(सविना बासी कोभिड–१९ विरुद्धको प्रतिकारमा अग्रपङ्क्तिमा सक्रिय स्वास्थ्यकर्मी हुनुहुन्छ । उहाँ भक्तपुर अस्पतालको नर्स हुनुहुन्छ । फ्रन्टलाइन फाइटरहरूले महामारीविरुद्ध गरिरहेको सङ्घर्ष पाठकसमक्ष ल्याउने शिलशिलामा सविना बासीसँग कुराकानीको आधारमा तयार गरिएको लेख प्रस्तुत छ–सम्पादक)
दुई–तीन दिन भयो, बिरामीको चाप अलि कम छ । त्यसअघि त बिरामीको चाप ठेग्न हम्मेहम्मे थियो । वार्डमा शय्या नपुगेर हामीले आकस्मिकरूपमा सर्जिकल वार्डमा पनि कोभिडका बिरामीको लागि शøया थप्नुपरेको थियो ।
दुई साता जति अस्पतालमा अक्सिजनको चरम अभाव भयो । त्यत्तिबेला ड्युटी गर्न निकै गा¥हो अनुभव भयो । कोभिड–१९ सङ्क्रमित बिरामीको चाप अस्पतालमा धेरै बढ्यो । धेरै बिरामीलाई भर्ना गर्नुपर्ने अवस्था आयो । शøयाको अभाव भए पनि जसोतसो मिलाएर र सकुञ्जेल हामीले बिरामी भर्ना त ग¥यौँ । तर, बिरामीको सङ्ख्या बढेअनुसार अक्सिजन र औषधिको भने आपूर्ति हुन सकेन । अधिकांश बिरामीलाई अक्सिजन नै चलाउनुपर्ने अवस्था थियो । कतिपय बिरामीलाई त उच्चचापीय (हाइ फ्लो) अक्सिजन चलाउनुपर्ने थियो । त्यसकारण प्रायशः अक्सिजनको सञ्चय बाँकी हुँदैनथ्यो । अक्सिजन अभाव हुँदा बिरामी र बिरामीहरूका आफन्तबीच अक्सिजन पाउन तानातानको अवस्था बनेको थियो । भएको सीमित अक्सिजन सबैले आफ्नो लागि वा आफ्ना आफन्तको लागि दिन रोई–कराई गरेका हुन्थे । आफ्नो ज्यान र प्रियजनलाई जोगाउन नचाहने को नै पो होला र ! अस्पतालभित्र कोही आफ्नो एक्लो छोरा भन्दै विलाप गर्थे । कोही आफ्ना आमा भन्दै, कोही बुबा भन्दै अक्सिजनको माग गर्थे, रुन्थे ।
अवस्था खराब हुँदा पनि अक्सिजन आपूर्ति नहुने देखिएपछि बिरामीको आफन्तलाई ‘कदाचित केही नराम्रो घटना भए अस्पताल जिम्मेवार हुनेछैन’ भनी मञ्जुरीनामा लिनुपर्ने स्थिति बन्यो ।

बिरामीको सेवामा सबिना
अक्सिजनको अभाव भएपछि कतिपय बिरामीलाई त हामीले घोप्टो पर्न लगाई न्यूनतम अक्सिजनको भरमा राख्नुप¥यो । खासमा अक्सिमिटरमा ९५ भन्दा माथि अक्सिजनको तह भएमात्र पुग्दो मानिन्थ्यो । तर, अक्सिजन नै नभएपछि ९० सम्म अक्सिजन भएको बिरामीलाई पनि हामीले अक्सिजन नदिई राख्नुपर्ने बाध्यता भयो । त्यस्ता बिरामीलाई श्वासप्रश्वासको अभ्यास गराउने, घोप्टो पारेर राख्ने आदि काम हामीले गर्नुप¥यो । तर, अक्सिजन भने सहजरूपमा दिन सकेनौँ ।
कोही कोही बिरामी कुरुवा अक्सिजन बढी चढाए चाँडै निको हुन्छ भन्ने सोच्दा रहेछन् । त्यसकारण हामीले बिरामीको अवस्था हेरेर ठिक्क तहको अक्सिजन दिइरहेको अवस्थामा बिरामीका कुरुवा आफैले अक्सिजनको चाप बढाइरहेको देख्छौँ । हामीलाई थाहै नदिई कतिले उच्च चापमा चलाइरहेका हुन्थे । अक्सिजन भनेको पनि औषधि हो । ठीक मात्रामा प्रयोग भए मात्र बिरामीलाई सजिलो हुन्छ । त्यस्तो बेला बिरामीलाई अक्सिजन धेरै चापमा चल्दैमा बिरामीलाई सजिलो हुने होइन, ठीक मात्रामा मात्र अक्सिजन दिनुपर्छ भनी सकेसम्म सम्झाउने प्रयास गर्छौँ ।
अस्पतालका अन्य कर्मचारीहरू पनि अक्सिजन ल्याउन रातदिन काम गर्नुहुन्थ्यो । २–३ दिन खट्दा पनि ५–६ वटामात्र अक्सिजन भरिएको सिलिन्डर हात लाग्ने अवस्था थियो । झन्डै दुई हप्ता जति यस्तो अभावको अवस्था सामना गर्नुप¥यो । कोभिडका गम्भीर बिरामीलाई दिइने रेमडेनेसिभिर औषधि अस्पतालमा उपलब्ध थिएन ।
………
बिरामी र आफन्तको रुवाबासीबीच त्यो अवस्थामा हामीले उनीहरूलाई सम्झाइबुझाइ गर्न पनि सजिलो थिएन । अक्सिजन अभावको कारण बिरामीलाई तलमाथि भए ‘अस्पताल जिम्मेवार हुनेछैन’ भनी मञ्जुरीनामा लिन खोज्दा कतिपय बिरामीका आफन्त निकै रिसाए पनि । तर, हामीलाई दिइएको निर्देशनअनुसार नै मञ्जुरीनामा लिने गरेका थियौँ । बिरामीका आफन्तलाई सम्झाइबुझाइ गर्न हामीलाई गा¥है भएको थियो । देशैभरि अक्सिजनको अभाव थियो । अस्पतालसँग कुनै अर्को बाटो पनि थिएन । आफ्नो आफन्तको ज्यानको मायाले उनीहरू आक्रामक बनेका थिए । एक हिसाबले स्वाभाविक पनि लाग्यो । त्यस परिस्थितिमा हाम्रो खाने बस्नेको त कुनै ठेगान नै थिएन ।
…………
पन्ध्र शय्या भएको एउटा कोठामा कम्तीमा दुई जना नर्सले सेवा दिने गरेका छौँ । एक जनाले बिरामीको हेरचाहको काम गर्ने र अर्कोले फाइल मिलाउनेलगायतका बाहिरका काम गर्ने गरी कार्यविभाजन गरेका हुन्छौँ । हामीले पालैपालो त्यो जिम्मेवारी बहन गर्ने गर्छौं ।
कोभिडको पहिलो लहर आउँदा हामीले चौबीसै घण्टा ड्युटी गर्नुपरेको थियो । बिरामीको नजिक पनि नजाने प्रोटोकल थियो । हप्ता दिन ड्युटी गरेर त्यहीअनुसार क्वारेन्टिनमा बस्ने र पीसीआर निगेटिभ आएपछि मात्र घर फर्किने गरेका थियौँ । अहिले त त्यस्तो सबै गरिरहन सम्भव नै छैन । पटक–पटक पीसीआर परीक्षण गर्ने पनि सम्भावना छैन । त्यसकारण, हिजोआज त सामान्य परिस्थितिमा जस्तै नै ड्युटी चलिरहेको छ । दिनमा ६–६ घण्टाको ड्युटी हुन्छ भने रातिको ड्युटी राति ७ बजेदेखि भोलि बिहान ८ बजेसम्मको हुन्छ । यो पालैपालो हुने गरेको छ । पीपीई, मास्क, पञ्जा र भाइजर लगाएर काम गरिरहेका हुन्छौँ । तर, हाम्रो अस्पतालमा पीपीईको अझै अभाव नै देख्छु ।
सामान्य अवस्थाजस्तै ड्युटी सकेर घरमै आउने गरेका छौँ । पहिलो लहरमा त सबैलाई एक प्रकारको डर थियो । त्यसकारण, घर फर्किएर पनि अलग बसिन्थ्यो । घरमा अहिले अलग बस्ने व्यवस्था पनि असहज भएकोले सकेसम्म सुरक्षित तर परिवारसँगै बस्ने गरेका छौँ । अस्पतालमा काम गर्दा बढी सजगता अपनाउने गरेका छौँ । तर, कतिबेला नर्स स्टेसनमै बिरामी र बिरामीका आफन्तहरू नजिक आएर कुरा गरिरहेका हुन्छन् । आपसी दूरी कायम राख्नभन्दा पनि जानी–नजानी नजिक हुने र कुराकानी भइरहेको हुन्छ । तर, स्वास्थ्यकर्मी भएपछि जस्तै प्रतिकूल परिस्थितिमा पनि आफ्नो जिम्मेवारी पूरा गर्नैपर्छ, त्यसमा हामी सङ्कल्पबद्ध छौँ ।
………
बिरामीहरू निको भएर अस्पतालबाट घर जानु हुँदा हामीलाई आशीर्वाद दिनुहुन्छ । त्यत्तिबेला ज्यादै खुसी भएको अनुभूति हुन्छ । सही समयमै आफूले काम गरिरहेको अनुभव हुन्छ । कोभिडविरुद्ध संसार नै लडिरहेको समयमा आफू पनि त्यसको हिस्सा भएर काम गरिरहेको अनुभव हुँदा गौरव लाग्छ ।
अहिले अस्पतालमा बिरामीको चाप हप्ता दिनअघि भन्दा कम नै छ । अक्सिजन पनि सहज बन्दै गएको छ । रेमनेसिभिर औषधि पनि अस्पताललाई थौरै भए पनि आइरहेको लाग्छ ।
………
कोभिड–१९ बाट सुरक्षित बस्न बाहिर कतै जानुपरे अनिवार्यरूपमा मास्क लगाउनुपर्छ । स्यानिटाइजरको प्रयोग र हात धुने बानी बसाल्नुपर्छ । हुलमुलमा जानु भएन । अनि पौष्टिक तत्व खानेमा विशेष ध्यान दिनुपर्छ । शरीर कमजोर हुँदा भाइरसले आक्रमण गर्ने हो । त्यसकारण शरीरलाई भित्रैबाट बलियो राख्न नियमित र पोषणयुक्त खाना खान जरुरी छ ।
Leave a Reply