भर्खरै :

युवाहरू माक्र्सवादको अध्ययनमा लाग्नु जरुरी

विश्व सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको २०३ औँ जन्म दिवसको अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घ जिल्ला समिति भक्तपुरले मङ्गलबार अनलाइन प्रवचन कार्यक्रम ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले सन् १८४८ मा माक्र्स र एङ्गेल्सले कम्युनिस्ट घोषणापत्र लेख्नुभएपछि माक्र्सवादी दर्शन अघि बढेको उल्लेख गर्दै पुँजीवादको उत्थान, विकास र पतनको नियम नै माक्र्सवाद हो भन्नुभयो ।
काल्पनिक समाजवादीहरूले आदर्श समाजको परिकल्पना गरेअनुसार त्यस्तो समाज प्राप्त गर्ने उपाय बताउन नसकेको चर्चा गर्दै उहाँले माक्र्सवादले कामदार वर्गको सङ्गठित आन्दोलनबाट वैज्ञानिक समाजवादमा पुग्ने उपायबारे व्याख्या गरेको बताउनुभयो ।
नेपालमा कम्युनिस्ट दाबी गरेका एमाले, माले, माओवादी, राष्ट्रिय जनमोर्चाहरूले निर्वाचनलाई पुँजीवादी सरकारमा पुग्ने भ¥याङ बनाएको उल्लेख गर्दै माक्र्सवादको सृजनात्मक प्रयोगबारे सन् १९५६ मा चीन र रुसको कम्युनिष्ट पार्टीबीच ठुलो बहस भएको र माक्र्सवादी दर्शनबाट विचलित तत्कालीन सोभियत संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन भएको बताउनुभयो ।
प्रमुख अतिथि सुवालले नेपाल क्रान्तिकारी युवा सङ्घका सदस्यहरूले संसारका मजदुर, किसान र कम्युनिस्ट आन्दोलनको व्यवस्थित अध्ययन गरेर सङ्गठन विस्तार र सदस्यहरूको सांस्कृतिक एवम् राजनीतिक स्तरमाथि उठाउन लाग्नुपर्ने बताउनुभयो ।
“बेलायती साम्राज्यवादले भारतमा २०० वर्ष उपनिवेश चलायो । अहिले दक्षिण एशियामा भारतले बेलायती औपनिवेशिक मानसिकता लिएर प्रभाव पार्ने काम गरिरहेको छ । यसकारण, युवाहरूले अमेरिकी–युरोपेली साम्राज्यवाद र भारतीय विस्तारवादको डटेर विरोध गर्नु आवश्यक छ ।” उहाँले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी जिल्ला समिति भक्तपुरका अध्यक्ष न्हुछेभक्त फोजूले कार्ल माक्र्सको योगदानबारे चर्चा गर्दै शोषित पीडित जनतालाई राजनैतिक र सांस्कृतिकरूपले सचेत बनाउन पत्रपत्रिका प्रकाशन गरी अध्ययन गराउन आवश्यक रहेको बताउनुभयो ।
शासक दलले नेतृत्व गरेको स्थानीय तहमा विकासको नाउँमा भ्रष्टाचार भइरहेको उल्लेख गर्दै उहाँले युवाहरू भ्रष्टाचार नियन्त्रणको लागि लाग्नुपर्ने र प्रतिक्रियावादीहरूले युवाहरूलाई कुलतमा फसाएर बिगार्न खोजेको बारे पनि सचेत हुनु जरुरी रहेको बताउनुभयो ।
अध्यक्ष फोजूले केही दिनदेखि भक्तपुर दरबार क्षेत्रसँगै रहेको जिल्ला सदरमुकाम अन्यत्र सार्ने षड्यन्त्र भइरहेको बताउँदै जनभावनाविपरीत सरकारले सदरमुकाम सार्न जबरजस्ती गरे उक्त निर्णयविरुद्ध सङ्घर्ष गर्न युवाहरू तयार रहनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेक्रायुसङ्घ भजिसका रमेश वैद्यले कम्युनिस्ट घोषणापत्र र गोपालसुन्दर गोसाईले द्वन्द्वात्मक भौतिकवादबारे प्रस्तुती दिनुभयो । कार्यक्रममा संघका उपाध्यक्ष राजकुमार लघु र सचिव एचएस सुवालले पनि कार्लमाक्र्सको योगदानबारे चर्चा गर्नुभयो ।

One response to “युवाहरू माक्र्सवादको अध्ययनमा लाग्नु जरुरी”

  1. napit gomishdas says:

    कार्ल माक्र्स को किताब सम्म ठिक हो, तर एउटा दास महिलालाई शोषण र विभेद गरि उनीबाट जन्मिएको सन्तानलाई कार्ल माक्र्सले नस्वीकार्नु यो राम्रो लागेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *