भर्खरै :

शासक दलका नेताहरूलाई धिक्कार !

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा थप ८ हजार ७ सय ७७ जना मानिस कोरोना सङ्क्रमित भएका छन् । राजधानीकै अस्पतालमा कोभिड बिरामीको लागि उपचार गर्न शय्या, अक्सिजन, अक्सिजन सिलिन्डरलगायत आधारभूत स्वास्थ्य सामग्रीको अभाव भइरहेको छ । राजधानीका ठुला सरकारी अस्पतालहरूमा शय्याको अभाव भएपछि अस्पताल परिसरमै बिरामीको उपचार भइरहेको छ । कतिपय निजी अस्पतालहरूले आफूसँग आवश्यक स्वास्थ्य सामग्री अपुग भएको भन्दै कोभिड बिरामीको उपचार नै रोकेका छन् । पहिलो लहरभन्दा फरक अहिलेको लहरमा नेपालका ग्रामीण क्षेत्रमा समेत सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । अनुसन्धान निकायहरूले नेपालको सङ्क्रमण दर भारतको भन्दा तीव्र भएको बताइरहेका छन् । नेपालको अहिलेको अवस्था एक प्रकारले युद्धकै अवस्था हो । हामी अदृश्य भाइरससँग भीषण लडाइँ लडिरहेका छौँ । यस्तो परिस्थितिमा सरकारले आफ्ना सबै संरचना, जनशक्ति र क्षमता कोरोना रोकथाममा लगाउनुपर्ने हो । विडम्बना ¤ नेपाल सरकारका प्रधानमन्त्रीदेखि सत्तासीन राजनीतिक दल र अन्य शासक दलहरू यो बेला सत्ता राजनीतिको खेलमा व्यस्त छन् । महामारी रोकथामको लागि सरकारले घोषणा गरेको निषेधाज्ञा उल्लङ्घन गर्दै नेताहरू बैठकमा दौडादौड गरिरहेका छन् । नेताहरू एकअर्काका घर–घर चहार्दै छन् । जनतालाई घरबाहिर नआउन सूचना गर्ने सरकार र शासक दलहरू आफै एकपछि अर्को बैठक बस्ने र कार्यकर्ता एवम् पत्रकारहरूको भीड जम्मा गर्ने गल्ती गरिरहेका छन् ।
अक्सिजन नपाएर बिरामी कोठामै मरिरहेको अवस्थामा देशलाई समृद्धि र विकासको बाटोमा लाने प्रतिबद्धता व्यक्त गरेका र ‘जनताको सेवा गर्ने’ लक्ष्य बोकेर राजनीतिमा होमिएका नेताहरू किन जनताको समस्यालाई बेवास्ता गर्दै छन् ? जनताले भोगिरहेको समस्याबारे एक शब्द नबोल्ने सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूको यतिबेलाको दौडादौड अशोभनीय र उदेकलाग्दो छ ।
छिमेकी देश भारतमा मार्च महिनाबाट नै दोस्रो लहरले व्यापकता लिइसकेको थियो । तर, भारतको राजनीतिक नेतृत्व र दलहरूले बेवास्ता गर्दै लापरबाहीपूर्ण व्यवहार गर्दा अहिले महामारी अनियन्त्रित बनेको छ । दैनिक लाखौँ मानिस सङ्क्रमित भइरहेका छन् । सङ्क्रमणको लहर गाउँ–गाउँसम्म पुगिसकेको छ । नेपालको अवस्था भारतको अवस्थासँग मिल्दोजुल्दो छ । नेपालका शासक दलहरूले पनि जनताको स्वास्थ्यलाई भन्दा सत्तालाई जोड दिँदा कोरोनाको कहर अझ भयावह बन्दै गएको छ । न अक्सिजन छ न अक्सिजन सिलिन्डर । न अस्पतालमा शय्या छ न जनशक्ति नै पुग्दो छ । महामारीको चपेटामा परेका जनताले राज्यको उपस्थिति कतै अनुभव गर्न सकिरहेको छैन । नागरिकले यो आपत्को बेला आफू निरीह अनुभव गरिरहेका छन् । कोभिडको लहर यो पहिलो होइन । यसअघि पनि नेपालले कोभिडको कहर भोगिसकेको थियो । अघिल्लो लहरको अनुभवको आधारमा सरकारले किन दोस्रो लहर रोक्न केही तयारी गरेन ? सरकारले सस्तो लोकप्रियताको लागि देशभरिका सबै स्थानीय तहमा अस्पताल शिलान्यास ग¥यो । तर, अहिले सङ्कटको बेला सरकारी अस्पतालमा रहेका भेन्टिलेर र अन्य चिकित्सकीय सामग्रीसमेत सद्दे अवस्था देखिएन । न त राज्यले सबै अस्पतालमा पुग्दो स्वास्थ्य जनशक्तिकै व्यवस्था गर्न सक्यो । विपद्को बेला कति क्षति मानिस र राज्यको वशभन्दा परको हुने गर्छ । तर, पूर्वतयारी र व्यवस्थापन गर्न सके धेरै क्षतिबाट जोगिन सक्छौँ । अहिले कोभिडको कारण भइरहेको अधिकांश क्षति रोक्न सकिने खालको थियो । राज्यको गैरजिम्मेवारीकै कारण आज जनताले यो अवस्था भोग्नु परेको हो ।
शासक दलका नेताहरू यतिबेला जनताको दुःखमा मल्लम दल्न अस्पताल–अस्पताल पुग्नुपर्ने थियो । विडम्बना ! आज उनीहरू सत्ताको लागि आपसी असभ्य झगडा गरिरहेका छन् । जनताको दुःखमा पीडाबोध नगर्ने शासकहरूप्रति धिक्कार छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *