याउँछ ?
४. समानताको बेवास्ताले मान्छेमा निम्न कुरा भरेको छ ः
खुसीका गलत अवधारणा । भावनाको चपलता । प्रजातिको स्खलन । हिंसा, समस्या र युद्धहरू । केहीको अत्याचार र अरूमाथिको थिचोमिचो । नागरिक, राजनीतिक र धार्मिक संस्थानहरूले अन्यायलाई पवित्र तुल्याएर अन्ततः समाजको विघटन गरेका छन् । लामो समयसम्म यसो गरेर तिनले समाजलाई च्यातचुत पारेका छन् ।
उत्सव र विलासजस्ता विभेद प्रदर्शन गरिने स्थानहरूमा मानिसले आनन्द लिँदैनन् । बरु बहुसङ्ख्यकका निम्ति ती स्थानहरू चिन्ता र व्याकुलताका अनन्त मुहान थिए र सधैँ हुनेछन् । थोरै बुद्धिमान व्यक्तिहरू भ्रष्ट नहोऊन् भनेर मात्र उनीहरूलाई यी सुविधा दिइन्छ र एकचोटि त्यसबाट अलग्गिएपछि उनीहरूजस्ता आम मानिसलाई सादा जीवनको प्रशंसा गर्न आउँदैन ।
केही नागरिकहरूले नयाँ आवश्यकताहरू सिर्जना गरे के होला ? साथै उनीहरूले आफ्नो सुखमा बहुसङ्ख्यकलाई थाहा नभएको परिष्कार गरे के होला ? त्यसपछि सादापन रुचाइनेछैन, सक्रिय जीवन र शान्त मनमा सुख भेटिनेछैन, विभेद र मोजमस्ती सर्वोच्च सामग्री बन्नेछन्, कोही पनि आफ्नो स्थितिबाट खुसी हुनेछैन र सबैले व्यर्थै सुखको खोजी गर्नेछन् । असमानताले समाजलाई सुखसम्म पुग्ने बाटो बन्द गरिदिएको हुन्छ ।
व्यक्ति जति फरक हुन्छ, उसको चाहना बढ्छ, लोभ र डाहा झन् भड्किन्छन् । यो नै अनेकन उद्दण्डताको मुहान हो । यो नै सुन र सत्ताको मोह र अपराधी भोकको मुहान हो । यो नै घृणा, हिंसा र हत्याको मुहान हो । यो नै कब्जा गर्ने भूत र व्यापारको लोभलाई माध्यम बनाउने रक्तरञ्जित युद्धहरूको मुहान हो । यसले दुःखी मानवलाई एकछिन पनि फुर्सदको सास फेर्न दिन्न ।
विचारहरूको हेरफेरबीच कमजोरी र दुःखले प्रजातिको एउटा हिस्सा ध्वस्त पार्छ भने अर्को हिस्सालाई दुर्बल बनाउँछ र समाजमा आफ्नै रक्षा गर्न नसक्ने पुस्ता तयार पार्छ । विभेदमा टाँसिनाले हामीले भेदभाव जोगाउन सावधानी अपनाउँछौँ । द्वेष र असन्तोषलाई मलजल गरे तापनि यस्तो सावधानीले हिंस्रक कानुन, विभेदकारी सरकार, धार्मिक नीतिकथा, दब्बू नैतिकताको रूप लिन्छ । अर्को शब्दमा, एकातिर अत्याचार हुन्छ, अर्कोतिर थिचोमिचो हुन्छ । तैपनि प्रकृतिको स्वरलाई पूरै थुन्न सकिन्न । यसले कहिलेकाहीँ आफ्ना बैगुनी छोराछोरीलाई लाजले रातै पार्छ । यसले चट्याङ परेझैँ मानवको आँसु धरधरी खसालेर बदला लिन्छ । कदाचित आफ्ना अधिकारहरू पुनः स्थापित गर्न सक्षम भयो भने यसले आफ्नो विधान बेवास्ता गर्ने समाजहरूलाई भत्काउँछ ।
हाम्रा इन्द्रिय र आवश्यकताहरूबाट समानताको भाव छचल्किन्छ भने, सार्वजनिक र निजी दुःख एवम् समाजको विनाश समाजमाथि हुने प्रहारहरूको आवश्यक परिणाम हुन् भने यो समानता प्राकृतिक अधिकार हो ।
धारा २
समाजको उद्देश्य समानताको रक्षा गर्नु हो । प्राकृतिक स्थितिमा समानतामाथि प्रायः बलशाली र कुरूप पक्षले प्रहार गरिरहन्छ । सबैको सहकार्यबाट आनन्दका साझा साधनहरूको विस्तार गर्नु समाजको उद्देश्य हो ।
प्रमाणहरू :
१. हामीले सबैजना राजी हुने नियमहरूको आधारमा भएको एकतालाई समाज भनेका हौँ । प्राकृतिक स्थितिमा आकस्मिक र अपूर्ण समाजभित्र मानिसहरूले आफूलाई कानुनसामु शरणागत पाउँछन् ।
२. यस धारामा भनिएजस्तै प्राकृतिक स्थितिमा स्वतन्त्रतामाथि प्रहार हुनसक्थ्यो भन्ने कुरा नखोतलौँ । बरु, यस्तो प्रहार हुन्थ्यो भने राज्यको असहजताका कारण मानिसहरूले कानुन बनाउनु स्वाभाविक थियो । यी असहजताहरू नै समानता भङ्ग गरेर जन्मेका थिए । जे भए पनि, समानताको रक्षा नै एकताको उद्देश्य हो किनभने यसबाट मात्रै एकजुट भएका मानिसहरू खुसी रहन सक्छन् ।
३. आफ्नो शक्ति एकगठ गर्दा मानव जातिले निश्चय नै न्यूनतम पीडा झेलेर अधिकतम आनन्द पक्का गर्न चाह्यो ।
आवश्यक साधनहरूको प्रचुरताले यस्तो आनन्द सुनिश्चित गर्छ र यो आफैमा एकबद्ध भएका मानिसहरूको श्रमले पक्का गर्छ । यस्तो श्रम सबैजनाले बाँडचुँड गरेमा मात्र न्यूनतम हुन पुग्छ ।
धारा ३
प्रकृतिले प्रत्येकलाई काम गर्न बाध्य गरेको छ । अपराध नगरी कोही पनि कामबाट पन्छिन सक्दैन ।
प्रमाणहरू :
१. श्रम सबैका लागि प्रकृतिको आदेश हो ।
पहिलो, किनभने मरुभूमिमा एक्लिएको व्यक्तिले श्रम नगरी जीवन धान्न सक्दैन ।
दोस्रो, ठिक्कको श्रम लाग्ने क्रियाकलाप मानिसको सुस्वास्थ्य र आनन्दको मुहान हो ।
२. यस्तो कर्तव्य समाजले कमजोर पार्नु हुँदैन । चाहे त्यो सबैको लागि होस् वा कुनै व्यक्तिको लागि होस् ।
पहिलो, किनभने समाजको सुरक्षा यसैमा निर्भर हुन्छ ।
दोस्रो, किनभने सबैको सहभागिताले मात्र प्रत्येकका व्यथाहरू घट्न सम्भव छ ।
धारा ४
श्रम र आनन्द सबैको साझा हुनुपर्छ ।
व्याख्या :
यसको अर्थ हो– सबैले बराबर मात्रामा काम खन्याउनुपर्छ र त्यहाँबाट बराबर मात्रामा साधनहरू झिक्नुपर्छ ।
यो सिद्धान्तको न्यायिकता धारा १ र ३ का प्रमाणहरूबाट सिलसिलेवार हुन्छ । तर, श्रमको समुदाय भनेको के हो ? के हामी सबै नागरिकलाई जबरजस्ती एउटै काममा लगाउन चाहन्छौँ ? होइन । बरु हामी विभिन्न श्रमहरूलाई बाँडचुँड गर्न चाहन्छौँ जसले गर्दा कोही पनि योग्य र तन्दुरुस्त व्यक्ति बेरोजगार नहोस् । हामी सबैलाई प्रचुर सरसुविधा सुनिश्चित होस् भनी कामदारहरूको सङ्ख्या बढाउन चाहन्छौँ । हामी चाहन्छौँ, त्यसको बदलामा प्रत्येकले मातृभूमिबाट आफ्ना प्राकृतिक आवश्यकताहरू पूरा गर्न चाहिने सबैथोक प्राप्त गरून् । साथै, सबैले आफ्ना कृत्रिम चाहनाहरू पूरा गर्न सकून् ।
लक्ष्य तय गर्न सकिन्छ – समय र उद्यमको फल वा उद्योगका उत्पादनहरू के होलान् ? अन्य रोजगारीमा जस्तै त्यहाँ तलब दिइएन भने त्यसले समाजलाई हानि पु¥याउँछ भनी डराउनु पर्दैन ? छल्न खोज्ने ¤ प्रतिभाशालीहरूका प्रयासहरू सम्पत्तिको मायाले भन्दा पनि सदैव गौरवको मायाले ओतप्रोत हुन्छन् । लाखौँ गरिब सैनिकहरू क्रुर मालिकहरूको सनकको सेवा गर्ने गौरवका लागि मर्छन् । सुख, मातृभूमि र समानताप्रतिको प्रेम तथा बुद्धिमत्तापूर्ण राजनीतिक बन्दोबस्तले मानव मनमा पार्ने शक्तिशाली प्रभावमाथि हामी कसरी शङ्का गर्न सक्छौँ ? अनि समानताको विधानमुनि बाँच्ने आनन्द भोग्दै गर्दा हामीलाई कलाको चमकदमक र विलासको देखावा चाहिएला त ?
धारा ५
काम गर्दागर्दा खुइलिएको व्यक्तिलाई अभावै अभाव हुन्छ र अर्को केही पनि नगरी प्रचुरतामा पौडिन्छ भने त्यहाँ थिचोमिचो हुन्छ ।
प्रमाणहरू :
१. असमानता र थिचोमिचो पर्यायवाची हुन् । कसैलाई दबाउन पाएसम्मको कानुन मिच्नुपर्ने हुन्छ भने असमानतामार्फत जसलाई दबाइन्छ त्यो उत्पीडित हुन्छ । किनभने, असमानताले प्राकृतिक कानुनमाथि आघात पु¥याउँछ । प्राकृतिक कानुनका नजरमा मानवीय नियमहरू मिच्नु व्यर्थ छ ।
२. थिचोमिचो गर्नुको अर्थ कसैको क्षमता सीमित गर्नु वा उसको बोझ बढाउनु हो । यसको अर्थ, व्यक्तिका खुसीहरू घटाउँदै गर्दा असमानताले उसका बाध्यताहरू बढाइदिन्छ ।
धारा ६
अपराध नै नगरी कसैले पनि धर्तीको फल र उद्योगका उत्पादनहरू हडपेर राख्न सक्दैन ।
व्याख्या र प्रमाणहरू :
असमानताको उद्देश्य नै हडप्नु हो भन्ने देखाउन सकियो भने ‘तेरो र मेरो’ भन्ने भेद लाद्नेहरूको अपराध पुष्टि हुनेछ ।
जमिनको कित्ताकाट भएको क्षणदेखि निजी सम्पत्ति जन्मेको थियो । त्यसबेलादेखि नै सबैजना आ–आफ्नो भागमा परेको खेतबारी र त्यहाँ उनीहरूले गर्ने कामको उपजको एक्लो मालिक बनेका थिए ।
प्राथमिक आवश्यकताका अन्य कलाकौशल वा पेशामा लागेका मानिसहरूलाई उनीहरूले जोतभोग गर्न नसक्ने जमिनको स्वामित्वबाट वञ्चित गरिएको हुनसक्छ । यसरी कोही अस्तित्वका निम्ति अनिवार्य चीजबीजका मालिक थिए । अरूलाई केहीको अधिकार थिएन । उनीहरूले मालिक समूहले दिने ज्यालामात्र पाउँथे । तैपनि, ज्यालादारी गर्ने कामदारहरूको सङ्ख्या जमिनदारहरूको सङ्ख्याभन्दा ठुलो नहुँदासम्म यसले देखिने परिवर्तन ल्याएन । तर, प्राकृतिक स्वभावअनुसार कोही मितव्ययी, कुशल बनेपछि अनि कोही खर्चालु वा कोही बेखर्ची बनेपछि र जमिनको स्वामित्व मुठ्ठीभर परिवारको हातमा जम्मा भएपछि, ज्याला थाप्नेहरू ज्याला दिनेहरूभन्दा धेरै हुन पुगे । थाप्नेहरू दिनेहरूको दयामा रहे । आफ्नो धनसम्पत्तिले मात्तिएकाहरूले अरूलाई सस्तो जीवनचर्यामा खसाले ।
यही परिवर्तनपछि धारा १ मा दर्शाइएको असमानताको दुष्ट प्रभाव देखाप¥यो । त्यसपछि हामीले घिनलाग्दो अन्यायको सहाराले बेकामेहरू कामदारहरूको पसिनामा बाँचेको देख्यौँ । ती कामदारहरू थकान र अभावले पिल्सिएको देख्यौँ । हामीले धनीमानीहरूले मालिकले जस्तै राज्यको बागडोर लिएको र खाँचोकै कारण निष्ठुर बनेका, अज्ञानताले खस्केका र धर्मले ठगेका गरिबहरूमाथि थोपर्न स्वेच्छाचारी कानुनहरू बनाएको देख्यौँ ।
दुःख र दासत्व असमानताबाट जन्मिन्छन् र असमानता सम्पत्तिबाट जन्मिन्छ । सम्पत्ति समाजको सबैभन्दा ठुलो महामारी हो । यो साँच्चिकै सार्वजनिक अपराध हो ।
समाज बन्नुभन्दा पहिलेदेखि नै सम्पत्ति अस्तित्वमा थियो र त्यसको रक्षा गर्न नै समाज बनेको तर्क आउला । तर, (श्रमको) मालिकले नै श्रमको फल नपाउने सम्झौता चलुञ्जेल हामीले कसरी यस्तो अधिकारको कल्पना गर्न सक्छौँ ? सामाजिक भावनामाथि सबैभन्दा चर्को चोट पु¥याउने परम्परा थालेको जिम्मेवारी कसरी समाजले लिन सक्छ ?
कसैले पनि कठोर परिश्रम गर्ने र मितव्ययी कामदारहरूलाई सम्पन्नतामा बाँच्ने गरी ज्याला दिनाले र बेकामेहरूलाई गरिब बनाएर दण्ड दिनाले मात्र न्याय हुन्छ नभनोस् । आफ्नो ऋण चुक्ता गर्न सक्रिय व्यक्तिले मातृभूमिबाट उसले दिनसक्ने कुरा प्राप्त गर्छ भने त्यो निःसन्देह न्यायोचित हुन्छ । सार्वजनिक सम्मान दिएर उसको गुन तिर्नुपर्छ । तर, उसले एकजना सैनिकले आफ्नो बहादुरीले अरूलाई दास बनाएजस्तो देशलाई विषाक्त तुल्याउने अधिकार लिन सक्दैन ।
निश्चय नै केही जनताले आफ्नै दुर्गुणका कारण दुःख पाइरहेका हुन्छन् । तर, सबै गरिबलाई यही कोटीमा राख्न मिल्दैन । खेत खलिहान र उद्योगहरूमा काम गर्ने कामदारहरूको ठुलो जमात रोटी र पानीको भरमा बाँच्छ । यसैले गर्दा नीच व्यभिचारीले आफ्नो अमानवीय बाबुको अपुतालीबाट मजा लिन्छ । यसैले गर्दा एकजना करोडपति उद्योग मालिकले अरू देशमा सस्तो धागो र गरगहना पठाउन सक्छ र त्यसको बदलामा हाम्रा अल्छी विलासप्रेमीहरूका लागि अरबी अत्तर र भड्किला चराहरू भित्र्याउन सक्छ । यी दुष्ट व्यक्तिहरू, उनीहरूलाई लतारेर सामाजिक परम्पराहरूले उनीहरूको बुद्धिमा दुष्टता र मूर्खता नभरेको भए के उनीहरूले यसो गर्थे ? खासमा सामाजिक परम्पराहरूले उनीहरूमा आफैले सल्काएको रागको असरका कारण उनीहरूलाई दण्डित गर्छन् ।
धारा ७
वास्तविक समाजमा कोही पनि धनी वा गरिब हुँदैन ।
धारा ८
आफ्ना अतिरिक्त सरसुविधाहरू निर्धनहरूको निम्ति परित्याग गर्न नचाहने धनीमानीहरू जनताका शत्रु हुन् ।
धारा ९
आवश्यक सम्पूर्ण साधनहरू थुपारेर कसैले पनि अरूलाई उसको भलाइका निम्ति आवश्यक शिक्षाबाट वञ्चित राख्न सक्दैन । शिक्षा सबैका लागि हुनुपर्छ ।
प्रमाणहरू :
१. यसरी थुपार्नाले प्रत्येक नागरिकका निम्ति आवश्यक ज्ञान लिने सम्भावनाबाट समेत कामदार जनता वञ्चित हुन्छ ।
२ जनतालाई बृहत ज्ञान नचाहिए पनि ठग र कथित विज्ञहरूको शिकार हुनबाट जोगिन उनीहरूलाई अलिकति शिक्षा आवश्यक हुन्छ । जनताले आफ्ना अधिकार र कर्तव्यहरूबारे थाहा पाउनुपर्छ ।
धारा १०
क्रान्तिको उद्देश्य हर प्रकारको असमानता नष्ट गर्नु हो र साझा सुख स्थापित गर्नु हो ।
प्रमाणहरू :
क्रान्तिको कोलाहल र दुष्टताले जनतालाई झन् दुःखी तुल्याउने लक्ष्य लिन्छ र उनीहरूलाई अलपत्र स्थितिमा छोड्छ । यस्तो स्थितिमा जनता पूर्ण विनासतिर खस्किन्छन् । कुन इमानदार व्यक्तिले आफ्ना स्वदेशीजनलाई यतातिर धकेल्ला ? कुशलतापूर्वक सुधारको मौका छोप्नु मात्र चलाख र सदाचारी राजनीतिको काम होइन ।
धारा ११
क्रान्ति सकिएको छैन किनभने धनीले जीवनका सम्पूर्ण असल सुखसुविधा हसुर्छन् र मजाले शासन गर्छन्, जब कि गरिब कामदारहरू दासजस्तै पिरव्यथाले पिल्सिन्छन् र राज्यले तिनलाई गन्दैनन् ।
धारा १२
१७९३ को संविधान फ्रान्सेलीहरूको वास्तविक संविधान हो किनभने जनताले त्यसलाई विधिपूर्वक स्वीकारेका थिए । किनभने, (कन्भेन्सन) अधिवेशनसँग त्यसलाई बदल्ने अधिकार थिएन । किनभने, त्यसो गर्दा उक्त संविधान लागू गर्नुपर्ने माग राख्ने जनतालाई तिनीहरूले गोली ठोके । किनभने, अधिवेशनले जनताको प्रतिरक्षा गर्ने जिम्मेवारी वहन गर्ने प्रतिनिधिहरूलाई धपायो र मा¥यो । किनभने, १७९५ को संविधान लेख्दा र स्वीकारेको स्वाङ पार्दा जनघाती आतङ्क र भगुवा कुलीनहरूको प्रभाव परेको थियो । यसले १७९३ को संविधानले प्राप्त गरेको मतको एकचौथाइ मत पनि पाएको थिएन । किनभने, १७९३ को संविधानले प्रत्येक नागरिकलाई कानुनसँग सहमत हुने, राजनीतिक अधिकार उपभोग गर्ने, भेला हुने, उपयोगी लागेको कुरा माग गर्ने, शिक्षित हुने र भोकै मर्नु नपर्ने अविच्छिन्न अधिकार स्थापित ग¥यो । १७९५ को संविधानको प्रतिक्रान्तिकारी कदमले यी अधिकारहरू खुलेआम र पूर्णतः मिच्यो ।
धारा १३
प्रत्येक नागरिक १७९३ को संविधान ब्युँताउन र त्यसमा निहित जनताको इच्छा र सुखको प्रतिरक्षा गर्न विवश छन् ।
धारा १४
१७९५ को कथित संविधानले प्रदान गरेको सम्पूर्ण शक्ति अवैध र प्रतिक्रान्तिकारी हो ।
धारा १५
१७९३ को संविधानबाट हात झिक्ने सबैले जनतालाई धोका दिने अपराध गरेका छन् ।
टिप्पणी
१. सन् १७९३ र १७९५ का संविधानहरू फ्रान्सेली क्रान्तिका दुई मोडबिन्दुका सूचक हुन् । १७९३ को संविधान राजतन्त्र उखेलेपछि बनेको संविधान थियो । त्यसका धाराहरूमा मध्यम र तल्लो वर्गका अधिकारहरू मुखर भए । सो संविधान मस्यौदा गर्दा सत्तामा रोबेस्पीयर र मारातजस्ता जननेता थिए । १७९५ को संविधानले प्रतिक्रान्तिको सुरुआत जनाउँछ । रोबेस्पीयर र उनका साथीहरूको हत्यापछि सो संविधान जारी भएको थियो । रोबेस्पीयरकालीन अधिवेशनले नै यो संविधान बनाएको थियो । तर, त्यसबेलासम्म हत्यामा संलग्न षड्यन्त्रकारीहरू अधिवेशनमा सर्वेसर्वा भइसकेका थिए । यस गुटमा पूर्वराजावादी, धनी पुँजीपति र लोभी नवधनाढ्यहरू पर्थे ।
अनुवाद : राजीव

Leave a Reply

Your email address will not be published. Required fields are marked *