‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
गत वैशाख २७ गते सोमबार इजरायलको जेरुसेलमतर्फ गाजा क्षेत्रमा सक्रिय हमास लडाकु समूहले ठुलो सङ्ख्यामा क्षेप्यास्त्र प्रहार गरे । झन्डै एक महिनादेखि जारी द्वन्द्वकै नतिजास्वरूप पछिल्लो युद्ध सुरु भएको हो । एक महिनाअघि पूर्वी जेरुसेलममा रहेका एक प्यालेस्टिनी परिवारलाई आफ्नो घर छाड्न इजरायली अधिकारीहरूले चेतावनी दिएपछि विवाद उत्पन्न भएको थियो । उक्त जमिन एक यहुदीको भएको इजरायलको भनाइ छ । जेरुसेलम इजरायली र प्यालेस्टिनी दुबै समुदायका लागि पवित्र स्थल पनि हो ।
इजरायली सेनाले प्यालेस्टिनी परिवारलाई हटाउन थालेपछि ‘भूमि कब्जा गर्न खोजेको’ भन्दै हमासले क्षेप्यास्त्र प्रहार गरेको थियो । यद्यपि, इजरायलभित्रै बसोबास गर्ने अल्पसङ्ख्यक अरब समुदायले पनि उक्त घटनाको विरोध गर्दै प्रदर्शन गरेका थिए जुन यहुदी–अरबी हिंसामा रूपान्तरण भएको थियो ।
यो घटना आगोको फिलिङ्गो सावित भयो । आफूमाथि क्षेप्यास्त्र हानेपछि निकै बलशाली इजरायल चुप लाग्ने कुरै थिएन । उसले हमासविरुद्ध आक्रामक कारबाही गर्ने चेतावनी दियो । इजरायली सेनाले क्षेप्यास्त्र प्रहार गर्ने स्थान र क्षेप्यास्त्र उत्पादन गर्ने ठाउँ, विद्रोही कमान्डरहरू, उनीहरूका घर र ठुल्ठूला अग्ला भवनलाई निशाना बनाइएको जनाएको छ जसबाट एसोसिएटेड प्रेस, अल–जजिरा टीभीजस्ता सञ्चार गृह रहेको टावर भवन पनि बम हमलाबाट ढालिएको छ । इजरायलतर्फ लुकिछिपी प्रवेश गर्न हमासले बनाएका भूमिगत सुरुङहरू ध्वस्त पार्नु पनि इजरायलको उद्देश्य रहेको सेनाको भनाइ छ ।
हिंसात्मक कारबाही तीव्र भएसँगै नयाँ प्यालेस्टिनी ‘इन्तिफादा’ अर्थात् विद्रोह हुने सम्भावना बढाएको छ । सन् १९४८ मा इजरायल स्थापना हुने क्रममा झन्डै सात लाख प्यालेस्टिनी बिस्थापित भएको दिनको सम्झना पनि गत शनिबार परेको थियो । इजरायल–प्यालेस्टिनका विषयमा छलफल गर्न राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आइतबार बसेको बैठक पनि कुनै निर्णयमा नपुगी टुङ्गिएको छ । इजरायलमाथि दबाब दिने उद्देश्यले राष्ट्रसङ्घ सुरक्षा परिषदबाट वक्तव्य जारी गर्ने चीन, नर्वे र ट्युनिसियाको प्रयासलाई संयुक्त राज्य अमेरिकाले रोकिदिएको छ । तर, अमेरिकाले इजरायली आक्रमणप्रति चिन्ता व्यक्त गर्दै सावधानी अपनाउन आग्रह गरेको छ, तर सँगै इजरायलले आफ्नो सम्प्रभु र आत्मरक्षा गर्न पाउने अधिकार रहेको जनाएको छ । उता, इजिप्टको एक वर्षसम्म शान्ति कायम राख्ने प्रस्तावलाई हमासले स्वीकार गरे पनि इजरायलले अस्वीकार गरेको छ ।
शनिबार भएको यस्तै हमलामा मोहम्मद अबु हताबले ठुलो पारिवारिक क्षति व्यहोर्नु परेको थियो । उहाँले भन्नुभयो, “इद मनाउन आफन्तकोमा गएकी पत्नी र ६ देखि १४ वर्ष उमेरका तीन बालबच्चाको मृत्यु भयो । ११ वर्षको एउटा बच्चा हराइरहेको छ । एउटा पाँच महिनाको छोरा ओमारमात्र बाँचेको छ ।” यो त प्रतिनिधि घटनामात्र हो । गाजामा यस्ता पीडादायी घटना दिनहुँ भइरहेका छन् । यसपटकको आक्रमण सन् २०१४ को भन्दा विनाशकारी रहेको दुबै युद्ध देखेका गाजामा आपत्कालीन सेवामा सक्रिय समिर अल–खातिबले बताउनुभएको छ । यस पटकको आक्रमणबाट जोगिन झन्डै ३४ हजार प्यालेस्टिनीले आफ्ना घर छाडेका राष्ट्रसङ्घीय कूटनीतिज्ञ टोर वेनेसल्यान्डले राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई जानकारी गराउनुभएको छ ।
सन् २०१४ मा पनि हमास र इजरायलबीचको द्वन्द्वमा इजरायलले गाजामा भीषण कारबाही गरेको थियो । सात हप्ता चलेको त्यस युद्धमा झन्डै दुई हजार २०० प्यालेस्टिनीको मृत्यु भएको थियो जसमा झन्डै एकतिहाइ बालबालिका र महिला थिए । दुबै पक्षबीच युद्धविराम गराउन करिब तीन महिना लागेको थियो । त्यतिबेला पनि प्रधानमन्त्री रहेका बेन्जामिन नेतन्याहुले हालको युद्ध रोकिन पनि केही समय लाग्ने चेतावनी दिनुभएको छ । त्यसैले तत्कालै युद्धविराम हुने सम्भावना निकै झिनो छ । करिब पाँच माइल चौडा र २५ माइल लम्बाइमा फैलिएको गाजापट्टीमा करिब २० लाख प्यालेस्टिनीको बसोबास छ ।
दुई वर्षका अवधिमा चार पटक संसदको चुनाव भए पनि बहुमत ल्याउन असफल भएका प्रधानमन्त्री नेतन्याहुले सम्भवतः चाँडै हुने अर्को चुनावमा आफूलाई पुनः उदय गराउने योजनामा पनि रहेको आशङ्का गर्न सकिन्छ । प्रधानमन्त्रीको पूर्ण आदेश पाएको इजरायली सेनाले आइतबार ५४ वटा लडाकु बिमान प्रयोग गरी गाजाका ३५ ठाउँमा बम हमला गरेका थिए । सेनाको भनाइमा यी हमलाहरू खासगरी हमास र इस्लामिक लडाकुविरुद्ध केन्द्रित छन् तर यी आक्रमणमा मारिनेहरू ज्यादा महिला, बालबालिका र अरू सर्वसाधारण छन् । केही लडाकुहरू पनि मारिएका खबर सार्वजनिक भइरहेका छन् ।
इजरायली आक्रमणको प्रतिरोध गरिरहेका हमास लडाकुहरूले दक्षिणी इजरायली भूमिमा लगातार क्षेप्यास्त्र प्रहार गरेर परिस्थितिलाई अझ उत्तेजित बनाएका छन् । यसबाट मङ्गलबारसम्म २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ जसमा इजरायलतर्फ १० जनाको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार हमासले तीन हजारभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेका छन् ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ट्वीट गर्दै संयुक्त राज्य अमेरिकाले शान्त, व्यापक कूटनीतिक प्रयास जारी राखेको तथा आफूहरूले परिस्थितिलाई तत्काल समाधान गर्न निरन्तर प्रयास गरिरहेको बताउनुभएको छ । उहाँले द्वन्द्वका बारेमा आफूहरूले इजरायल र इजिप्टका समकक्षीसँग वार्ताहरू गरिरहेको बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले तीन दिनको अवधिमा दोस्रो पटक इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई फोन गरी गाजाको हमास सरकारसँग तत्कालै युद्धविराम गर्न आग्रह गर्नुभएको छ । तर, राष्ट्रपति बाइडेनको आग्रहलाई बेवास्ता गर्दै इजरायलले विगत आठ दिनदेखिको आक्रमणलाई निरन्तरता दिइरहेको छ । सोमबार अबेर पनि प्रधानमन्त्री नेतन्याहुले सुरक्षा अधिकारीसँगको बैठकमा गाजाबाट भइरहेका आतङ्कवादी हमलाको प्रतिरोधलाई निरन्तरता दिन सुझाव दिनुभएको छ ता कि सबै इजरायली नागरिकले सुरक्षित महसुस गर्न पाऊन् ।
इजरायल र प्यालेस्टिनीको विवाद आ–आफ्नो अस्तित्वसँग जोडिएको विषय हो । हमास समूहले इजरायलको स्वतन्त्र अस्तित्व र पहिचान मेटाएर प्यालेस्टाइन देश निर्माण गर्न चाहन्छ । अहिलेको परिस्थितिमा त्यो सम्भव छैन, तर इजरायलले पनि प्यालेस्टिनी जनतालाई सम्मानजनक व्यवहार दर्शाउन जरुरी छ । प्यालेस्टिनी जनताको स्वतन्त्र अस्तित्वलाई इजरायलले मान्यता दिनसके वर्षौँदेखिको यो द्वन्द्व सम्भवतः समाधानतर्फ उन्मुख हुनेछ । अहिले, जेरुसेलममाथिको अधिकार, पश्चिमी किनारामा इजरायली बस्ती विस्तार, प्यालेस्टिनी शरणार्थीको फिर्ती तथा लडाकु समूहको उदयले द्वन्द्वको तत्कालै शान्तिपूर्ण समाधानमा व्यवधान उत्पन्न गराउने निश्चित छ । बरु, इजरायल र हमासले एक अर्काविरुद्ध गरिरहेका जथाभावी हमलाबाट आम सर्वसाधारणलाई जोगाउन विशेष सतर्कता अपनाउनु जरुरी छ ।
(अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा तयार पारिएको)
स्रोत ः राष्ट्रिय समाचार समिति
Leave a Reply