भर्खरै :

भारतमा महामारीको कालोबजारः भुक्तभोगीको अनुभव

म प्रहरी गुप्तचर नभएको कुरा पक्का भएपछि त्यो मान्छेले मलाई फोनमा भन्यो, “म तपाईँलाई एक मात्राको भारु १५ हजारसम्ममा दिन सक्छु ।” कोभिड–१९ को उपचारको निम्ति व्यापकरूपमा प्रयोग हुने भाइरसप्रतिरोधी औषधि रेमडेसिभिर किन्न मैले फोन गरेको उनी पाँचौँ व्यक्ति थिए ।
कोरोना भाइरसको औषधि किन्न पनि कालाबजारीसँग सम्पर्क गर्नुपर्ला भनी मैले सपनामा पनि चिताएको थिइनँ । तर, भारतको पुणेस्थित अस्पतालमा मेरी आमा यो प्राणघातक रोगविरुद्ध लडिरहेकी थिइन् । म निकै आत्तिएकी थिएँ । मेरी आमाभन्दा म झन्डै १५० किलोमिटर पर मुम्बईमा छु । तथापि, आमाको उपचारको निम्ति खाँचो परेको औषधि व्यवस्था गर्ने दायित्व मेरै काँधमा भएको मलाई थाहा छ ।
मेरो सङ्कष्टको दिन अप्रिल ९ बाट सुरु भएको थियो । त्यो दिन मेरो भाइको जन्म दिन थियो । जन्म दिनको शुभकामना दिन मैले उनलाई फोन गरेकी थिएँ । तर, उताबाट निकै आत्तिएको जवाफ आयो ।
उनले भने, “भर्खरै परीक्षणको परिणाम आयो, आमालाई कोभिड–१९ पोजिटिभ आएको छ ।”
म छाँगाबाट खसेजस्तै भएँ ।
त्यत्तिबेला भारतमा भर्खरै कोभिड–१९ को सङ्कट आरम्भ भइरहेको थियो । सङ्क्रमितको सङ्ख्या दैनिक तेजगतिमा बढिरहेको थियो । अस्पतालहरूका शøया भरिभराउ भइसकेका थिए । अक्सिजन सिलिन्डरको त्यत्तिबेला नै अभाव भइसकेको थियो । कति जना त कोभिड–१९ सङ्क्रमण उपचारको लागि अति आवश्यक औषधि र उपचारको खोजीमा भौतारिरहेका थिए । सामाजिक सञ्जालमा साथी र चिनजानका मानिसहरू लगातार कोभिड–१९ सङ्क्रमणको कारण मृत्युवरण गरेका आफ्ना प्रियजनका वियोगपूर्ण कथा सुनाइरहेका थिए । कति जना निकै आत्तिएर सहयोगको लागि याचना गरिरहेका थिए ।
भाइको फोन राखेपछि मेरो शरीर काँप्न थाल्यो । मैले सकेसम्म चाँडो उनीहरूलाई भेट्न जाने निधो गरेँ ।
हामीले चिकित्सकलाई नियमितरूपमा सम्पर्क गरिरह्यौँ र आमाको अवस्था घरबाटै रेखदेख गर्न थाल्यौँ । हामीलाई उनले अस्पताल नलगेर नै भाइरसलाई पराजित गर्न सक्ने आशा थियो । तर, अप्रिल १२ मा उनको अक्सिजनको मात्रा निकै घट्यो र ज्वरो बढ्न थाल्यो । चिकित्सकहरूले हामीलाई आमाको अक्सिजनको मात्रा ९२ भन्दा कम भए अस्पतालमा तत्कालै भर्ना गर्नुपर्ने भनी सजग बनाए ।
आमाको अक्सिजन मात्रा ९० पुग्दा हामीले अस्पतालमा शøयाको खोजी थाल्यौँ ।
सौभाग्यवश हामीले तुलनात्मकरूपमा चाँडै अस्पतालमा एउटा शøया भेटाउन सफल भयौँ । तर, अस्पतालमा पनि कोभिड–१९ का बिरामीलाई दिइने अत्यावश्यक औषधिको अभाव भइसकेको थियो । त्यही भएर आमाको उपचारमा संलग्न चिकित्सकले हामीलाई आमाको पूर्ण र शीघ्र स्वास्थ्य लाभको निम्ति रेमडेसिभिर औषधिको ६ मात्रा व्यवस्था गर्न भने ।
रेमडेसिभिर औषधि पुणेमा मात्र होइन, भारतभरि नै पाउन गाह«ो भइसकेको थियो । भारतलाई ‘संसारकै औषधि पसल’ भने तापनि हरेक दिन दसौँ हजार सङ्क्रमित थपिएको र अस्पताल भर्ना भइरहेको अवस्थामा उत्पादकहरू पनि कोभिड–१९ उपचारमा प्रयोग हुने औषधिको माग पूरा गर्न निकै मिहिनेत गरिरहेका थिए ।
मलाई थाहा थियो, कुनै औषधि पसलमा गएर मैले त्यो औषधि किन्न सक्दिनथेँ । त्यसकारण मेरी आमाको निम्ति ६ मात्रा रेमडेसिभिर औषधि आवश्यक परेको भनी सामाजिक सञ्जालमा याचना गरेँ । सहायताको लागि मैले गरेको ट्वीट हजारौँ जनताले पुनः ट्वीट गरे । केही मिनेटभित्रै औषधिको लागि आएको प्रस्तावको बाढीले मलाई वाक्कदिक्क बनायो । मानिसहरूले मलाई सम्पर्क सूत्र, हेल्पलाइन नम्बर र विभिन्न गैरसरकारी संस्थाका सम्पर्क सूचना पठाए । विडम्बना ¤ ती कुनैको पनि खास माने भएन । कतिपय हेल्पलाइनको फोन नै उठेन । फोन उठाएका केहीले उत्तर नै दिएनन् ।
भाइरसले बिरामीलाई चाँडै नै सिकिस्त बनाउन सक्ने कुराले मलाई झस्काइरहेको थियो । त्यसपछि मैले कालोबजारीको सहायता लिने निधो गरेँ ।
आमा बिरामी हुनुअघि नै मैले कोभिड–१९ को कालोबजारी भारतमा बढिरहेको भन्नेबारेमा सुनेको थिएँ । आफ्ना बिरामी आफन्तजनको अत्यावश्यक औषधि किन्न खोज्दा त्यहाँ पाइएको भन्दै कतिपयले सामाजिक सञ्जालमा खुलमखुला कुराकानी गरिरहेका थिए ।
“मलाई मर्न मन छैन । मेरो लागि कृपया प्रार्थना गरिदेऊ”, मेरी बिरामी र असहाय आमाले अस्पतालबाट मलाई फोनमा भनिन् । पाँच दिन अस्पताल बस्दा पनि उनको स्वास्थ्यमा कुनै प्रगति भइरहेको थिएन ।
आमाको स्वास्थ्यबारे अस्पतालबाट नियमित खबर पाइरहनु ज्यादै कठिन कार्य थियो । पछिल्लो अवस्थाबारे बुझ्न मैले धेरै मानिसलाई सम्पर्क गर्नुपथ्र्यो । कामको चापले त्यसै पनि थाकेका स्वास्थ्यकर्मीहरूबाट कुनै खालको ठोस प्रतिक्रिया पाउनु असम्भव कामजस्तै थियो ।
मैले मेरा केही सहकर्मी र मित्रहरूलाई रेमडेसिभिर औषधि बेच्न चाहने व्यक्तिहरूलाई सम्पर्क गराइदिन अनुरोध गरेँ । उनीहरूले मलाई धेरै फोन नम्बर दिए ।
त्यसपछि मैले भारतभरिका दर्जनौँ मानिससँग कुराकानी गरेँ । केहीले मलाई महामारीले प्रताडित देशमा सयौँ किलोमिटरको यात्रा गरेर मलाई आवश्यक औषधि लिन भने । कतिले मसँग अस्वाभाविक मात्रामा पैसा मागे ।
महामारीअघि भारतमा रेमडेसिभिरको एउटा सुईको झन्डै भारु एक हजार पथ्र्यो । कालोबजारमा मसँग एक मात्रा सुईको १५ हजार भारु मागियो । आमाको लागि आवश्यक ६ वटा सुईको लागि मैले ९० हजार भारु तिर्नुपर्ने भयो । तुलना गर्ने हो भने त्यो रकम भनेको मुम्बईको मासिक तलबको दोब्बरभन्दा बढी हो । औसत कोठा भाडा दरभन्दा त्यत्ति पैसा तीन गुणाले बढी हो ।
घण्टौँ घण्टा नचिनेका मानिसहरूसँग मोलमोलाइ गरेपछि मेरा साथीका केही साथीहरू मलाई मद्दत गर्न आए । उनीहरूले आमालाई खाँचो परेको औषधि छोटो समयावधिमै पाउन सकिने बताए ।
मैले सहायता पाउने पक्का भएपछि म भक्कानिएँ । म त्यसअघि आफूलाई कहिल्यै त्यत्ति निरीह र डराएको थिइनँ । मलाई मद्दत गर्ने मित्रहरूप्रति म आभारी छु । तुलनात्मकरूपमा राम्रो मेरो हैसियत र सामाजिक सम्बन्धको कारण मैले त्यसरी औषधि पाउन सकेकोमा म भाग्यमानी भएको मलाई थाहा छ । तर, सबैको लागि त्यस्तो हुनसक्दैन । समुदायका समस्या उठाउने र समस्या समाधान गर्ने सामाजिक सञ्जाल दबु लोकलसर्कलमा हालै गरिएको सर्भेअनुसार भारतका ५५ प्रतिशत अस्पतालका शøया मानिसको सम्बन्ध र सम्पर्क तथा दबाबमा उपलब्ध गराइन्छ । स्वाभाविक प्रक्रियाबाट अस्पतालका शøयाहरूमात्र १३ प्रतिशत बिरामीले पाउने गरेका छन् ।
अस्पतालमा आमाको बसाइँ लामो भएसँगै हामीले कोभिड–१९ विरुद्धको लडाइँ कति एक्लै लड्नुपर्ने रहेछ भन्ने कुरा हामीले अनुभव ग¥यौं । त्यो अवस्थामा उनले आफ्नो निम्ति आफैले प्रार्थना गर्नुपरेको थियो । उनको अधिकांश समय अर्ध बेहोसीमै बित्यो । अर्धबेहोसीमै उनले आफ्ना सन्तान हाम्रोबारेमा चिन्ता गर्न छोडिनन् । कति बेला उनी हरेस खान्थिन् । त्यस्तै बेला उनले मलाई फोन गरेर आफ्नो लागि प्रार्थनाको निम्ति अनुरोध गरेकी थिइन् ।
आमा अहिले स्वस्थ भइन् । अहिले घरमै स्वास्थ्यलाभ गर्दै छिन् । तर, आज भारतको अवस्था नराम्रोबाट खराब बन्दै गएको छ । पछिल्ला केही सातामा अक्सिजन र भेन्टिलेटरको लागि आत्तिएर गरिएका अनुनय, धेरै श्रद्धाञ्जली र आफ्ना प्रियजनलाई जलाउँदै गरेका तस्वीर सामाजिक सञ्जालमा बाढी नै आयो ।
मैले मेरो देशलाई त्यस्तो भयावह अवस्थामा कहिल्यै देखेको थिइनँ । मैले मेरो जीवनको अधिकांश समय यही देशमा बिताएको छु । यद्यपि, आज म यो देशमा विदेशी भएको अनुभव गर्दै छु । मलाई त म कुनै महानिशापछिको समय वर्णन गरिएको चलचित्रमा बाँचिरहेको जस्तो अनुभव भयो । कुनै अर्कै अन्तरिक्ष पिण्डबाट आएका एलिनहरूको हमलाको कारण केही मानिसमात्र बाँच्न सफल भएको र उनीहरू आफ्ना प्रियजनको लागि भौतारिरहेको चलचित्रको दृश्यजस्तो अनुभव मैले गरेँ । अहिले एलिन भनेको कोभिड–१९ हो र त्यसले अहिलेसम्म २ लाखभन्दा बढी भारतीय जनताको जीवन समाप्त गरिसकेको छ ।
आमाको लागि औषधि किन्न मैले सामना गरेको सङ्कष्ट भोगेपछि मैले अवस्थामा केही परिवर्तनको लागि प्रयास गर्ने जमर्को गरेँ ।
मैले मेरा मित्र जोरिएज राएजसँग मिलेर एउटा फेसबुक कम्युनिटी सुरु ग¥यौँ । राएजले पाकिस्तानमा त्यस्तै एउटा समुदाय बताएर ठुलो सफलता हासिल गरिसकेका थिएनन् ।
एउटा कम्युनिटीमा ५ हजारभन्दा बढी सदस्य छन् र हामीलाई दैनिक ३०–४० जनाको आकस्मिक सहायताको लागि अनुरोध आउने गरेको छ । त्यसमा कोही कोभिड–१९ को औषधि, अक्सिजन ट्याङ्क वा अस्पतालको शøयाको खोजी गर्दै आउने गरेका छन् । कोही निधन भएका आफ्ना प्रियजनको अन्तिम संस्कारमा सहायताको लागि अनुरोध गर्छन् । कोरोना भाइरसको अभूतपूर्व सङ्क्रमित सङ्ख्याको कारण भारतमा अस्पतालको शøया भेटाउन जति कठिन छ, त्यत्ति नै लास जलाउने ठाउँ पाउन गा¥हो छ ।
प्रायशः साना सहर र नगरबाट मानिसहरू आत्तिएर हामीलाई सम्पर्क गरिरहेका छन् । अधिकांश त्यस्ता ठाउँमा निकै सीमित स्रोत र सूचना हुन्छन् । भारतको सबभन्दा बढी जनसङ्ख्या भएको उत्तर प्रदेशको एउटा सहर बरेलीबाट हामीलाई हालै अक्सिजन सिलिन्डर र कोभिड–१९ को लागि आधारभूत केही औषधिको लागि अनुरोध आए । दिल्ली र मुम्बईजस्ता ठुला सहरमा सहायता गर्न चाहने मानिस र सङ्गठनको कमी छैन । त्यहाँ खाँचो परेका मानिसलाई प्रत्यक्ष सहायता दिन सहज छ । तर, ग्रामीण वा साना सहरमा बस्नेहरूको सन्दर्भमा सहायताको लागि हामी निकै मिहिनेत गर्नुपर्ने हुन्छ ।
हामीले खाँचो परेको मान्छेलाई सहायता दिन सक्ने मानिससम्म जोड्ने गरिदिने गरेका छौँ । हरेक व्यक्ति व्यक्तिको समस्यालाई अलग अलग समाधान गर्ने आधार खोजेरै समाधान सम्भव हुनसक्छ ।
भारतमा आफूले सकेको क्षेत्रमा सकेको सहायता गर्न तत्पर धेरै मानिस छन् । अपरिचित अनलाइनको सहृदयताको कारण धेरै मानिसले आफ्ना प्रियजनको लागि औषधि, अस्पताल शøया, अक्सिजन सिलिन्डर र लास जलाउने ठाउँ पाएका छन् । असल हृदयका मानिसले गर्नसक्ने त्यत्तिमात्र हो । भाइरसलाई नाटकीय हिसाबमा धिमा बनाउने र अन्त्यमा बिदा गर्न हामीले हाम्रा नेता र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य र समन्वय गर्नुपर्छ । धेरै मानिसलाई स्वयम्सेवक कार्यले मद्दत गरिरहेको छ । तर, महामारीको सामनाको निम्ति त्यत्ति प्रयासले मात्र पुग्ने अवस्था हुँदैन ।

(लेखक भारतका स्वतन्त्र पत्रकार तथा चलचित्र निर्माता हुनुहुन्छ ।)
स्रोतः अल जजीरा
नेपाली अनुवादः सुशिला 

Leave a Reply

Your email address will not be published. Required fields are marked *