भर्खरै :

अस्पतालको कमजोरीको कारण अक्सिजन सकिँदा कोरोना सङ्क्रमितको निधन

भक्तपुुर, २४ वैशाख । भक्तपुरको कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा बिहीबार राति अस्पतालको कमजोरीका कारण दुई जना कोभिड–१९ सङ्क्रमितको निधन भएको छ । अस्पतालको अक्सिजन प्रणालीमा अक्सिजन आपूर्ति बन्द भएपछि सघन उपचार कक्षमा उपचाररत भक्तपुर नपा वडा नं ९ का ४९ वर्षीय एक पुरुष र पोखराका ६० वर्षीय पुरुषको निधन भएको हो । अक्सिजन सकिएपछि अस्पतालले सघन उपचार कक्षमा उपचाररत अन्य बा¥ह जना गम्भीर बिरामीलाई पनि तत्काल अन्यत्र अस्पतालमा पठाएको थियो ।
“रातको ८ बजेतिर नै अक्सिजन सकिएको हुनुपर्छ । सघन उपचार कक्षमा बिरामीको उपचारमा रहेका स्वास्थ्यकर्मीले बिरामीलाई दिँदै गरेको अक्सिजनमा कमी आएपछि मात्र अक्सिजन सकिएको चाल पाएका थिए । तर, त्यतिञ्जेल एकजना बिरामीको निधन भइसकेको थियो । अस्पतालले त्यसपछि मात्र अन्य बिरामीका आफन्तलाई अन्यत्र अस्पताल जान भनेका थिए”, मृतकमध्येका एक आफन्तले भने ।
अस्पतालले अचानक बिरामीलाई अन्यत्र लान भनेपछि बिरामीका आफन्तमा रुवाबासी चलेको थियो । कोभिड–१९ को बढ्दो सङ्क्रमणको कारण उपत्यकाका अन्य अस्पतालका सघन उपचार कक्ष पनि भरिभराउ छन् । कोभिडका गम्भीर बिरामीलाई अन्यत्र अस्पतालमा लाने क्रममा पोखरा निवासी पुरुषको निधन भएको थियो । अन्य बिरामीले पनि हारगुहार गरेपछि बिरामी अन्यत्र सारिएको थियो ।
बिहीबारको सो घटनाबारे शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीको अध्यक्षतमा बसेको अस्पताल र पीडित पक्षबीचको बैठकमा अस्पतालका प्रतिनिधिहरूले आफ्नो गल्ती स्वीकारेका छन् । बैठकमा अस्पतालका निर्देशक डा. राम श्रेष्ठले ‘भक्तपुर इन्टरनेसनल अस्पतालमा वैशाख २३ गते राति अस्पतालको कमजोरीको कारण बिरामीको निधन भएकोमा अस्पताल प्रशासनको तर्फबाट गल्ती भएको स्वीकार गरेका छन् ।
बैठकले अस्पतालमा भएको सो घटनाको आवश्यक छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्ने निर्णय गरेको छ । बैठकमा भक्तपुर नपा वडा नं ८ का वडाध्यक्ष महेन्द्र खायमली, वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वलगायत अस्पताल र पीडित पक्षका प्रतिनिधिहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *