भर्खरै :

सक्वको म राजदास – ८५

गोर्कीका साहित्यिक कृतिबारे केही परिचर्चा
पटक–पटक निर्वासित हुनु परेका विश्व विख्यात साहित्यकार एवम् राजनीतिज्ञ म्याक्सिम गोर्की आफ्ना जीवनका अन्तिम दिनहरूमा सोभियत नेता जोसेफ स्तालिनको आग्रहमा आफ्नो जन्मभूमि रुसमा फर्किए ।
गोर्कीका धेरै कृतिहरूमध्ये विश्वव्यापीरूपमा चर्चित कृति उपन्यास ‘आमा’ हो । सन् १९०६ मा बोल्शेभिक कम्युनिस्ट पार्टीको लागि आर्थिक सङ्कलन गर्न भनी गोर्की संयुक्त राज्य अमेरिका प्रस्थान गरेका थिए । उपन्यास ‘आमा’ गोर्कीले अमेरिकामा लेखेका थिए । गोर्कीले उक्त उपन्यासको परिकल्पना सन् १९०२ मा नै गरिसकेका थिए । ‘आमा’ उपन्यास तत्कालीन रुसको निरङ्कुश जार शासनको विरुद्ध रुसी जनताले ‘सार्नोभ’ भन्ने ठाउँमा गरेको जनविद्रोह र उक्त आन्दोलनमा सहभागीहरूमाथिको मुद्दामा आधारित थियो । उपन्यासमा गोर्कीले विश्वमा सर्वप्रथम श्रमिक वर्गले पुँजीवादी बुर्जुवा व्यवस्थाविरुद्ध समाजवाद स्थापनार्थ गरेको क्रान्तिको वर्णन गरे । विश्व प्रसिद्ध कम्युनिस्ट नेता एवम् पथप्रदर्शक भ्लादिमीर इलिच्छ लेनिनको नेतृत्वमा बोल्शेभिक कम्युनिस्ट पार्टीले गरेको क्रान्तिले सफलता हासिल गर्नसक्छ भन्ने सङ्केत उपन्यासले दिएको थियो । गोर्कीको ‘आमा’ उपन्यास सयौँ भाषामा अनुवादित र प्रकाशित भएको छ ।
गोर्कीले ‘आमा’ उपन्यास प्रकाशन गरेपछि अमेरिकाबाट आफ्नो जन्मभूमि रुस फर्कने बाटो बन्द भयो । किनभने, गोर्की रुस फर्किनासाथ पक्राउ गरी साइबेरिया निर्वासनमा पठाउन जार शासकहरू षड्यन्त्र गर्दै थियो । यस कुराको जानकारी भएपछि उनी अमेरिकाबाट रुस नफर्की इटाली बस्न गए । इटालीको क्याप्री द्वीपमा उनले सात वर्ष बिताए । युरोपको दक्षिण–पश्चिम भागमा पर्ने इटालीको जलवायु गोर्कीको लागि ‘वरदान’ साबित भयो । किनभने, उनी सन् १९०० देखि क्षयरोगबाट ग्रस्त थिए ।
सन् १९०२ मा गोर्कीले लेखेको एक कविता ‘युवती र मृत्यु’ ले पनि धेरै प्रशंसा पाएको थियो । तत्कालीन सोभियत सर्वोच्च नेता जोसेफ स्तालिनले उक्त कविता गोर्कीको मुखबाटै सुनेका थिए । सन् १९३१ मा गोर्की इटालीको निर्वासनबाट सोभियत सङ्घ फर्किएपछि उक्त कविता सुनेर स्तालिन खुसीले उत्साहित भए र गोर्कीको कविताको अन्तिम पृष्ठमा आफ्नो हस्ताक्षरसहित तालिनले यसरी लेखे, “पे्रमले मृत्युलाई पराजित गर्छ ।”
उक्त कवितामा गोर्कीले जीवनमा आशावादी हुनुपर्छ, श्रमजीवीको मानवताको भावना पोखिनुपर्छ, प्राकृतिक प्रकोप, विपत्तिको साथै सामाजिक उत्पीडन र शोषणमाथि विजय प्राप्त गर्नुपर्छ, जीवन हर्षोल्लासका साथ जिउनुपर्छ भन्ने आशय व्यक्त गरेका थिए । स्तालिनले तत्कालीन रुसमा विकसित हुँदै गएको पतनोन्मुख साहित्यको भत्र्सना गरेका थिए । साहित्यमार्फत समाजमा सुसंस्कृतिको विकास हुनुपर्छ भन्ने विचार स्तालिनको थियो ।
गोर्कीको दर्शनप्रधान साहित्यिक रचनाहरू उन्नाइसौँ शताब्दीको अन्ततिर प्रकाशित भएका थिए । त्यतिबेला उनी ‘झीज्न’ (जीवन) र ‘नोभोए स्लोभो’ (नयाँ वचन) भन्ने पत्रिकाहरूमा काम गर्दै थिए । ती पत्रिकामा भ्लादिमीर लेनिन र प्लेखानोभजस्ता दिग्गज दार्शनिक नेताहरूका लेखहरू प्रकाशित हुन्थे ।
गोर्कीको यथार्थवादी साहित्यले गर्दा उनी तल्लो वर्गका जनताबिच धेरै लोकप्रिय भए । उनले आफ्ना साहित्यिक रचनामार्फत तत्कालीन रुसमा सामाजिक सांस्कृतिक र राजनीतिक परिवर्तन हुनुपर्छ भन्ने आवाज उठाए ।
समाजमा बुद्धिजीवीहरूको उत्तरदायित्व धेरै हुनुपर्छ । गोर्कीको साहित्यले समाज परिवर्तनको लागि बुद्धिजीवीहरूमा राजनीतिक चेतना जगाउन धेरै महत्वपूर्ण भूमिका खेलेको थियो ।
सन् १८९९ मा अथवा उन्नाइसौँ शताब्दीको अन्त र बीसौँ शताब्दीको सुरुदेखि नै उनी तत्कालीन रुसमा विकसित हुँदै गरेको माक्र्सवादी चिन्तनबाट प्रभावित सोसियल डेमोक्रेटहरूसँग मिल्न गए । यसले गर्दा गोर्की बुद्धिजीवी, क्रान्तिकारीहरूका साथै साधारण श्रमजीवीहरूबीच धेरै प्रशंसित भए ।
यसैबेला गोर्की राजनीतिक क्षेत्रमा सक्रियताका साथ लाग्न थाले र विभिन्न राजनीतिक सभा सम्मेलन र हड्ताल र विद्रोहरूमा पनि सामेल भए ।
यसै सिलसिलामा सन् १९०१ मा गोर्की पक्राउमा परे र उनलाई आफ्नै जन्मथलो ‘नीझ्नीई नोभोगोरड’ (तल्लो नव नगर) सहरमा निर्वासनमा पठाइयो । भ्लादिमीर इलिच्छ लेनिनले आफ्नो मुखपत्र ‘इस्क्रा’ मा गोर्कीको पक्राउको घोर भत्र्सना गर्दै जार शासकहरूको स्वेच्छाचारीको विरोध गरेका थिए । गोर्कीप्रति भएको दुव्र्यवहारलाई लिएर बिनाआधार बिनाअदालती कारबाही युरोपमा प्रतिष्ठा कमाइसकेका लेखक साहित्यकारलाई पक्राउ गरी निर्वासनमा पठाउनु ठुलो अन्याय भएको कुरा लेनिनले बताए । लेनिनले भने, “गोर्कीले तत्कालीन रुसको बौद्धिक वृत्तमा ठुलो र राम्रो प्रभाव पारेका छन् । लेनिनको विरोध र भत्र्सना हुँदाहुँदै जार शासकहरूले गोर्कीमाथि निगरानी राख्दै गरे र गोर्कीकै लेखरचनाका कारण तत्कालीन ‘झीज्न’ जनप्रिय पत्रिकामाथि जार सरकारले प्रतिबन्ध लगायो ।
सन् १८९९ मा गोर्कीका ‘फोमा गोर्डएभ’ र १९०० मा ‘ट्रोए’ (तीनजना) भन्ने दुई उपन्यासहरू प्रकाशित भए । उक्त उपन्यासमा गोर्कीले तत्कालीन पुँजीवादी रुसी समाजमा विकसित हुँदै गरेका सामाजिक विकृति र विसङ्गति, शोषण उत्पीडन र अन्यायअत्याचारको विरोध गर्दै यी विकृतिहरूविरुद्ध श्रमजीवीहरू र बुर्जुवा पुँजीपतिहरूबीचमा भइरहेको सङ्घर्षको कुरा उठाएका थिए ।
यसै समय (१८९९–१९००) मा रुसका तत्कालीन प्रसिद्ध साहित्यकारहरू आन्टोन पाब्लोभिच चेखोभ र लेभ निकोलाएभिच टोलस्टोइसँग गोर्कीको भेट रुसको दक्षिणी भाग क्रिमियामा भएको थियो ।
सन् १९०३ मा गोर्कीले ‘चेलोभेक’ (आदमी) काव्य लेखी मानिसमा हुने उच्च चेतना, उसमा निहित प्रबल शक्ति अनि मानवताको भावना आदि समाजवादी व्यवस्थामा उच्च स्तरमा विकास हुन्छ भन्ने दर्शनको प्रतिपादन गर्दै रुसमा विकास हुँदै गरेका क्रान्तिकारी गतिविधिहरूलाई मलजल प्रदान गरे ।
सन् १९०४–१९०५ मा रुसमा राजनीतिक हलचल भइरहेको अवस्थामा गोर्कीले केही नाटकहरू प्रदर्शन गर्दै क्रान्तिकारीहरूमा थप उत्साह र साहस भर्ने काम गरे । सन् १९०७ मा लन्डनमा भएको बोल्शेभिक कम्युनिस्ट पार्टीको पाँचौँ अधिवेशनमा लेनिनले गोर्कीको ‘आमा’ उपन्यासको पाण्डुलिपि पढेर यसको विश्लेषण गर्दै भने, ‘आमा’ उपन्यास उपयुक्त समयमा निस्केको छ । यसले रुसी क्रान्ति ठुलो योगदान पु¥याउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *