भर्खरै :

किन चीनको खोप अन्तर्राष्ट्रवाद पश्चिमाहरूलाई बिझिरहेको छ ?

धनी देशहरूले कोभिड–१९ विरुद्धको खोप थुपारिरहँदा चीनले सङ्कटमा परेका विश्वका विकासशील देशहरूलाई खोपको रूपमा जीवनरेखा उपलब्ध गराइरहेको छ । तर, पश्चिमा राजनीतिज्ञहरू मात्र नभई औषधी निर्माता उद्योगहरूसमेत पश्चिमाहरूको नवउपनिवेशवादी खोप राष्ट्रवादमा फसेका छन् । त्यसैले चीन आफ्नो राम्रो प्रयासलाई ढाकछोप गर्ने आवश्यकता नै देख्दैन ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वले यतिखेर ‘सबैभन्दा ठूलो नैतिक परीक्षा’ को सामना गरिरहेको बताउनुभएको थियो । त्यस्तै विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अधानम घेब्रेयेससले ‘दुर्भाग्यपूर्ण नैतिक असफलता’ को चेतावनी दिनुभएको थियो र त्यसको मूल्य विश्वका गरिबत्तम देशका मानिसहरूको जीवनले चुकाउनुपर्ने बताउनुभएको थियो ।
कोभिड–१९ विरुद्धको खोप विश्वमा जुन असमानतापूर्ण तरिकाले वितरण भइरहेको छ, त्यसैलाई इङ्गित गर्दै ती अभिव्यक्ति आएका थिए । विकसित भनिएका धनी देशहरूको खोप राष्ट्रवादले गर्दा खोपको पहुँचको घेराबन्दी मात्र भएको छैन बरु गरिब देशका नागरिकहरूले लामो समयदेखि अपेक्षा गरिरहेको खोप पाएर सामान्य जनजीवनमा फर्कने आशालाई पनि मारिरहेका छन् । जनस्वास्थ्य क्षेत्रमा काम गरिरहेका संस्थाहरूका अनुसार केही देशहरूले कोभिड–१९ विरुद्धका खोप सन् २०२४ सम्ममा पनि नपाउन सक्ने चेतावनी दिएका छन् ।
खोप वितरणमा भेदभाव कायम छ र त्यसले एक वा अनेक तरिकाले उपनिवेशवाद, पुँजीवाद र जातिवादले योजना गरेका र कोरेका भूराजनीतिक सीमारेखाहरू कायम राख्ने र अझ गहिरो बनाउने भूमिका निर्वाह गरिरहेको छ । द पिपुल्स भ्याक्सिन अलायन्स (जनताको खोप गठबन्धन) को प्रतिवेदनअनुसार धनी देशहरूले आफ्नो कुल जनसङ्ख्यालाई आवश्यक खोपको तीन गुणाभन्दा बढी खरिद गरिसकेका छन् । क्यानाडाले त आफ्नो जनसङ्ख्याको पाँच गुणाभन्दा बढी खोप खरिद गरिसकेको छ । गएको मार्चसम्ममा संरा अमेरिकामा करोडौँ डोज अस्ट्राजेनेका खोप पुगिसकेको छ तर संरा अमेरिकाले आफ्नो देशमा प्रयोगको अनुमति पनि दिएको छैन भने अरू देशहरूलाई वितरण गर्नमा इच्छुक देखिएको छैन । घरेलु र बाह्य दबाबपछि बाइडेन प्रशासनले आफूसित भएका खोपमध्ये केही लाख डोज क्यानाडा र मेक्सिकोमा पठाउने घोषणा गरेको छ तर कहिलेसम्ममा पठाउने हो त्यो पनि निश्चित छैन ।
इजरायली सरकारी अधिकारीहरूले आफ्नो देशका आधाभन्दा बढी जनसङ्ख्यालाई एकैपटक पहिलो डोजको खोप दिइसकेको कुरा घमण्डका साथ खुलासा गरेका छन् तर आफूले घेराबन्दीमा राखेका प्यालेस्टाइनीहरूलाई खोप उपलब्ध गराउनमा भने कुनै चासो राखेका छैनन् । युरोपेली सङ्घले आफ्ना सङ्घ सदस्यबाहेक अरू देशलाई निर्यात गर्न रोक्ने विवादास्पद प्रतिबन्धको अवधि लम्ब्याएको छ । युरोपेली सङ्घको यो कदमले युरोपमा उत्पादित खोप विश्वका विकासशील देशहरूमा पुग्ने अवस्थालाई पूर्णतया ठप्प पारेको छ । यसैबीच दक्षिण अफ्रिका र युगान्डाजस्ता कोरोना महामारीबाट प्रताडित अफ्रिकी देशहरूले खोपको मूल्य युरोपेली सङ्घका देशहरूभन्दा दुईदेखि तीन गुणा बढी तिरेर खरिद गरिरहेका समाचार आएका छन् ।
मार्च २०२१ सम्ममा चीनले आफ्नो देशमा उत्पादित खोपमध्ये ४८ प्रतिशत सहयोग र निर्यातको रूपमा अरू देशहरूमा वितरण गरेको छ । चीनको ठीकविपरीत संरा अमेरिका र बेलायतले एक डोज खोप पनि अरू देशलाई दिएका छैनन् । धनी पुँजीवादी देशहरू आफ्ना लागि खोप थुपारिरहँदा चीन, रसिया र क्युवाले भने नितान्त फरक व्यवहारको माध्यमले खोप अन्तर्राष्ट्रवादको अभ्यास गरिरहेका छन् । अप्रिल ५, २०२१ का दिन चीनको विदेश मन्त्रालयले जनाएअनुसार चीनले ८० भन्दा बढी देशलाई खोप सहायता पु¥याइसकेको छ भने ४० भन्दा बढी देशमा खोप निर्यात गरेको छ । साइन्स एनालिटिक्स फर्म एरफिनिटीले जनाएअनुसार चीनले आफूले उत्पादन गरेकामध्ये ५० प्रतिशतभन्दा बढी खोप अन्य देशमा पठाइसकेको छ । त्यस्तै चीनले कोभिडविरुद्धको खोप अनुसन्धान, विकास र उत्पादनका लागि १० भन्दा बढी देशसित साझेदारी गरिसकेको छ । चीन र क्युवाको साझेदारीमा पनि एउटा खोप विकास र उत्पादन हुन गइरहेको छ ।
महत्वपूर्ण कुरा त चीनले उत्पादन गरेका खोप र खोपको साझेदारीले विश्वका कम आय भएका तथा धनी देशहरूको खोप थुपार्ने प्रतिस्पर्धाबाट प्रताडित बन्न पुगेका विकासशील देशहरूलाई आशाको नयाँ किरण देखाएको छ । चीनबाट सिनोफार्म खोपको २–२ लाख डोज सहयोगस्वरूप पाएका अफ्रिकी देशहरू जिम्बाब्वे र गिनिया गणतन्त्रले ती खोप अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीहरूलाई लगाइसकेपछि ती देशका स्वास्थ्यकर्मीहरू उच्च मनोबलका साथ कोरोना सङ्क्रमित र अन्य बिरामीहरूको उपचारमा खटिरहेका छन् । त्यस्तै संरा अमेरिकासित साझा सिमाना भएको देश मेक्सिकोले जो बाइडेनले अमेरिकाको राष्ट्रपति पद समालेको एक हप्तापछि नै खोप बाँडचुड नगर्ने बताएपछि खोप अभावको जटिल स्थितिसित जुझ्न चीनसित साइनोभ्याक खोपको २ करोड २० लाख डोजको निम्ति सम्झौता ग¥यो र त्यस देशले क्रमशः खोप अभियान अगाडि बढाइरहेको छ ।

 

संरा अमेरिका र त्यसका सङ्गाती देशहरूको प्रतिबन्ध र नाकाबन्दीले गर्दा विश्व बजारबाट अलग्ग हुन पुगेका धेरै देशमा समेत चिनियाँ खोप सहायताको रूपमा पुगिसकेको छ । मार्च २०२१ मै चीनले प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयलाई १ लाख डोज खोप उपलब्ध गराएर त्यहाँका ५० हजार स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूलाई कोरोना सङ्क्रमणबाट बचाउन सहयोग गरिसकेको छ । ती खोप इजरायलको खोप अभियानमा पर्न नसकेका गाजा र पश्चिम किनाराका प्यालेस्टाइनी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र ज्येष्ठ नागरिकहरूलाई दिइएको प्यालेस्टाइनी प्राधिकारले जनाएको छ ।
अमेरिकी प्रतिबन्धहरू र आर्थिक नाकाबन्दीका कारण भेनेजुयलाको अरबौँ अरब डलरको सम्पत्ति संरा अमेरिकालगायत विभिन्न देशमा फ्रिज भएको अवस्था छ । यस्तोमा चीनको महामारी सहायता परियोजनाअन्तर्गत ५ लाख डोज खोप पाएपछि भेनेजुयला सरकारमाथिको दबाब केही कम भएको छ । भेनेजुयलालाई रुसबाट ‘स्पुतनिक भी’ खोप पनि प्राप्त भइसकेको छ । हुन त प्राप्त खोप भेनेजुयलाको जनसङ्ख्याको हिसाबले कममात्र हो तर त्यसबाट महामारीको अवस्थामा अग्रपङ्क्तिमा रहेर खट्ने स्वास्थ्यकर्मीहरूको जीवन रक्षाका लागि ठूलो सहायता मिलेको भन्दै भेनेजुयाली राष्ट्रपति निकोलस माडुरोले चीन र रुसको सरकारप्रति कृतज्ञता जाहेर गरेका छन् । यसरी प्यालेस्टाइनदेखि भेनेजुयलासम्म कम आय भएका र पश्चिमा राष्ट्रहरूको प्रतिबन्ध र नाकाबन्दीले प्रताडित बनेका देशका जनतालाई महामारीको सामना गर्न चीनको खोप अन्तर्राष्ट्रवादले सहायता पु¥याइरहेको छ ।
विश्वव्यापी महामारीको सामना गर्न परिरहेको अवस्थामा संरा अमेरिका नेतृत्वको गठबन्धनले भने चीनविरुद्ध राजनीतिक षड्यन्त्रहरू रच्ने र चीनको खोप अन्तर्राष्ट्रवादलाई अनेक आरोप लगाई बदनाम गर्ने कुकृत्य गरिरहेको छ । चीनको खोप अन्तर्राष्ट्रवाद आपसी सहायता र ऐक्यबद्धताको दर्शनमा आधारित स्वाभाविक वृद्धि मात्र हो । चीनले निकै शीघ्र भाइरसको जेनोम सिक्वेन्सिङ ग¥यो र त्यसलाई तत्कालै विश्वका अनुसन्धानकर्ताहरूको सार्वजनिक पहुँचमा पु¥यायो । त्यसबाट सार्स–कोभ–दुई भाइरसविरुद्ध खोप विकास गर्न निकै ठूलो सहायता पुग्यो । चीनले हुपेइमा महामारी फैलिएपछि नै विश्वका सबैजसो देशहरूलाई त्यसबारे समयमै सजग गरायो साथै महामारी नियन्त्रणमा आइसकेपछि विश्वका दर्जनौँ देशका चिकित्सा प्रमण्डलहरू पठाएर त्यसबारे अवगत गराउने जिम्मेदारीपूर्ण कार्य ग¥यो । महामारीविरुद्ध चीनको सम्बोधन वैश्विक ऐक्यबद्धताको सामान्य आदर्शबाट निर्देशित रहेको स्पष्ट छ ।
चीनका राष्ट्राध्यक्ष तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनिफिङले मे २०२० मा चीनलाई कोभिड–१९ विरुद्धको खोपलाई वैश्विक सार्वजनिक वस्तु बनाउने प्रतिबद्धता जाहेर गर्ने पहिलो देश बनाउनुभयो । त्यसको स्पष्ट अर्थ चीनले कोरोनाविरुद्धको खोपलाई बिना कुनै पूर्वाग्रह र बिना कुनै पक्षपात जरुरी र आवश्यक भएका देशहरूलाई बिना शर्त दिने भयो । चीनले अहिले आफ्नो त्यही प्रतिबद्धतालाई व्यवहारमा उतारिरहेको छ । तर, कुनै पनि पश्चिमा देशले कोरोनाविरुद्धको खोप सबैलाई दिने वचन दिन सकेनन् । त्यसको ठीकविपरीत संरा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले त विश्व स्वास्थ्य सङ्गठनलाई दण्डित गर्ने नियतले त्यस सङ्गठनलाई संरा अमेरिकाले दिँदै आएको कोष अस्थायीरूपमा रोक्का गरे र स्थायीरूपमै रोक्ने धम्की दिए । विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूले चीनका स्वास्थ्य अधिकारीहरूसित जिम्मेवार ढङ्गले र समन्वयपूर्वक काम गरेको आधारमा संरा अमेरिकाले उक्त दण्डात्मक कदम चालेको थियो ।
चिनियाँ विदेशमन्त्री वाङ यीले पनि खोप ऐक्यबद्धतामा जोड दिइरहनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को बैठकलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङले आफ्ना समकक्षीहरूमाझ महामारीमाथि विजय पाउन ऐक्यबद्धता र आपसी सहयोग एउटैमात्र विकल्प रहेको बताउनुभएको थियो । वाङले भाइरसलाई राजनीतिकरण गर्ने र अरू देशमाथि हिलो छयाप्ने देशहरूको आलोचना गर्दै विश्वव्यापी खोप वितरणलाई विकासशील देशहरूले खरिद गर्न सकिने बनाउनुपर्नेमा जोड दिनुभएको थियो । चीनको आजसम्मको अभिलेखले चिनियाँ अधिकारीहरूद्वारा व्यक्त भनाइ वैश्विक महामारीलाई परास्त गर्ने ऐक्यबद्धतापूर्ण व्यवहारमा झल्किरहेको छ ।
संरा अमेरिकाको प्रभुत्वको विपरीत चीनको खोप अन्तर्राष्ट्रवाद बहुपक्षीय सहयोगको नमुना हो । तर, चीनको सदभावपूर्ण कार्यले पनि पश्चिमा सञ्चारमाध्यमको लगातार हमला सामना गर्न परिरहेको छ र पश्चिमा सञ्चारमाध्यमहरूले चीनको खोप अभियानलाई नै छायामा पर्नेगरी खोप सुरक्षित नरहेको, खोपको बदला स्रोतसाधन लिने आदि योजनाबद्ध झूटा प्रचार गरिरहेका छन् ।
नोभेम्बर २०२० मा वालस्ट्रिट जर्नलले लज्जास्पदरूपमा स्वघोषित समाचार लेख्यो – “अत्यन्त खतरनाक साइडइफेक्ट देखिएपछि ब्राजिलले साइनोभ्याकको परीक्षण स्थगित ग¥यो ।” ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति र ट्रम्पका मित्र जायर बोल्सोनारोले पनि सोही घटनालाई आफ्नो विजयका रूपमा घोषणा गर्ने तयारी गरिसकेका थिए । सामान्य अवलोकनकर्ताहरूले एक व्यक्तिको मृत्युलाई लिएर चिनियाँ खोपमा गम्भीर स्वास्थ्य सुरक्षाको विषय गाँसिएको बताएका थिए तर गम्भीर अध्ययनले वास्तविक तथ्य सामुन्ने आयो – खोप परीक्षणमा भाग लिएका ती व्यक्तिको मृत्युको कारण विषसेवन थियो अर्थात् तिनीहरूले आत्महत्या गरेका थिए ।
त्यस्तै किसिमको दुष्प्रचार जनवरी २०२१ मा पनि गरियो । पश्चिमा सञ्चारमाध्यमहरूमा समाचारको हेडलाइन बन्यो– ‘सिनोफर्म खोपको परीक्षणकाबीच एक पेरुभियाली स्वयम्सेवकको मृत्यु ।’ खोपमाथि दोषारोपण गर्ने उक्त हेडलाइनमुनिको समाचारमा कोभिड–१९ को जटिलताका कारण मृत्यु भएका ती व्यक्तिले भ्याक्सिन भने लिन पाएका थिएनन् र उनलाई खोप नभई प्लाज्मामात्र प्रदान गरिएको थियो ।
एकपछि अर्को अध्ययनहरूले चिनियाँ र रुसी खोपहरू प्रभावकारी रहेको पुष्टि भएपछि पश्चिमा सञ्चारमाध्यमहरूले खोप सहायता र निर्यातलाई खोप कूटनीतिको खतरनाक रूप भनी चित्रण गरे । ह्युमन राइट्स वाच नामक संस्थाले चिनियाँ निर्मित खोपको अनुसन्धान र विकासमा नै षड्यन्त्रको सिद्धान्त घुसाएर मूर्खतापूर्ण ढङ्गले चीनको खोप सहायतालाई खतरनाक खेल भनी वर्णन ग¥यो ।
द न्युयोर्क टाइम्सले चीन सरकारले आफ्नो देशमा निर्मित खोपहरू अत्यधिक निर्यात गरेर आफ्नो अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्न खोजेको दावी गर्दै के चीनले कोभिड–१९ विरुद्ध धेरै राम्रो काम गरेको छ र ? भनी प्रश्न गरेको छ । त्यस्तै पश्चिमा सञ्चारमाध्यममा समाचार शीर्षकहरू देखियो – ‘खोप कूटनीतिमा विजयी हुँदै चीन’, ‘चीनको खोप सहायतापछाडिको स्वार्थ, चीनको खोप सहायता कि अन्तर्राष्ट्रिय प्रभाव विस्तार’ आदि इत्यादि । ती समाचारले पश्चिमा राजनीतिक पण्डितहरूको विकासशील देशका जनताको जीवनलाई शून्य योग खेलको प्यादाका रूपमा हेर्ने दृष्टिकोणलाई उदाङ्गो पारेको छ । शून्य योग खेलले आजसम्म पश्चिमा प्रभुत्वको स्वार्थलाई प्रवद्र्धन गरेको छ ।
केही विश्लेषकहरू चिनियाँ खोपविरुद्धको भेदभाव भूराजनीतिक स्वार्थ र वैज्ञानिक विशेषज्ञतामा जातिवादी प्रभुत्वको धारणा दुवै रहेको मान्छन् । भारत, ब्राजिल र दक्षिण अफ्रिकामा चिकित्सा पहुँचको समन्वय गर्ने आक्सेस÷बीएसए परियोजनाका संयोजक अचल प्रभला भन्नुहुन्छ – “पश्चिम गोलाद्र्धमात्र नभई पूरै विश्व यस्तो धारणा राख्ने गर्छ कि महामारीको समयमा उपयोगी विज्ञान पश्चिम गोलाद्र्धबाहेकका स्थानबाट सायदै मात्र आउन सक्छ ।” तर, उहाँ निम्न र मध्यम आय भएका देशहरूका लागि चिनियाँ र भारतीय खोपको महत्व जीवनरेखा जत्तिकै भएकोमा जोड दिनुहुन्छ र दुवै खोपले विकसित र विकासशील देशहरूबीच रहेको खोपको आपूर्तिको खाडललाई पुर्ने काम गरिरहेको तथा पश्चिमा औषधी निर्माता उद्योगहरूसित मोलतोलका लागि उपयोगी लठ्ठी बनिरहेको मान्नुहुन्छ ।

अनुवाद: प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *