भर्खरै :

सत्ता स्वार्थ र नेताहरूको मति भ्रष्ट

देशको राजनीति सत्ता स्वार्थले बिग्रेको छ । सरकारमा जाने र मन्त्री बन्ने लालसाले राजनीति गर्ने नेता, मन्त्री, सांसद र कार्यकर्ताहरूको मति बिग्रेको हो । राजनीति भनेकै जसरी भए पनि पदमा पुग्ने, सेवा सुविधा लिने या राजस्वमा दाइँ गर्ने सम्झिएको छ । सत्ता स्वार्थकै निम्ति अरू पार्टी फोड्ने, फुटाउने, अरू दलका नेता, सांसद, कार्यकर्ता तान्ने र पदको लोभ देखाएर आफ्नो हातमा लिने कार्यलाई सत्तासीन र अन्य ठुला दलले बढावा दिइरहेका छन् । यस्ता कुत्सित कार्यलाई नै ती दलका नेताहरू सफल राजनीति ठान्छन्, आफूलाई बहादुरी ठान्छन्, आफूले सही राजनीति गरेको मान्छन् । एमाले, नेका र जसपाको राजनीति यसैमा केन्द्रित देखिन्छ ।
ठुला दलका नेताहरू सबैले सरकारको नेतृत्व गरिसकेका छन् । ती दलको नेतृत्वमा अन्य दलहरू सरकारमा सामेल भइसकेका छन् । राप्रपा, जसपाजस्ता दलहरू सरकारमा सामेल भएकै हुन् । तर, पनि सरकारको नेतृत्व गर्ने र सरकारमा सामेल हुने ती दलका नेताहरूले सरकारमा रहेर कुनै मौलिक कार्य गर्न सकेनन् ।
वर्तमान सरकारको नेतृत्व गर्ने प्रम ओलीले केही गर्न सकेनन् भनी आलोचना र विरोध गर्ने दलका नेताहरूले पनि सरकारको नेतृत्व गरिसकेका छन् । पुष्पकमल दाहाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनालहरूले सरकारको नेतृत्व गरेर के नयाँ काम गरे ? नेकाका शेरबहादुर देउवा र सुशील कोइरालाले पनि सरकारको नेतृत्व गरे तर देशको मुहार फेर्न सकेका छैनन् ।
सरकारको नेतृत्व परिवर्तन हुँदैमा यहाँ केही हुनेवाला देखिँदैन । यो कुरा सरकार परिवर्तन गर्न चाहने दलका नेताहरूले पनि स्वीकारेकै हुन् । बहुमत प्राप्त गरेको आधारमा कुनै दलले सरकारको नेतृत्व गरिरहेकोमा के आश्चर्य ¤ त्यस कार्यमा अरूले किन टाउको दुखाउने ? यदि सरकारले देशघाती, जनविरोधी र देशलाई दूरगामी असर पार्ने सन्धि सम्झौता गर्न लागेको छ भने प्रमुख प्रतिपक्षदेखि अरू सबै दलहरू मिलेर सरकारको विरोध गर्नुपर्छ, पारित नगर्न खबरदारी गर्नुपर्छ र दबाब दिनुपर्छ । सरकारको नेतृत्व परिवर्तन गर्न चाहने नेका, जसपाजस्ता दलहरू किन एमसीसी पारित गर्न सरकारलाई पेल्छन् दबाब दिन्छन् ? के नयाँ सरकारले देशमा परिवर्तन गर्ला ? समाजवादउन्मुख राज्य बनाउला ? समाजवादउन्मुख राज्य बनाउन तद्नुसार सरकारको वार्षिक नीति तथा कार्यक्रम बनाउला ? बजेट तयार गर्ला ? त्यस्तो कुनै हुँदैन भने सरकारको नेतृत्व केका लागि बदल्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *