भर्खरै :

दुई साथीको कथा

सरिता र सुनिता दुवै असाध्यै मिल्ने साथी थिए । उनीहरूले सँगै विद्यालय शिक्षा सुरुआत गरेका थिए । दुवै जना पढ्नमा लगनशील र आँटिला थिए । तराईमा छोरीहरूले उच्च शिक्षा पाउनसक्ने सबैको क्षमता हुँदैन । तर, यी दुई आँटिला र जेहेनदार भएकाले उनीहरू विद्यालय तहसम्मको शिक्षामा मात्र सीमित नभई क्याम्पस तहसम्मको शिक्षा लिन सफल भए । क्याम्पस पढ्दै गर्दा गाउँका मानिसले उनीहरूका कुरा काट्न थाले । घरपरिवारलाई विवाहको लागि चारैतर्फबाट दबाब आउन थाल्यो । त्यो स्वाभाविक पनि थियो । तराईमा छिट्टै विवाह गर्ने परम्परा छ । उनीहरूका अभिभावकहरू अन्य अभिभावकभन्दा फरक सोच बोकेका हुनाले छोरीहरूलाई आत्मनिर्भर बनाउन चाहन्थे । घर–परिवारको सल्लाहअनुसार सरिता र सुनिताका बुबाले केही समयको अन्तरालमा सामाजिक परम्पराअनुसार उनीहरूको विवाह गरिदिए । सुनिताका बुबा आर्थिकरूपमा सम्पन्न भएकोले उनले छोरीको विवाह सम्पन्न परिवारमै धुमधामले गरिदिए । तर, सरिताका बुबा सामान्य परिवारको भएकोले उनले छोराछोरीको विवाह आफ्नो आर्थिक अवस्था हेरी गरे । सानो बेलादेखि सँगै पढेका, हुर्केका र सुख–दुःखका कुराहरू एकआपसमा बाँड्दा यिनीहरू सधैँ हँसिला थिए र केही कुराको कमी महसुुस गर्दैनथे । तर, सामाजिक रीतिरिवाजअनुसार छोरीहरू लोग्नेको घरमा भएकाले यिनीहरूको सङ्गत छुट्दा पानीबिनाको माछाजस्तै भए । यिनीहरू घरमा बस्दा पनि प्रविधिको विकासले गर्दा भौतिकरूपमा नभए पनि सञ्चारमाध्यमबाट सुख दुःखका कुराहरू आदानप्रदान गर्थे । सुनिता सम्पन्न परिवारकी हुनाले उनी जहिले पनि घरको लवाइखवाइ, बसाइ तथा सुविधाको मात्रै कुरा गर्थिन् । सरिताको घरमा सामान्य र वर्षैभरि खाद्यान्नलगायतका सामानहरू किनेर खानुपर्ने स्थितिको थियो । सरिता घरमा प्रवेश गर्दा छानाबाट खसेको फर्सीजस्तै भइन् । तैपनि, उनी धैर्यवान र आँटिलो भएकीले सहज ढङ्गले बस्न थालिन् । यता साथीको सुविधासम्पन्न जीवनको कुरा सुन्दा मनमा आँधी तुफान आएको जस्तो उनी महसुस गर्थिन् । तर, उनले आफूलाई समालेकी थिइन् ।
केही महिनापछि दुवै साथीको भेटघाट भयो । सुनितामा चालढाल अर्कै खालको थियो । सरितामा भने कुनै प्रकारको रवाफ थिएन । धेरै दिनपछि भेटघाट हुँदा दुवैले घण्टौँ वार्तालाप गरे । सुनिताले दुई–चार दिनपछि घर फर्किने कुरा गरिन् । सरिताले सुनितालाई आज यतै बस्ने र सँगै खाना खाने प्रस्ताव राख्दा सुनिताले अलिकति सङ्कोच नमानी “तिमी आफै माइतीको बोझ बनेकी छ्यौ र त्यसमा मलाई बस्न भन्छ्यौ । म आज बस्दिनँ साथी, पछि कुनै बेला भेटौँला” भन्दै गइन् । नजिकको र आत्मीय साथीको यस्तो कुरा सुनेपछि सरिताको मनमा चिसो पस्यो र अब सुनितासँग उनले कहिले पनि कुरा नगर्ने अठोट लिइन् । सिकेको कुरा व्यवहारमा लागु गर्नसक्ने सरिताले सम्झिन्, ‘सुनको थैला, हातको मैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले ।’
माइतीमा बसिरहेकी सुनिता छिमेकीहरूका कुरा सुनेर वाक्कदिक्क भइन् । सहरमा बसिरहेका श्रीमान्सँग कुरा साटासाट गरिन् । थोरै आम्दानीको स्रोत भएका श्रीमान्ले श्रीमतीलाई कसरी सहरमा बसाल्न सकिएला भन्ने चिन्ताले पिरोलिन थाल्यो । तर, सरिता अन्य आइमाईको तुलनामा निकै कम खर्चालु स्वभावकी हुनाले उनीहरूको बसाइमा खासै समस्या भएन । सरिताले विभिन्न अप्ठ्याराहरू छिचोल्दै स्नातकोत्तर तह पढिन् र पछि शिक्षिका बनिन् । शिक्षिका बनेपछि उनको मन हलुङ्गो भयो ।
धेरै लामो समयसम्म संवाद छुटेको साथी सुनिताको बिहानै फोन आयो र सुनिताले भनिन्, “साथी सम्पत्तिको आडमा मैले तिमीलाई नराम्रो व्यवहार गरेँ । धनको घमण्डमा मेरो श्रीमान् जुवाडी र जड्याँहा भएर मैले पनि केही गर्न सकिनँ । छोराछोरीको भविष्य पनि अन्धकारमय भएको छ । तिमीले गरेको सङ्घर्ष र पाएको सफलताले आज मेरो चेतना खुलेको छ । भौतिक सुख, सुविधा क्षणिकमात्र हो । सङ्घर्षशील जीवन अर्थपूर्ण हुँदोरहेछ भन्ने मैले तिमीबाट पाठ सिकेँ । तिमीप्रति गरेको व्यवहारबाट म लज्जित छु !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *