भर्खरै :

“अर्हत” ३८ लाई सरसर्ती हेर्दा

खराब विचार भएको शासक तथा व्यक्तिहरूको मनभित्र निहित स्वार्थ लुकेको हुन्छ । उनीहरू जनताको भलो र कल्याण चाहँदैनन् । आजसम्म यसै प्रथाले निरन्तरता पाइरहेको अनुभव ‘बौद्ध दर्शन अध्ययन समाज’ ले पनि गर्दै छ । सवालाख वर्ष नाघिसक्यो, आजसम्म अधिकांश जनताले सुखको अनुभूति पाएका छैनन् । त्यसैले ‘भवतु सब्ब मङ्गल’ भनी बुद्धले कामना गर्नुभयो । बुद्धभन्दा एक पुस्तापछाडि जन्मनुभएका कार्ल माक्र्सले औद्योगीकरण भइसकेका देशहरूमा पनि व्यापक जनता कष्टसाध्य जीवन बिताउन बाध्य भएको हुनाले ‘विश्वका मजदुर एक हौँ’ नारा अगाडि सार्नुभयो ।
बुद्ध र माक्र्सको समयमा उब्जेको दर्शन र विचार आजसम्म सान्दर्भिक लागेको हुनाले ती फुलिरहेका छन्, विश्वमै फैलिरहेका छन् । अहर्तले धर्मको नाउँमा होइन व्यापक जनताको हितको निम्ति काम गरिराखेको अब कसैबाट छिपेको छैन । वर्ष ८ अङ्क ३ र ४ को अर्हतको संयुक्ताङ्कले यही दर्शाउँछ । स्वयम्भूको सुन्दर डाँडाको आवरणचित्रले सजिएको यो अङ्क पाठकहरूको निम्ति मनमोहक र आकर्षक देखिन्छ ।
हाम्रा संस्कारहरू जीवनको आवश्यकता एवम् अवस्थानुसार हुने भएकोले समाजमा त्यसको ठूलो महत्व रहेको छ । तर, संस्कारहरूमा केही रूढीवादीहरूको अन्धविश्वास सम्मिलित हुनसक्ने भएकोले त्यस्तालाई संस्कार नभनी कुसंस्कार भन्न उचित हुने तर्क दिँदै कुसंस्कारबाट बचाउनु सुसंस्कारलाई उपयोग गर्नु ठूलो महत्वको कुरा हुनेबारे ‘बौद्ध जीवन–चर्या पद्धति’ मा भिक्षु अश्वघोषले चर्चा गर्नुभएको छ । लेखमा मानिसको जन्मदेखि मृत्यु नहुन्जेलसम्म विभिन्न देशमा गरिने संस्कारहरूको सान्दर्भिकताबारे वर्णन गरिएको छ । लेखमा बुद्ध धर्मअनुसार कसैको मृत्यु हुनुभन्दा पहिले पुण्य कर्म गर्नु र गराउनु धेरै राम्रो हुन्छ, प्राण त्याग गरेपछि पुण्य गरेको फल उसलाई प्राप्त हुनेबारे कहीँ कतै पुष्टि नभएको प्रस्ट पारिएको छ । बुद्ध धर्मअनुसार दिवङ्गतको पुण्यस्मृतिमा पुस्तक प्रकाशित गर्नु सबैभन्दा राम्रो श्राद्ध र पुण्य कार्य हो भनिएको छ ।
प्राणी हिंसाबाट बच्ने, चोरी नगर्ने, भ्रष्टाचार नगर्ने, व्यभिचार नगर्ने, झूटा कुरा नगर्ने र रक्सी आदि मादक पदार्थ सेवन नगर्ने पञ्चशीलको शिक्षाबाट उक्त लेख टुङ्ग्याइएको छ ।
नेपालभाषामा लेखिएको ‘अभय राजकुमार सूत्र’ मा बुद्ध र अभय राजकुमारबीचको शास्त्रार्थका व्यावहारिक कुरालाई अगाडि सारिएको छ । उक्त लेखमा यदि लाभदायक छ भने अप्रिय कुरा पनि गर्नुपर्छ भनी सङ्केत दिएको पाइन्छ । हुँदै नभएको, असत्य, व्यवहारमा प्रयोग नहुने, जुन कुरा अरूले मन पराएको हुँदैन त्यस्तो कुरा बोल्नु हुँदैन । भइसकेको, सत्य कुरा, अरूलाई काममा लगाउन सकिने भए पनि त्यस्ता कुरा कसैले नचाहे पनि अवस्थाअनुसार गर्नुपर्ने हुन्छ । त्यस्तै काममा प्रयोग नभएको असत्य कुरा अरूले मन पराएको भए पनि गर्नुहुन्न । भएगरेको सत्य कुरा अरूलाई पनि मन परेको र काममा प्रयोग गर्न सकिने भए त्यस्तो कुरा पनि बुद्धले गर्नुभयो । लेखमा सवाल–जवाफमा आफू विश्वस्त भएपछि खुशी भएर बुद्ध धर्मको सङ्घमा अभय राजकुमार पनि लागिपरेको घटना वर्णन गरिएको छ ।
नेपालभाषामा लेखिएको अर्को लेख ‘बुद्धको जीवनीसित परिचित व्यक्तिहरू’ मा विभिन्न व्यक्तिहरूको छोटो परिचयसहित सूची तयार पारिएको छ । त्यस्तै यसमा सुगत–सौरभ महाकाव्य ‘यशोधरा’ को बाँकी अंश प्रकाशित भएको छ भने बौद्ध साहित्य लेखक रत्नसुन्दर शाक्यद्वारा लिखित इटालीका एक प्रसिद्ध भिक्षु ऊ. लोकनाथ महास्थवीरको सङ्क्षिप्त जीवनी पनि समावेश गरिएको छ ।
विष्णुगोपाल कुसीले भिक्षु अश्वघोषको ‘असल शिक्षा– भाग ११’ को समीक्षा गरी पुस्तिकाको सारांश खिच्नुभएको छ । धर्म प्रचारक र सफल विद्वानमा हुनुपर्ने गुणको चर्चा गर्दै जात होइन बानी–व्यवहार चाहिन्छ, कलङ्कित दुर्जन, खराब आचरणका व्यक्तिहरूले राम्रो या सही कुराको प्रचार नगर्ने बताउनुभएको छ । बुद्धि र विचार थाती राखेर काम गर्दा उद्देश्य प्राप्त हुँदैन, समाजको स्वरूप बदल्न देश र जनताप्रति जिम्मेवार भएर इमानदारीपूर्वक र निःस्वार्थपूर्वक काम गर्नुपर्छ, छलकपट गरेर आ–आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न गरिएको कामले मनमा शान्ती नहुनेबारे उहाँले आफ्नो धारणा प्रस्तुत गर्नुभएको छ । त्यस्तै असल जीवन त्याग, तपस्या, होम, यज्ञ गरेर प्राप्त हुने होइन, जीवनका लागि आधारभूत आवश्यकताहरू पूर्ति गर्न श्रम गर्नुपर्दछ, आत्मनिर्भर भएपछि अरूको भरमा बस्नु पर्दैन, जीवन सुखमय बनाउने नाममा पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउने काम कदापि सही होइन, त्यस्ता पात्रहरूलाई जनताले मन पराउँदैन, उनीहरू घृणाका पात्र बन्छन् । पुस्तकको समीक्षाकै क्रममा लेखक कुसी लेख्नुहुन्छ, “पढे–लेख्दैमा सबै विद्वान हुँदैनन् । साँच्चिकैका विद्वानहरू सबै देशमा पुजिन्छन् । बुद्धको मैत्री शिक्षा सबैले आत्मसात् नगर्दा आज जताततै कुकर्म गर्न थाले, एकले अर्कोलाई अविश्वास गर्न थाले । आ–आफ्नो खराब आचरण सुधार्नुको सट्टा खराब आचरण छोप्न अर्काे गल्ती गर्न थाले । गल्ती सुधार्ने हो, छोप्ने होइन ।” शासकहरू इमानदार र कर्तव्य परायण नहुँदा यो समस्या बढ्दै गएको हो । राजनीतिप्रति वितृष्णा बढ्नुको कारण पनि यही भएको ठोकुवा गर्नुहुन्छ लेखक कुसी ।
असल समाज बनाउन सज्जन दुर्जन हुने होइन बरु दुर्जन सज्जन हुनुपर्ने तर्क राख्दै ‘असल शिक्षा भाग – ११’ मा सङ्ग्रहित रचनाहरू छोटो, मीठो र सरल भएकोमा प्रकाशक भिक्षु अश्वघोषप्रति लेखक कुसीले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
‘सम्यक सन्देश’ बाट साभार गरिएको दीपक भेटवाल (दीपसागर) को लेखमा भिक्षु ज्ञानपूर्णिकको आदर्श, विचार, शिक्षा, ज्ञान, चेतना, प्रेरणा, सफलता र जीवनशैली समेटेर उहाँको छोटो जीवनीबारे चर्चा गरिएको छ ।
विलासिताले विकृति जन्माउँछ, विकृति बढ्दै गएपछि दलदलमा फस्न पुग्ने बीपीको भनाइ उल्लेख गर्दै भिक्षु ज्ञानपूर्णिकसँगको कुराकानी प्रस्तुत गरिएको छ । राजनीतिमा संस्कार र संस्कृति अनिवार्य हुने धारणा राख्दै ईश्वरको नाममा झूटलाई साँचो भन्नुपर्ने कुनै बाध्यता छैन, बाटो बिराएकालाई बाटो देखाउने, अँध्यारोमा बत्ती बालिदिने, उल्टिएको बुद्धिलाई सुल्टो पारिदिने र अनुशासन नै बुद्ध र बुद्ध धर्म भएकोबारे लेखले बढी महत्व दिएको छ ।
उक्त लेखमा ‘अर्हत’ शब्दको व्याख्या गर्दै राग, द्वेष र मोहजस्ता सबै विकाररूपी क्लेशहरू नास भएर पुनर्जन्मबाट मुक्त निर्वाण लाभको मार्गफल प्राप्त गरेकालाई ‘अर्हत’ भनिएकोबारे प्रस्ट पारिएको छ । अर्का बौद्ध धर्मका अनुयायी नगदेशका कृष्णकुमार प्रजापतिले लुम्बिनी र धम्मपदबारे आफ्नो लेखमार्फत चर्चा गर्नुभएको छ ।
त्यस्तै, तालाक्व दम्फोस्थित चैत्यको जीर्णोद्धार, बौद्ध परियति वक्ृतत्वकला प्रतियोगिता, मैत्रय युवा सङ्घको वार्षिक उत्सव कार्यक्रमजस्ता गतिविधिहरूको जानकारी सोही अङ्कमा दिइएको छ । अन्तमा, सुजखुद्वारा लिखित ‘कसको निम्ति कम्फरटेबल सरकार ?’ शीर्षकमा फरक विषय दिई सत्तामा जाने दलहरूको अस्वस्थ प्रतिस्पर्धाका कारण देशमा राजनीतिक अस्थिरता कायम भएको र जनताले दुःख भोग्नुपरेको चर्चा गरिएको छ । शासक दलका नेताहरूको पदलोलुप चरित्रका कारण अस्थिर बनेको नेपाललाई विस्तारवादी भारतले आफ्नो धारिलो नङ्ग्रामा अँठ्याउन खोजेको प्रस्ट पारिएको छ । संसद् विघटन र पुनःस्थापनामा ‘माओवादी’ र एमाले पार्टीभित्रको झगडा, भूमिकाहीन ‘सार्वभौम’ संसद्देखि प्रचण्डद्वारा भारतलाई कम्फरटेबल सरकार बनाउने घोषणासम्मका विषयहरू लेखमा उठाइएको छ । भारतसित खुला सीमाकै कारण कोरोनाको कहर दोस्रो लहरसम्म आइपुग्दा पनि सीमा नियन्त्रणका कुनै उपाय नखोजिनु, हालसम्म नेपालमा भएको राजनीतिक परिवर्तनले गरिब जनताको जनजीवनमा खास परिवर्तन आउन नसक्नु पुँजीवादी व्वयस्थाकै दोष ठह¥याई देश र जनतालाई घात गर्ने शोषक एवम् आपराधिक चरित्रका सीमित वर्गका विरूद्ध बहुजन हितायको बुद्ध नीतिलाई व्यवहारमा उतार्न वैज्ञानिक समाजवादको खाँचोलाई औँल्याइएको छ । संसारमा दुःख छ, दुःखको कारण छ, दुःख निवारण गर्न सकिने बुद्धको नीतिलाई नेपालको वर्तमान तरल राजनीतिक अवस्थासँग तादात्म्य मिलाउने र बाटो पहिल्याउने काम उक्त छोटो आलेखले गरेको छ ।
कोभिड–१९ बाट ‘अर्हत’ पनि मर्माहत हुनपुगेको बारे वर्ष ८ अङ्क ३ र ४ को यस संयुक्त अङ्कले सम्पादकीयमा उल्लेख गरेको छ । संयुक्त अङ्क भएको हुनाले यो अङ्क अलि मोटो हुने अपेक्षा पाठक वर्गले गर्नु अस्वाभाविक होइन । तर, पनि यसको महत्व भने नघटेको यसभित्रका विषयवस्तुले दर्शाएकै छ । ‘बौद्ध दर्शन अध्ययन समाज’ को सहयोगार्थ प्रकाशित भइरहेको ‘अर्हत’ को आगामी नयाँ अङ्क बुद्ध जयन्तीकै अवसरमा पढ्न पाउने आशा एवम् विश्वास गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *