भर्खरै :

रणबहादुरका नयाँ संस्करण : आजका शासकहरू

नयाँ भेरियन्टसहितको दोस्रो कोरोना भाइरसको लहर नेपाललगायत धेरै देशहरूमा देखेको छ । दोस्रो लहरको भाइरस देखिन थालेको खबरले सरकार आवश्यक तयारीमा जुट्नुपर्ने थियो । विडम्बना ¤ सरकारमा गएका पार्टी आफ्नो सरकार बचाउमै लाग्यो ।
विभिन्न राष्ट्रिय सञ्चारमाध्यमहरू पनि प्रमको उद्घाटन कार्यक्रमकै बढी समाचार सम्प्रेषणमा लागिपरे । संसद सदस्यको जोड घटाउमै पार्टीहरू व्यस्त भए । यस्तो महामारीको बेला सरकार र प्रतिपक्ष जनताको जन–जीवनको ख्याल नगरी आफ्नो व्यक्तिगत तथा पार्टीको स्वार्थलाई प्राथमिकतामा राखेको देखेँ । मजदुरहरू आफ्नो जीवनलाई जोखिममा राखी दैनिक गुजारा बिताउन बाध्य छन् । स्वास्थ्यकर्मीहरूलाई कोरोना सङ्क्रमितलाई उपचार गर्न भ्याइनभ्याइ छ । व्यापारीहरू कोभिडकै मौका छोपी नाफा कमाउनतिर लागिपरेका छन् । किसान आफ्नो उत्पादन सस्तो मूल्यमा बेच्न बाध्य छन् । दिनप्रतिदिन कोरोनाको सङ्क्रमित बढ्दै छ ।
सञ्चारमाध्यमहरू “अस्पतालमा बेड नपाएर बिरामी गेट बाहिर मरिरहेका छन्” भनेर ठुला अक्षरमा समाचार छाप्छन् । सरकार भने कोही पनि उपचार नपाएर मर्ने छैन भनी ध्वाङ फुक्दै छ । विद्यार्थीहरू परीक्षा स्थगित भएकोले अन्योलमा छन् । सरकार विकास र समृद्धिको कुरा गर्दै छ ।
एम्बुलेन्स नपाएर मर्नु परेका सङ्क्रमितका आफन्तहरू नगरपालिकामा घेरा हाल्दै छन् । घर फर्किन नपाएर बाटोमै अल्झिएका मजदुरले देशमा सरकार नभएको कुरा राख्छन् । आफ्नो उत्पादनको उचित मूल्य नपाएका किसानहरू नेपाल कृषिप्रधान देश होइन कालाबजारिया र ठगहरूको देश भन्दै छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीहरू दिनरात खटिरहँदा पनि अस्पतालबाट शोषण भइरहेको बताउँछन् । विद्यार्थीहरू आफ्नो कोर्स समत्न्दा बढी लाग्ने चिन्ताले राजनीतिलाई हेर्ने दृष्टिकोण झनै नराम्रो भइसकेको छ । यसको जिम्मा लिने कसले ? सरकार ! प्रतिपक्ष या जनता स्वयम् !
भनिन्छ, समाज आफैमा एउटा सीसी क्यामेरा हो । यस क्यामेरामा सबै कुरा रेकर्डिङ्ग भइरहेको हुन्छ । संविधानमै उल्लेख छ कि देशको सार्वभौमसत्ता जनतामा निहित छ । आज रेकर्डिङ्ग भएका घटनाहरूको जनताले एकदिन यसको मूल्याङ्कन गर्नेछन् भन्ने लाग्दछ । कहिलेकाहीँ जनताको आक्रोश देख्दा आजै परिवर्तन होला भन्ने भान हुन जान्छ । यो भ्रममात्र हो, जबसम्म जनता वैचारिकरूपमा तयार हुँदैनन् यस्तै घटना दोहोरिरहन्छ ।
इतिहासमा बिफर रोगका कारण महामारी हुँदा राजा रणबहादुरले आफ्नो छोरालाई बचाउन जसरी उपत्यकाका जनतालाई दुःख दिएका थिए, आज गणतन्त्रसम्म आइपुग्दा पनि सत्ता र व्यक्तिगत स्वार्थको लागि लडाइँ गर्दै छन् । तसर्र्थ, जनता स्वयम् सचेत र सङ्गठित हुनुपर्ने आजको आवश्यकता हो । एकले अर्कालाई सहयोग गरौँ, सक्रिय रहौँ, सुरक्षित रहौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *