इरान युद्ध बन्न सक्छ पेट्रोडलरमाथि अर्को धक्का
- जेष्ठ १, २०८३
यतिबेला देशमा चलिरहेका लुट, कमिसनतन्त्र र जनहितको उपेक्षाजस्ता कर्तुतहरूले गर्दा कथित राजनीतिक दल / नेता भनाउँदाहरूप्रति व्यापक जनआक्रोश र विरोध त छँदै छ । त्यससँगै देशमा राजनीति नामको अनैतिकधन्दा चलाउनेहरूका कारण तिनीहरूले धारण गरेको राजनीतिक विचारप्रति पनि जनतामाझ तीव्र घृणा र वितृष्णा पैदा भइरहेको छ । जुन निकै नै खतरनाक सङ्केत हो ।
यसक्रममा देशमा एकथरी कम्युनिस्ट आवरणभित्रका सत्तालोलुप एवं लुटेराहरूका कारण जनतामाझ कम्युनिस्ट आदर्शप्रति वितृष्णा बढेको देखिन्छ । हिजोसम्म संसद्वादलाई गन्हाउने आहालको रूपमा व्याख्या गर्दै देशमा जनसत्ता स्थापनाको नाउँमा आलोपालो हतियार युद्ध गर्नेहरू यतिबेला सोही आहालमा डुबेर राष्ट्रिय ब्रह्मलुटका निम्ति नाङ्गो सत्तासङ्घर्षमा लागेको देख्दा जनता वाक्कदिक्क बनेका त छँदै थिए । त्यसमाथि देशमा पुनः कोरोना प्रकोप बढिरहँदा पनि जनहितको लागि केही कार्य गर्नुको सट्टा उल्टै सत्ता सङ्घर्ष र कमिसनकै नग्न खेलमा लागेको देख्दा जनतामाझ कम्युनिस्ट भनाउँदाहरू साँच्चिकै कम्युनिस्ट रहेनछन् भन्ने धारणा बन्न पुगेको देखिन्छ ।
यसैक्रममा हिजोसम्म कम्युनिस्टको विरोध गर्ने आधार नपाएर कम्युनिस्ट सत्ता आयो भने देशमा निरङ्कुशता कायम हुन पुग्दछ, व्यक्तिको सम्पत्तिमात्र नभएर श्रीमतीसम्म साझा हुन पुग्दछन्, बुढाबुढी हने बित्तिकै तीनको हत्या गरिन्छ भन्ने घटिया प्रचारबाजी गर्ने कथित प्रजातन्त्रवादीहरूले पुरानो राग फेर्दै कथित कम्युनिस्ट नामधारी लुटेराहरूको सत्तासङ्घर्ष र कमिसनको घृणित खेललाई लक्षित गर्दै देख्यौ त कम्युनिस्ट भनेका कतिबिघ्न सत्तालोलुप र भ्रष्ट हुँदारहेछन् ? भनी जनतामाझ नयाँ प्रचारबाजी गरिरहेका छन् । यसो भनिरहँदा तिनीहरूले यो सबै आफेलै बीजारोपण गरेको परिपाटीको परिणाम हो भन्ने कुरा बोध÷स्वीकार गरेको पाइँदैन ।
निश्चय पनि यतिबेला देशमा कम्युनिस्टको नाउँमा भ्रष्ट र फोहोरी राजनीति प्रदर्शित भइरहेको छ । यस कुरोमा विवाद गर्ने ठाउँ छैन । बरु, विवादको विषय, के यतिबेला देशमा स्थापित व्यवस्था कम्युनिस्ट हो ? के यतिबेला कम्युनिस्टको नाउँमा राष्ट्रिय ब्रह्मलुटमा सामेल हुने कुरोमा नाङ्गो र फोहोरी खेल खेल्ने पात्रहरू साँच्चिकै कम्युनिस्ट हुन् ? भन्ने कुरा हुनुपर्दछ ।
यो प्रस्ट छ, देशमा विदेशीहरूको योजनामा स्थापित अहिलेको व्यवस्था कुनै अर्थमा कम्युनिस्ट/ समाजवादी व्यवस्था होइन । स्पष्ट छ, यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रजस्ता विशेषतासहितको संसदीय व्यवस्था नै हो । यसमा संलग्न दल र पात्रहरू प्रजातन्त्र, समाजवाद / कम्युनिज्म, लोकतन्त्र जे जस्तो आवरण भिरेका भए तापनि संसद्वादीहरू नै हुन् । सोबाहेकको आवरण देखावटी हो । तर, विडम्बना ! के देख्न पाइन्छ भने ती पुँजीवादी प्रजातान्त्रिक र संसद्वादी जे भए पनि सामान्य संसदीय मूल्य र मान्यताबाट निर्देशित भएको पाइँदैन । तिनीहरूले कम्युनिस्ट विचारको मात्र नभएर संसदीय परिपाटीको बदनाम गरेका छन् । यो कुरा तिनको राजनीतिक आचरण र कार्यशैलीबाट प्रस्टिन्छ । यसर्थमा ती अरू केही नभएर राष्ट्रघाती, जनविरोधी लुटेराहरू हुन् । ती दलाल पुँजीवादी एजेन्टहरू हुन् । ती कुनै राजनीतिक आदर्श र दर्शन बोकेका पात्रहरू होइनन् । त्यसैले तिनको व्यवहार र कार्यशैलीलाई देखाएर कम्युनिस्ट विचारको विरोध गर्नु थप अनैतिक कुरो हुनजान्छ ।
नपत्याए हेरौँ न । जो निजी सम्पत्ति आर्जनको लागि सत्ता सङ्घर्षको खेलमा नाङ्गोरूपमा प्रकट हुन्छ, जो समाजको गरिखाने जनताको होइन, आफ्नो परिवार र लुटेरा दस्ताको हित संरक्षणमा प्रतिबद्ध छ, जो सामाजिक सामञ्जस्यतामा होइन, विग्रह मच्चाएर निहित राजनीतिक फाइदा लिने कुरोमा मात्र लागिपरेको छ, जो राष्ट्रिय स्वाभिमानको रक्षामा होइन, विदेशीको दलालीमा प्रतिबद्ध छ, जसले निर्माणमा होइन, ध्वंशमा विश्वास राख्दछ ऊ कसरी कम्युनिस्ट हुनसक्दछ ? त्यसैले यहाँ जे भइरहेको छ, त्यो कम्युनिस्ट विचार सँगै राष्ट्र एवं जनताको अवस्थालाई तहसनहस तुल्याउने हेतुले भइरहेको छ । त्यसैले यसरी विकृत संसदीय आहालमा डुबेकाहरू कुनै अर्थमा कम्युनिस्ट हुनसक्दैनन् । तिनको व्यवहार र कार्यशैलीलाई देखाएर कम्युनिस्टहरू यस्ता हुन्छन् भन्नु घोर आपत्तिजनक कुरो हो ।
अझ निजीकरण र बजारीकरणको नाउँमा देशको आर्थिक अवस्थालाई धरासयी तुल्याउनुका साथै देशलाई नव–औपनिवेशिक तहमा पु¥याउने काङ्ग्रेसीहरूले आफ्नै अनुयायीहरूका क्रियाकलापलाई प्रस्तुत गरेर कम्युनिस्ट आदर्शलाई बदनाम गर्न खोज्नु घटिया सोचबाहेक अरू केही हुनसक्दैन । काङ्गे्रसको यो आरोप कतिसम्म आधारहीन छ भन्ने कुरा उसले एकातर्फ छद्म कम्युनिस्टहरूको संसदीय राजनीतिप्रतिको प्रतिबद्धतालाई देखाउँदै संसद्वाद कम्युनिस्ट विचारभन्दा उपयुक्त रहेको दाबी गर्ने र अर्कातिर आफ्ना ती नै मतियारहरूको व्यवहारलाई उदाहरणको रूपमा प्रस्तुत गर्दै कम्युनिस्ट विचारलाई बदनाम गर्न खोज्ने द्वैध व्यवहारबाट प्रस्ट हुन आउँदछ । यदि काङ्ग्रेसले संसद्वादलाई उपयोगी विचार भएको प्रमाणित गर्ने भए आफूले संसदीय मान्यताको सही अवलम्बन गर्दै आफ्ना पिछलग्गूहरूलाई उदाहरण प्रस्तुत गर्नु पर्दैनथ्यो र ?
रह्यो कुरा देशमा कम्युनिस्टहरूको भूमिकाको । माथि नै चर्चा गरियो, कम्युनिज्म सत्ता र शक्तिलाई प्रयोग गरेर निजी, पारिवारिक एवं गुटगत स्वार्थसिद्धिपट्टि लाग्नेहरूको विचार र आदर्श होइन । यो सामूहिक हित र स्वार्थप्रेरित विचार हो । यो मानवीय दर्शन हो । चाहे सत्तामा पुगेर त्यसको दुरूपयोग गरेर होस् वा सत्ता बाहिर बसेरै सामूहिक स्वार्थको सट्टा सङ्कीर्ण स्वार्थमा लाग्ने कुरा होस्, दुवै खाले चिन्तन र व्यवहार कम्युनिज्मको श्रेणीमा पर्दैनन् । यो कुरा देशमा नानाथरी ब्रान्डका कम्युनिस्ट समूहहरूको व्यवहारबाट राम्रोसँग प्रदर्शित भइरहेको छ । तीनको कार्य आफ्नो समूहगत स्वार्थपूर्तिका लागि अर्कोलाई गाली गर्नेबाहेक अरू केही रहेको पाइँदैन । थप कुरा, हामीकहाँ सत्तामा जाने कम्युनिस्ट नामधारीहरूको कार्य विध्वंश र विग्रहबाहेक निर्माणको लागि हुने गरेको पाइँदैन । यसको पछाडिको मूल कारण राजनीतिलाई सेवाको रूपमा नभएर पेशाको रूपमा अवलम्बन गरिनु हो । अझ दुःखद कुरा, हामीकहाँ राजनीति लुटीखाने पेशा त हुँदै हो । यसले अन्य पेशाकर्मीलाई पेशागत धर्म निर्वाह गर्ने कुरोबाट बिचलित एवं वञ्चित गर्दछ । यो खाले चरित्र देशका पुँजीवादी÷समाजवादी, सत्तासीन÷विपक्षी (सत्ताबाट भत्ता खाने र सत्ता परका दुवै) सबै राजनीतिक पात्रहरूमा कायम रहेको पाइन्छ । तीबीच मात्रात्मकरूपमा भिन्नता पाउन सकिएला । गुणात्मक भिन्नता बिल्कुलै रहेको पाइँदैन ।
एक समयमा राजनीतिलाई उत्कृष्ट विज्ञानको रूपमा लिइन्थ्यो, तर हामीकहाँ राजनीति निकृष्ट अपराधको रूपमा परिणत हुन पुगेको छ । यसलाई सच्याउने दायित्व आफूलाई राजनीतिको उत्कृष्ट पात्र सम्झनेहरूको हो । यसको पहल विपक्षी दल (खासगरी सत्तास्वार्थको खेलमा संलग्न नभएका) बाट हुनुपर्दथ्यो । तर, अनौठो कुरा हामीकहाँ विपक्षी हुनु भनेकै विरोध र विध्वंश मच्चाउनुमात्र हो भन्ने मान्यताले घर गरेको छ । अन्यथा विचार गरौँ त, देशमा श्रृजित सङ्कट निवारणका लागि राजनीतिक दलका कार्यकर्ताहरूले स्वयंसेवकको भूमिका निर्वाह गर्नु उपयुक्त हुँदैनथ्यो र ! तर अफसोच, सरकार र सम्बद्ध दलका नेता कार्यकर्ताहरू राष्ट्रिय ब्रह्मलुटको प्रतिस्पर्धामा संलग्न रहे तापनि अन्य दलहरूको समेत वक्तव्यबाजीभन्दा बढी कुनै भूमिका रहेको पाइँदैन । यस किसिमको सोच र अवस्थामा सुधार नआएसम्म राजनीति फगत पेशा र आपराधिक नीतिभन्दा भिन्न रहनेछैन । त्यसैले यदि राजनीतिलाई पेशाको रूपमा होइन, सेवाको रूपमा मात्र लिइदिने सोचको विकास गर्ने हो भनेमात्र अहिलेको अवस्थामा सुधारको अपेक्षा गर्न सकिनेछ । त्यसो हुनसकेमात्र राजनीतिमा भ्रष्ट, कमिसनखोर, दलाल (विदेशीसमेत), तस्कर, माफिया र बिचौलियालगायतका आपराधिक तत्वहरूको सङ्ख्यामा कटौती हुन गई चिन्तन एवं व्यवहारमा उत्कृष्टहरूकै बाहुल्यता हुनपुग्नेछ । अनिमात्र राजनीति राज्य सञ्चालनको नीति हुनेछ । के हामीले अब यस दिशातर्फ सोच्ने र सोहीअनुरूप आचरण गर्ने बेला आएन र ?
(लेखक नेपाल ल क्याम्पसका पूर्वक्याम्पस प्रमुख हुनुहुन्छ ।)
Leave a Reply