भर्खरै :

रिपोर्ट आउन ढिला हुँदा सङ्क्रमणको जोखिम

स्याङ्जा जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै स्थानीय पालिकाहरूले टोलटोलमा पुगेर सङ्क्रमितको स्वाब सङ्कलन गरेर परीक्षणको लागि जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाए पनि त्यसको रिपोर्ट आउन ढिलो हुँदा जोखिम झनै बढेर गएको हो । स्वाब सङ्कलन गरी पठाएको १०÷१२ दिनसम्म रिपोर्ट नआउँदा सङ्क्रमितको परिवारमा समस्या हुने गरेको छ भने यसले अन्य उपचारमा अन्योलको साथै थप त्रास सिर्जना गरेको छ । स्वाब सङ्कलन गरिएकाको रिपोर्ट नआउँदै मृत्यु हुने र केही बिरामीको रिपोर्ट आउनुभन्दा अगाडि नै ठीक भएका घटनाले सङ्क्रमण नियन्त्रण गर्नमा थप चुनौती थपिएको पाइन्छ । जिल्ला सदरमुकामदेखि टाढाको दूरीमा रहेका हरिनास र कालीगण्डकी गाउँपालिका तथा चापाकोट नगरपालिकामा स्वाबको रिपोर्ट आउन लामो समय लाग्दा थप समस्या भएको पालिका प्रमुखहरूको भनाइ छ ।
कालीगण्डकी गाउँपालिका प्रमुख खिमबहादुर थापाले लामो समयसम्म स्वाबको रिपोर्ट नआउँदा आफूहरूलाई व्यवस्थापनमा समस्या भएको बताउनुभयो । थापाले भन्नुभयो, “गाउँ–गाउँमा पुगेर स्वाब सङ्कलन गरेर पठायो, लामो समयसम्म रिपोर्ट आउँदैन, त्यस अवधिमा मानिसहरू हिँडडुल गर्दा सङ्क्रमण बढ्ने जोखिम रहेको छ ।”
हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरको पनि भनाइ उस्तै छ । स्वाब परीक्षणको लागि पठाएको व्यक्तिको रिपोर्ट नआउँदै मृत्यु भएको अवस्थामा दाहसंस्कार गर्न समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *