भर्खरै :

बुटवलमा निषेधाज्ञामा थप कडाइ

बुटवल, २४ वैशाख । वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरे पनि रुपन्देहीका कोभिड–१९ सङ्क्रमितहरूको सङ्ख्या दैनिकरूपमा बढ्दै गएपछि शुक्रबारदेखि जिल्ला प्रशासन रुपन्देहीले निषेधाज्ञालाई थप कडा बनाएको छ ।
बिहीबार बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १६ गतेदेखि लागु गरिएको सूचनाबाहेक थप कडाइ गर्ने निर्णय गरेको हो । निर्णयअनुसार अत्यावश्यक र मानवीय सेवा प्रवाहका लागि बैङ्क तथा वित्तीय संस्थाहरूले एक एक जना प्राविधिक जनशक्तिमार्फत सेवा प्रवाह गर्ने, कार्यस्थलमै क्वारेन्टिन भएकोमा बाहेक सबै पूर्वाधार एवम् विकास निर्माण रोक्ने, खाद्यान र अत्यावश्यक सामग्री उत्पादन गर्नेबाहेक उद्योग र निर्माण सामग्रीको ढुवानी बन्द गर्ने तथा हरियो तरकारी कृषि एम्बुलेन्समार्फत उपभोक्ताबीच पु¥याउने भएको छ । यसअघि निषेधाज्ञा भए पनि निजी तथा सार्वजनिक निर्माण कार्य निर्वाध सञ्चालन भइरहेको थियो । निषेधाज्ञा थप कडाइ बनाउँदा निर्माण क्षेत्रमा दैनिक ज्यालादारी मजदुरी गर्ने मजदुरहरूको समेत जीविकोपार्जन थप कष्टकर बनेको छ ।
रुपन्देहीमा बिहीबार १ हजार ६९ जना र शुक्रबार ७३० जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयको नियमित बुलेटिनमा जनाइएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सक्रिय सङ्क्रमित धेरै छन् । ४ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित होम आइसोलेसनमा बसिरहेका छन् । अस्पतालहरूका बेड भरिभराउ भएपछि गल्लीहरूमा पनि अक्सिजन दिई बिरामीको उपचार भइरहेको छ । तर, होम आइसोलेसनमा बसेका बिरामीहरूलाई अक्सिजनको अभावमा अस्पतालहरूमा भर्ना नलिँदा बिरामीहरू अस्पतालको प्राङ्गणमा एम्बुलेन्समै भकाभक मर्न थालेका छन् ।
शुक्रबार बिहान तिलोत्तमा नगरपालिकाको आइसोलेसनमा बसेका बिरामीको लागि थप उपचार गर्न रिफर गरेपछि कुनै पनि अस्पतालमा शय्या नपाएर एम्बुलेन्समै मृत्यु भएको छ । बिरामीलाई लुम्बिनी प्रादेशिक अस्पताल, क्रियसन अस्पताल र भिम अस्पताल हुँदै भैरहवास्थित मेडिकल कलेज पु¥याउँदा पनि अस्पतालमा शय्या नपाएर बिनाउपचार मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । रुपन्देहीमा सर्वसाधारण बिरामीमात्र होइन, स्थानीय जनप्रतिनिधिहरू नै अस्पतालमा शय्या नपाएर मार्न थालेका छन् । गएराती बुटवल उपमहानगरपालिका–७ का वडा सदस्य नविन थापको शय्या खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको छ । एमालेका वडाध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि सङ्क्रमित भएपछि आफै अस्पताल जाँदा पनि बेड नपाएर घरमै अक्सिजनसहित होम आइसोलेसनमा बसेका थिए ।
लुम्बिनी प्रदेशको मुकाम बुटवल, रुपन्देहीमै अक्सिजन र बेड नपाएर कोभिड–१९ का सङ्क्रमित बिरामीहरू भकाभक मर्न थाल्दा पनि मुख्यमन्त्री शङ्कर पोखरेल सामाजिक सञ्जालमा राजनीतिक टिप्पणी गर्न व्यस्त छन् । पार्टीको आन्तरिक मामिला फेसबुकमा पोस्ट गर्दै बसेका मुख्यमन्त्रीको चौतर्फी आलोचना भएपछि उनले शुक्रबार मध्याह्न फेसबुकमा ‘लुम्बिनी प्रदेशका सबै प्लान्टबाट नियमितरूपमा अक्सिजन उत्पादन हुँदै छ । बन्द रहेको अक्सिजन प्लान्ट पनि सुचारु भो । भारतबाट लिक्विड अक्सिजन आउन थालेको छ ।’ पोस्ट गरेका छन् । तर, मुख्यमन्त्रीको आशालाग्दो पोस्टलाई बुटवलकै यथार्थ धरातलले गिज्याइरहेको छ ।
प्रदेशकै ठुलो लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले आफ्नो पीडालाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्, “दिन हो कि रात हो दुई दिनयता थाहा छैन, अक्सिजन खोज्दाखोज्दै आफै थला पर्न लागिसकेँ ।” डा. खनालले अस्पतालको गम्भीर अवस्थाबारे अर्को पोस्टमा लेखेका छन्, “फेरि उही कुरा ¤ मध्यरातमा डा. नन्दु पाठक र डा. राजेन्द्र खनाल अक्सिजन खोज्न हिँडेपछि हालत के होला ? बिरामीहरूको अवस्थालाई टुलुटुलु हेरेर नर्स र डाक्टरले केही गर्न नसकिने यो कस्तो विवशता ¤ अब त एकोहोरो टोलाउन मात्र बाँकी छ ।”
अस्पतालको नेतृत्व गरिरहेका डाक्टरहरूको गम्भीर चेतावनीयुक्त पीडा सार्वजनिक हुँदा पनि शासक दलका नेताहरू कुर्सी झगडामै सीमित भइराख्दा संवेदनशील समुदाय आक्रोशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *